Revised Common Lectionary (Complementary)
संगीत प्रमुखको निम्ति, बाँसुरीसहित गाइने दाऊदको भजन।
5 हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस्
र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु।
2 हे मेरा राजा, हे मेरा परमेश्वर,
मेरो प्रार्थना सुनिदिनु होस्।
3 हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु,
र तपाईंको सहयोग खोज्दछु।
अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।
4 हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न।
तिनीहरू तपाईंको आदर गर्दैनन्।
5 मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्।
तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
6 जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ।
तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्।
7 तर परमप्रभु, तपाईंको मन्दिर अघि म दण्डवत् गर्नेछु।
8 हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्।
यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस्।
9 ती मानिसहरू सत्य बोल्दैनन्।
तिनीहरू झूटा छन् तिनीहरू सत्य बङ्ग्याउँछन्।
तिनीहरूका मुख खाली चिहान जस्ता छन्।
तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्।
10 हे परमेश्वर, तिनीहरूलाई दण्ड दिनुहोस्!
तिनीहरूले थापेको पासोमा आफैं परून्।
ती मानिसहरूले तपाईंको विरूद्धमा विद्रोह गरे,
यसर्थ तिनीहरूको धेरै अपराधहरूको लागि दण्ड दिनुहोस्।
11 तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहुन्।
तिनीहरू अनन्त सुखी रहुन्।
परमेश्वर, जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस्।
12 हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ।
तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ।
परमेश्वरको दयाले योनालाई क्रोधित बनायो
4 योनालाई यो साह्रै मनपरेन कारण परमेश्वरले शहर बचाउँनु भयो। त्यसैले योनालाई साह्रै रिस उठ्यो। 2 उनले परमप्रभुलाई आरोप गर्दै भने, “मलाई थाहा थियो तपाईंले यो पापी शहरलाई बचाउनु हुनेछ। म त आफ्नो देशमा थिएँ, तपाईंले नै यहाँ बोलाएर ल्याउनु भयो। त्यसै समय मलाई थाहा थियो, तपाईंले यो पापी शहरलाई बचाउनु हुनेछ। मैले त्यसैबेला तर्शिश तिर भागेर जाने कोशिश गरेको थिएँ। मलाई थाहा थियो तपाईं एक दयालु परमेश्वर हुनुहुन्छ भनेर। मलाई थाहा थियो तपाईं करुणामय हुनुहुन्छ भनेर अनि मानिसलाई दण्ड दिन चाहनु हुन्न। मलाई थाहा थियो कि तपाईं दयापूर्ण हुनुहुन्छ। मलाई ज्ञान थियो यदि यिनीहरूले पाप गर्न छोडे भने तपाईंले यिनीहरूको विनासको योजना बद्ली गर्नु हुन्छ। 3 यसकारण हे परमप्रभु, म तपाईंलाई यही माग्छु कि तपाईंले मलाई मार्नुहोस्। मेरो निम्ति बाँच्नु भन्दा मर्नु राम्रो छ।”
4 तब परमप्रभुले भन्नुभयो, “मैले ती मानिसहरूलाई नष्ट नगर्दा तिमी रिसाउनु सही हो र?”
5 यी सबै कुराहरूले योना अझैपनि रिसाई रहेका थिए। यसकारण उनी शहर बाहिर गए। योना यस्तो शहरमा गए जुन शहर पूर्वी प्रदेशको नजिकमा थियो। योनाले त्यहाँ आफ्नो निम्ति छाप्रो बनाए। फेरि त्यसको छाँयाँमा बसेर यस्तो कुरा सोच्न थाले कि अब शहरमा के घट्ने हो।
लौकाको बोट र किरा
6 परमप्रभु परमेश्वरले एउटा लौकाको बोट उमार्नु भयो अनि त्यसलाई छिटो-छिटो ठूलो पर्नुभयो अनि योना माथि छाँयाँ दिनुभयो भयो जसले योनालाई शितल स्थान बनायो। योनाले यसवाट अत्यन्तै आराम पाए। यो बोटको कारण योना अत्यन्तै प्रसन्न भए।
7 अर्को दिन बिहानै बोटको एक भाग खानको निम्ति परमेश्वरले एउटा किरा पठाउनु भयो, किराले त्यो बोट खायो अनि त्यो बोट ओइलाई हाल्यो।
8 सूर्य उदाएपछि परमेश्वरले पूर्वीय हावा चलाई दिनुभयो र घाम टनटलापुर सित योनाको टाउकोमा पर्यो र तिनी हैरान भए। मरिने रहेछ भनेर परमेश्वरसित बिन्ति गर्न थाले, “मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै उचित छ।”
9 अनि परमेश्वरले भन्नुभयो, “के लौकाको बोटको निम्ति रिसाउनु उचित हो?”
योनाले उत्तर दिए, “हो मेरो निम्ति रिसाउनुनै उचित हो, मलाई यस्तो रिस उठेको छ कि म मरिहालौं।”
10 तब परमप्रभुले भन्नुभयो, “हेर, त्यो बोटको निम्ति तैंले केहि पनि गरिनस्। तैले रोपेको पनि हैनस्। त्यो एकै रातमा उम्रियो र एकै रातमा ओइलाईहाल्यो अनि त्यो बोटको निम्ति सहानभूति अनुभव गर्छस्। 11 यदि तँ त्यो बोटको निम्ति व्याकुल हुन सक्छस् भने के यति ठूलो शहर निनवे, जसमा धेरै मानिसहरू अनि वस्तुहरूछन्। त्यस शहरमा 1,20,000 भन्दा बढ्ता मानिसहरूछन्, तिनीहरूले जान्दैनन् कि तिनीहरूले भूल गरिरहेका छन्।”
एथियोपियावासीलाई फिलिपले शिक्षा दिए
26 परमेश्वरको एकजना दूतले फिलिपलाई भने, “झट्ट तयार होऊ र दक्षिणतर्फ जाऊ। यरूशलेमदेखि गाजातर्फ जाने बाटो जाऊ- त्यो बाटो मरूभूमि भएर जान्छ।”
27 यसकारण फिलिप तयार भए अनि गए। बाटोमा उनले एकजना एथियोपियावासी मानिसलाई देखे जो नपुंसक थिए। उनी एथियोपिया देशकी रानी कन्दकीको ठूला अधिकारी थिए। उनी रानीका जम्मै पैसा-रूपियाँका जिम्मेवार थिए। त्यो मानिस आराधना गर्न यरूशलेम गएका थिए। 28 अहिले ऊ आफ्नो रथमा बसेर घर तर्फ गइरहेका थिए। तिनी अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए।
29 आत्माले फिलिपलाई भने, “त्यस रथमा जाऊ र त्यसको छेउमा बस्।” 30 तब फिलिप रथको छेउमा दगुरे अनि त्यो मानिसले पढी रहेको सुने। उसले यशैया अगमवक्ताको पुस्तक पढिरहेको थियो। फिलिपले उसलाई भने, “के तिमीले पढेको कुरा बुझ्दैछौ?”
31 त्यस मानिसले भन्यो, “म कसरी बुझ्न सक्छु? मलाई त्यस्तो मानिसको खाँचो छ जसले मलाई यो व्याख्या गरिदिन सक्छ।” त्यसपछि उसले फिलिपलाई उसको छेउमा आएर बस्न निमन्त्रणा गर्यो। 32 उसले पढ्दै गरेको धर्म शास्त्रको अंश यस्तो थियोः
“जसरी भेंडा़ काटिन लगिन्छ, भेंडा़को पाठा कत्रनेको सामु चुपचाप उभिन्छ,
त्यसरी नै उनी रहे।
त्यसरी नै उहाँ उभिई रहनु भयो।
33 उहाँको उपहाँस गरियो अनि उहाँका अधिकारहरू खोसियो।
पृथ्वीमा उहाँको जीवन समाप्त भयो।
अनि उहाँको पुस्ताको बिषयमा भन्न को सामर्थ हुनेछ।”(A)
34 त्यस अधिकारीले फिलिपलाई भने, “दया गरेर मलाई भन्नुहोस् अगमवक्ताले कसको विषयमा भनेका हुन्? उनले आफ्नै विषयमा कि अन्य कसैको विषयमा भनेका हुन?” 35 फिलिपले बताउन थाले। उनले त्यही धर्मशास्त्रको अंशबाट शुरू गरे अनि उसलाई येशूको विषयमा सुसमाचार भने।
36 उनीहरू बाटोमा गइरहेको बेला पानी भएको ठाउँमा पुगे। अधिकारीले भन्यो, “हेर! यहाँ पानी छ! कसले मलाई बप्तिस्मा लिन देखि रोक्न सक्छ?” 37 [a] 38 त्यसपछि अधिकारीले रथ थाम भनेर आदेश गर्यो। दुवै फिलिप र अधिकारी पानी भए तिर ओर्लिए अनि फिलिपले तिनलाई बप्तिस्मा दिए। 39 जब तिनीहरू पानी बाहिर आए प्रभुको आत्मा फिलपबाट खोसियो अधिकारीले उनलाई फेरि कहिल्यै पनि देखेन्। अधिकारी आफ्नो घरको बाटो लागे। उनी खुशी थिए। 40 तर फिलिप अश्दोदको शहरमा देखा परे। उनी सिजरियाको शहर तिर गइरहैका थिए। अश्दोददेखि सिजरिया जाँदा बाटामा पर्ने प्रत्येक शहरमा उनले सुसमाचार प्रचार गरे।
© 2004, 2010 Bible League International