Revised Common Lectionary (Complementary)
मन्दिरतर्फ जाँदैगर्दा गाएको स्तुतिगान।
130 हे परमप्रभु, म गहीरो सङ्कटमा छु।
यसैकारण म तपाईंलाई गुहार मान्छु।
2 मेरो स्वामी! मलाई ध्यान दिनु होस्।
मेरो गुहार प्रति ध्यान दिनु होस्।
3 परमप्रभु, यदि तपाईंले मानिसहरूलाई उनीहरूका पापहरूका लागि दण्ड दिनुहुन्छ भने,
कुनै मानिस पनि जिउँदो हुने थिएन।
4 परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्,
त्यसपछि त्यहाँ तपाईंलाई पूज्ने मानिसहरू हुनेछन्।
5 म परमप्रभुको साथ पाउनलाई पर्खी बसेको छु,
मेरो आत्माले उहाँलाई पर्खिन्छ,
परमप्रभुले जे भन्नुहुन्छ म त्यसमा विश्वास गर्छु।
6 म मेरो स्वामीलाई पर्खिरहेछु।
म एकजना पहरेदार जस्तै छु,
जसले बिहान नहुञ्ञेल सम्म पर्खिरहन्छ।
7 हे इस्राएल, परमप्रभुमाथि भरोसा गर।
स्नेहपूर्ण करूणा परमप्रभुसँग मात्र पाउन सकिन्छ।
परमप्रभुले घरिघरि हामीलाई बचाउनु हुन्छ।
8 अनि परमप्रभुले इस्राएलीहरूका सारा पापहरूलाई क्षमा गरिदिनु हुन्छ।
13 धेरै मानिसहरू दोस्रो महीनामा अखमीरे रोटीको चाड मनाउनका निम्ति यरूशलेममा साथ आए। यो एउटा अत्यन्त विशाल भीड थियो। 14 ती मानिसहरूले यरूशलेमका वेदीहरू निकाले जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले सबै धूप वेदीहरू पनि हटाए जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले ती वेदीहरूलाई किद्रोन बेंसीमा फ्याँकि दिए। 15 त्यस पछि तिनीहरूले दोस्रो महीनाको चौधौं दिनमा निस्तार चाडको थुमाको पाठा मारे। पूजाहारी अनि लेवीहरू लज्जित भए। तिनीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार गरे। पूजाहारी अनि लेवीहरूले परमप्रभुको मन्दिर भित्र होमबलिहरू ल्याए। 16 तिनीहरूले मोशा, परमेश्वरको मानिसको व्यवस्थामा भनिएको जस्तै प्रकारले मन्दिरमा आफ्ना नियमित स्थानहरू लिए। लेवीहरूले रगत पूजाहारीहरूलाई दिए तब पूजाहारीहरूले रगतलाई वेदीमा छर्कि दिए।
17 त्यहाँ समूहमा धेरै मानिसहरू थिए जसले स्वयंलाई पवित्र सेवाका निम्ति तयार राखेका थिएनन्, यसर्थ तिनीहरूलाई निस्तार चाडको थुमाको पाठालाई मार्ने अनुमति थिएन। त्यसै कारणले हरेक व्यक्तिका निम्ति, जो शुद्ध थिएन, निस्तार चाडको थुमाको पाठालाई मार्ने जिम्मा लेवीहरूलाई थियो। लेवीहरूले प्रत्येक थुमाका पाठालाई परमप्रभुका निम्ति पवित्र बनाए।
18-19 एप्रैम, मनश्शे, इस्साकार अनि जबूलूनका धेरै मानिसहरूले स्वयमलाई निस्तार चाडका निम्ति उचित ढङ्गले तयार पारेका थिएनन्। तिनीहरूले मोशाको व्यवस्थामा भनेको प्रकारले ठीक ढङ्गले निस्तार चाड मनाएनन्। तर हिजकियाहले ती मानिसहरूका निम्ति प्रार्थना गरे। यसर्थ हिजकियाहले यो प्रार्थनामा यो भने, “परमप्रभु परमेश्वर, तपाईं असल हुनुहुन्छ। यी मानिसहरू साँच्चैनै तपाईंको आराधना उचित ढङ्गले गर्न चाहन्थे, तर तिनीहरूले व्यवस्थामा भने अनुसार स्वयंलाई शुद्ध पारेनन्। कृपया ती मानिसहरूलाई क्षमा गरिदिनु होस्। तपाईं परमेश्वर हुनुहुन्छ जसको आज्ञा हाम्रो पुर्खाहरू मान्थे। यदि कसैले महा-पवित्र स्थानको नियम अनुसार स्वयंलाई शुद्ध नपारेको भएता पनि क्षमा गरिदिनु होस्।” 20 परमप्रभुले राजा हिजकियाहको प्रार्थना सुनिदिनु भयो। परमप्रभुले मानिसहरूलाई क्षमा प्रदान गर्नु भयो। 21 यरूशलेममा इस्राएलका केटा-केटीहरूले अखमिरी रोटीको उत्सव सात दिन सम्म मनाए। तिनीहरू अत्यन्त प्रसन्न थिए। लेवी अनि पूजाहारीहरूले आफ्ना पूरा शक्ति लाएर प्रतिदिन परमप्रभुको स्तुति गरे। 22 राजा हिजकियाहले ती सबै लेवीहरूलाई उत्साह दिए जसले परमप्रभुको सेवा कसरी गर्नु पर्छ सो राम्रोसित जान्दथे। मानिसहरूले त्यो उत्सव सात दिनसम्म मनाए अनि मेलबलि अर्पण गरे। तिनीहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरलाई धन्यवाद चढाए अनि स्तुति गरे।
23 समस्त मानिसहरू अझ सात दिन बस्न सहमत भए। तिनीहरूले निस्तार चाड अझ सात दिन मनाउँदा तिनीहरू अति प्रसन्न रहे। 24 हिजकियाह, यहूदाका राजाले 1,000 गोरूहरू अनि 7,000 भेंडाहरू मार्नु र खानु भनी सभालाई दिए। प्रमुखहरूले 1,000 गोरूहरू अनि 10,000 भेंडाहरू सभालाई दिए। धेरै पूजाहारीहरूले तिनीहरू स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे। 25 यहूदाका सम्पूर्ण सभा, पूजाहारीहरू, लेवीहरू, सम्पूर्ण सभा जो इस्राएलबाट आएका थिए अनि यात्रीहरू जो इस्राएलबाट आएर यहूदामा पुगेका थिए। ती सबै मानिसहरू अत्यन्त प्रसन्न थिए। 26 यसरी यरूशलेममा अति ठूलो रमाहट थियो। यस किसिमको समारोह जस्तो इस्राएलका राजा दाऊदका छोरा सुलेमानको समय देखि यता अरू कुनै कुरा भएको थिएन। 27 पूजाहारीहरू अनि लेवीहरू उभिए अनि मानिसहरूलाई आशीर्वाद दिनु भनी परमप्रभु सित प्रार्थना गरे। परमेश्वरले तिनीहरूका प्रार्थना सुनिदिनु भयो। तिनीहरूको प्रार्थना स्वर्गमा परमप्रभुको पवित्र मन्दिर सम्म पुग्यो।
येशूले पक्षाघातको रोगी लाई निको पार्नु भयो
(मत्ती 9:1-8; लूका 5:17-26)
2 केही दिनपछि, येशू कफर्नहुममा फर्कनुभयो। येशू घरमा हुनुहुन्थ्यो भन्ने खबर सबैले थाहा पाए। 2 धेरै मानिसहरू येशूको शिक्षा सुन्न आए। घर खचाखच थियो। त्यहाँ भित्र ठाऊँ थिएन न त ढोका बाहिर नै उभिने ठाउँ थियो। येशू ती मानिसहरूलाई सिकाईरहनु भएको थियो। 3 केही मानिसहरूले पक्षाघाति रोगीलाई येशू कहाँ ल्याई पुर्याए। चारजना मानिसहरूले त्यो पक्षाघाती रोगीलाई बोकेका थिए। 4 तर ती मानिसहरूले त्यो रोगीलाई येशूकहाँ ल्याउन सकेनन् किनभने त्यहाँ मानिसहरूको अत्यधिक भीड थियो। यसकारण ती मानिसहरू येशू भएको घरको छानामाथी चढे, तिनीहरूले त्यहाँ छानामा एउटा प्वाल पारेका थिए। त्यसपछि तिनीहरूले त्यो पक्षघात रोगी सुतेको ओछ्यान् तलतिर झारे। 5 यशूले देख्नुभयो कि, ती मानिसहरूमा अत्याधिक विश्वास थियो। त्यसपछि येशूले ती पक्षाघातको रोगीलाई भन्नुभयो, “ए युवक, तिम्रा पापहरू क्षमा भएका छन्।”
6 केही व्यवस्थाका शास्त्रीहरू त्यहीं बसिरहेका थिए, र तिनीहरूले येशूले गर्नुभएको कार्यकलाप देखे, अनि तिनीहरू स्वयं सोच्न लागे: 7 “उहाँले किन यस्तो कुरा गर्नुहुन्छ? उहाँले यस्तो कुरा गरिरहनुभएको छ जो परमेश्वरको विरुद्धमा छ। केवल परमेश्वर मात्र पाप क्षमा गर्नसक्नु हुन्छ।”
8 येशूले शास्त्रीहरूले आपसमा उहाँको बारेमा के-के कुरा सोचिरहेका थिए भन्ने थाहा पाऊनुभयो। अनि येशूले सोध्नु भयो, “किन तिमीहरूको मनमा यस्तो प्रश्न उठिरहेको छ 9-10 मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ, तर म यो कसरी तिमीहरूलाई प्रमाण गर्नसक्छु! यो पक्षाघातीलाई के भन्नु सजिलो छ? ‘तिम्रा पापहरू क्षमा गरिएको छ,’ भन्नु वा, ‘उठ आफ्नो बिछ्यौना बोक अनि हिंडिहाल भन्नु’? तर म तिमीहरूलाई अब देखाउनेछु कि पापहरू क्षमागर्ने मेरो अधिकार छ।” यसो भनेर येशूले त्यो पक्षाघाती लाई भन्नुभयो, 11 “म तिमीलाई भन्दछु उठ, आफ्नो विछ्यौना बोक अनि घर जाऊ।”
12 त्यो पक्षाघातको रोगी जुरूक्क उठ्यो। उसले आफ्नो बिछ्यौना उठायो अनि कोठादेखि बाहिरियो। सबै मानिसहरूले देख्न सके, सबै मानिसहरू छक्क परे, अनि परमेश्वरको प्रशंसा गर्न लागे। तिनीहरूले भने, “हामीले यस्तो चमत्कार कहिल्यै देखेका थिएनौं।”
© 2004, 2010 Bible League International