Revised Common Lectionary (Complementary)
नामानको समस्या
5 नामान अरामका राजाको सेनाका कप्तान थिए। नामान आफ्नो राजाकालागि धेरै महत्वपूर्ण थिए। किनभने परमप्रभुले उनलाई अरामको विजयका लागि प्रयोग गरेका थिए। नामान महान् र शक्तिशाली मानिस थिए, तर तिनी कुष्ठ रोगले ग्रस्त थिए।
2 अरामी सेनाले इस्राएलमा लडाईँ गर्नका लागि सैनिकहरूको धेरै दलहरू पठाए। सैनिकहरूले मानिसहरूलाई तिनीहरूको दास बनाए। एक पटक तिनीहरूले इस्राएलको भूमिबाट एउटी सानी केटी ल्याए। यो सानी केटी नामानकी पत्नीकी सेविका भई। 3 यस केटीले नामानकी पत्नीलाई भनी, “म चाहन्छु, मेरा मालिक नामानले अगमवक्ता एलीशासँग भेट गरून् जो सामरियामा बस्छन्। त्यस अगमवक्ताले नामानको कुष्ठा रोग निको पार्न सक्छन।”
4 नामान आफ्नो मालिक (अरामका राजा) कहाँ गए। नामानले अरामका राजालाई ती सबै कुराहरू गरे जो इस्राएली केटीले भनेकी थिई।
5 तब अरामका राजाले भने, “अहिले जाऊ र म इस्राएलका राजालाई एउटा पत्र पठाउने छु।”
यसकारण नामान इस्राएल गए। नामानले आफूसँग केही उपहारहरू लगे। नामानले दश तोडा चाँदी, 6,000 शेकेल सुनका टुक्राहरू र दश जोर लुगा लिएर गए। 6 नामानले अरामका राजाबाट इस्राएलका राजाका लागि पत्र लगे। पत्रमा लेखिएको छः “अहिले, यस पत्रले बताउँछ म आफ्नो सेवक नामानलाई तपाईकहाँ पठाउँदै छु। उसको कुष्ठ रोग निको पार्नुहोस्।”
7 जब इस्राएलका राजाले पत्र पढे, उनले आफूलाई दुःखी र उदाशी देखाउनका लागि आफ्नो लुगा च्याते। इस्राएलका राजाले भने, “के म परमेश्वर हुँ? होइन! मसित जीवन मरण नियन्त्रणको क्षमता छैन। यस कारण अरामका राजाले किन कुष्ठ को रोगीलाई मकहाँ निको पार्न पठाए? यस विषयमा सोचे अनि तिनीले थाह पाए, यो एउटा छल हो। अरामका राजा लडाइँ शुरू गर्ने चेष्टा गर्दै छन्।”
8 परमेश्वरको जन, एलीशाले सुने, इस्राएलका राजाले आफ्नो दुःख र रीस देखाउन लुगाहरू, च्याते। यसकारण एलीशाले आफ्नो खबर राजाकहाँ पठाए, “तिमीले आफ्नो लुगा किन च्यात्यौ? नामान मकहाँ आओस्। तब उसले थाह पाउने छ, इस्राएलमा एकजना अगमवक्ता छ।”
9 यसकारण नामान आफ्ना घोडाहरू अनि रथहरूसँगै एलीशाको घरमा आए अनि ढोकाको बाहिर उभिए। 10 एलीशाले नामानसम्म एक जना दूत पठाए। दूतले भन्यो, “जाऊ अनि यर्दन नदीमा सात पटक धोऊ। तब तिम्रो छालाको कुष्ठ निको हुनेछ अनि तिमी शुद्ध हुने छौ।”
11 नामान रिसाए अनि फर्किए। उनले भने, “मैले सोचेको थिएँ एलीशा बाहिर निस्किन्छन् अनि मेरो अघि उभिन्छन् अनि आफ्नो परमप्रभु परमेश्वरलाई आह्वान गर्ने छन्। मैले सोचेको थिएँ, उनले मेरो शरीरमाथि आफ्नो हात हल्लाउने छन् अनि कुष्ठ रोग निको हुनेछ। 12 दमीशकका नदीहरू अबाना र फारपर इस्राएलका सबै पोखरीहरूका पानी भन्दा राम्रा छन्। मैले दमीशकका ती नदीहरूमा धुने काम किन नगर्नु अनि निको नहुनु?” नामान साह्रै रिसाएका थिए अनि तिनी फर्किए।
13 तर नामानको सेवकहरू उनकोमा गए अनि उनीसँग कुरा गरे। उनीहरूले भने, “मालिक, यदि अगमवक्ताले तपाईँलाई केही महान कार्य गर्नु भनेको खण्डमा, तपाई गर्नु हुन्छ, होइन र यसकारण तपाईले उनको आज्ञा पालन गर्नु पर्छ यदि उनी तपाईलाई केही सरल काम गर्नु भन्दछन्। अनि उनले भने, ‘नुहाऊ अनि तिमी शुद्ध र स्वच्छ हुनेछौ।’”
14 यसकारण नामानले त्यही गरे जो परमेश्वरको जनले गर्नु भने। नामान नदीमा पसे अनि यर्दन नदीमा सात पटक डुबे। अनि नामान शुद्ध र स्वच्छ भए। नामानको छाला नानीकोछाला जस्तै नरम भयो।
मन्दिर समर्पणकोलागि दाऊदको एउटा भजन।
30 हे परमप्रभु, तपाईंले मलाई मेरो सङ्कटहरूबाट माथि उठाउनु भयो।
तपाईंले मेरो शत्रुहरूलाई जित्न दिनु भएन र मप्रति हाँसो उडाउन दिनु भएन।
यसैले तपाईं प्रति म सम्मान जनाउँदछु।
2 हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरें
र मलाई निको पार्नु भयो।
3 तपाईंले मलाई चिहानबाट निकाल्नु भयो र बाँच्न दिनुभयो।
मैले खाडलमा लडिरहेका मृतकहरूसित मिल्नु परेन।
4 हे परमेश्वरका भक्तजनहरू, परमप्रभु प्रति भजन गाऔ!
उहाँको पवित्र नाउँको प्रशंसा गर!
5 परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो।
तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो।
म राती रोइरहें,
अर्को बिहान म खुशी थिएँ र गाइरहेथें!
6 जब म जोगिएँ र सुरक्षित भएँ,
सोचें केही कुरोले पनि मलाई कष्ट पुर्याउन सक्ने छैन!
7 हे, परमप्रभु जब तपाईं मप्रति कृपालु हुनुहुन्थ्यो
मैले अनुभव गरें कसैले पनि मलाई पराजित गर्न सक्ने छैन!
जब तपाईंले मबाट मुख फर्काएर जानुभयो,
म डराएँ र कामे।
8 यसर्थ परमेश्वर, म फर्कें अनि तपाईंसँग प्रार्थना गरें।
मैले तपाईंलाई दयाको बिन्ती गरें।
9 मैले भने, “परमेश्वर के यदि म मरें,
अनि चिहानभित्र गएँ भने राम्रो हुन्छ र?
मरेका मानिसहरू खाली धूलोभित्र पल्टिएर बस्छन्!
तिनीहरूले तपाईंको प्रशंसाहरू गाउँदैनन्।
कतिसम्म हामी तपाईंमाथि निर्भर हुनसक्छौं।
तिनीहरूले मानिसहरूलाई भन्दैनन्।
10 हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मप्रति कृपादृष्टि राख्नुहोस्!
हे परमप्रभु, मलाई साथ दिनुहोस्!”
11 मैले प्रार्थना गरें र तपाईंले साथ दिनुभयो!
तपाईंले मेरो रूवाइलाई नाचमा बद्ली दिनुभयो।
तपाईंले मेरो उदासीनताका पोशाकहरू फुकालेर लैजानु भयो
र खुशीयालीले मलाई ढाकिदिनु भयो।
12 हे परमप्रभु, मेरो परमेश्वर, म सदासर्वदा तपाईंको स्तुति गाउनेछु यसकारण त्यहाँ कहिल्यै निस्तब्ध हुनेछैन,
अनि म सधैँ तपाईंको प्रशंसा गर्छु।
24 तिमीहरू सबैले जान्दछौ, दौड़मा धेरै जना दगुर्छन् तर पुरस्कार चाँहि खाली एकजनाले पाउँछ। यसर्थ त्यसरी दगुर ताकि तिमीले पुरस्कार जित्न सक। 25 खेलमा भाग लिने सबैले कठोर अनुशासनको पालना गर्नु पर्छ। पुरस्कार जितुँ भनेर नै तिनीहरू त्यसो गर्छन्। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्नछन्, तर हामीले पाएको पुरस्कार सदा काललाई हुँदछ। 26 यसैले म कुनै निश्चित टुङ्गो भएको मान्छे जस्तै दगुर्छु। हवामा मुक्क हान्नेले जस्तै म मुक्का हान्दिन। 27 नियन्त्रणको लागि म आफ्नै शरीरलाई कठोर व्यवहार गर्छु। मैले यसो गरेको खण्डमा अरू मानिसहरू माझ प्रचार गरे पछि म आफैं परमेश्वरबाट तिरस्कृत हुने छैन।
येशूद्वारा एकजना रोगी निको भयो
(मत्ती 8:1-4; लूका 5:12-16)
40 एकजना कुष्ठरोग लागेको मानिस येशूकहाँ आयो। त्यसले घुँडा टेकेर येशूलाई बिन्ती गर्न लाग्यो, “तपाईंमा त्यस्तो शक्ति छ, यदि तपाईंले चाहनु भयो भने म निको हुनसक्छु।”
41 येशूलाई त्यस मानिसप्रति दया लाग्यो। उहाँले त्यस मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ।” 42 त्यसपछि त्यस मानिसको कुष्ठरोग हरायो, अनि त्यो निको भयो।
43 येशूले त्यस मानिसलाई जाने आज्ञा दिनुभयो। उहाँले त्यसलाई कडा चेतावनी पनि दिनुभयो। 44 येसूले भन्नुभयो, “होशियार बन तिम्रो निम्ति मैले गरेको काम बारे कसैलाई केही नभन्नू। तर पूजाहारीकहाँ गएर आफूलाईं देखाऊ, अनि परमेश्वरलाई केही भेटी चाढाऊ किनभने तिमी निको भएका छौ। मोशाले बताए बमोजिम भेटी चढाऊ। त्यसबाट मानिसहरूलाई तिमी निको भयौ भन्ने थाहा हुनेछ।” 45 तर त्यो मानिस त्यहाँबाट गयो अनि यशूले आफूलाई निको पार्नु भएको बारेमा जताततै सबै मानिसहरूसँग कुरा गर्यो। अनि येशूको बारेमा खबर फैलियो। यसकारण येशूले खुल्लम खुल्ला शहरमा प्रवेश गर्न सक्नु भएन। येशू मानिसहरू नबस्ने ठाउँतिर जानुभयो। तर सबै शहरहरूबाट मानिसहरू येशूलाई भेट्न आए।
© 2004, 2010 Bible League International