Revised Common Lectionary (Complementary)
परमेश्वर अय्यूबसित बोल्नु हुन्छ
38 तब परमेश्वर भुँवरीबाट अय्यूबसित बोल्नु भयो। परमेश्वरले भन्नुभयोः
2 “त्यो अज्ञानी मानिस को हो?
जसले यस्ता मूर्ख कुराहरू गरिरहेको छ।”
3 अय्यूब, कम्मर कस, मेरो प्रश्नको उत्तर दिनलाई तैयार बस।
4 “तिमी कहाँ थियौ[a] जब मैले पृथ्वी सृष्टि गरें?
यदि तिमी यो जान्दछौ भने मलाई जवाफ देऊ।
5 यदि तिमी साह्रै चतुर छौ भने, संसार यति ठूलो हुनुपर्छ भनेर कसले निर्णय गर्यो?
कसले संसारलाई नापजोख गर्यो?
6 पृथ्वीको आधारशिला के हो?
कसले यसमा प्रथम ढुङ्गा राख्यो?
7 जब त्यसो गरियो, बिहान ताराहरूले एकैसाथ गाए
अनि दूतहरू आनन्दले कराए।
8 “अय्यूब, जब समुद्र पृथ्वीमा गहिरोबाट बग्यो
त्यसलाई रोक्न कसले द्वारहरू बन्द गर्यो?
9 त्यसबेला यसलाई मैले बादलहरूले ढाकें
अनि अँध्यारोमा लपेटें।
10 मैले समुद्रको सीमा बाँधें
अनि बन्द द्वारहरूको पछिल्तिर राखें।
11 मैले समुद्रलाई भनें, ‘तँ यतिसम्म आउन सक्छस, अरू बेढी होइनँ।
यसरी तिम्रो अहंकारी छालहरू रोकिनेछ।’
पाँचौं भाग
(भजनसंग्रह 107–150)
107 परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ उपकारी हुनुहुन्छ।
उहाँको प्रेम सधैँ रहन्छ।
2 यसैले ज-जसलाई परमप्रभुले बचाउनु भएको थियो,
प्रत्येक मानिसले भन्नु पर्दछ कि परमप्रभुले बचाउनु भयो।
परमप्रभुले तिनीहरूका शत्रुहरूदेखि तिनीहरूलाई बचाउनु भयो।
3 परमप्रभुले आफ्ना मानिसहरूलाई विभिन्न देशहरूबाटसँगै भेला गर्नुभयो।
उहाँले तिनीहरूलाई पूर्व र पश्चिम, उत्तर र दक्षिणबाटसँगै भेला पार्नु भयो।
23 कतिपय मानिसहरू जहाजमा तरेर समुद्र पारी पुगे।
तिनीहरूका कर्मले नै तिनीहरूलाई महासागर पार तार्यो।
24 ती मानिसहरूले परमेश्वरले के गर्न सक्नु हुन्छ भन्ने कुरा देखे।
तिनीहरूले समुद्रमा गर्नु भएको उहाँको अद्भूत कामहरू देखे।
25 परमेश्वरले आज्ञा गर्नुभयो, अनि प्रबल बतास बहन थाल्यो।
छालहरू उच्च भन्दा उच्च हुँदै गए।
26 ती छालहरूले तिनीहरूलाई उठाएर आकाशमा पुर्याए
अनि गहिरो समुद्रमा झारिदिए।
तूफान एकदम भयङ्कर थियो ती मानिसहरूको साहस हराएर गयो।
27 तिनीहरू धरमरिरहेका थिए अनि मातेको मानिस सरह पछारिए,
माझीको रूपमा तिनीहरूको कुशलता बेकार भयो।
28 तिनीहरू सङ्कटहरूले घेरिए, यसैकारण तिनीहरूले परमेश्वरलाई गुहार मागे।
अनि उहाँले ती सङ्कटहरूबाट तिनीहरूलाई बँचाउनु भयो।
29 परमेश्वरले समुद्र तूफानलाई रोक्नु भयो।
अनि छालहरूलाई शान्त पार्नुभयो।
30 माझीहरू खुशी भए किनभने समुद्र शान्त थियो।
अनि परमेश्वरले तिनीहरू जहाँ जान चाहन्थे त्यहाँ जोगाएर लैजानु भयो।
31 उहाँको प्रेम र मानिसहरूको लागि उहाँले सृजना गर्नु भएको
आश्चर्यकामहरूको निम्ति परमप्रभुलाई धन्यवाद देऊ।
32 महासभामा परमेश्वरको प्रशंसा गर।
बूढा-प्रधानहरू सँगै भेला भएको बेला उहाँको प्रशंसा गर।
6 परमेश्वरका हामी सहकर्मीहरू हौं। यसैले, हामी तिमीहरूलाई विन्ती गर्छौं जुन अनुग्रह परमेश्वरबाट पाएका छौ व्यर्थ हुन नदेऊ। 2 परमेश्वर भन्नु हुन्छः
“ठीक समयमा मैले तिमीलाई सुनें,
अनि मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।”(A)
तिमीहरूलाई म भन्दछु “ठीक समय” अहिले नै हो “मुक्तिको दिन” आजै हो।
3 मानिसहरूले हाम्रा काममा कुनै भुल नभेटुन् भन्ने हामी चाहन्छौ। त्यसैले अरू मानिसहरूकोलागि समस्या बन्ने कुनै काम हामी गर्दैनौं। 4 तर दुःखमा, अफ्ठ्यारोमा, ठूल्ठूला समयस्याहरूमा अनि जम्मै परिस्थिहरूमा हामी आफैंलाई परमेश्वरका सेवकहरू हौं भन्ने देखाउँछौं 5 हामी यस्तो गर्छौ, जब हामी कुटाइ खान्छौं, हामी जेलमा हुन्छौं, जब मानिसहरूले हाम्रो विरोधमा आवाज उठाउँछन्, जब हामीले कठिन परिश्रम गर्नु पर्छ, जब हामी सुत्न पाउँदैनौ अनि हाम्रोमा खाने वस्तु हुँदैन 6 हामी हाम्र समझदारीले, धैर्यले, दया अनि पवित्र आत्मामा जीवनद्वारा परमेश्वरको कर्मीहरू हौं भनी आफैं देखाँउछौं। 7 हामी पवित्र आत्माबाट, साँच्चो प्रेमबाट, सत्य प्रचार गर्दै र परमेश्वरको शक्ति मार्फत यस्तो देखाँउछौं। हरेक कुराबाट आफ्नो रक्षा गर्न हामी धार्मिक जीवनको उपयोग गर्र्छौं।
8 कसैले हामीलाई आदर गर्छन् तर कसैले अनादर गर्छन। कसैले हाम्रो बारेमा प्रशंसा गर्छन् तर कसैले निन्दा गर्छन। कसैले भन्छन् हामी ठगाहा हौं तर हामी सत्य बोल्छौं। 9 कति मानिसहरूकोलागि हामी अपरिचित छौं, तरैपनि हामी सुपरिचित छौं। हामी मर्न लागेका ठानिन्छौं, तर हेर! हामी बाँचिराखेका छौं। हामी दण्डित छौं, तर हामी मारिएका छैनौं। 10 हामी धेरै दुःखी छौं, तर हामी खुशी मनाइरहेकै छौं। हामी गरीब हौं, तर हामीले धेरै मानिसहरूलाई धनी बनाइरहेका छौं। हामीसित केही छैन, तर पनि वास्तवमा हामीसित प्रत्येक चीज छ।
11 कोरिन्थीवासी, तिमीहरूलाई हामीले खुल्ला साथ भनेका छौं। तिमीहरूसीत हामीले हाम्रा हृदय खोलेका छौं। 12 तिमीहरू प्रति हाम्रो प्रेमको स्रोतमा रोकावट परेको छैन। तर हामीप्रति तिमीहरूको प्रेमभाव रोकिएको छ। 13 तिमीहरू मेरा नानीहरू जस्तो गरी म तिमीहरूसित बोल्छु, तिमीहरूको निम्ति हामीले जे गर्यौं हाम्रो निम्ति त्यही गर! हाम्रो लागि तिमीहरूको हृदय खुल्ला राख।
येशूले आँधी थाम्नु भयो
(मत्ती 8:23-27; लूका 8:22-25)
35 त्यसदिन साँझमा येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हामी समूद्र पारि जाउँ।” 36 येशू र चेलाहरूले मानिसहरूलाई त्यहीं छोडे। उनीहरू सबै येशू पहिले चढिरहनू भएको डुङ्गाद्वारा गए। उनीहरूसँग अरू डुङ्गाहरू पनि थिए। 37 समुद्रमा त्यस बेला डरलाग्दो आँधी चल्यो। समूद्रका छालहरूले डुङ्गाको छेऊमा हान्यो, अनि डुङ्गामा पानी पस्न लाग्यो, डुङ्गा प्राय पानीले भरिन लाग्यो। 38 येशू डुङ्गाको पछिल्लो पट्टि हुनुहुन्थ्यो सिरानीमा टाउको राखेर उहाँ निदाइरहनु भएको थियो। चेलाहरू गएर उहाँलाई बिउँझाए। तिनीहरूले भने, “हे गुरूज्यू, हामीहरू डुब्दैछौं। के तपाईं हाम्रो वास्ता गर्नुहुन्न?”
39 तब येशू जुरूक्क उठ्नुभयो अनि त्यो आँधीलाई हकार्नुभयो। येशूले समूद्रलाई भन्नू भयो, “चूपचाप बस! शान्त हो!” अनि तत्कालै आँधी थामियो अनि ताल शान्त बन्यो।
40 येशूले चेलाहरूलाई भन्नूभयो, “तिमीहरू किन यस्तो कायर? तिमीहरूमा अझपनि विश्वास छैन?”
41 चेलाहरू खुबै डराए अनि एक-अर्कासित बहस गर्न लागे, “उहाँ कस्तो प्रकारको मानिस हुनुहुन्छ? यतिसम्म कि आँधी र छालहरूले पनि उहाँको आज्ञा मान्दछ।”
© 2004, 2010 Bible League International