Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 138

दाऊदको भजन।

138 हे परमेश्वर, म सम्पूर्ण हृदयबाट तपाईंको प्रशंसा गर्छु।
    सारा देवहरूको सम्मुख म तपाईंका गीतहरू गाउनेछु।
हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाउँछु।
    म तपाईंको नाउँको प्रशंसा गर्छु,
    तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु।
तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ।
    अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो।
हे परमेश्वर, मैले तपाईंलाई सहयोगको निम्ति गुहारें।
    अनि तपाईंले मलाई जवाफ दिनुभयो, मलाई बल दिनुभयो।

हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि
    पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।
तिनीहरूले परमप्रभुको मार्गको गुण-गान गर्ने छन्,
    किनभने परमप्रभुको महिमा महान् छ।
परमेश्वर अत्यन्तै महत्वपूर्ण हुनुहुन्छ,
    तर पनि उहाँले नम्र मानिसहरूको हेरचाह गर्नुहुन्छ।
परमेश्वर ती अंहकारी मानिसहरूले के गर्दछन् भन्ने कुरा जान्नुहुन्छ,
    तर उहाँ त्यस्ता मानिसहरूबाट टाढा नै रहनु हुन्छ।
परमेश्वर, यदि म सङ्कटमा परे भने मलाई जिउँदै राख्नुहोला।
    यदि मेरो शत्रुहरू ममाथि क्रोधित भए तिनीहरूबाट मलाई बचाउनुँ होस्।
परमप्रभु, मलाई ती कुराहरू दिनुहोस् जुन तपाईंले वचन दिनु भएको थियो।
    परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा अनन्त रहनेछ।
    परमप्रभु, तपाईंले हामीलाई रच्नु भयो, यसैले हामीलाई नत्याग्नु होस्!

गन्ती 27:12-23

यहोशू नयाँ अगुवा

12 त्यस पछि परमप्रभुले मोशालाई भन्नुभयो, “यर्दन नदीको मरुभूमिको पहाडमा जाऊ। त्यहाँ तिमीले मैले इस्राएलका मानिसहरूलाई दिन लागेको भूमि देख्नेछौ। 13 त्यो भूमि देखे पछि तिम्रो दाज्यू हारून जस्तै तिमी पनि मर्नेछौ। 14 किनभने, सीनैको मरुभूमिमा मानिसहरूले पानीको निम्ति मसँग माग्दा तिमीले मेरो आज्ञा उलंघन गरेका थियौ। तिनीहरूको सामुन्ने तिमीले मलाई सम्मान राखेनौ।” (यो घटना सीनै मरुभूमिमा कादेश नजिकको मरीबाको पानीहरूमा भएको थियो।)

15 मोशाले परमप्रभुलाई भन्नुभयो, 16 “परमप्रभु परमेश्वर हुनुहुन्छ जसले मानिसहरूले के सोचिरहेकाछन् चाल पाउनु हुन्छ। हे परमप्रभु, म प्रार्थना गर्छु कि यी मानिसहरूको निम्ति एउटा मानिस अगुवा चुनिदिनु होस्। 17 म प्रार्थना गर्छु कि तपाईंले एउटा मानिस अगुवा चुनिदिनु होस् ताकि उसले यी मानिसहरूलाई यस भूमि देखि नयाँ भूमिमा अगुवाई गरेर लानेछ। त्यसो भए परमप्रभुका मानिसहरू गोठाला बिनाका भेंडाहरू जस्ता हुनेछैनन्।”

18 त्यसकारण परमप्रभुले मोशालाई भन्नुभयो, “यहोशू नूनको छोरो यी मानिसहरूका नयाँ अगुवा हुनेछन्। ऊसित आत्माको ज्ञान छ तिम्रो हातहरू उसको शिर माथि राखेर उसलाई अगुवा झैं नियुक्त गर। 19 तिनलाई पूजाहारी एलाजार अनि सारा मानिसहरूको अघि राख र अगुवा बनाऊ।

20 “उसलाई अधिकार देऊ यसकारण इस्राएलका सम्पूर्ण समूदायले उसलाई सुन्ने छ। 21 यदि यहोशूले कुनै विषयमा निर्णय लिनु परे तिनी पूजाहारी एलाजार कहाँ जानेछन् अनि एलाजारले परमप्रभुको उत्तर जान्नको निम्ति ऊरीम प्रयोग गर्नेछन्। त्यस पछि यहोशू र अन्य सबै इस्राएलीहरू परमप्रभुको आज्ञा अनुसार चल्नेछन्। यदि उहाँ भन्नुहुन्छ, ‘तिमीहरू युद्धमा जाऊ,’ तब युद्धमा जानेछन् र यदि तिमीहरू, ‘घरमा जाऊ’ भनि भन्नु हुन्छ भने, तब तिनीहरू घर जानेछन्।”

22 परमप्रभुको आज्ञा अनुसार मोशाले गरे। उनले यहोशूलाई इस्राएलका सारा समुदाय तथा पूजाहारीको सम्मुख उभ्याए। 23 त्यसपछि यहोशू माथि मोशाले हात राखे अनि परमप्रभुले तिनलाई दिनु भएको आज्ञा दिए।

प्रेरित 9:26-31

शावल यरूशलेममा

26 त्यसपछि शावल यरूशलेमतिर गए। उनले विश्वासीहरूको झुण्डमा सम्मिलित हुन कोशिश गरे तर तिनीहरू उनीबाट डराए। किनभने शावल साँची नै येशूका चेला हुन् भनेर विश्वास गरेनन्। 27 तर बर्णाबासले उनलाई स्वीकार गरे अनि प्रेरितहरू कहाँ ल्याए अनि कसरी शावलले दमीशकको बाटोमा प्रभुलाई देखेका थिए अनि कसरी प्रभु उनिसित बोल्नु भयो सो तिनीहरूलाई वर्णन गरे। अनि उसले शावलले कुनै डर बिना येशूको विषयमा दमीशकमा कसरी प्रचार गरे सो पनि भने।

28 अनि त्यसकारण शावल विश्वासीहरूसँगै बसे। उनी जताततै निर्भय भएर यरूशलेममा प्रभुको प्रचार गर्दै हिँडे। 29 शावल प्रायः ती यहूदीहरूसँग वार्तालाप गर्थे जसले ग्रीक भाषा जान्दथे। तिनीहरूसँग उनले तर्क-वितर्क पनि गरे। तर उनीहरूले शावललाई मार्ने प्रयास गरे। 30 जब चेलाहरूले त्यो कुरा थाहा पाए कि तिनीहरूले शावललाई सिजरिया भन्ने शहरमा लगे। त्यहाँ देखि तिनीहरूले उनलाई टार्सस शहरमा पठाए।

31 त्यसरी चारैतिर यहूदिया, गालील र सामरियाका मण्डलीहरूमा शान्ति छायो। विश्वासीहरूको समुदाय पराक्रमी भए किनकि तिनीहरू प्रभुको डरमा बसेका थिए अनि पवित्र आत्माले उत्साहित तुल्याइएका थिए। त्यसैले गर्दा विश्वासीहरूको संख्यामा बृद्धि हुन थाल्यो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International