Revised Common Lectionary (Complementary)
12 परमप्रभु जुन मानिसहरूको परमेश्वर स्वरूप हुनुहुन्छ, तिनीहरू सौभाग्यशाली हुन्छन्।
किनभने परमेश्वरले तिनीहरूलाई उहाँको आफ्नै खास मानिसहरू सरह रोज्नु भएकोछ।
13 परमप्रभुले स्वर्गबाट तल हेर्नु भयो
अनि उहाँले सारा मानिसहरूलाई देख्नु भयो।
14 उहाँले उच्च-आसनबाट
तल पृथ्वीमा बाँचिरहेका सारा मानिसहरूलाई हेर्नु भयो।
15 परमेश्वरले प्रत्येक मानिसको रचना गर्नुभयो।
परमेश्वर तिनीहरूले के सोच्दछन् जान्नुहुन्छ।
16 कुनै पनि राजा आफ्नो महान् शक्तिद्वारा बाँच्दैन।
कुनै पनि बलियो सिपाही उसको महान् बलबाट बाँच्दैन।
17 घोडाहरूले साँच्चै लडाइँमा विजय ल्याउँदैनन्।
तिनीहरूका बलले तिनीहरूलाई वास्तवमा भाग्न सहायता गर्न सक्दैन।
18 परमप्रभुले हेर्नुहुन्छ साथै हेरचाह गर्नुहुन्छ तिमीहरूमध्ये जसले उहाँलाई मान्दछन्।
जसले उहाँलाई सम्मान् गर्छ उहाँ महान् प्रेमले, मानिसहरूको रक्षा गर्नुहुन्छ।
19 परमेश्वरले ती मानिसहरूलाई मृत्युबाट बचाउनु हुन्छ।
जब तिनीहरू भोका हुन्छन् उहाँले तिनीहरूलाई बल दिनुहुन्छ।
20 यसैले हामी आशा लिएर परमप्रभुलाई पर्खनेछौं।
उहाँले हामीलाई साथ दिनुहुन्छ र रक्षा गर्नुहुन्छ।
21 परमेश्वरले हामीलाई खुशी पार्नु हुन्छ,
हामी साँच्चै उहाँको पवित्र नाउँमा भरोसा गर्छौं।
22 हे परमप्रभु, हामी साँच्चो मनले तपाईंलाई पूज्दछौं।
यसर्थ हामीलाई तपाईंको महान् प्रेम दर्शाउनुहोस्।
तेरहको पारिवारिक इतिहास्
27 तेरह परिवारको इतिहास यही हो। तेरह अब्राम, नाहोर र हारानका बुबा थिए। हारान लूतका बुबा थिए। 28 हारान बाबेलको ऊरमा मरे अनि त्यस समय तिनका बुबा तेरह जीवित नै थिए। 29 अब्राम र नाहोरले विवाह गरे, अब्रामको पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। मिल्का हारानकी छोरी थिईन र हारान मिल्का र इस्काका बुबा थिए। 30 साराईबाट कुनै सन्तान भएन कारण ऊ बाँझी थिईन।
31 तेरहले आफ्नो छोरो अब्राम, उसको नाति लूत, बुहारी सराई-अब्रामकी पत्नी, लिएर कल्दीहरूको ऊर शहर छाडी कनान देशमा जान हिँडे। तर तिनीहरू हारानसम्म गई त्यहीं बसो-बास गर्न थाले। 32 तेरह दुइ सय पाँच बर्षसम्म बाँचे र हारानमा मरे।
धन-सम्पत्तिभन्दा परमेश्वर महान् हुनुहुन्छ
(लूका 12:33-34; 11:34-36; 16:13)
19 “आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार। जहाँ खीया र किराहरूले सम्पत्ति ध्वंस पारिदिनेछ। अनि चोरहरूले पनि तिम्रो घर फोरेर त्यहाँको सम्पत्ति चोर्छन्। 20 तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार। स्वर्गमा भएको धन-सम्पत्ति खीया र किराहरूले नष्ट पार्न सक्दैन। चोरले पनि त्यहाँ पसेर चोर्न सक्दैन। 21 कारण जहाँ तिम्रो धन हुन्छ, त्यहीं तिम्रो मन पनि हुनेछ।
22 “तिम्रो शरीरको ज्योति आँखा हो। यदि तिम्रा आँखाहरू निर्मल छन् भने, तिम्रा सारा शरीर उज्यालो रहनेछ। 23 तर यदि तिम्रा आँखा खराब छन् भने, तिम्रो सम्पूर्ण शरीर अँध्यारो हुनेछ। यदि तिम्रो उज्यालो चाहिं अँध्यारो भयो भने, त्यो घनघोर अँध्यारो हुनेछ।
24 “कसैले पनि दुइ मालिकको सेवा एकै समयमा गर्न सक्दैन। उसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ। अथवा त्यो एउटासित झुक्नेछ, र अर्कोलाई तुच्छ गन्नेछ। यसैले एउटै समयमा एकै साथमा तिमीहरूले परमेश्वर र धनको चाकरी गर्न सक्दैनौ।
© 2004, 2010 Bible League International