Revised Common Lectionary (Complementary)
दाऊदको मस्किल भन्ने भजन।
32 त्यो मानिस खुशी हुन्छ,
जसका पापहरू क्षमा गरिएका छन्।
त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।
2 त्यो मानिस खुशी हुन्छ,
जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ।
त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।
3 परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें।
तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ।
जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।
4 परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो।
म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ।
5 तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ।
परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें, मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइनँ।
अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!
6 यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ।
तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता सङ्कटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।
7 हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ,
तपाईं मलाई सङ्कटहरूबाट रक्षा गर्नुहुन्छ।
तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ।
यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।
8 परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु
र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु।
म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।
9 यसैले घोडा अथवा गधा जस्तो मूर्ख नहोऊ।
ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ।
ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”
10 दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्।
तर परमेश्वरको स्नेहपूर्ण करूणाले ती मानिसहलाई घेर्ने छ,
जसले परमप्रभुमाथि भरोसा गर्छन्।
11 हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ।
हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।
28 अहीमासले राजालाई भने, “सबै राम्रै छ।” राजाका अघि शिर झुकाएर अहीमासले भने, “परमप्रभु राजाका परमेश्वरको महिमा गाऔ! परमप्रभुले तपाईंको विरोधीलाई हराउनुभयो, मेरो मालिक राजा।”
29 राजाले भने, “नौजवान अब्शालोम ठीकै छ त?”
अहीमासले जवाफ दिए, “जब मलाई योआबले पठाए, मैले ठूलो उत्साह देखें। तर के भयो मलाई थाहा छैन।”
30 तब राजाले भने, “यहाँ उभ र पर्ख।” अहीमास त्यहाँ उभिए र पर्खिए।
31 कूशी आए। उनले भने, “मेरा मालिक राजालाई खबर छ। आज परमप्रभुले तपाईंका विरोधीहरूलाई दण्ड दिनुभयो।”
32 राजाले कूशीलाई सोधे, “के अब्शालोम ठीक छ त?”
कूशीले जवाफ दिए, “म विश्वास गर्छु जो तपाईंका बिरूद्धमा थिए ती सबैले त्यो जवान केटो (अब्शालोम)ले पाएको जस्तै सजाय पाउने छन्।”
33 तब राजाले अब्शालोम मरे भनेर थाहा पाए। राजा साह्रै दुःखी भए। ऊ द्वारबाट कोठामा गएर रोए। कोठामा जाँदा रूँदै गए। तिनले भन्दैथिए, “हे मेरो छोरा अब्शालोम, तिम्रो सट्टामा म मर्नु असल थियो। हे अब्शालोम, मेरो छोरा, छोरा!”
योआबले दाऊदलाई गाली गर्छन्
19 मानिसहरूले योआबलाई खबर सुनाउँछन्। तिनीहरूले योआबलाई भन्छन्, “हेर्नुहोस्, राजा अब्शालोमको लागि दुःखी भएर रोइरहेकाछन्।” 2 दाऊदका सेनाले त्यस दिन युद्ध जिते। तरै पनि मानिसहरूलाई उक्त दिन पटक्कै चैन भएन। कारण मानिसहरूले सुने, “राजा आफ्ना छोराको निम्ति साह्रै दुःखी छन्।”
3 मानिसहरू चुपचाप शहरमा भित्रिए। पराजित भएर भागेर आएका मानिसहरू जस्तै भए। 4 राजाले अनुहार ढाकेका थिए। हे मेरो छोरा “अब्शालोम, मेरो छोरा भन्दै राजा जोड-जोडले रोइरहेका थिए।”
5 योआब राजाका घरमा आए। योआबले राजालाई भने, “तपाईंले आफ्ना सबै अधिकारीहरूको बेज्जत गर्दैहुनुहुन्छ। हेर्नुहोस्, ती अधिकारीहरूले आज तपाईंको प्राण बचाए। अनि तिनीहरूले तपाईंका छोरा छोरी, पत्नीहरू र नोकर्नीहरूलाई पनि बचाए। 6 जसले तपाईंलाई घृणा गर्यो उसैलाई माया गर्नुहुन्छ। आज तपाईंले तपाईंका अधिकारीहरू र आफ्ना मानिसहरूलाई केही जस्तो नठानेको प्रमाण भयो। मलाई यस्तो लाग्दैछ यदि अब्शालोम चाहिं बाँचेर हामी सबै मारिएको भए तपाईं खुशी हुनुहुन्थ्यो। 7 अब उठेर तपाईंका अधिकारहरूलाई उत्साहका केही शब्द भन्नुहोस्। म परमप्रभुको शपथ खाएर भन्छु यदि तपाईं झट्टै बाहिर निस्कनु भएन भने रात हुन अघि कसैले पनि तपाईंलाई सहयोग गर्ने छैन। तपाईंको बाल्यकाल देखिको विपत्तीहरूमा सबभन्दा नराम्रो विपत्ती यो हुनेछ।”
8 त्यसपछि राजा शहरको फाटकमा गए। त्यत्ति नै बेला राजा फाटकमा सवारी भए भनेर हल्ला चारैतरि फैलियो। यसैले सबै मानिसहरू राजालाई हेर्न आए। अब्शालोमका अनुयायी भएका सबै इस्राएलीहरू भागेर घर गए।
येशूद्वारा पक्षाघात रोगी निको
(मत्ती 9:1-8; मर्कूस 2:1-12)
17 एक दिन येशूले मानिसहरूलाई शिक्षा दिंदैं हुनुहुन्थ्यो, फरिसीहरू र शास्त्रीहरू पनि त्यहीं नै बसिरहेका थिए। तिनीहरू यरूशलेम, यहूदिया र गालिलका सबै शहरहरूबाट आएका थिए। परमप्रभुले उनलाई निको पार्ने शक्ति दिनुभएको थियो। 18 एकजना पक्षघातको रोगी त्यहाँ एउटा खाटमा लिएर आए अनि तिनीहरूले भित्र ल्याउने र येशूको अघि राख्ने चेष्टा गर्दैं थिए। 19 तर त्यहाँ मानिसहरूको त्यत्ति भीड थियो कि येशू भएकहाँ पुग्नलाई बाटो थिएन। त्यस कारण ती मानिसहरू घरको छानामाथि चढे अनि केही झिंगटीहरू हटाएर प्वालबाट त्यो विमारी मानिसहरूलाई उसको खाटसँगै भीडको बिचमा र येशूको अघि ओह्याले। 20 तिनीहरूको अटल विश्वास देखेर उहाँले भन्नु भयो, “मित्र, तिम्रो पापहरू क्षमा भयो।”
21 तब शास्त्रीहरू र फरिसीहरू आपसमा बात गर्न लागे, “यो मानिस को हो? उसले जे भन्दैछ, परमेश्वर को विरोधमा भन्दैछ। केवल परमेश्वरले मात्र पापीहरूलाई क्षमा गर्न सक्नुहुन्छ।”
22 तर येशूले तिनीहरूले के सोचे थाहा पाउनु भयो। उहाँले भन्नु भयो, “तिमीहरू मनमा यस्तो प्रश्नहरू किन गर्दछौ? 23 कुन चाँहि सजिलो छः ‘तिम्रो पाप क्षमाभए भन्नु’ अथवा ‘उठ अनि जाऊ भन्नु?’ 24 तर म तिमीहरूलाई देखाउँनेछु कि पृथवीमा मानिसको पुत्रलाई पापहरू क्षमा गर्ने अधिकार छ।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ, तिम्रो बिछौना बाँध अनि घर जाऊ।”
25 सबैको अघि त्यो तुरन्तै उठ्यो र आफ्नो बिछ्यौना च्याप्यो अनि परमेश्वरको प्रशंसा गर्दैं घरतिर लाग्यो। 26 सबै मानिसहरू चकित भए। अनि परमेश्वरको प्रशंसा गर्न थाले। तिनीहरू भयभित भए अनि भने, “हामीले आज अचम्मका कुरा देख्यौं।”
© 2004, 2010 Bible League International