Revised Common Lectionary (Complementary)
मन्दिर समर्पणकोलागि दाऊदको एउटा भजन।
30 हे परमप्रभु, तपाईंले मलाई मेरो सङ्कटहरूबाट माथि उठाउनु भयो।
तपाईंले मेरो शत्रुहरूलाई जित्न दिनु भएन र मप्रति हाँसो उडाउन दिनु भएन।
यसैले तपाईं प्रति म सम्मान जनाउँदछु।
2 हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरें
र मलाई निको पार्नु भयो।
3 तपाईंले मलाई चिहानबाट निकाल्नु भयो र बाँच्न दिनुभयो।
मैले खाडलमा लडिरहेका मृतकहरूसित मिल्नु परेन।
4 हे परमेश्वरका भक्तजनहरू, परमप्रभु प्रति भजन गाऔ!
उहाँको पवित्र नाउँको प्रशंसा गर!
5 परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो।
तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो।
म राती रोइरहें,
अर्को बिहान म खुशी थिएँ र गाइरहेथें!
6 जब म जोगिएँ र सुरक्षित भएँ,
सोचें केही कुरोले पनि मलाई कष्ट पुर्याउन सक्ने छैन!
7 हे, परमप्रभु जब तपाईं मप्रति कृपालु हुनुहुन्थ्यो
मैले अनुभव गरें कसैले पनि मलाई पराजित गर्न सक्ने छैन!
जब तपाईंले मबाट मुख फर्काएर जानुभयो,
म डराएँ र कामे।
8 यसर्थ परमेश्वर, म फर्कें अनि तपाईंसँग प्रार्थना गरें।
मैले तपाईंलाई दयाको बिन्ती गरें।
9 मैले भने, “परमेश्वर के यदि म मरें,
अनि चिहानभित्र गएँ भने राम्रो हुन्छ र?
मरेका मानिसहरू खाली धूलोभित्र पल्टिएर बस्छन्!
तिनीहरूले तपाईंको प्रशंसाहरू गाउँदैनन्।
कतिसम्म हामी तपाईंमाथि निर्भर हुनसक्छौं।
तिनीहरूले मानिसहरूलाई भन्दैनन्।
10 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मप्रति कृपादृष्टि राख्नुहोस्!
हे परमप्रभु, मलाई साथ दिनुहोस्!”
11 मैले प्रार्थना गरें र तपाईंले साथ दिनुभयो!
तपाईंले मेरो रूवाइलाई नाचमा बद्ली दिनुभयो।
तपाईंले मेरो उदासीनताका पोशाकहरू फुकालेर लैजानु भयो
र खुशीयालीले मलाई ढाकिदिनु भयो।
12 हे परमप्रभु, मेरो परमेश्वर, म सदासर्वदा तपाईंको स्तुति गाउनेछु यसकारण त्यहाँ कहिल्यै निस्तब्ध हुनेछैन,
अनि म सधैँ तपाईंको प्रशंसा गर्छु।
12 त्यस महिलाले भनिन्, “मालिक राजा, मलाई केही कुरा भन्न दिनुहोस्।”
राजाले भने, “भन।”
13 तब स्त्रीले भनिन्, “परमेश्वरका मानिसहरूका विरूद्धमा तपाईंले यो योजना किन बनाउनु भयो? ज्यू, जब तपाईं नै यसो भन्दै हुनुहुन्छ भने तपाईंनै दोषी देखिनु भयो। किनभने तपाईंको छोरो जसलाई घर छोड्न बाध्य गराइएको थियो, उसलाई फर्केर आउनु भनिएको छैन। 14 एक दिन हामी सबै मर्ने नै हौं हामी भुइँमा पोखीएको पानी जस्तै छौ जसलाई कसैले पनि जम्मा गर्न सक्दैन। परमेश्वरले क्षमा दिनुहुन्छ। भागेर जाने मानिसहरूको निम्ति परमेश्वरको योजना छ। उहाँले तिनीहरूले फर्केर आउँने भन्ने इच्छ गर्नु हुन्छ। 15 मेरो मालिक राजा, म यति भन्न आएकी हुँ। जस्तो मानिसहरूले मलाई धम्क्याए। म आफैंले सोचें, ‘म राजालाई भन्नेछु। हुनसक्छ राजाले मेरो सहायता गर्लान। 16 मलाई सुनेर राजाले मेरो छोरालाई बचाउनु हुनेछ। परमेश्वरले प्रदान गर्नुभएको कुराहरूबाट त्यो मानिसले हामीलाई बञ्चित गराउने प्रयास गरिरहेकोछ।’ 17 म निश्चित थिएँ कि मेरो राजाको वचनले मलाई सहयोग हुनेछ। कारण तपाईं त परमेश्वरको दूत जस्तै हुनुहुन्छ। तपाईंलाई राम्रो र नराम्रो के हो थाहै छ। परमप्रभु तपाईंका परमेश्वर तपाईंको साथमा रहुन्।”
18 राजाले त्यस स्त्रीलाई जवाफमा भने, “म तिमीलाई एउटा प्रश्न गर्छु, मेरो प्रश्नको उत्तर देऊ।”
त्यस स्त्रीले भनी, “मेरो परमप्रभु राजा तपाईं तपाईंको प्रश्न सोध्नु होस्।”
19 राजाले भने, “योआबले यी सब भन्नु भनेका थिए तिमीलाई।?”
त्यस महिलाले भनिन्, “मेरा मालिक राजा, तपाईंको शपथ खादै भन्छु, तपाईंले ठिक भन्नुभयो। तपाईंका अधिकारी योआबले मलाई सब सिकाएका हुन्। 20 योआबले त्यसो गर्नुको कारण घट्नालाई अर्को प्रकारले तपाईंलाई बुझ्न लगाउनु हो। मेरो मालिक तपाईं परमेश्वरका दूत झै ज्ञानी हुनुहुन्छ। पृथ्वीमा के हुँदैछ तपाईंलाई सबै थाहा हुन्छ।”
अब्शालोम यरूशलेम फर्कन्छ
21 राजाले योआबलाई भने, “मैले अघिनै निर्णय गरी सकेको छु। अब जाऊ अनि अब्शालोमलाई लिएर आऊ।”
22 योआबले भुँइतिर अनुहार झुकाए र तिनले राजा दाऊदप्रति आभार व्यक्त गर्दै भने, “आज तपाईं म प्रति खुशी हुनुहुन्छ मैले बुझें तपाईंले मेरो कुरा सुन्नुभयो।”
23 तब योआब गेशूर गएर अब्शालोमलाई यरूशलेम लिएर आए। 24 तर राजा दाऊदले भने, “अब्शालोम उसको आफ्नै घर जानसक्छ। उ मलाई भेट्न नआवोस्।” यसैले अब्शालोम आफ्नै घर गए। अब्शालोम राजालाई भेट्न जान सकेन।
पावल राजा अग्रिपा समक्ष
26 अग्रिपाले पावललाई भने, “तिमी आफ्नो सुरक्षाको लागि बोल्न सक्नेछौ।” यसर्थ पावलले आफ्नो हात उठाए अनि यसो भन्दै बोल्न थाले। 2 “राजा अग्रिपा, तपाईंहरू अघि उभिन पाउनु मेरो भाग्य हो, यहूदीहरूले ममाथि थोपरेको दोषहरूको म जम्मै उत्तर दिनेछु। 3 म अत्यन्तै खुशी छु कि म तपाईंहरूको सामुन्ने बोल्न योग्यको छु किनभने तपाईंहरू यहूदी रीतिहरू र प्रश्नहरू जुन विषयमा तिनीहरूले तर्क गर्छन् सो जान्नु हुन्छ। कृपाया धैर्यसाथ मेरो कुरा सुनिदिनु होस्।
4 “सबै यहूदीहरूले मेरो सम्पूर्ण जीवनको विषयमा जान्दछन्। मेरो देशमा अनि यरूशलेममा पनि मेरो जीवन शैलीको विषयमा तिनीहरू जान्दछन्। 5 यी यहूदीहरूले धेरै समयदेखि मलाई चिन्छन्। यदि तिनीहरूले इच्छा गरे मलाई एक असल फरिसी मान्न सक्छन्। अनि फरिसीहरूले यहूदी धर्मको व्यवस्थाहरू अन्य कुनै यहूदी समुदायले भन्दा अझ कट्टर प्रकारले मान्दछन। 6 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको भरोसामा म यस परीक्षामा अहिले खडा छु। 7 यो प्रतिज्ञा प्राप्त गर्ने आशामा हाम्रा बाह्र जातिहरू निमग्न रात-दिन परमेश्वरको आराधना गरिरहेका छन्। हे राजान्, यही आशाको निम्ति म यी यहूदीहरूद्वारा दोषिएको हुँ। 8 तपाईंहरूलाई परमेश्वरले मरेको मानिसहरू बौराउँनु हुन्छ भन्ने कुरा ग्रहण गर्न किन अप्ठेरो परेको?
9 “जब म फरिसी थिएँ, मैले यस्तो पनि सोचे कि नासरतका येशूको नाउँ विरुद्ध धेरै कुराहरू मैले गर्नुपर्छ। 10 अनि यरूशलेममा मैले विश्वासीहरूका विरुद्ध धेरै कामहरू गरें। मुख्य पूजाहारीहरूले ती विश्वासीहरूलाई जेलमा थुन्ने अधिकार दिएका थिए। जब येशूका विश्वासीहरू मारिए मैले यो राम्रो कुरा भयो भनेर सहमत दिएँ। 11 जम्मै सभाघरहरूमा मैले तिनीहरूलाई धेरै पल्ट येशूको विषयमा जबरजस्ती नराम्रो कुरो भनाएर दण्ड दिएँ। म यति क्रोधित थिएँ कि म विदेशका शहरहरूमा पनि तिनीहरूको खेदो लाउनु गएँ।
© 2004, 2010 Bible League International