Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई: “सुदूर ओक्मा ढुकुर” भन्ने रागमा दाऊदको “मिक्ताम” भन्ने भजन। जब गाथमा उहाँलाई पलिश्तीहरूले पक्रिए।
56 हे परमेश्वर, मानिसहरूले ममाथि आक्रमण गरे,
यसैले मप्रति तपाईंको कृपादान रहोस्।
तिनीहरूले लगातार मेरो खेदो गरेर मसँग लडाइँ गरे।
2 मेरो शत्रुहरूले ममाथि लगातार आक्रमण गरे।
त्यहाँ अनगन्ति लडाकुहरू छन्।
3 जब म भयग्रस्त हुन्छु,
तब तपाईंमाथि भरोसा राख्दछु।
4 म परमेश्वरमा भरोसा गर्छु यसैले म भयभित हुन्न,
यसर्थ मानिसहरूले जे गर्न सक्छन् त्यसमा म डराउँदिन।
उहाँको मप्रतिको वचनको लागि उहाँको स्तुति गर्छु।
5 मेरा शत्रुहरूले सधैँ मेरा कुराहरूको उल्टो अर्थ लाउँछन्।
तिनीहरूले सधैँ मेरो विरूद्ध योजनाहरू तयार गर्दछन्।
6 तिनीहरू सधैँ लुक्छन्
अनि जसरी पनि मलाई मार्ने मौका हेर्दै,
मेरो प्रत्येक चहल-पहल हेर्दछन्।
7 हे परमेश्वर, तिनीहरूलाई टाढा पठाई दिनुहोस्।
किनभने तिनीहरूले नराम्रो अधर्म कामहरू गरेका छन्।
तिनीहरूलाई विदेशी जातिहरूको क्रोधमा तड्पाउनु टाढा पठाइदिनुहोस्।
8 तपाईं जान्नुहुन्छ म कति डराएको छु।
तपाईं जान्नुहुन्छ मैले कति विलाप गरें।
निःसन्देह तपाईंले मेरो सम्पूर्ण आँसुको हिसाब राख्नु भएको होला।
9 यसैले, मेरो शत्रुहरूलाई प्ररास्त गरिदिनोस्।
जब म तपाईंलाई सहयोगको निम्ति गुहार गर्छु,
म जान्दछु तपाईं त्यसो गर्न सक्नुहुन्छ,
कारण तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ!
10 म परमेश्वरको वचनलाई प्रशंसा गर्छु।
म परमप्रभुको प्रशंसा गर्छु जसले उहाँको वचन म प्रति राख्नुभयो।
11 म परमेश्वरमा भरोसा गर्छु,
यसैकारण मानिसहरूले मलाई के गर्न सक्लान् भनी मैले डर मान्नु पर्दैन।
12 हे परमेश्वर, मैले खास वचनहरू तपाईंको लागि दिएको छु।
अनि मैले जे वचन दिएको छु त्यो गर्ने नै छु।
म मेरो धन्यवादको भेटीहरू तपाईंलाई अर्पण गर्ने छु।
13 किनभने तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउँनु भयो।
तपाईंले मलाई परास्त हुन देखि जोगाउनु भयो।
यसैले म उज्यालोमा परमेश्वरलाई उपासना गर्नेछु,
त्यो खाली जिउँदो मानिसहरूले मात्र देख्न सक्छन्।
नामानको समस्या
5 नामान अरामका राजाको सेनाका कप्तान थिए। नामान आफ्नो राजाकालागि धेरै महत्वपूर्ण थिए। किनभने परमप्रभुले उनलाई अरामको विजयका लागि प्रयोग गरेका थिए। नामान महान् र शक्तिशाली मानिस थिए, तर तिनी कुष्ठ रोगले ग्रस्त थिए।
2 अरामी सेनाले इस्राएलमा लडाईँ गर्नका लागि सैनिकहरूको धेरै दलहरू पठाए। सैनिकहरूले मानिसहरूलाई तिनीहरूको दास बनाए। एक पटक तिनीहरूले इस्राएलको भूमिबाट एउटी सानी केटी ल्याए। यो सानी केटी नामानकी पत्नीकी सेविका भई। 3 यस केटीले नामानकी पत्नीलाई भनी, “म चाहन्छु, मेरा मालिक नामानले अगमवक्ता एलीशासँग भेट गरून् जो सामरियामा बस्छन्। त्यस अगमवक्ताले नामानको कुष्ठा रोग निको पार्न सक्छन।”
4 नामान आफ्नो मालिक (अरामका राजा) कहाँ गए। नामानले अरामका राजालाई ती सबै कुराहरू गरे जो इस्राएली केटीले भनेकी थिई।
5 तब अरामका राजाले भने, “अहिले जाऊ र म इस्राएलका राजालाई एउटा पत्र पठाउने छु।”
यसकारण नामान इस्राएल गए। नामानले आफूसँग केही उपहारहरू लगे। नामानले दश तोडा चाँदी, 6,000 शेकेल सुनका टुक्राहरू र दश जोर लुगा लिएर गए। 6 नामानले अरामका राजाबाट इस्राएलका राजाका लागि पत्र लगे। पत्रमा लेखिएको छः “अहिले, यस पत्रले बताउँछ म आफ्नो सेवक नामानलाई तपाईकहाँ पठाउँदै छु। उसको कुष्ठ रोग निको पार्नुहोस्।”
7 जब इस्राएलका राजाले पत्र पढे, उनले आफूलाई दुःखी र उदाशी देखाउनका लागि आफ्नो लुगा च्याते। इस्राएलका राजाले भने, “के म परमेश्वर हुँ? होइन! मसित जीवन मरण नियन्त्रणको क्षमता छैन। यस कारण अरामका राजाले किन कुष्ठ को रोगीलाई मकहाँ निको पार्न पठाए? यस विषयमा सोचे अनि तिनीले थाह पाए, यो एउटा छल हो। अरामका राजा लडाइँ शुरू गर्ने चेष्टा गर्दै छन्।”
8 परमेश्वरको जन, एलीशाले सुने, इस्राएलका राजाले आफ्नो दुःख र रीस देखाउन लुगाहरू, च्याते। यसकारण एलीशाले आफ्नो खबर राजाकहाँ पठाए, “तिमीले आफ्नो लुगा किन च्यात्यौ? नामान मकहाँ आओस्। तब उसले थाह पाउने छ, इस्राएलमा एकजना अगमवक्ता छ।”
9 यसकारण नामान आफ्ना घोडाहरू अनि रथहरूसँगै एलीशाको घरमा आए अनि ढोकाको बाहिर उभिए। 10 एलीशाले नामानसम्म एक जना दूत पठाए। दूतले भन्यो, “जाऊ अनि यर्दन नदीमा सात पटक धोऊ। तब तिम्रो छालाको कुष्ठ निको हुनेछ अनि तिमी शुद्ध हुने छौ।”
11 नामान रिसाए अनि फर्किए। उनले भने, “मैले सोचेको थिएँ एलीशा बाहिर निस्किन्छन् अनि मेरो अघि उभिन्छन् अनि आफ्नो परमप्रभु परमेश्वरलाई आह्वान गर्ने छन्। मैले सोचेको थिएँ, उनले मेरो शरीरमाथि आफ्नो हात हल्लाउने छन् अनि कुष्ठ रोग निको हुनेछ। 12 दमीशकका नदीहरू अबाना र फारपर इस्राएलका सबै पोखरीहरूका पानी भन्दा राम्रा छन्। मैले दमीशकका ती नदीहरूमा धुने काम किन नगर्नु अनि निको नहुनु?” नामान साह्रै रिसाएका थिए अनि तिनी फर्किए।
13 तर नामानको सेवकहरू उनकोमा गए अनि उनीसँग कुरा गरे। उनीहरूले भने, “मालिक, यदि अगमवक्ताले तपाईँलाई केही महान कार्य गर्नु भनेको खण्डमा, तपाई गर्नु हुन्छ, होइन र यसकारण तपाईले उनको आज्ञा पालन गर्नु पर्छ यदि उनी तपाईलाई केही सरल काम गर्नु भन्दछन्। अनि उनले भने, ‘नुहाऊ अनि तिमी शुद्ध र स्वच्छ हुनेछौ।’”
14 यसकारण नामानले त्यही गरे जो परमेश्वरको जनले गर्नु भने। नामान नदीमा पसे अनि यर्दन नदीमा सात पटक डुबे। अनि नामान शुद्ध र स्वच्छ भए। नामानको छाला नानीकोछाला जस्तै नरम भयो।
13 यसकारण जसले विभिन्न भाषा बोल्ने वरदान पाएको छ उसले आफूले बोलेका कुराहरूको अनुवाद पनि गर्न सक्ने हुने प्रार्थना गरोस्। 14 यदि म विभिन्न भाषामा प्रार्थना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो मन त्यसमा संलग्न हुँदैन। 15 तब मैले के गर्नुपर्छ? म मेरो आत्माले प्रार्थना गर्नेछु र मेरो मनले पनि प्रार्थना गर्नेछु। मेरो आत्माले गाउँनेछ र मनले पनि गाउँनेछ। 16 तिमी तिम्रो आत्माले परमेश्वरको प्रशंसा गरौला तर साधारण मानिसले तिम्रो धन्यवादमा “आमिन” भन्न सक्दैन। किनभने तिमीले के भन्दैछौ उसले बुझ्न सक्तैन। 17 परमेश्वरलाई तिम्रो धन्यवाद असल भए पनि, तर त्यसले अरू मानिसलाई दरिलो बनिन सहायता गर्दैन।
18 म परमेश्वरलाई धन्यवाद दिँदछु कारण तिमीहरू सबैको भन्दा म विभिन्न भाषाहरू बोल्न सक्षम छु। 19 तर मण्डलीमा विभिन्न भाषाका हजारौं शब्दहरू भन्नु भन्दा म जुन भाषा बुझ्छु त्यसको पाँचवटा शब्द बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि अरूलाई सिकाउन सकुँ।
20 दाज्यू-भाइ दिदी-बहिनीहरू हो! केटाकेटीहरूले जस्तो नसोच। नराम्रा कुराहरूमा बालकहरू जस्ता होऊ। तर आफ्नो विचारमा तिमीहरू परिपक्व मानिस बन। 21 व्यवस्थामा लेखिएको छः
“विभिन्न भाषा बोल्ने मानिसहरू लिएर,
अनि विदेशीहरूकै ओठ चलाएर,
म तिनीहरूसित बोल्छु।
तथापि तिनीहरूले मलाई सुन्दैनन्।”(A)
प्रभु त्यसै भन्नुहुन्छ।
22 यसैकारण विभिन्न भाषामा बोल्ने वरदान विश्वास नगर्ने मानिसहरूको प्रमाण हो, विश्वास गर्नेहरूको होइन। अनि अगमवाणी तिनीहरू निम्ति हो जसले विश्वास गर्छन्, विश्वास नगर्नेहरूलाई होइन। 23 मानिलेऊ, मण्डलीका सारा सदस्यहरू एक ठाउँमा भेला भएका छन् अनि तिमीहरू विभिन्न भाषाहरूमा बोल्छौ। यदि कतिपय मानिसहरू जसले बुझ्दैन अथवा त्यहाँ कतिपय विश्वास नर्गेने मानिसहरू सभामा आउँछन्। ती मानिसहरूले तिमीहरूलाई बौलाहा भन्ने छैनन्? 24 तर मानिलेऊ तिमीहरू सबे अगमवाणी बोल्दैछो अनि कुनै विश्वास नगर्ने मानिस भित्र पस्छ वा कुनै अबुझ मानिस भित्र पस्छ। त्यस मानिसलाई उसको पाप देखाइन्छ, अनि तिमीहरू सबैले बोलेका कुराहरूबाट ऊ जाँचिन्छ। 25 त्यस मानिसको हृदयका गुप्त कुराहरू प्रकट हुँदछ। तब त्यो मानिस झुक्नेछ अनि परमेश्वरको आराधना गर्नेछ। उसले भन्नेछ, “साँच्चै, परमेश्वर तिमीहरूसितै रहेछन्।”
© 2004, 2010 Bible League International