Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 4

पहिलो परिवार

आफ्नी पत्नी हव्वासँग आदमको सहवास भयो अनि तिनी गर्भवती भएर एउटा छोरो कयिनलाई जन्माइन। तिनले भनिन, “परमप्रभुको सहायताद्वारा मैले एउटा मानिसलाई जन्म दिएँ।”

तिनले फेरि अर्को छोरो हाबिललाई जन्माइन। हाबिल भेंडा गोठालो भयो अनि कयिन खेतीवाला भयो।

पहिलो हत्या

केही समय पश्चात कयिनले भूमिको उब्जनीबाट केही खाने कुरो परमप्रभु कहाँ भेटीस्वरुप चढाउन ल्यायो। हाबिलले पनि आफ्नो भेंडाको बथानबाट पहिले जन्मेको भेंडाको उत्तम भाग चढाउन ल्यायो।

अनि हाबिलले ल्याएको भेटी परमप्रभुले स्वीकार गर्नुभयो। तर परमप्रभुले कयिन र उनले चढाएको भेटी स्वीकार गर्नु भएन। यसर्थ कयिन साहै रिसायो र दुःखी भयो। परमप्रभुले कयिनलाई सोध्नु भयो, “तँ किन रिसाएको छस्? तँ किन आफ्नो अनुहार अँध्यारो पार्दछस्? यदि तैंले राम्रो काम गरिस् भने म तँलाई स्वीकार गर्छु अनि तैंले नराम्रो काम गरिस् भने पापले तँलाई एकदमै नियन्त्रण गर्नेछ तर तँ यसको मालिक हुनै पर्छ।”

कयिनले उसको भाइलाई भने, “हामी खेतमा जाऔं!” अनि तिनीहरू खेतमा गएका थिए, कयिनले उसको भाइलाई आक्रमण गरी तिनलाई मार्यो।

तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?”

तब कयिनले उत्तर दियो, “म जान्दिन, मेरो भाइको हेरचाह गर्ने काम मेरो हो र?”

10 त्यसपछि, परमप्रभुले कयिनलाई सोध्नु भयो, “तैंले उसलाई के गरिस्? कारण भूमिबाट उसको रगत मसँग कराउँदैछ। 11 तैंले तेरो भाइको हत्या गरिस् र तेरो हातबाट रगत पिउनलाई भूमिले मुख बाही रहेकोछ। यसकारण अब म त्यस भूमिमा नराम्रो कुराहरू हुने बनाइदिनेछु। 12 जब तैंले त्यो भूमिमा केही रोप्छस् तेरो निम्ति त्यस भूमिले केही फसल दिने छैन। पृथ्वीमा तेरो एउटा घर पनि हुने छैन, तँ एक ठाउँदेखि अर्को ठाउँ घुमिहिँड्ने छस्।”

13 तब कयिनले परमप्रभुलाई भने, “यो दण्ड चाँहि मैले सहन सक्नेभन्दा धेरै भयो। 14 हेर्नुहोस्, आज तपाईंले मलाई जमीनबाट निकालिदिनु भयो अनि म तपाईंको नजरबाट बाहिर रहनु पर्यो, यस पृथ्वीमा घरबेगरको घुमिहिंड्ने हुने भएँ र जसले पनि मलाई भेट्छ मलाई मार्नेछन्।”

15 तब परमप्रभुले उसलाई भन्नुभयो, “यस्तो हुन पाउने छैन! यदि कसैले तँलाई मार्छ भने त्यसलाई म कठोर दण्ड दिनेछु।” तब परमप्रभुले कयिनमाथि यस्तो एउटा चिन्ह लगाउनु भयो जसले गर्दा त्यो देखेपछि कसैले कयिनलाई मार्ने छैन।

कयिनको परिवार

16 तब कयिन परमप्रभुको सामुन्नेबाट टाढा गएर अदनको पूर्वपट्टि नोद देशमा बस्न थाल्यो।

17 कयिनको उसकी पत्नीसित सहवास भयो र तिनी गर्भवती भईन र हनोक नाउँ भएको एउटा छोरा जन्माइन्। अनि कयिनले एउटा शहर बनायो र त्यो शाहरको नाउँ हनोक राख्यो।

18 हनोकको ईराद नाउँको छोरा जन्म्यो। ईरादको एउटा छोरो भयो र उसको नाउँ महूयाएल राखियो। महूयाएलको पनि मतूशाएल नाउँको छोरो भयो अनि मतूशाएलको पनि लेमेक नाउँको छोरो भयो।

19 लेमेकले दुइवटी स्त्रीहरूसित विवाह गर्यो, तिनीहरूको नाउँ आदा र सिल्ला थियो। 20 आदाले याबाल नाउँको छोरोलाई जन्म दिइन्। याबाल पालमा बस्ने र गाई-वस्तुहरू पाल्नेहरूको पुर्खा थिए। 21 याबालको भाइको नाउँ यूबाल थियो अनि तिनी नै वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए। 22 सिल्लाले तूबल कयिनलाई जन्माइन् जो सबै प्रकारका पीतल र फलामको हतियारहरू बनाउँथ्यो। तूबल कयिनका बहिनीको नाउँ नामा थियो।

23 लेमेकले आफ्ना पत्नीहरूलाई भने,

“हे आदा र सिल्ला!
    लेमेकका पत्नीहरू हो, म के भन्छु, सुन।
मलाई चोट पुर्याउने मानिसलाई मैले मारें,
    त्यस जवान केटोले मलाई हिर्कायो मैले उसलाई मारें।
24 यदि कयिनलाई मारेकोमा सात गुणा बढी दण्ड भयो भने,
    लेमेकलाई मारेकोमा सतहत्तर गुणा बढी दण्ड हुनेछ!”

आदम र हव्वाको नयाँ पुत्र भए

25 आदमको फेरि आफ्नी पत्नीसित सहवास भयो र तिनले फेरि एउटा छोरो जन्माइन् जसको नाउँ सेत राखियो। तिनले भनिन्, “कयिनले हाबिललाई मारेकोले उसको सट्टामा परमेश्वरले मलाई अर्को बालक दिनु भयो।” 26 सेतको पनि एउटा छोरो भयो जसको नाउँ एनोश थियो। यही समयदेखि मानिसहरूले परमप्रभुलाई विश्वास गर्न थाले।

मत्ती 4

येशूको निम्ति कठिन परीक्षा

(मर्कूस 1:12-13; लूका 4:1-13)

यसपछि आत्माले येशूलाई मरुभूमिमा लगेर गयो। दुष्टात्माद्वारा परीक्षा गर्नको निम्ति त्यहाँ लगिएको थियो। चालीस दिन र चालीस रात येशूले केही खानु भएन। यसपछि उहाँ भोकाउनु भयो। शैतान येशू कहाँ परीक्षा गर्नलाई आयो र भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनूहुन्छ भने यी ढुङ्गाहरू रोटी होऊन् भनी आज्ञा दिनुहोस्।”

जवाफमा येशूले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएकोछ,

‘मानिस रोटी खाएर मात्र बाँच्दैन।
    परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’”(A)

त्यसपछि शैतानले येशूलाई पवित्र शहर यरूशलेममा लग्यो। त्यो दुष्टात्माले येशूलाई मन्दिरको गजूरमाथि राख्यो। शैतानले भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम फाल्नुहोस्। किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ,

‘परमेश्वरले तपाईंको निम्ति स्वर्गदूतहरूलाई खटाउनु हुनेछ,
    अनि तिनीहरूले तपाईंलाई हात-हातमा उचाल्नेछन्,
जसद्वारा, तपाईंको खुट्टाहरू ढुङ्गामा बजारिने छैनन्।’”(B)

येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ,

‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई परीक्षा नगर्नु।’”(C)

त्यसपछि शैतानले येशूलाई एउटा अति अल्गो पर्वतमा पुर्यायो। उसले येशूलाई संसारका सबै राज्यहरू, त्यहाँ भएका वैभव देखायो। शैतानले भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सब थोक म तपाईंलाई दिनेछु।”

10 येशूले शैतानलाई भनुभयो, “म देखि टाढा भइहाल, शैतान! धर्मशास्त्रमा यस्तो लेखिएको छ,

‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई दण्डवत् गर्नु पर्छ।
    अनि उहाँकै मात्र सेवा गर्नु पर्छ।’”(D)

11 त्यसपछि शैतानले येशूलाई छोडिदियो। त्यसपछि केही स्वर्गदूतहरू येशूकहाँ आएर उहाँको सेवा-टहल गरे।

गालिलमा येशू आफ्नो काम शुरु गर्दै

(मर्कूस 1:14-15; लूका 4:14-15)

12 येशूले यूहन्ना थुनामा परे भन्ने कुरा सुन्नु भयो। त्यसपछि उहाँ गालील तर्फ लाग्नुभयो। 13 येशू नासरतमा बस्नु भएन। उहाँ गालिल झीलको नजिकको कर्फनहुम नगरमा बस्नु भयो। कर्फनहुम, जबुलून अनि नप्तालीका क्षेत्रमा पर्छ। 14 येशूले यशैया अगमवक्ताद्वारा बोलिएको यिनै वचनलाई पूरा गर्नका निम्ति यसो गर्नु भयो:

15 “सुन! जबुलून र नप्तालीको मुलुक,
    यर्दन नदीपारिको क्षेत्र, समुन्द्रको किनारा तिरजाने बाटो,
    गालील, गैर-यहूदीहरूको मुलुक।
16 जहाँका मानिसहरू आत्मिकि अन्धकारमा थिए,
    तिनीहरूले एउटा ठूलो ज्योति देखे।
अँध्यारो मुलुकमा बस्नेहरूको निम्ति ज्योति चम्कियो।
    जो मुलुकको चिहान जस्तै ठाउँमा बाँच्न परेको थियो।”(E)

17 यसै बेलादेखि येशूले प्रचार गर्न थाल्नुभयो। उहाँले भन्नलाग्नुभयो, “तिमीहरू पश्चताप गर अनि आफ्नो रहन-सहन परिवर्तन गर, किनभने, स्वर्गको राज्य नजिक आइपुगेको छ।”

येशू केही चेलाहरू चुन्नु हुन्छ

(मर्कूस 1:16-20; लूका 5:1-11)

18 गालील झीलका छेउ भएर येशू हिँडिरहनु भएको थियो। उहाँले दुइजना दाज्यू-भाइलाई देख्नुभयो पत्रुस भनिने शिमोन र तिनको भाइ अन्द्रियास दुवै दाज्यू-भाइ माछामार्ने जालहारी थिए। अनि तिनीहरूले समुन्द्रमा जाल हानेर माछा मार्दैं थिए। 19 येशूले भन्नुभयो, “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका जलहारी बनाउनेछु।” 20 शिमोन र अन्द्रियास दुवैले आफ्नो जालहरू त्यति नै बेला छाडिदिए र येशूको पछिलागे।

21 गालील झील भएर येशू हिंड्दै जानुभयो। उहाँले अरू दुइजना दाज्यू-भाइलाई देख्नुभयो, याकूब र यूहन्ना ती जब्दीका छोराहरू थिए। तिनीहरूले जाल बुन्दै गरेका देख्नु भयो। येशूले ती दुइ दाज्यू-भाइलाई पनि बोलाउनु भयो। 22 तिनीहरूले पनि तुरन्तै आफ्नो डुङ्गा र आफ्नो बाबुलाई छोडेर येशूको पछि लागे।

येशूको उपदेश र मानिसहरूको चंगाई

(लूका 6:17-19)

23 येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो।

24 उहाँको कीर्ति सिरियाभरि फिँजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षघात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो। 25 धेरै-धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। ती मानिसहरू गालील, डेकापोलिस[a] यरूशलेम, यहूदिया तथा यर्दन नदी पारिका अन्य इलाकाबाट आएकाहरू थिए।

एज्रा 4

मन्दिर पुनःर्निर्माण गरेकोमा शत्रुहरूको विद्रोह

1-2 जब यहूदा अनि बिन्यामीनका शत्रुहरूले सुने कि कैदीहरूले परमप्रभु, इस्राएलका परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्दैछन्। तिनीहरू यरूबाबेल कुलका अगुवाहरू कहाँ आए अनि तिनीहरूलाई भने, “हामीहरूलाई निर्माण गर्न र तिमीहरूलाई सहायता गर्न देऊ, तिमीहरूले जस्तै हामी पनि तिमीहरूका परमेश्वरको प्रार्थना गर्छौं अनि हामीहरू अश्शूरका राजा एसरहद्‌दोनको समयदेखि बलिदान अर्पण गरिरहेका छौं जसले हामीहरूलाई यहाँ ल्याए।”

तर यरूबाबेल येशूअ अनि इस्राएलका अन्य कुलका अगुवाहरूले तिनीहरूलाई भने, “हाम्रो परमेश्वरको मन्दिर निर्माण गर्न हामीलाई तिमीहरूले सहायता गर्नुपर्दैन। किनभने फारसका राजा कोरेसले हामीलाई आदेश गर्नु भए अनुसार परमप्रभु, इस्राएलका परमेश्वरको निम्ति हामीले मात्र मन्दिरको निर्माण गर्ने छौ।”

यस प्रकारले ती वरिपरिका मानिसहरूले यहूदाका मानिसहरूलाई हतोत्साहित पारे अनि मन्दिर निर्माण गर्न तिनीहरूलाई भयभीत तुल्याए। फारसका राजा कोरेसको समयभरि, राजा दाराले शासन नगरे सम्म ती यहूदी मानिसहरू।

अहासूरसको शासनकालको शुरूमा तिनीहरूले यहूदा अनि यरूशलेममा बस्ने यहूदीहरूको विरूद्ध एउटा अभियोग पत्र लेखेर पठाए।

यरूशलेम पुनःर्निमार्ण गरेकोमा शत्रुहरूको विरूद्ध

अनि आर्ट-जारसेज[a] समयमा बिश्लाम, मित्रदात, ताबेल अनि आफ्ना अन्य सहयोगीहरूले फारसका राजा आर्ट-जारसेजलाई कागजमा लेखेको पत्र आरामी लिपिमा[b] थियो, अनि अरामी भाषामा नै अनुवाद गरिएको थियो।

उच्च आयुक्त रहूम, अनि शिम्शै, सचिवले यरूशलेमको विरूद्ध राजा आर्ट-जारसेजलाई एक पत्र यसरी लेखेः

उच्च आयुक्त रहूम अनि शिम्शै सचिव र तिनिहरूका अन्य सहयोगिहरू, न्यायधीशहरू, आयुक्तहरू, फारसीहरू, एरेकहरू, बाबेल अनि शूशनका मानिसहरू अथवा एलामीहरू अनि अन्य मानिसहरू जसलाई महान अनि प्रख्यात अस्सूरबनिपालले तिनीहरूका देशबाट निकालेका थिए। 10 अनि सामरियाको शहरहरू र प्रदेशका नदीपारि अन्य स्थानमा बसेका थिए। यो तिनीहरूले उनलाई पठाएका पत्र को एक प्रतीलिपि हो।

11 राजा आर्ट-जारसेज प्रति,

तपाईंका सेवकहरू नदी पारिको प्रदेशका मानिसहरूद्वारा।

12 अबः राजालाई यो थाहा होला कि यहूदीहरू जो तपाई बाट हामी कहाँ आएका थिए यरूशलेम गएका छन्। तिनीहरूले बागी अर्थात दुष्ट शहर पुनःर्निर्माण गरिरहेछन्। तिनीहरूले पर्खालहरू पुनःर्निर्माण गरिरहेछन् तिनीहरूले जग निर्माण गरिरहेछन्।

13 अब, राजालाई यो कुरा थाहा होस् कि यदि त्यो शहरको पुनःर्निर्माण भयो भने र त्यसका पर्खालहरू पूर्ण भए भने तिनीहरूले कुनै किसिमका तिरोहरू तिर्नेछैनन्। आखिरमा यसले राज्यसत्ता प्रति हानी पुर्याउनेछ।

14 अहिले, हामीले राजा प्रति स्वामीभक्त हुने वचन दिएकाछौं। यसकारण राजाप्रति अपमान भएको हेर्नु हाम्रो निम्ति उचित होइन। यसैकारण हामीले राजालाई सूचित गर्न यो समाचार पठाएका छौं।

15 जसमा कि तपाईका पिता-पुर्खाहरूका अभिलेखमा खोजि गरियोस्। यी अभिलेखहरूमा तपाईंले यो पाउनुहुनेछ अनि जान्नु हुनेछ कि त्यो एक बागी शहर हो। एक शहर जसले राजाहरू अनि देशहरूप्रति घात पुर्याउँछ। धेरै अघि देखिनै त्यो देश भित्र विद्रोह भईराइराखेको छ। यसैकारणले गर्दा त्यो शहर ध्वंश भएको थियो।

16 हामी राजालाई यो सूचित गर्दछौं, कि त्यो शहरको पुनःर्निर्माण भयो अनि त्यसका पर्खालहरूको निर्माण भयो भने यूफ्रेटिस नदीको पश्चिमी सीमानापारी तपाईं को अधिकार रहने छैन।

17 राजाले यो सन्देश पठाएः

रहूम, उच्च आयुक्त अनि शिम्शै सचिव अनि तपाईंहरूका अन्य सरकारी मानिसहरू जो सामरियामा बस्छन् नदी पारिका अन्य प्रदेशहरू प्रतिः

अभिवादन:

18 अबः तिमीहरूले हामिलाई पठाएको पत्र मेरा समक्ष पढियो र अनुवाद गरियो। 19 मैले एक आदेश दिएँ अनि खोज-तलाश गरियो तिनीहरूले यो थाहा पाए कि त्यो शहरले धेरै अधि देखि राजाहरूको विरूद्ध राजद्रोह गरेकोछ। त्यहाँ अनाज्ञाकारि राजद्रोहीहरूको उपस्थित छ। 20 त्यहाँ यरूशलेममा शक्तिशाली राजाहरू थिए अनि जसले नदी पारिका समस्त प्रदेशहरू नियन्त्रण गरे। अनि सबै किसिमका तिरोहरू तिनीहरूलाई तिरिन्थ्यो।

21 अब, यी यहूदी मानिसहरूलाई काम रोक्नु भनि आदेश देऊ जसमा कि मैले त्यसो गर्ने आज्ञा नदिएसम्म त्यो शहरको पुनःर्निर्माण गरिनेछैन। 22 यस कुरालाई नल्याइयोस्। त्यसमा सावधान रहनु जसद्वारा राजकीय-रूचीप्रति अझ अधिक क्षति हुनेछैन।

23 रहूम, सचिव शिम्शै अनि तिनीहरूका सरकारी मानिसहरू राजा आर्ट-जारसेज समक्ष पत्र पढिनुका साथै तिनीहरू तुरून्तै यरूशेलममा यहूदीहरू कहाँ गए। अनि बल एवं शक्तिद्वारा तिनीहरूले कामदारलाई काम बन्द गर्न लगाए।

मन्दिरको काम स्थगित

24 तब यरूशलेममा परमेश्वरको मन्दिर निर्माण कार्य रोकियो अनि त्यो कार्य फेरी फारसका राजा दाराको शासन कालको दोस्रो बर्ष[c] नभए सम्म शुरू भएन।

प्रेरित 4

यहूदी सभा समक्ष पत्रुस र यूहन्ना

जब पत्रुस र यूहन्ना मानिसहरूसँग बोलिरहेका थिए, केही मानिसहरू तिनीहरूकहाँ आए। तिनीहरू यहूदी पूजाहारीहरू मन्दिरको देखरेख गर्नेहरूको कप्तान र केही सदुकीहरू थिए। पत्रुस र यहून्नाले जे जती कुराहरू मानिसहरूलाई सिकाए त्यसकारणले तिनीहरू रिसाइसकेका थिए। ती दुइ प्रेरितहरूले भन्दै थिए मानिसहरू मृत्युबाट जाग्नेछन्। येशूको उदाहरण दिएर तिनीहरूले यो सिकाए। यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई पक्रे अनि जेलमा थुनामा राखे। रात परिसकेको थियो, यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई अर्को दिन सम्म जेलमा राखे। तर धेरै मानिसहरू ज-जसले पत्रुस र यूहन्नाको समाचार सुनेका थिए, तिनीहरू विश्वासी बनिए। यसर्थ अहिले त्यहाँ प्रायः पाँच हजार पुरूषहरू विश्वासीहरूको हूलमा थिए।

अर्को दिन यहूदी अगुवाहरू, बूढा यहूदी अगुवाहरू र शास्त्रीहरू यरूशलेममा भेट्न गए। प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना र अलेकजाण्डरहरू त्यहाँ थिए। सबै मानसिहरू जो प्रधान पूजाहारी चुनिने एक परिवारका थिए। तिनीहरूले पत्रुस र यूहन्नालाई सबैजना समक्ष उभ्याए। यहूदी अगुवाहरूले तिनीहरूलाई धेरै पल्ट सोधे, “यस लङ्गडो मानिसलाई तिमीहरूले कसरी ठीक पार्यो? के शक्तिले तिमीहरूले यो काम गरयौ? कसको अधिकार लिएर तिमीहरूले यसो गर्यौ?”

तब पवित्र आत्माले पत्रुस भरिपूर्ण भयो। उनले तिनीहरूलाई भने, “मानिसहरूका अगुवाहरू र बूढा अगुवाहरूः तिमीहरूले यस्ता असल काम गरेको विषयमा अहिले हामीलाई प्रश्न गरिरहेछौ कि यो लङ्गडो मानिस कसरी निको भयो? 10 तिमीहरू सबै, यहूदी मानिसहरूले जानुन् कि यो लङ्गडो मानिस नासरतका येशू ख्रीष्टको शक्तिद्वारा निको भएको हो! जसलाई तिमीहरूले क्रूसमा किला ठोक्यौ। परमेश्वरले उहाँलाई मृत्युबाट जीवनमा बौराउनु भयो। यो मानिस लङ्गडो थियो, तर अब ठीक छ। ऊ तिमीहरू सामु उभिन सामर्थ छ येशूको शक्तिले गर्दा। 11 येशू हुनुहुन्छ

‘यो ढुङ्गालाई तिमी डकर्मीहरूले कुनै महत्व नै दिएनौ,
    तर यो ढुङ्गा मूल-ढुङ्गा हुनगएको छ।’(A)

12 येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ।”

13 यहूदी अगुवाहरूले जाने कि पत्रुस र यूहन्नामा कुनै त्यसो खास प्रशिक्षण र शिक्षा छैन रहेछ भनेर। तर अगुवाहरूले पत्रुस र यूहन्ना निडरसाथ बोलेका पनि देखेका थिए। यसैले तिनीहरू छक्क परेका थिए। त्यसपछि मात्र तिनीहरूले पत्रुस र यूहन्ना येशूसँगै रहन्थे भनेर थाहा पाए। 14 तिनीहरूले त्यो लङ्गडो मानिस दुइ प्रेरितहरूको छेउमा बसेको देखे। त्यो मानिस निको भएको थियो। यसैकारणले तिनीहरूले ती प्रेरितहरूले भनेको विरूद्ध केही उत्तर दिन सकेनन्।

15 यहूदी अगुवाहरूले तिनीहरूलाई महासभाबाट बाहिर जान भने। त्यसपछि ती यहूदी नेताहरू आपसमा अब के गर्नु पर्ने भन्ने कुरामा वहश गरे। 16 तिनीहरूले भने, “हामीहरूले ती प्रेरितहरूसित के गर्नु पर्ने? यरूशलेमका प्रत्येक मानिसहरूले जान्दछन् कि तिनीहरूले ठूलो आर्श्चयकर्म गरेकाछन्। यो छर्लङ्गा छ। हामी यसलाई सत्य होइन भन्न सक्तैनौ। 17 तर हामीहरू तिनीहरूलाई येशूको विषयमा मानिसहरूलाई अझ धेरै नबताउनु भनेर हामीले यिनीहरूलाई चेताउनी दिनुपर्छ। तब यो विषय मानिसहरू बीच अझ फैलिने छैन।”

18 यसर्थ यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई फेरि भित्र बोलाए। तिनीहरूले तिनीहरूलाई मानिसहरूलाई येशूको नाउँमा कुनै कुरा नसिकाउनु भनी आदेश गरे। 19 तर पत्रुस अनि यूहन्नाले उत्तर दिए, “परमेश्वर समक्ष के सही छ? तिमीलाई सुन्नु कि परमेश्वरलाई? तिमीहरू आफैं निर्णय गर। 20 हामी चुपचाप बस्न सक्तैनौ। हामीले जे-जे सुन्यौ र देख्यौं हामीले ती कुराहरू मानिसहरूलाई भन्नु पर्छ।”

21-22 यहूदी अगुवाहरूले तिनीहरूलाई दण्ड दिने कुनै त्यस्तो आधार पाएनन् किनभने जे भएको थियो त्यसमा सबै मानिसहरू परमेश्वरको प्रशंसा गरिरहेका थिए। यो चमत्कार नै परमेश्वरबाट प्रमाण थियो। जुन मानिस निको पारियो तिनी चालीस वर्षभन्दा ज्यादा उमेर पुगेका थिए यसैकारणले यहूदी अगुवाहरूले ती प्रेरितहरूलाई फेरि चेतावनी दिए अनि तिनीहरूलाई पठाइदिए।

पत्रुस र यूहन्ना विश्वासीहरूकहाँ फर्किए

23 पत्रुस र यूहन्नाले यहूदी अगुवाहरूका सभा छोडे अनि आफ्ना हूलतिर गए। तिनीहरूले आफ्ना हूललाई मुख्य पूजाहारीहरू अनि बुढा यहूदी अगुवाहरूले के-के भनेका थिए सबै बताई दिए। 24 जब विश्वासीहरूले यो सुने, तिनीहरू सबैले परमेश्वरलाई एउटै हृदयले प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे प्रभु, तपाईं नै एक हुनु हुन्छ जसले पृथ्वी, अकाश, समुद्र र तिनीहरूमा भएका प्रत्येक वस्तु यस पृथ्वीमा बनाउनु भयो। 25 हाम्रा पुर्खा दाऊद तपाईंको सेवक हुनुहुन्थ्यो। पवित्र आत्माद्वारा उनले यी शब्दहरू लेखेः

‘किन संसारका मानिसहरू परमेश्वरको विरुद्ध योजनाहरू तयार पार्छन्?
    यी सबै आशाहिन छन्।

26 ‘पृथ्वीका राजाहरू र शासकहरू,
    परमप्रभु र उहाँका ख्रीष्ट विरुद्ध लडाँईँ लड्न एक ठाँउमा भेला भए।’(B)

27 यी कुराहरू साँच्चि नै घटेका थिए जब हेरोद, पन्तियस पिलातस, जातिहरू अनि यहूदीहरू येशूको विरुद्धमा यरूशलेममा एकत्रित भए। येशू तिमीहरूका पवित्र सेवक हुनु हुन्छ। उहाँ एक हुनु हुन्छ जसलाई तिमीहरूले ख्रीष्ट हुन नियुक्ति दियौ। 28 यी सबै मानिसहरू तपाईंले तपाईंको शक्ति अनि ज्ञानले योजना गरेका सबै कर्म गर्न एकत्रित भए। 29 अनि, अब, सुन्नहोस् परमप्रभु! तिनीहरूले के भनिरहेछन्। तिनीहरूले हामीलाई डर देखाउने कोशिश गरिरहेछन्! परमप्रभु, हामी तपाईंको सेवकहरू हौ। हामीलाई ती कुराहरू भन्नालाई सहयोग गर्नुहोस् जुन तपाईं हामीद्वारा साहससँग भनिएको चाहनु हुन्छ। 30 प्रमाणहरू दिएर अनि तपाईंको पवित्र सेवक येशूको नाँउद्वारा चमत्काहरू गरेर ती रोगी मानिसहरूलाई निको पारी तपाईंको शक्ति देखाउनु होस्।”

31 विश्वासीहरूका प्रार्थना पछि, तिनीहरू जहाँ जुन ठाउँमा भेला भएका थिए त्यो ठाउँ हल्लियो। तिनीहरू पवित्र आत्माले पूर्ण भए, र तिनीहरूले परमेश्वरको सन्देश साहससाथ भने।

विश्वासीहरूको अंश

32 विश्वासीहरू विचारमा अनि आत्मामा एक भएका थिए। त्यस टोलीमा भएका कसैले पनि आफ्ना चीजहरूलाई आफ्नो मानेनन्। बरु तिनीहरूसित भएको प्रत्येक थोकमा साझेदार भए। 33 प्रभु येशूको मृत्युबाट पुनरुत्थान भएको बारेमा प्रेरितहरूले ठूलो शक्तिसँग गवाही दिए। अनि परमेश्वरले सबै विश्वासीहरूलाई आशीर्वाद दिनुभयो। 34 तिनीहरूले चाहेका सबै वस्तुहरू प्राप्त गरे। ज-जसका आफ्ना जमीन र घरहरू थिए पैसाको निम्ति बेची दिए। 35 तिनीहरूले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए। त्यसपछि हरेकलाई उसको आवश्यकता अनुसार को चीजहरू दिइए।

36 विश्वासीहरू मध्ये एकजनाको नाउँ यूसुफ थियो। प्रेरितहरूले तिनलाई बर्णाबास भन्दथे। बर्णाबास नाउँको अर्थ हुन्छ “मानिस जसले अरूलाई सहयोग गर्छ।” उनी साइप्रस देशका एकजना लेवी थिए। 37 यूसुफको आफ्नै खेत थियो। त्यो उनले बेची दिए अनि उनले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International