Revised Common Lectionary (Complementary)
24 हे परमप्रभु, तपाईंले धेरै चकित थोकहरू गर्नुभयो।
पृथ्वी त्यही थोकहरूले भरिपूर्ण भई भरिएको छ।
हामी जताततै प्रत्येक थोकमा तपाईंको बुद्धिमता देख्छौं।
25 समुद्रलाई हेर त्यो कति ठूलो छ।
अनगन्ती प्राणीहरूले त्यो भरिएकोछ।
त्यहाँ ससाना र विशाल अनगन्ति प्राणीहरू छन्।
26 त्यस समुद्रमा जहाजहरू चल्दछ,
लिब्यातान समुद्रमा खेल्छ।
महा-सागरमा समुद्री प्राणी तपाईंले सृष्टि गर्नुभयो।
27 परमेश्वर, ती सारा जीवित प्राणीहरू तपाईंमा आश्रित छन्
तपाईंले ठीक समयमा तिनीहरूलाई भोजन दिनुहुन्छ।
28 परमेश्वर, तपाईंले सारा प्राणीहरूलाई भोजन दिनुहुन्छ।
तपाईंले आफ्ना हातहरू खोलेर, राम्रो पौष्टिक भोजन दिनुहुन्छ,
अनि तृप्त नहुन्जेलसम्म तिनीहरू खान्छन्।
29 जब तपाईं तिनीहरूबाट टाढा फर्किनुहुन्छ,
तिनीहरू भयभीत हुन्छन्।
तिनीहरूका आत्माले तिनीहरूलाई छोड्छ, तिनीहरू कमजोर भएर मर्छन्
अनि तिनीहरूका शरीरहरू फेरि धूलोको कण नै बन्दछन्।
30 तर हे परमप्रभु, जब तपाईंले आफ्नो आत्मा पठाउनु हुन्छ,
अनि तिनीहरू स्वास्थ्य हुन्छन्।
अनि तपाईंले फेरि भूमि नयाँ बनाउनु हुन्छ।
31 परमप्रभुको महिमा अनवरत अनन्त रहीरहोस्!
उहाँले सृजना गर्नुभएको कुराहरूमा उहाँ आनन्दित होउन्।
32 परमप्रभुले पृथ्वी तिर मात्र हेरि दिंदा पनि त्यो कम्पन हुनेछ।
उहाँले पर्वतहरूलाई छोडदिंदा मात्र तिनीहरूबाट धुवाँ उड्न थाल्छ।
33 मेरो जीवनभरी परमप्रभुको प्रशंसाको गीत गाउनेछु।
जबसम्म म बाँच्छु परमप्रभुको प्रशंसा गरिरहेने छु।
34 भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ।
म परमप्रभुसित खुशी छु।
35 पृथ्वीबाट पापहरू हटी जाओस्।
दुष्ट मानिसहरू सदाको लागि हराएर जाऊन्।
मेरो प्राणले परमप्रभुको जयजयकार गर्दछ।
परमप्रभुको प्रशंसा गर!
परमप्रभुबाट एलियालाई बोलाउने योजना
2 जब परमप्रभुले एलियालाई आँधीवेहरीमा स्वर्गमा उठाए लैजान आँट्नु भएको थियो। एलिया र एलीशासँगै गिलगाल छोडे।
2 एलियाले एलीशालाई भने, “कृपया यहीँ पर्ख, किनभने परमप्रभुले मलाई बेतेल जानु भन्नु भएको छ।”
तर एलीशाले भने, “परमप्रभु हुनुहुन्छ अनि तिमी जिउँदै छौ, यसर्थ म शपथ खाएर भन्छु, म तिमीलाई छोड्ने छैन।” यसकारण दुइ जना मानिसहरू बेतेलतिर गए।
3 बेतेलमा अगमवक्ताहरूको दल एलीशाकहाँ आयो अनि उनलाई भन्यो, “तिमीलाई थाह छ परमप्रभुले तिम्रा मालिकलाई आज लिएर जानु हुनेछ।”
एलीशाले भने, “हो म जान्दछु यो। तर यस बारे कुरा नगर।”
4 एलियाले एलीशालाई भने, “कृपया यहीं पर्ख, किनभने परमप्रभुले मलाई यरीहोमा जानु भन्नुभएको छ।”
एलीशाले उत्तर दिए, “म शपथ खाएर भन्छु किनभने परमप्रभु हुनुहुन्छ अनि तिमी जिउँदो छौ, म तिमीलाई छोड्ने छैन।” यसकारण दुइ जना मानिसहरू यरीहोमा गए।
5 यरीहोको अगमवक्ताहरूको दल एलीया कहाँ आयो अनि उनिहरूले उसलाई भने, “के तिमीलाई थाहा छ कि तिम्रो मालिकलाई आज परमप्रभुले तिमी देखी टाढा लिएर जानु हुँदैछ।”
एलीशाले भने, “हो, म जान्दछु तर यो विषयमा कुरा नगर।”
6 एलियाले एलीशासँग भने, “कृपया यहीं पर्ख किनकि परमप्रभुले मलाई यर्दन तरेर जानु भन्नुभएको छ।”
एलीशाले भने, “परमेश्वरको साक्षी दिएर म प्रतिज्ञा गर्छु, म तपाईंलाई छोड्ने छैन।” अनि दुइ व्यक्ति गए।
7 अगमवक्ताहरूको दलका पचास जना मानिसहरूले तिनीहरूको अनुशरण गरे। एलिया र एलीशा यर्दन नदी मा उभिए। पचास जना मानिसहरू एलिया र एलीशादेखि टाढा उभिए। 8 एलियाले आफ्नो खाष्टो खोले, त्यसलाई पट्याए र त्यसले पानीमा हिर्काए। पानी देब्रे र दाहिनेतिर दुइ भागमा बाँडियो। तब एलिया र एलीशाले सूख्खा भूइँमाथि हिंडेर नदी तरे।
9 जब तिनीहरूले नदी तरे एलियाले एलीशालाई भने, “परमेश्वरले मलाई तिमीबाट लिएर जानु अघि तिम्रो लागि म के गर्न सक्छु?”
एलीशाले भने, “म तपाईको उत्तराधिकारी हुन चाहन्छु।”[a]
10 एलियाले भने, “तिमीले अप्ठ्यारो वस्तु माग्यौ। जब तिमीबाट मलाई लिएर जाँदा यदि तिमीले देख्यौ भने तब यस्तै हुन्छ। तर तिमीले देखेनौ भने त्यस्तो हुँदैन।”
परमेश्वरले एलियालाई स्वर्गमा लानुहुन्छ
11 एलिया र एलीशा हिंडिरहेका थिए अनि कुरा गरिरहेका थिए। अचानक केही घोडाहरू र एउटा रथ आयो अनि एलीशाबाट एलियालाई छुट्यायो। घोडा र रथ आगो समान थिए। तब एलियालाई हावाबतासमा स्वर्गमा लगियो।
12 एलीशाले यसलाई देखे अनि चिच्याए, “मेरा पिता! मेरा पिता! इस्राएलको रथ अनि उहाँका घोडसैनिकहरू।”
एलीशाले एलियालाई फेरि कहिले देखेनन्। एलीशाले आफ्नो लुगालाई पक्रिए अनि आफ्नो शोक देखाउन च्याते। 13 एलियाको खाष्टो भुइँमा झर्यो त्यसकारण एलिशाले त्यसलाई टिपे र यर्दन नदीको किनारमा उभिए। 14 एलीशाले एलियाको खाष्टो लियो र त्यसले पानीमा हिर्काए। उसले भन्यो, “एलियाका परमेश्वर परमप्रभु कहाँ हुनुहुन्छ?” जब एलीशाले पानीमाथि प्रहार गरे। तब पानी दाहिने र देब्रेतिर दुइ भागमा विभाजन भयो र एलीशाले नदी तरे।
अगमवक्ताहरूले एलियाको विषयमा सोध्छन्
15 जब यरीहोका अगमवक्ताहरूको दलले एलीशालाई देखे, तिनीहरूले भने, “एलियाको आत्मा अहिले एलीशामा छ।” तिनीहरू एलीशालाई हेर्न आए। तिनीहरू एलीशा अघि भुईंमा निहुरिए।
जकरिया अनि इलीशिबा
5 यहूदामा हेरोदको शासन कालमा जकरिया नाउँ गरेका एकजना पूजाहारी थिए। जकरिया अबियाका पूजाहारी समूहका थिए। जकरियाकी पत्नी हारून वंशकी थिईन्। तिनको नाउँ इलीशिबा थियो। 6 ती दुवै जकरिया र इलीशिबा परमेश्वर समक्ष असल मानिस थिए। जहाँ सम्म परमप्रभुको जम्मै आज्ञा र नियमहरूको सम्बन्ध छ तिनीहरू निष्कलंक थिए। 7 तर जकरिया र इलीशिबा निःसन्तान थिए। इलीशिबा गर्भवती हुन सकिनन्, कारण तिनीहरू दुवै बृद्ध भइसकेका थिए।
8 जब उनको समूहको सेवा गर्ने पालो थियो जकरियाले परमेश्वर अघि मानिसहरूको सेवा पूजाहारी भएर गरे। यस्तै उनको समूहको सेवा गर्ने समय थियो। 9 पूजाहारीहरूले सधैँ एकजना पूजाहारीलाई धूप दिने गर्दथे। जकरिया यस्तै काम गर्ने छानिएको थिए। यसकारण उनले परमप्रभुको मन्दिरमा धूप जनाउनु पर्थ्यो। 10 त्यहाँ जम्मै उपासकहरू बाहिर एकत्रित भएका थिए। धूप दिइएकै बेला तिनीहरू प्रार्थना गर्नमा तल्लीन थिए।
11 त्यसपछि धूप जलिरहेको दाहिनेपट्टि परमप्रभुको एउटा स्वर्गदूत जकरियाको अघि उभिएका थिए। 12 जब उनले स्वर्गदूतलाई देख्यो, जकरिया भ्रममा परे र डरले आत्तिए। 13 ती स्वर्गदूतले जकरियालाई भने, “जकरिया, नडराऊ। तिम्रो प्रार्थनालाई परमेश्वरले सुनिदिनु भएकोछ। तिम्री पत्नी इलीशिबाले एउटा पुत्र जन्म दिनेछिन्। उनको नाउँ तिमीले यूहन्ना राखिदिनु। 14 तिनले तिमीहरूमा आनन्द र खुशीयाली ल्याउनेछन्। तिनको जन्मले धेरै-धेरै मानिसहरूमा सुख ल्याउनेछ। 15 परमप्रभुको सामुन्ने यूहन्ना तिनी एकजना महान मानिस बनिनेछन्। तिनले दाखरस अथवा मदिरा कदापि लिने छैनन्। तिनको जन्मबाट नै तिनी पवित्र आत्माले भरिएको हुनेछन्।
16 “तिनी धेरै यहूदीहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरतिर फर्काउने माध्यम हुनेछन्। 17 तिनी आफैं अग्रदूत झैं परमप्रभुको अघि अघि जानेछन्। एलिया जस्तै तिनी पनि शक्ति सम्पन्न मानिस हुनेछन्। एलियामा भएकै आत्मा उनमा पनि हुनेछ। बाबुहरू र छोरा-छोरीहरू माझ उनले नै शान्ति बनाई राख्नेछन्। तिनीहरू जसले परमेश्वरको आज्ञा पालन गर्दैनन् त्यस्ताहरूलाई धार्मिक मानिसहरूलाई जस्तै सोंच्ने बानउनेछन्। परमप्रभुको आगमनका निम्ति मानिसहरूलाई उनले नै तयारी पार्नेछन्।”
© 2004, 2010 Bible League International