Revised Common Lectionary (Complementary)
हन्नाले धन्यवाद दिन्छिन्
2 हन्नाले प्रार्थना गरिन्,
“परमप्रभुमा, म खुशी छु!
परमप्रभुमा म विजयको अनुभव गर्छु।
तपाईंको मुक्तिमा म खुशी छु,
अनि मेरो शत्रुहरू माथि धाक जमाउँछु।
2 परमप्रभु जस्तो पवित्र कोही छैन।
तपाईं बाहेक कोही परमेश्वर छैन।
हाम्रो परमेश्वर बाहेक यहाँ अरू कुनै आश्रय छैन।
3 अब अहंकार हुदैन!
अहंकारपूर्ण वचनहरू अब छैन,
कारण परमप्रभु परमेश्वर सर्वज्ञानी हुनुहुन्छ।
परमेश्वरले मानिसका कार्यहरू तौलनु हुन्छ।
4 शूरबीर र योद्धाहरूका धनु भाँचिएका छन्
अनि दुर्बलहरू बलिया भएका छन्।
5 विगतमा धेरै भोजन प्राप्त गर्नेहरू
अब काम नगरी भोजन नपाउने भएका छन्।
तर विगतमा जो भोक-भोकै थिए,
तिनीहरू अहिले भोजन खाएर मोटाएका छन्।
आमा बन्ने सौभाग्य नपाएकी स्त्रीहरू
अहिले सातवटाकी आमा बन्न सफल छिन्!
तर जुन स्त्रीका धेरै सन्तानहरू थिए,
तिनीहरू सबै गएकाले ती स्त्री दुःखी छिन्।
6 परमप्रभुले कुनै मानिसहरूलाई मृत्युमा पार्नुहुन्छ,
अनि परमप्रभुले नै कुनैलाई जीवन दिनुहुन्छ।
उहाँले कोही मानिसलाई तल पातालमा पठाउनुहुन्छ
अनि अरू कोहीलाई जीउनको निम्ति उठाउनुहुन्छ र जीवन दिनुहुन्छ।
7 परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ,
अनि उहाँले नै धनी बनाउनुहुन्छ,
परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ
र फेरि उच्च आसनमा बसाउनुहुन्छ।
8 परमप्रभुले कंगालहरूलाई धूलोबाट उठाउँनुहुन्छ,
अनि दुःख हटाई दिनुहुन्छ।
परमप्रभुले कंगालीहरूलाई राजा सँग-सँगै बसाउनुहुन्छ।
परमप्रभुले कंगालीहरूलाई सम्मानको सिंहासनमा राख्नुहुन्छ।
परमप्रभु उनी हुन जसले संसारको जग बसाल्नु भयो
अनि त्यसमाथि संसार बनाउनु भयो।
9 परमप्रभुले आफ्ना पवित्र मानिसहरूको रक्षा गर्नुहुन्छ,
ठेस लागेर लड्नबाट उनीहरूलाई बँचाउनु हुन्छ,
तर पापीहरू अन्धकारमा नष्ट भएर डुब्ने छन्।
तिनीहरूका शक्ति विजय प्राप्त गर्न
सहायक सिद्ध हुनेछैन।
10 परमप्रभुले आफ्ना शत्रुहरूलाई नष्ट पार्नुहुन्छ।
सर्वोच्च परमेश्वर स्वर्गबाट उहाँको दुश्मनहरूका विरूद्ध गर्जनुहुन्छ।
उहाँले सारा पृथ्वीको न्याय गर्नुहुन्छ,
परमप्रभुले आफ्ना राजालाई बलियो पार्नुहुन्छ।
उहाँले चुनेका राजालाई बलियो पार्नुहुन्छ।”
अन्तमा साराको निम्ति एउटा बालक
21 परमप्रभुले सारालाई दया गर्ने प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभु आफ्नो प्रतिज्ञा अनुसार साराप्रति दयालु हुनुभयो। 2 सारा गर्भवती भइन अनि तिनले बृद्धाअवस्थामा अब्राहामको निम्ति एउटा छोरा जन्माइन्। ठीक समयमा परमेश्वरले जे वचन दिनु भएको थियो त्यो पुरा भयो। 3 साराले तिनको निम्ति एउटा छोरो जन्माएकी थिइन् उसको नाउँ अब्राहामले इसहाक राखे। 4 परमेश्वरको आज्ञा अनुसार त्यो बालक आठ दिनको हुँदा अब्राहामले उसको खतना गराए।
5 अब्राहाम एक सय बर्ष पुग्दा उसको छोरो इसहाक जन्मियो। 6 अनि साराले भनिन्, “परमेश्वरले मेरो निम्ति हाँसो ल्याउनु भएको छ, प्रत्येक मानिस जसले यो सुन्छ मसँग हाँस्नेछ। 7 कसैले पनि त्यो सोचेको थिएन अब्राहामको बुढेसकालमा साराले तिनलाई एउटा छोरो जन्माउनेछिन्। तर मैले बूढो अब्राहामको निम्ति छोरो जन्माइ दिएँ।”
घरैमा कष्ट
8 इसहाक लगातर बढी रह्यो र चाँडै खँदिलो खाना खान शुरू गर्ने भयो। यसर्थ अब्राहामले एउटा ठूलो भोज खुवाए। 9 एकजना मिश्रकी कमारी हागारले अब्राहामको पहिलो छोरो जन्माएकी थिइन्। सारा दिक्क भइन जब उनले हागारको छोरासित आफ्नो छोरा इसहाकलाई खेल्दै गरेको देखिन्। 10 साराले अब्राहामलाई भनी, “त्यो कमारी स्त्री र उसको छोरोलाई खेदि दिनु होस्, तिनीहरूलाई टाढा पठाउनु पर्छ। जब हामी मर्छौ हामीसँग जे छ हाम्रो छोरो इसहाकले पाउनेछ। म चाँहदिन कमारी स्त्रीको छोरो हाम्रा छोरो इसहाकको अंशको हकदार होस्।”
11 यसले अब्राहामलाई अत्यन्तै दुःखी बनायो र तिनी आफ्नो छोरा इश्माएलको निम्ति चिन्तित भए। 12 तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो केटा र कमारी स्त्रीको विषयमा तिमी चिन्ता नगर। जे साराले चाहन्छे त्यही गर, इसहाक मात्र तिम्रो उत्तराधिकारी हुनेछ। 13 तर म तिम्रो कमारी स्त्रीको छोरालाई पनि आशीर्वाद दिनेछु। ऊ पनि तिम्रो पुत्र हो र उनले पनि आफ्नो परिवारबाट एउटा विशाल राष्ट्र बनाउने छ।”
14 अर्को दिन बिहानै अब्राहामले केही खाने कुरा र पानी ल्याए र हागारलाई दिए। हागारले ती कुराहरू लिई अनि आफ्नो छोरा लिएर हिंडी। हागारले त्यो ठाउँ छोडी अनि बेर्शेबाको मरुभूमिमा यता उता घुमी हिंड्न थालिन्।
15 केही समयपछि मशकको पानी सिद्धियो र पिउने पानी पनि थिएन। यसर्थ उनले आफ्नो छोरोलाई पोथ्रोमुनि राखिन्। 16 तब तिनी गइन् अनि आफ्नो छोरादेखि केही पर बसिन्। तिनले आफैंलाई यस्तो भनिन्, म मेरो छोरालाई तिर्खाले मर्दै गरेको देख्न चाहन्न। आफ्नो छोराको मृत्यु शोक सही नसक्नु हुनेवाला थियो, तिनी आफ्नो छोराको लागि नराम्रो घतले रून थालिन्।
17 परमेश्वरले हागारको छोरो रोएको सुन्नु भयो। अनि र्स्वगबाट परमेश्वरका स्वर्गदूत हागार कहाँ आए। उनले सोधे, “हागार तिमीलाई के कष्ट छ? परमेश्वरले बालक रोएको सुन्नुभयो। 18 जाऊ, अनि बालकलाई सहायता गर उसको हात समात अनि सँग-सँगै हिंडाऊ। म उसलाई धेरै-धेरै मानिसहरूको पिता बनाउनेछु।”
19 परमेश्वरले हागारको आँखा यसरी उघारी दिनु भयो उनले एउटा पानीको कुवा देखिन्। यसर्थ पानीको कूवामा तिनी गइन् अनि पानीको मशक पहिले भरिन् त्यपछि छोरोलाई पानी पिउन दिइन्।
20 जबसम्म हागारको छोरो ठूलो भएन परमेश्वर ऊसँग नै रहनु भयो। इश्माएल मरुभूमिमा नै बस्यो र त्यहाँ एक शिकारी भयो। उनले तीर चलाउन राम्ररी सिकेको थियो। 21 उसको आमाले मिश्र देशबाट उसको निम्ति एउटी दुलही ल्याई दिइन्। इश्माएल पारान मरुभूमिमा बसो-बास गर्न थाल्यो।
हागार र साराको उदाहरण
21 तिमीहरूमध्ये कतिजना मोशाको व्यवस्थाको अधीनमा रहन चाहन्छौ। भन त व्यवस्थाले के भन्छ तिमीहरू सुन्दैनौ? 22 धर्मशास्त्रले भन्छ, अब्राहामाका दुइ छोराहरू थिए। तिनीहरू मध्ये एउटाकी आमा कमारी थिई र अर्को चाँहिकी आमा मुक्त स्त्री थिई। 23 अब्राहामको कमारी पट्टीको छोरो सामान्य मानव रूपले जन्मेको थियो भने मुक्त स्त्री पट्टीको छोरो परमेश्वरले अब्राहामलाई दिएको प्रतिज्ञा अनुसार जन्मेको थियो।
24 यो सत्य कथाले हाम्रो अघि एउटा चित्र खडा गर्छ। ती दुइ स्त्रीहरू परमेश्वर र मानिस बीचको करार स्वरूप हुन्। एउटा करार सीनै पर्वत को परमेश्वरले बनाएको व्यवस्था हो। यस संझौताको अधीन रहने मानिसहरू कमारा जस्ता हुन्। हागार नाउँकी आमा त्यही करार जस्तो हो। 25 हागार अरब देशमा सीनै पाहाड जस्तो हो र ऊ यरूशलेमको वर्तमान नगर यहूदीको प्रतिरूप हो। यो नगर एउटा कमारा हो र यसका मानिसहरू (यहूदी) कमाराहरू हुन्। 26 तर स्वर्गीय यरूशलेम एउटी मुक्त नारीको प्रतीक हो। यिनी हाम्री माता हुन्। 27 धर्मशास्त्रमा यो लेखिएको छः
“खुशी होऊ, हे बाँझी नारी,
जसले कुनै बालकलाई जन्म दिनु सकिनौ,
हर्षले कराऊ, जोडले चिच्याऊ,
की प्रसव पीड़ा तिमीले कहिल्यै अनुभव गरिनौ।
त्यो नारी जसको पति छैन, उसैका धेरै सन्तान होलान्,
पतिसितै रहने स्त्रीको बरू छोरा-छोरी नहोलान्।”(A)
28 अब्राहामको एउटा छोरो सामान्य रूपले जन्मेको थियो। अर्को छोरो परमेश्वरको प्रतीज्ञा अनुसार आत्माको शक्तिले जन्मेको थियो। 29 मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू! तिमीहरू पनि ती इसहाक जस्तै प्रतीज्ञाका छोरा-छोरीहरू हौ। सामान्य रूपमा जन्मने छोराले अर्को छोरासँग दुर्व्यवहार गरेको थियो। आज पनि त्यस्तै भइरहेछ। 30 तर धर्मशास्त्रले के भन्छ? “कमारी र उसको छोरालाई निकाली देऊ! मुक्त स्त्रीको छोराले आफ्ना पिताका सबै थोक पाउनेछ। तर कमारीको छोराले केही पाउने छैन।”(B) 31 यसैकारण मेरा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! हामी कमारीको छोरा-छोरी होइनौं। हामी स्वतंत्र स्त्रीका छोरा-छोरीहरू हौं।
अहिले हामी मुक्त छौ
5 ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो, साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा नबन।
© 2004, 2010 Bible League International