Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 148

148 परमप्रभुको प्रशंसा गर!

माथि स्वर्गमा भएका स्वर्गदूतहरू हो।
    परमप्रभुको प्रशंसा गर।
हे सारा स्वर्गदूतहरू हो, परमप्रभुको प्रशंसा गर!
    उहाँ र उहाँका सारा सैन्यहरूका प्रशंसा गर!
हे सूर्य र चन्द्र, परमप्रभुको प्रशंसा गर।
    आकाशमा भएका ताराहरू र ज्योतिहरू, उहाँको प्रशंसा गर।
हे आकाशका आकाश, परमप्रभुको प्रशंसा गर!
    आकाशमाथि भएका पानी हो, परमप्रभुको प्रशंसा गर!
परमप्रभुको प्रशंसा गर!
    किनभने परमेश्वरले आज्ञा दिनुभयो अनि सबैको सृजना भयो।
परमेश्वरले यी सब कुराहरू सदा-सर्वदा रहोस् भनी रच्नुभयो।
    परमेश्वरले सारा नियमहरू बनाउनुभयो जुन कहिल्यै अन्त हुने छैनन्।
हे पृथ्वीमा भएका सारा कुराहरू हो, परमप्रभुको प्रशंसा गर!
    समुद्रमा भएका सारा ठूल-ठूला प्राणीहरू हो, परमप्रभुको प्रशंसा गर।
परमेश्वरले आगो र हिउँ,
    असिना, धुँवा, आँधी, बतास रच्नुभयो।
परमेश्वरले पर्वतहरू र डाँडा-काँडाहरू रचना गर्नुभयो,
    फलका रूखहरू र देवदारको रूखहरू रच्नुभयो।
10 परमेश्वरले सारा जङ्गली पशुहरू, विशाल पशुहरू,
    साना-साना घस्रने जन्तुहरू साथै चरा-चरूङ्गीहरू रच्नु भयो।
11 परमेश्वरले राजा र राष्ट्रहरू दुवै पृथ्वीमा बनाउनु भयो।
    परमेश्वरले अगुवाहरू र न्याय कर्ताहरू बनाउनु भयो।
12 परमेश्वरले जवान पुरूष र नारीहरू रच्नु भयो।
    परमेश्वरले बृद्ध र युवा मानिसहरू रच्नु भयो।
13 परमप्रभुको नाउँको प्रशंसा गर!
    सदा-सर्वदा उहाँको नाउँको सम्मान गर।
स्वर्ग र पृथ्वीमा भएको प्रत्येक चीजले
    उहाँको प्रशंसा गरोस्!
14 परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो बनाउनु हुनेछ।
    मानिसहरूले परमेश्वरका चेलाहरूको प्रशंसा गर्नेछन्।
    मानिसहरूले इस्राएललाई प्रशंसा गर्नेछन्।
तिनीहरूकै लागि परमेश्वरले लड्नु भयो, परमप्रभुको प्रशंसा गरौं!

2 इतिहास 24:17-24

17 यहोयादाको मृत्यु पछि, यहूदाका प्रमुखहरू आए अनि राजा योआश समक्ष झुके। राजाले ती प्रमुखहरूका कुरा सुने। 18 राजा अनि ती अगुवाहरूले तिनीहरूका पिता-पुर्खाहरूले आराधना गर्ने परमप्रभु परमेश्वरको मन्दिरलाई परित्याग गरे। तिनीहरूले अशेरा खामा अनि अन्य मूर्तिहरूका पूजा गर्न शुरू गरे। परमेश्वर यहूदा अनि यरूशलेमका मानिसहरूसित क्रोधित हुनु भयो किनभने राजा अनि अगुवाहरू दोषी थिए। 19 परमेश्वरले मानिसहरू कहाँ तिनीहरूलाई परमप्रभु तिर फर्काइ ल्याउन भनी अगमवक्ताहरू पठाउनु भयो। अगमवक्ताहरूले मानिसहरूलाई चेताउनी दिए। तर मानिसहरूले सुन्न अस्वीकार गरे।

20 परमेश्वरको आत्मा जकर्याह माथि उत्रिनुभयो। जकर्याहका पिता पूजाहारी यहोयादा थिए। जकर्याह मानिसहरूका सामुन्ने उभिए अनि भने, “परमेश्वरले जे भन्नु हुन्छ त्यो यो होः ‘किन तिमीहरूले परमप्रभुको आदेशहरूको पालन गर्न अस्वीकार गर्छौ? तिमीहरू सफल हुने छैनौं। तिमीहरूले परमप्रभुलाई त्याग्यौ यसकारण परमप्रभुले पनि तिमीहरूलाई त्याग्नु भएको छ।’”

21 तर मानिसहरूले जकर्याहको विरूद्ध षड्‌यन्त्र रचे। राजाले जकर्याहलाई मार्न भनी मानिसहरूलाई आदेश दिए, यसर्थ तिनको मृत्यु नहुन्जेल मानिसहरूले तिनलाई ढुङ्गा हाने। मानिसहरूले यो काम मन्दिरको आँगनमा गरे। 22 राजा योआशले तिनी प्रति यहोयादाले दर्शाएको दया सम्झेनन्। यहोयादा जकर्याहका पिता थिए। तर योआशले यहोयादाका छोरा जकर्याहलाई मारिदिए। जकर्याहको मृत्यु हुनु अघि तिनले भने, “परमप्रभुले देख्नु हुनेछ जो तिमीहरूले गर्दै छौ अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”

23 बर्षको अन्ततिर, अरामी सेना योआशको विरूद्ध आए। तिनीहरूले यहूदा अनि यरूशलेम माथि आक्रमण गरे अनि मानिसका सबै प्रमुखहरूलाई मारिदिए। तिनीहरूले सबै मूल्यवान बस्तुहरू दमीशकका राजा कहाँ पठाए। 24 अरामी सेना मानिसहरूको सानो दलको रूपमा आएका थिए तर परमप्रभुले तिनीहरूलाई यहूदाका अति विशाल सेनालाई परास्त पार्न दिनु भयो। परमप्रभुले यसो गर्नु भयो। किनभने यहूदाका मानिसहरूले, आफ्ना पुर्खाहरूले अनुशरण गरेका परमप्रभु परमेश्वरलाई त्याग गरे। यसरी योआश दण्डित भए।

प्रेरित 6:1-7

विशेष कामको लागि सातजना चुनिए

धरै भन्दा धेरै मानिसहरू येशूका चेला हुन थाले। तर त्यही अवधिमा, ग्रीक-भाषी चेलाहरूले यहूदी भाषी चेलाहरूको विरुद्ध नालिस गरे। तिनीहरूले दावी गरे कि तिनीहरूका विधवाहरूले दैनिक वितरणमा ठीक भाग पाइरहेका छैनन्।

यसर्थ बाह्रजना प्रेरितहरूले ती सबै समूहका चेलाहरूलाई एक साथ बोलाए, र तिनीहरूलाई भने, “हामीले आहार वितरणमा सहायता गर्नका निम्ति परमेश्वरको वचन सिकाउने काम लत्याएका छौ तर यो हाम्रो निम्ति उचित होइन। यसैले दाज्यू-भाइहरू हो, तिमीहरूबाटै सात जना मानिसहरू चुन। तिनीहरू सबै पुरुष जाति हुनपर्छ जसको बारेमा मानिसहरूले ती असल छन् भनुन्। तिनीहरू जो चुनिन्छन् ज्ञान अनि पवित्र-आत्माले परिपूर्ण भएका हुनपर्छ। हामी तिनीहरूलाई यो काम गर्न नियुक्त गर्नेछौं। यसप्रकारले हामी हाम्रो समय प्रार्थना गर्नमा र परमेश्वरको वचन प्रचार गर्नमा लगाउन समर्थ हुनेछौं।”

चेलाहरूका जम्मै टोलीले त्यस्तो विचार मन पराए। तब तिनीहरूले यी सातजना मानिसहरू छानेः स्तिफनस (विश्वासपूर्ण र पवित्र आत्माले परिपूर्ण भएको मानिस) फिलिप, प्रखुरस, निकनोर, तीमोन, पर्मिनास र निकोलस एन्टिओकको, जो पहिले यहूदी भएका थिए। त्यसपछि तिनीहरूले यिनीहरूलाई लगे अनि प्रेरितहरूकहाँ उपस्थित गराए। तिनीहरूले प्रार्थना गरे अनि आफ्ना हातहरू ती मानिसहरूमाथि राखे।

परमेश्वरको वचन धेरै मानसिहरूकहाँ पुग्दै थियो। यरूशलेममा चेलाहरूको संख्या बढ्दै गइरहेको थियो धेरै यहूदी पूजाहारीहरू पनि यस विश्वासका चेला बने।

प्रेरित 7:51-60

51 तब स्तिफनसले भने, “तिमी अट्टेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माले तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैँ विरोध गर्छौ। तिम्रा पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ। 52 तिमीहरूका पुर्खाहरूले नसताएका कुनै अगमवक्ता होलान? ती अगमवक्ताहरूले एक धार्मिक आउनु हुन्छ भनेर पहिल्यै भनिसकेका थिए। तर तिमीहरूका पुर्खाहरूले तिनीहरूलाई मारे। अनि अहिले तिमीहरूले एक धार्मिक मानिस प्रति विश्वासघात गर्यौ अनि उहाँलाई मार्यौ। 53 तिमीहरू त्यही मानिसहरू हौ जसले स्वर्गका दूतहरूले दिएको मोशाको व्यवस्थालाई ग्रहण गर्यौ तर पालन गरेनौं।”

स्तिफनस मारियो

54 जब यहूदी नेताहरूले यी कूरा सुने तिनीहरू रिसले चूर भए अनि उनको विरूद्ध दाह्रा किट्न थाले। 55 तर स्तिफनस पवित्र-आत्माले परिपूर्ण थिए। स्तिफनसले उँभो आकाश तिर हेरे। उनले परमेश्वरको महिमा देखे। अनले येशूलाई परमेश्वरको दाहिने तर्फ उभिरहेको देखे। 56 स्तिफनसले भने, “हेर! मैले स्वर्ग खुल्ला अनि मानिसको पुत्र परमेश्वरको दाहिने तर्फ उभिरहेको देख्छु!”

57 तुरून्तै समस्त यहूदी अगुवाहरू एकसाथ ठूलो स्वरमा चिच्याए। तिनीहरूले आफ्ना हातले कान बन्द गरे। तिनीहरू सबै एकसाथ स्तिफनस तिर दौडे। 58 तिनीहरूले उनलाई शहर बाहिर फ्याँके अनि ढुङ्गा हान्न थाले। ती मानिसहरू ज-जसले स्तिफनसको विरूद्ध झूटो कुरा गरेका थिए, तिनीहरूले आफ्ना पोशाक खोलेर शावल नाउँको एक युवकलाई दिए। 59 अनि त्यसपछि तिनीहरूले स्तिफनस माथि ढुङ्गा हान्न शुरू गरे। तर स्तिफनस प्रार्थना गरिरहेका थिए। उनले भने, “प्रभु येशू, मेरो आत्मा ग्रहण गर्नुहोस्!” 60 तब उनले घूँडा टेके अनि जोडले चिच्याए, “प्रभु, यिनीहरूलाई यो पापका निम्ति दोष नदिनुहोस्!” यति भनिसके पछि स्तिफनसले देह त्याग गरे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International