Revised Common Lectionary (Complementary)
23 सतर्क भएर हिंड्ने सिपाहीलाई परमप्रभुले साथ दिनुहुन्छ।
परमप्रभुले ती सिपाहीहरूलाई नष्ट हुनदेखि जोगाउनु हुन्छ।
24 यदि त्यो सिपाहीले दगुरेर आफ्ना शत्रुलाई आक्रमण गर्छ भने परमप्रभुले उसको हात समात्नु हुनेछ,
र उसलाई युद्ध गर्नुबाट जोगाउनु हुनेछ।
25 म जावन थिएँ तर अब वृद्ध भएको छु,
तर मैले कहिल्यै पनि परमेश्वरले धार्मिक मानिसहरूलाई त्याग्नु भएको देखेको छैन।
मैले कहिल्यै पनि धर्मी मानिसहरूका नानीहरूले खानको लागि भीख माग्नु परेको देखेको छैन।
26 धार्मिक मानिसहरूले उदारतापूर्वक अरूलाई दिन्छन्
अनि धार्मिक मानिसहरूका नानीहरू परमप्रभुका आशीर्वाद हुन्।
27 यदि तिमीले अधर्मका कामहरू गर्न अस्वीकार गर्यौ भने
तिमी सँघै बाँच्ने छौ।
28 परमप्रभुले न्याय मन पराउनु हुन्छ,
उहाँले आफ्ना भक्तजनहरूलाई खाली हात छोड्नु हुन्न।
परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैँ रक्षा गर्नुहुन्छ
तर कपटी मानिसहरूलाई नाश गर्नु हुनेछ।
29 धार्मिक मानिसहरूले परमप्रभुको वचन अनुसारको देश पाउनेछन्।
तिनीहरू त्यहाँ सदा-सर्वदा बस्ने छन्।
30 धर्मी मानिसले उत्तम सल्लाह दिंदछ।
उसको निर्णय प्रत्येक मानिसको निम्ति निष्पक्ष हुन्छ।
31 उनले परमप्रभुका उपदेशहरू मनन गरेको छ।
अनि ठीक प्रकारले बाँच्नबाट ऊ कहिल्यै बन्चित हुँदैन।
32 तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्ने बाटाहरू खोजिरहेका हुन्छन्।
33 जब असल मानिसहरू दुष्ट मानिसको पासोमा पर्छन्,
परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न।
जब दुष्ट मानिसहरूले असल मानिसहरूलाई न्यायालयमा लैजान्छन्,
परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न।
34 परमप्रभुले भन्नु भएको कुराहरू गर र उहाँको सहयोगको निम्ति पर्ख।
परमप्रभुले तिनीहरूलाई विजयी बनाउनु हुनेछ, अनि परमेश्वरले दिनु भएको जग्गा पाउने छौ,
उहाँले दुष्टहरूलाई त्यो जग्गा छोड्न लाउनु हुनेछ।
35 मैले एक बलवान कपटी मान्छे देखें।
ऊ एकदमै सप्रेको रूख जस्तै बलियो थियो।
36 तर ऊ हिंडी सकेको थियो।
मैले उसलाई खोजें, तर भेट्न सकिनँ।
37 शुद्ध र ईमान्दार बन।
शान्ति प्रिय मानिसहरूले धेरै सन्तानहरू पाउनेछन्।
38 तर जुन मानिसले आज्ञाहरू मान्दैन त्यो पूर्ण रूपले ध्वंश हुनेछन्।
अनि तिनीहरूका भावी सन्तानहरूलाई जग्गा छोडेर जानलाई बाध्य हुनेछन्।
39 धर्मी मानिसहरूलाई परमप्रभुले बचाउँनु हुन्छ।
जब धर्मी मानिसहरू सङ्कटमा पर्दछन् परमप्रभु तिनीहरूको बल बन्नु हुनेछ।
40 परमप्रभुले धर्मी मानिसहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूलाई बचाउँनु हुन्छ।
धर्मी मानिसहरू परमप्रभुमाथि आश्रित हुन्छन्,
अनि तिनीहरूलाई उहाँले दुष्ट मानिसहरूबाट बचाउनु हुनेछ।
इस्राएलीहरूले राजाको माग गरे
8 शमूएल जब वृद्ध भए, तिनले आफ्ना छोराहरूलाई इस्राएलका न्यायकर्त्ता नियुक्त गरे। 2 शमूएलका जेठा छोराको नाउँ योएल थियो। माहिला छोराको नाउँ चाहिं अबियाह थियो। योएल र अबियाह बेर्शबामा न्यायकर्ता थिए। 3 तर शमूएलका छोराहरू बाबुको चालमा हिडेनन् योएल र अबियाहले घूस खाने गर्थे। चुपचाप घूस लिएर न्यायलयमा अन्याय गर्थे। 4 यसर्थ इस्राएलका सबै बूढा-प्रधानहरू शमूएललाई भेट्न रामामा भेला भए। 5 बूढा-प्रधानहरूले शमूएललाई भने, “तपाईं बूढा हुनुभयो, तपाईंका छोराहरू तपाईं जस्ता ठीक बाटामा छैनन्। अब, हामीलाई शासन अनि न्याय गर्न अरू देशहरूको जस्तै राजा दिनुहोस्।”
6 यसरी बूढा-प्रधानहरूले तिनीहरूलाई मार्ग दर्शन गर्ने एउटा राजा मागे। शमूएलले ठाने यो युक्ति गलत छ। यसर्थ शमूएलले परमप्रभुमा प्रार्थना गरे। 7 शमूएललाई परमप्रभुले भन्नुभयो, “मानिसहरूले जसो भन्छन् त्यसै गर। तिनीहरूले तँलाई अस्वीकार गरेका छैनन्। बरू मलाई अस्वीकार गर्दैछन्। तिनीहरूले मलाई तिनीहरूको राजा हुन अस्वीकार गरिरहेका छन्। 8 तिनीहरूले सधैँ जे गर्थे त्यही गर्दैछन्। मैले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याएँ। तर तिनीहरूले आज मलाई छाडेर अन्य देवताहरूको सेवा गरे। तिनीहरूले तँलाई पनि त्यस्तै गर्दैछन्। 9 यसर्थ मानिसहरूका कुरा सुनेर तिनीहरूले भने झैं गर। तर तिनीहरूलाई एउटा चेतावनी भने दिनु। तिनीहरूलाई भनिदिनु राजाले तिनीहरूलाई के गर्छ। एउटा राजाले मानिसहरूलाई कसरी शासन गर्छन्।”
10 ती मानिसहरूले एउटा राजाको माग गरे। यसकारण परमप्रभुले भन्नु भएका सम्पूर्ण कुराहरू शमूएलले मानिसहरूलाई बताए। 11 शमूएलले भने, “यदि तिमीहरू तिमीहरूमाथि शासन गर्ने राजा चाहान्छौ भने राजाले यसो गर्नेछन्। उसले तिमीहरूको छोराहरूलाई लाने छन् अनि उसको सेवा गर्न तिनीहरूलाई विवश पार्नेछन्। राजाले तिमीहरूका छोराहरूलाई सैनिक बनाएर उनका रथ सँगसँगै दौडन लगाउँने छन् र घोडचढी बनाएर आफ्नो सैनिकमा राख्नेछन्। तिमीहरूका छोरालाई आफ्ना रथको अघि दौडने रक्षक बनाउने छन्।
12 “राजाले तिम्रो छोराहरूलाई सैनिक बन्न वाध्य गराउने छन्। त्यसमध्ये कोही 1,000 मानिसहरूका अधिकारी बन्ने छन अनि अरू 50 जना भन्दा ज्यादा मानिसका।
“राजाले तिम्रा छोरालाई उनको खेत जोत्न र फसल काट्न बाध्य गराउनेछन्। कतिलाई फेरि युद्धको निम्ति हातहतियार बनाउन लाउनेछन्। कतिलाई रथको चीजहरू बनाउँन लाउँनेछन्।
13 “राजाले तिमीहरूका छोरीहरूलाई पनि लानेछन्। तिनीहरूमध्ये कतिलाई खाना पकाउन र रोटी पकाउन विवश गर्नेछन्। अनि कसैलाई अत्तर बनाउन बाध्य गर्नेछन्।
14 “राजाले तिमीहरूको सबभन्दा असल खेतहरू, दाखको बगैंचा र भद्राक्षका रूखहरू लानेछन्। अनि तिनीहरूलाई उसको सेवकहरूको हातमा सुम्पिदिनेछन्। 15 तिमीहरूको अन्न र दाखको फसलको दशौ भाग राजाले लिनेछन्। अनि अधिकारीहरू अनि सेवकहरूको हातमा सुम्पिदिनेछन्।
16 “राजाले तिमीहरूका कमारा-कमारीहरूलाई पनि लैजाने छन्। उनले असल जातका पशु र गधाहरू पनि तिमीहरूबाट लिनेछन्। यी सबै लगेर आफ्नै प्रयोगमा लगाउँने छन्। 17 तिमीहरूका भेंडा बाख्राको दशौ भाग पनि तिनले लिनेछन्।
“अनि तिमी आफैं पनि राजाको दास बनिनेछौ। 18 तब तिनीहरू आफूले चुनेको राजाबाट छुटकाराको निम्ति रूनेछौ। तर त्यस समय परमप्रभुले कुनै जवाफ दिनुहुने छैन।”
6 1-2 यसकारण अब हामीले ख्रीष्ट बारेको प्रारंभिक पाठहरू छोड्नु पर्छ र पूर्णता तिर जानुपर्छ। हामी शुरू तिरै फर्कनु हुँदैन। मृत कर्महरूलाई पछि नै छोडेर अनि परमेश्वरमा विश्वास गरेर हामीले ख्रीष्टमा हाम्रो जीवन शुरू गरेका थियौ। त्यसबेला, हामीलाई बप्तिस्माहरू,[a] मानिसहरूमाथि हातहरू राख्ने विशेष कर्म, मृतकको पुनरूत्थान र अनन्त न्यायको बारेमा सिकाइएको थियौं। तर अब हामीले अरू परिपक्व शिक्षा तर्फ बढ़नु पर्छ। 3 परमेश्वरले चाहनु भए हामी त्यो पनि गर्छौं।
4-6 मानिसहरूले ख्रीष्टलाई छोडिदिए पछि, तिनीहरूका जीवनको बाटो फेरि बदल्न सकिएला? सत्य सिक्नेहरू बारे म भन्दैछु। तिनीहरूले परमेश्वरबाट उपहार लिएका छन् र पवित्र आत्माको भागीदार बनेका छन्। तिनीहरूले परमेश्वरले भन्नुभएको वचन सुनेका छन्, र परमेश्वरको नयाँ संसारको महाशक्ति देखेका छन्। अनि ती कुराहरू खुबै राम्रा थिए भनेर तिनीहरूले बुझेका छन्। तर त्यसपछि तिनीहरूले ख्रीष्टलाई छोडे। अब तिनीहरूलाई फर्काएर फेरि ख्रीष्टमै ल्याउन असंभव छ। किनकि तिनीहरूले ख्रीष्टलाई फेरि क्रूसमा टाँगेर काँटी ठोक्दैछन्। तिनीहरूले मानिसहरूको सामू ख्रीष्टलाई लज्जित तुल्याउँदै छन्।
7 जुन खेतले घरि-घरि पानी पाउँछ र खेती गर्नेलाई अन्न उमार्छ। यस्ता खेतले परमेश्वरको आशीर्वाद पाउँछ। 8 तर यदि त्यस जमीनले काँढा र सिउँडीहरू उमार्छ भने त्यो बेकार छ। त्यस जमीनले परमेश्वरबाट श्राप पाउने डर छ र त्यसलाई आगोले डडाउने छ।
9 प्रिय मित्रहरू, यद्यपि हामी तिमीहरूलाई यी कुराहरू भन्छौं। तथापि हामी ढुक्क छौं कि तिमीहरूको अवस्था त्यो भन्दा धेरै राम्रो छ र त्यसले तिम्रो मुक्तिको जमानत दिन्छ। 10 परमेश्वर न्यायसँगत हुनुहुन्छ। परमेश्वरले तिमीहरूले गरेको कामको याद गर्नु हुनेछ। उहाँका मानिसहरूलाई सहायता गरेर तिमीहरूले देखाएको आफ्नो प्रेमलाई तिमीहरूको अटूट सहायतालाई परमेश्वरले सन्झनु हुनेछ। तब तिमीहरूको आशा पनि पूर्ण गरिने छ।
11 तिमीहरू प्रत्येकले आफ्नो जीवनभरि यस्तै प्रयत्न गर्दै जाऊ भन्ने हामी चाहन्छौं। तब तिमीहरूको आशा पूर्ण हुने छ। 12 अल्छे नहोऊ, हामी तिमीहरूलाई तिनीहरू जस्तै होऊ भन्ने चाहन्छौ जसले परमेश्वरका वचनवद्ध कुराहरू पाए। तिनीहरूले परमेश्वरका वचनहरू पाउँछन किनकि तिनीहरूको विश्वास र धैर्य छ।
© 2004, 2010 Bible League International