Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 5

संगीत प्रमुखको निम्ति, बाँसुरीसहित गाइने दाऊदको भजन।

हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस्
    र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु।
हे मेरा राजा, हे मेरा परमेश्वर,
    मेरो प्रार्थना सुनिदिनु होस्।
हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु,
    र तपाईंको सहयोग खोज्दछु।
अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।

हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न।
    तिनीहरू तपाईंको आदर गर्दैनन्।
मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्।
    तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ।
    तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्।

तर परमप्रभु, तपाईंको मन्दिर अघि म दण्डवत् गर्नेछु।
हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्।
    यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस्।
ती मानिसहरू सत्य बोल्दैनन्।
    तिनीहरू झूटा छन् तिनीहरू सत्य बङ्ग्याउँछन्।
तिनीहरूका मुख खाली चिहान जस्ता छन्।
    तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्।
10 हे परमेश्वर, तिनीहरूलाई दण्ड दिनुहोस्!
    तिनीहरूले थापेको पासोमा आफैं परून्।
ती मानिसहरूले तपाईंको विरूद्धमा विद्रोह गरे,
    यसर्थ तिनीहरूको धेरै अपराधहरूको लागि दण्ड दिनुहोस्।
11 तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहुन्।
तिनीहरू अनन्त सुखी रहुन्।
    परमेश्वर, जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस्।
12 हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ।
    तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ।

यशैया 56:1-8

सारा जातिहरूले परमप्रभुलाई पछ्याउने छन्

56 परमप्रभुले यी कुराहरू भन्नुभयो, “सबै मानिसहरूसित न्यायपूर्वक व्यवहार गर। ठीक कुराहरू मात्र गर। किनभने मेरो मुक्ति तिमीहरूमा हुनेछ। मेरो धार्मिकता संसारभरि चाँडै प्रकट हुनेछ। त्यस मानिस जसले परमप्रभुको विश्राम दिन बारे नियमहरू मान्छ उसमा परमप्रभुको कृपा रहन्छ। अनि त्यस मानिस जसले कुनै पाप कर्म गर्दैन खुशी हुनेछ।”

केही मानिसहरू जो यहूदी होइनन् आफैं परमप्रभुसँग मिल्नेछन्। तिनीहरूले भन्नु पर्दैन, “परमप्रभुले आफ्ना मानिसहरूसित मलाई ग्रहण गर्नेछैनन्।” नपुंसकले यसो भन्नुपर्दैन, “म सुख्खा काठको एउटा टुक्रा हुँ, म कुनै नानी जन्माउन सक्दिनँ।”

ती नपुंसकहरूले त्यस्ता कुराहरू भन्नु पर्दैन किनभने परमप्रभुले भन्नुहुन्छ, “नपुंसक मध्ये केहीले विश्राम दिनको नियम अनुशरण गर्छन्। कार्यहरू त्यही गर्छन जो म इच्छा गर्छु अनि मेरो करार साँच्चो हृदयले अनुशरण गर्छन्। यसैले म तिनीहरूकोलागि स्मारक ढुङ्गा मेरो मन्दिरमा राखिदिनेछु। तिनीहरूका नाउँ मेरो शहरमा सम्झना गरिनेछ। हो, म ती नपुसंकहरूलाई केही चीज दिनेछु जुन नानीहरू भन्दा राम्रो हुन्छ। म तिनीहरूलाई नाउँ दिनेछु जुन सधैँ रहनेछ। तिनीहरू मेरा मानिसहरूबाट अलग हुने छैनन्।”

“कतिपय मानिसहरू जो यहूदीहरू होइनन उनीहरू परमप्रभुकहाँ आएर मिल्नेछन्। तिनीहरूले त्यसो गर्नेछन यसैले तिनीहरूले उहाँलाई सेवा गर्न सक्छन र परमप्रभुको नाउँलाई प्रेम गर्नेछन्। तिनीहरू उहाँका दासहरू हुनलाई आपसमा स्वयं मिल्नेछन्। तिनीहरूले शबथ विश्राम दिनलाई खास उपासनाको दिन भनेर राख्नेछन अनि लगातार मेरो कुरारलाई गहन प्रकारले अनुशरण गर्नेछन्। परमप्रभु भन्नुहुन्छ, ‘म ती मानिसहरूलाई मेरो पवित्र पर्वतमा ल्याउनेछु। म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा खुशी पार्नेछु। तिनीहरूले चढाएका होमबलि र बलिदानहरूले मलाई खुशी पार्नेछ। किनभने मेरो मन्दिर सबै जातिहरूका निम्ति प्रार्थनाको घर हुनेछ।’” परमप्रभु मेरो मालिकले ती कुराहरू इस्राएलका मानिसहरूलाई भन्नुभयो।

जसलाई आफ्नो देश छोड्न बाध्य गराइयो। तर परमप्रभुले तिनीहरूलाई एकसाथ भेला गर्नुहुनेछ। परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूलाई फेरि एकपल्ट भेला गर्नेछु।”

मर्कूस 7:24-30

येशूद्वारा अयहूदी आइमाईलाई मद्दत

(मत्ती 15:21-28)

24 येशूले त्यो ठाउँ छाड्नु भयो अनि टायरको जिल्लातिर जानुभयो, उहाँ त्यहीं नै भएको कुरा मानिसहरूले थाहा नपाओस् भन्ने चाहनुहुन्थ्यो। त्यहाँ उहाँको उपस्थितिलाई गुप्त राख्न सम्भव थिएन। 25 एउटी आइमाईले येशू त्यहीं हुनुहुन्छ भन्ने थाहा पाई। त्यसको छोरीलाई दुष्टात्मा लागेको थियो। यसकारण त्यो आइमाई येशूकहाँ आएकी थिई अनि उहाँका चरणमा परी।

26 त्यो आईमाई यहूदी थिनन्। ऊ सिरियाको फोनिसियमा भन्ने ठाउँमा जन्मेकी यूनानी थिई। त्यसले आफ्नो छोरीमा लागेको भूतात्मा भगाऊन उहाँलाई बिन्ती गरिन्।

27 येशूले त्यस आइमाईलाई भन्नुभयो, “केटा-केटीहरूले खाने रोटी लिएर कुकुरहरूतिर फ्याँक्नु उचित होईन, पहिले केटा केटीहरूले जे जति खान्छन् खाऊन्।”

28 आइमाईले भनी, “प्रभु, त्यो साँच्चो हो। तर टेबल मुनिका कुकुरहरूले पनि केटा-केटीले छोडेका खानेकुराहरू खान्छन्।”

29 तब येशूले त्यस आइमाईलाई भन्नुभयो, “यो खूबै राम्रो जवाफ हो। यसर्थ तिमी जानसक्छौ। तिम्रो छोरीलाई भूतात्माले छोडिसकेको छ।”

30 त्यो आइमाई घर गई, अनि छोरीलाई ओछ्यानमा पल्टिरहेकी देखी, भूतात्मा गई सकेको थियो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International