Revised Common Lectionary (Complementary)
मन्दिर समर्पणकोलागि दाऊदको एउटा भजन।
30 हे परमप्रभु, तपाईंले मलाई मेरो सङ्कटहरूबाट माथि उठाउनु भयो।
तपाईंले मेरो शत्रुहरूलाई जित्न दिनु भएन र मप्रति हाँसो उडाउन दिनु भएन।
यसैले तपाईं प्रति म सम्मान जनाउँदछु।
2 हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरें
र मलाई निको पार्नु भयो।
3 तपाईंले मलाई चिहानबाट निकाल्नु भयो र बाँच्न दिनुभयो।
मैले खाडलमा लडिरहेका मृतकहरूसित मिल्नु परेन।
4 हे परमेश्वरका भक्तजनहरू, परमप्रभु प्रति भजन गाऔ!
उहाँको पवित्र नाउँको प्रशंसा गर!
5 परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो।
तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो।
म राती रोइरहें,
अर्को बिहान म खुशी थिएँ र गाइरहेथें!
6 जब म जोगिएँ र सुरक्षित भएँ,
सोचें केही कुरोले पनि मलाई कष्ट पुर्याउन सक्ने छैन!
7 हे, परमप्रभु जब तपाईं मप्रति कृपालु हुनुहुन्थ्यो
मैले अनुभव गरें कसैले पनि मलाई पराजित गर्न सक्ने छैन!
जब तपाईंले मबाट मुख फर्काएर जानुभयो,
म डराएँ र कामे।
8 यसर्थ परमेश्वर, म फर्कें अनि तपाईंसँग प्रार्थना गरें।
मैले तपाईंलाई दयाको बिन्ती गरें।
9 मैले भने, “परमेश्वर के यदि म मरें,
अनि चिहानभित्र गएँ भने राम्रो हुन्छ र?
मरेका मानिसहरू खाली धूलोभित्र पल्टिएर बस्छन्!
तिनीहरूले तपाईंको प्रशंसाहरू गाउँदैनन्।
कतिसम्म हामी तपाईंमाथि निर्भर हुनसक्छौं।
तिनीहरूले मानिसहरूलाई भन्दैनन्।
10 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मप्रति कृपादृष्टि राख्नुहोस्!
हे परमप्रभु, मलाई साथ दिनुहोस्!”
11 मैले प्रार्थना गरें र तपाईंले साथ दिनुभयो!
तपाईंले मेरो रूवाइलाई नाचमा बद्ली दिनुभयो।
तपाईंले मेरो उदासीनताका पोशाकहरू फुकालेर लैजानु भयो
र खुशीयालीले मलाई ढाकिदिनु भयो।
12 हे परमप्रभु, मेरो परमेश्वर, म सदासर्वदा तपाईंको स्तुति गाउनेछु यसकारण त्यहाँ कहिल्यै निस्तब्ध हुनेछैन,
अनि म सधैँ तपाईंको प्रशंसा गर्छु।
18 परमप्रभुको सामुने अन्तर हृदयबाट क्रन्दन गर।
हे सियोनकी छोरी तेरो पर्खालहरू
आँसुको खोला जस्तै बग्न दे।
रात-दिन तेरो आँसु बग्न दे।
तेरो आँखालाई नरोक शान्त हुन नदे!
19 उठ! राती रोऊ! रातको प्रत्येक पहरको शुरूमा रोऊ।
हृदयलाई परमप्रभुको समीप पोखाऊ।
परमप्रभुसँग प्रार्थनाको लागि हात उचाल।
आफ्ना नानीहरूको जीवनका निम्ति प्रार्थना गर।
भोकले बेहोस भएका नानीहरूलाई जीवनदान दिने प्रार्थना गर।
उनीहरू शहरका बाटो-घाटोमा खाना बिनानै बेहोस हुँदैछन्।
20 हे परमप्रभु! मलाई हेर्नु होस्, हेर्नुहोस्,
म को हुँ, जसलाई तपाईंले यस्तो व्यवहार गर्नु हुँदैछ?
म तपाईंलाई एउटा प्रश्न गर्न चाहन्छु,
“के आफूले जन्माएको शिशुलाई नै स्त्रीले खान्छे र?
के तिनीहरूले हुर्काएको नानीहरूलाई नै खान्छन् र?
के पूजाहारी र अगमवक्ताहरूलाई परमप्रभुको मन्दिरमा मार्नै पर्छ?”
21 गल्लीहरूमा जवानहरू,
र बूढा मानिसको लाशहरू लडिरहेकाछन्।
तरूणी अनि तन्देरीहरू तरवारले बराबरी काटिए।
परमप्रभु जब तपाईं रिसाउनु भयो,
तब तिनीहरूलाई मार्नु भयो।
कुनै दया नदेखाइकन तपाईंले तिनीहरूको नष्ट गर्नु भयो।
22 तपाईंले चारैतिरबाट मकहाँ,
आतङकलाई निम्ताउनु भयो।
तपाईंले आतंकलाई कुनै पर्वका दिन जस्तै
गरेर निम्ताउनु भयो।
कुनै त्यक्ति पनि परमप्रभुको क्रोधबाट
बाँच्न सकेन जसलाई,
हुर्काइ बढाई गरेकी थिएँ,
मेरा शत्रुहरूले तिनीहरूलाई मारे।
येशूद्वारा दुष्टात्मा लागेको मानिस निको भएको
(मर्कूस 1:21-28)
31 गालीलको कफर्नुहम भन्ने शहरमा येशू जानु भयो। उहाँले विश्रामको दिन मानिसहरूलाई शिक्षा दिनु भयो। 32 तिनीहरू येशूको शिक्षामा छक्क पर्थे कारण उहाँ अधिकारसित सिकाउँनुहुन्थ्यो।
33 सभाघरमा एकजाना दुष्टआत्मा लागेको मानिस थियो। त्यो मानिस ठूलो स्वरमा चिच्यायो। 34 “हे नासरतको येशू! हामीबाट तपाईं के चाहनुहुन्छ? के हामीलाई नाश गर्नु तपाईं यहाँ आउनु भएको हो? म तपाईंलाई जान्दछु तपाईं परमेश्वरका एक पवित्र जन हुनुहुन्छ।” 35 तर येशूले त्यो दुष्टात्मालाई हकार्नु भयो, “चूप लाग्। यो मानिसदेखि निस्कि हाल्।” त्यो दुष्टआत्माले मानिसहरूकै अघिपट्टि त्यो मानिसलाई भूईँमा पछारिदियो। त्यसपछि दुष्ट आत्माले त्यो मानिसलाई केही नोक्सान नगरी छाडी दियो।
36 सबै मानिसहरू छक्क परे अनि आपसमा कुरा गरे, “यसको अर्थ के हो? येशूले त अधिकार अनि शक्तिसित दुष्ट आत्माहरूलाई निस्कन आज्ञा गर्नु हुन्छ औ तिनीहरू पनि निस्की हाल्छन्।” 37 त्यसपछि त्यस इलाकाको प्रत्येक ठाऊँमा येशूको कीर्ति फैलियो।
© 2004, 2010 Bible League International