Revised Common Lectionary (Complementary)
संगीत प्रमुखलाई, तार-वाद्यमा शिमिनिथको सहयोगद्वारा, दाऊदको भजन।
6 हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्।
तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्।
2 हे परमप्रभु, ममाथि दया राख्नुहोस्
कारण म रोगी र कमजोर छु।
मलाई निको पार्नुहोस्!
मेरो हड्डीहरू दुःखीरहेका छन्।
3 मेरो सम्पूर्ण शरीर कामि रहेकोछ,
परमप्रभु, कहिले सम्म मलाई निको पार्नुहुन्छ?
4 परमप्रभु, फेरि फर्की आउनुहोस् र मलाई बलियो बनाउनुहोस!
तपाईं अत्यन्त दयालु हुनुहुन्छ, यसैले मलाई बचाउनुहोस्।
5 मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने छैनन्।
मसान घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन्।
यसैले मलाई निको पार्नुहोस्!
6 हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें।
मेरो आँसुले ओछ्यान छ्याप्पै भिजेको छ।
आँसु मेरो ओछ्यानबाट तप-तप तप्किरहेछ।
म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।
7 मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए।
त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो।
अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन्।
8 दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ!
किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ।
9 परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ
अनि परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्दै जवाफ दिनुहुन्छ।
10 मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्।
अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लज्जित हुनेछन्।
16 “अहिले मेरो जीवन प्रायः बितिसक्यो, अनि म चाँडै मर्नेछु।
पीडित दिनहरूले मलाई पक्रेकोछ।
17 मेरो हड्डीहरू पीडाले राती दुख्छ।
मलाई कष्टले चपाउन कहिल्यै छाड्दैन।
18 परमेश्वरले मेरो कोटको कलरमा समात्नु हुन्छ
अनि बटारेर रूप बिगारिदिनु हुन्छ।
19 परमेश्वरले मलाई हिलोमा जाकि दिनु भयो
र म धूलो र खरानी जस्तै भएकोछु।
20 “हे परमेश्वर,
सहायताको लागि मैले पुकारें,
म उठें र प्रार्थना गरें,
तर तपाईंले मलाई ध्यान दिनु भएन।
21 हे परमेश्वर, तपाईंले मसित निष्ठूरताले व्यवहार गर्नु हुन्छ।
मलाई सताउन तपाईं शक्ति प्रयोग गर्नुहुन्छ।
22 हे परमेश्वर, तपाईं मेरो लागि निष्ठुर हुनु भयो।
मलाई नष्ट पार्न तपाईं आफ्नो शक्ति प्रयोग गर्नु हुन्छ।
23 मलाई थाहा छ कि तपाईंले मलाई मृत्यु तिर लैजानु हुन्छ,
त्यस ठाँउमा, जहाँ अन्तमा सबै प्राणि जानै पर्छ।
24 “तर, निश्चय जो मानिस सर्वनाश भएकोछ अनि सहायता माग्दैछ,
त्यसलाई कसैले पनि नोक्सान पुर्याउँदैन।
25 तपाईं जान्नु हुन्छ मानिसहरूको कष्टमा म रोएँ।
तपाईं जान्नु हुन्छ गरीब मानिसहरूको लागि मेरो हृदय साहै दुःखीत थियो।
26 जब मैले राम्रो चीज खोजें बद्लामा नराम्रो पाएँ।
जब मैले उज्यालो खोजें, अंध्यारो आयो।
27 म भित्र कष्ट कहिल्यै रोकिँदैन
अनि दुःख भर्खरै शुरू भएको छ।
28 म सधैँ दुःखी र उदासीन छु कुनै चैन छैन।
म सहायताको लागि सभामा उभिन्छु।
29 म जङ्गली कुकुर जस्तै
र मरुभूमिको शुतुरमुर्ग जस्तै एक्लो भएको छु।
30 मेरो छाला जलेकोछ र उप्किँदैछ।
ज्वरोले मेरो शरीर तातो छ।
31 मेरो वीणाले करूणाको लय निकाल्छ
मेरो बाँसुरीले दुःखको आवाज निकाल्छ।
46 येशू गालील अन्तर्गत कानामा फेरि जानुभयो जहाँ येशूले पानीलाई दाखरसमा परिवर्तन गर्नु भएको थियो। त्यहाँ कफर्नहुममा एकजना राजाका अधिकारी थिए। त्यो अधिकारिको छोरो बिमारी थियो। 47 त्यस मानिसले यहूदियाबाट येशू गालील तर्फ आइरहनु भएको छ भनी सुने। तब येशूलाई भेट्न तिनी कानातर्फ गए। उसले येशूलाई कफर्नहुममा आउने अनि उसको छोरोलाई निको पारिदिन बिन्ती गर्यो। उसको छोरो मर्न आँटेको थियो। 48 येशूले उनलाई भन्नुभयो, “तिमीहरूले आश्चर्यपूर्ण कुराहरू र चमत्कारिक चिन्हहरू हेर्नु पर्छ नत्र तिमीहरूले विश्वास गर्ने छैनौ।”
49 राजाको अधिकारीले भन्नुभयो, “महोदय, मेरो छोरो मर्न अघि मेरो घरमा एकपल्ट आई दिनुहोस।”
50 येशूले उत्तर दिनुभयो, “जाऊ, तिम्रो छोरो बाँच्नेछ।”
येशूले भन्नु भएको कुरा त्यस मानिसले विश्वास गर्यो अनि घर फर्किआयो। 51 घरजाँदै गर्दा बाटामा उसको नोकरसँग भेट भयो। नोकरले भन्यो, “तपाईंको छोरो जाती भएको छ।”
52 त्यस मानिसले सोधे, “कुन समयबाट त्यो निको हुन थाल्यो?”
उसको नोकरले उत्तर दियो, “हिजो दिउँसो एक बजेदेखि तपाईंको छोरोको ज्वरो हट्यो।”
53 त्यस अधिकारीले बुझ्यो कि येशूले उसलाई त्यही समयमा भन्नुभएको थियो, “तिम्रो छोरो जीवित रहनेछ।” यसर्थ उनी लगायत घरका सबै मानिसहरूले येशूमाथि विश्वास गरे।
54 यहूदियाबाट गालीलमा आए पछि यो दोस्रो चमत्कारपूर्ण कार्य येशूले गर्नुभएको हो।
© 2004, 2010 Bible League International