Revised Common Lectionary (Complementary)
115 हे परमप्रभु, हामीले सम्मान पाउनु पर्ने होइन।
तपाईंको प्रेम र विश्वासले गर्दा
सम्मान तपाईंको मात्र हो।
2 किन ती जातिहरू “हाम्रा परमप्रभु कहाँ छन्?” भनेर छक्क पर्दछन्।
3 परमप्रभु स्वर्गमा हुनुहुन्छ।
अनि उहाँले आफ्नो चाहनाले जे पनि गर्न सक्नुहुन्छ।
4 ती सम्प्रदायहरूका “देवताहरू” सुन र चाँदीले बनिएका खाली मूर्तिहरू मात्र हुन्।
तिनीहरू कुनै मानिसले बनाएका मूर्तिहरू मात्र हुन्।
5 ती मूर्तिहरूका मुखहरू छन्, तर बोल्न सक्दैनन्।
तिनीहरूका आँखाहरू छन्, तर देख्न सक्दैनन्।
6 तिनीहरूका कानहरू छन्, तर सुन्न सक्दैनन्।
तिनीहरूका नाकहरू छन्, तर सुँघ्न सक्तैनन्
7 तिनीहरूका हातहरू छन्, तर अनुभव गर्न सक्दैनन्
तिनीहरूका खुट्टाहरू छन्, तर हिंड्न सक्दैनन्
अनि कुनै स्वर-ध्वनिहरू उनीहरूका कण्ठबाट निकाल्न सक्तैनन्।
8 ती मानिसहरू जसले तिनीहरूलाई बनाउँछन् र तिनीहरूमाथि भरोसा गर्छन्,
तिनीहरू त्यस्तै हुन्छन्!
9 हे इस्राएल का मानिसहरू, परमप्रभुमाथि भरोसा गर!
परमप्रभु तिनीहरूका बल र ढाल हुन्।
10 हारूनका परिवारहरू, परमप्रभुमाथि भरोसा राख!
परमप्रभु तिनीहरूका बल र ढाल हुनुहुन्छ।
11 हे परमप्रभुका अनुयायीहरू, परमप्रभुमाथि भरोसा गर!
परमप्रभु तिनीहरूका बल र ढाल हुन्।
12 परमप्रभुले हामीलाई सम्झनुहुन्छ।
परमप्रभुले हामीलाई आशीर्वाद दिनुहुन्छ।
परमप्रभुले इस्राएल लाई आशीर्वाद दिनुहुनेछ।
परमप्रभुले हारूनका परिवारलाई आशीर्वाद दिनुहुनेछ।
13 महान् र क्षुद्र दुवैलाई आशीर्वाद दिनुहुनेछ।
परमप्रभुले आफ्ना भक्तहरूलाई आशीर्वाद दिनुहुनेछ।
14 परमप्रभुले तिमीहरूका छोरा-छोरीहरूलाई
धेरै भन्दा धेरै नै आशिर्वाद दिऊन्।
15 परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनु भयो,
तिमीहरूलाई आशीर्वाद दिऊन्!
16 स्वर्ग परमप्रभुको अधिकारमा छ।
तर पृथ्वी उहाँले मानिसहरूका अधिकारमा दिनु भयो।
17 मरेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
चिहान भित्र भएका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
18 तर हामी अहिले परमप्रभुको प्रशंसा गर्छौं,
अनि हामी उहाँको प्रशंसा सदा-सर्वदा गर्छौं।
परमप्रभुको प्रशंसा गर!
अश्शूर चाँडै आउनेछ
8 परमप्रभुले मलाई भन्नुभयो, “एउटा ठूलो कागजको मुठा ल्याऊ अनि यी शब्दहरू लेख्न एउटा कलम प्रयोग गरः ‘महेर-शालल हाज-बज।’ यसको अर्थ हुन्छ, ‘त्यहाँ चाँडै लुटमार चोरी हुनेछ।’”
2 मैले केही मानिसहरू जम्मा गरें जसलाई मेरा विश्वासयोग्य साक्षीहरू मान्न सकिन्छ। यी मानिसहरू येबेरक्याहका छोरा ऊरियाह र जकर्याह पूजाहारी थिए। तिनीहरूले मलाई शब्दहरू लेख्दै गरेको देखे। 3 त्यसपछि म अगमवादिनीकहाँ गएँ। उनी गर्भवती भएकी थिइन अनि उनको एउटा छोरो भयो। तब परमप्रभुले मलाई भन्नुभयो, “त्यस छोरोको नाउँ महेर-शाललहाज-बज राख। 4 किनभने त्यो बालकले “माता-पिता” भन्नु अघि नै परमेश्वरले सारा धन-सम्पति खोसेर लैजानु हुनेछ साथै त्यहाँ धनाढ्य मानिसहरू जस्तै दमीश्कस र सामरियाबाट लैजानु हुनेछ अनि ती चीजहरू अश्शूरका राजालाई सुम्पिनु हुनेछ।”
5 फेरि परमप्रभुले मलाई भन्नुभयो। 6 उहाँले भन्नुभयो, “ती मानिसहरूले शीलो पोखरीमा विस्तारै बग्ने पानीलिन मानेन्। ती मानिसहरू रसीन र रमल्याहका छोरासित खुशी छन्।” 7 तर म परमप्रभु अश्शूरका राजालाई तिमीहरूको विरूद्धमा ल्याउनेछु। तिनीहरू यूफ्रेटिस नदीको बाढी जस्तै भयानक भएर आउनेछन्। यो यस्तो हुनेछ कि नदीमा बाढी आउँदा किनारहरू भत्काउँदै आउने उर्लेको पानी जस्तै हुनेछ। 8 त्यो पानी यहूदातर्फ बग्नेछ औ यो यहूदालाई डुबाउनेछ।
इम्मानुएल, यो तिम्रो सम्पूर्ण देश डुबाउन्जेल फैलिनेछ।
9 सबै तिमी राष्ट्रहरू, युद्धको लागि तयार हौ!
तिमीहरू परास्त हुनेछौ।
सुन टाढामा भएका सारा देशहरू!
युद्धका लागि तयार हौ।
तिमीहरू सबै परास्त हुनेछौ।
10 लडाइँ गर्नका निम्ति तिम्रा योजनाहरू तयार पार!
तिम्रा योजनाहरू परास्त हुने छन्।
तिम्रा सैन्यहरूलाई हुकुम गर
तिम्रा हुकुमहरू बेकामे हुनेछन्।
किनभने परमेश्वर हामीसँग हुनुहुन्छ।
यशैयाहलाई चेतावनीहरू
11 आफ्नो प्रभावपूर्ण शक्तिद्वारा परमप्रभुले मलाई भन्नुभयो। परमप्रभुले मलाई अरू मानिसहरू जस्तो नहुनु भनेर चेताउनी दिनु भयो। परमप्रभुले भन्नुभयो, 12 “प्रत्येक मानिसले भनिरहेछन्। कि अरूहरूले उहाँका विरूद्ध षडयन्त्रहरू तयार पार्दैछन्। तिमीले त्यस्ता कुराहरू विश्वास गर्नुहुँदैन। अन्य मानिसहरू डराए जस्तो भयावहक कुराहरूबाट नडराऊ! त्यस्ता कुराहरूमा तिमी नडराऊ!”
13 सेनाहरूका परमप्रभुको मात्र तिमीले डर राख्नु पर्छ। उहाँलाई मात्र तिमीले आदर गर्नु पर्छ। 14 यदि तिमीले परमप्रभुको आदर गर्यौ भने र उहाँलाई पवित्र ठान्यौ भने, उहाँले तिम्रोलागि सुरक्षा दिनुहुनेछ। तर तिमीले उहाँको आदर गरेनौ। यसैले तिमीहरूले ठेस खानेछौ। परमेश्वर चट्टान सरह हुनुभयो। उहाँ चट्टान हुनुहुन्छ जसद्वारा इस्राएलका दुइ परिवारहरूले नराम्रो ठेस खाए। यरूशलेमका सारा मानिसहरूलाई समात्नका लागि परमप्रभु एक पासो हुनहुन्छ। 15 (धेरै मानिसहरू यस चट्टानमाथि झरे। ती मानिसहरू झरेर टुक्रिए। तिनीहरू पासोमा समातिए।)
लेवी येशूलाई पछ्याउँछन्
(मत्ती 9:9-13; मर्कूस 2:13-17)
27 यसपछि येशू बाहिर जानु भयो अनि कर-कार्यालयमा एकजना कर-संग्रहकर्त्तालाई बसिरहेको देख्नु भयो। त्यसको नाउँ लेवी थियो। येशूले त्यसलाई भन्नु भयो, “मेरो पछि लाग।” 28 लेवी जुरूक्क उठ्यो अनि सबै कुरा छोडेर येशूको पछि लाग्यो।
29 तब लेवीले येशूका निम्ति आफ्नो घरमा ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरू मानसहरूको पनि ठूलो भीड थियो जो तिनीहरूसँगै मेजमा खाँदथे, 30 तर फरिसहरू र तिनीहरूका शास्त्रीहरू उहाँको चेलाहरूको विरुद्धमा यसो भन्दै गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसित किन खान पीन गर्छौ?”
31 येशूले उत्तर दिनु भयो, “निरोगीलाई वैद्यको आवश्यक पर्दैन, तर रोगीहरूलाई मात्र वैद्यको आवश्यकता पर्छ। 32 म धार्मिक मानिसहरूलाई बोलाउनु आएको होइन, म त पापीहरूलाई तिनीहरूका हृदय र रहन सहन परिवर्तन गर भनी अह्राउनु यहाँ आएको हुँ।”
© 2004, 2010 Bible League International