Revised Common Lectionary (Complementary)
दाऊदको प्रार्थना।
17 हे परमप्रभु, न्यायको निम्ति मेरो प्रार्थना सुन्नुहोस्।
म तपाईंलाई उच्च स्वरमा पुकार्दैछु।
अनि मैले भनेका कुरामा म ईमान्दार छु।
यसैले मेरो प्रार्थनाप्रति ध्यान दिनुहोस्।
2 तपाईं मेरो विषयमा सही निर्णय लिनु हुनेछ
किनभने तपाईं सत्य देख्न सक्नु हुन्छ।
3 तपाईंले मेरो हृदयलाई गहिरो हेर्नु भएको छ
तपाईं रातभरि मसँग हुनुहुन्थ्यो।
तपाईंले मलाई प्रश्न गर्नु भयो अनि केही दोषहरू पाउनु भएन।
मैले कुनै खराब योजना बनाइनँ।
4 मैले जहाँसम्म एकजना मानवको निम्ति सम्भव छ
त्यतिनै मैले तपाईंको आज्ञाहरू पालन गर्ने चेष्टा गरेको छु।
5 मैले तपाईंको पथ अनुशरण गरेकोछु।
मेरो पाइलाहरूले तपाईंले बताउनु भएको बाँच्ने तरिका कहिल्यै छोडेका छैनन्।
6 हे परमेश्वर, प्रत्येक पल्ट मैले तपाईंलाई बोलाएँ।
तपाइँले मलाई जवाफ दिनुभयो।
यसैले अब मेरो कुरा सुन्नु होस्।
7 हे परमेश्वर, तपाईंले ती मानिसहरूलाई सहयोग गर्नुभयो,
जसले तपाईंमाथि भरोसा गरे।
तिनीहरू तपाईंको दाहिनेतर्फ उभिएका छन्।
त्यसैले यो प्रार्थना तपाईंले आफ्ना भक्तजनहरू मध्ये एकजनाबाट सुन्नु होस्।
8 तपाईंले आफ्नो आँखाको नानी जस्तै मेरो रक्षा गर्नुहोस्।
तपाईंको छत्रछाँयामुनि मलाई लुकाउनु होस्।
9 हे परमप्रभु, मलाई नष्ट गर्न खोज्ने दुष्ट मानिसहरूबाट जोगाउनु होस्।
मेरो चारैतिरबाट घात पुर्याउन प्रयास गरिरहेका दुष्ट मानिसहरूदेखि मलाई जोगाउनु होस्।
10 तिनीहरूमा दया छैन।
तिनीहरू साह्रै अहंकारी छन्।
तिनीहरूले परमेश्वरका कुराहरू सुन्दैनन्।
11 ती मानिसहरूले मेरो खेदो गरे।
अहिले तिनीहरू मेरो चारैतिर
आक्रमण गर्न तयार छन्।
12 ती दुष्ट मानिसहरू हिंस्रक सिंहहरू जस्तै अन्य प्राणीहरूलाई मारेर खान्छन्।
तिनीहरू सिंहहरू जस्तै लुक्छन् र आक्रमण गर्न तयार रहन्छन्।
13 हे परमप्रभु, उठ्नुहोस र शत्रु तर्फ जानु होस्।
तिनीहरूलाई आत्मासमर्पण गर्न बाध्य पार्नुहोस्।
तपाईंको आफ्नो तरवार चलाउनु होस् र ती दुष्ट मानिसहरूबाट मलाई बचाउँनुहोस्।
14 हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीबाट हटाउनुहोस्।
हे परमप्रभु, प्रशस्त मानिसहरू तपाईं कहाँ सहायता माग्न आउँछन्।
ती मानिसहरूलाई प्रशस्त खानेकुरा दिनु होस्।
तीनीहरूलाई यति प्रशस्त खानेकुराहरू दिनुहोस्, तिनीहरूका भावी सन्तानलाई पनि पुगोस्।
15 मैले न्यायको निम्ति प्रार्थना गरें। यसैले, हे परमप्रभु, म तपाईंको मुहार हेर्नेछु।
हे परमप्रभु, तपाईंलाई हेरेर, म पूर्ण सन्तुष्ट हुनेछु।
असल मानिस अय्यूब
1 अय्यूब नाउँ भएको एकजना मानिस ऊज मुलुकका वासिन्दा थिए। अय्यूब एकजना असल र ईमान्दारी मानिस थिए। अय्यूबले परमेश्वरलाई आदर गर्थे र तिनी खराब कामहरूबाट पर सर्थे। 2 अय्यूबका सात भाइ छोराहरू र तीन बहिनी छोरीहरू थिए। 3 अय्यूबको आफ्नै 7,000 भेंडाहरू, 3,000 ऊँटहरू, 1,000 साँढेहरू र 500 गधाहरू थिए। उनको धेरै नोकर चाकरहरू थिए। अय्यूब पूर्वतिरका एक धनी मानिस थिए।
4 अय्यूबका छोराहरूले पालैपालो गरेर आफ्ना घरहरूमा प्रितीभोजहरू दिने गर्थे, अनि तिनीहरूले आफ्ना बहिनीहरूलाई निमंत्रणा गर्थे। 5 तिनीहरूको भोजपछि अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र परमप्रभुप्रति समर्पित गराउँथे। उसले यो काम बिहान चाँडै उठेर र प्रत्येक नानीहरूका लागि एउटा बलि चढाएर गर्थे। अय्यूबले यस्ते गरे किनभने उनी आफैंले सोच्थे, “हुनसक्छ असावधानीको कारण मेरो छोरा र छोरीहरूले गुप्त तरिकारले केही गल्ती गरेर परमेश्वरलाई सरापे।” अय्यूबले यी सबै सधैँ गर्ने गर्थे।
6 एक दिन स्वर्गदूतहरू[a] परमप्रभुसँग भेट्ने दिन आयो। त्यहाँ ती स्वर्गदूतहरूसँग शैतान[b] पनि थियो। 7 परमप्रभुले शैतानलाई भन्नुभयो, “अहिलेसम्म तँ कहाँ थिइस्?”
शैतानले परमप्रभुलाई जवाफ दियो, “म पृथ्वीकै वरिपरि घुमिरहेको थिएँ।”
8 तब परमप्रभुले शैतानलाई भन्नुभयो, “तैंले मेरो दास अय्यूबलाई देखिस्? यस पृथ्वीमा ऊ जस्तो कुनै मानिस छैन। अय्यूब एक असल र ईमान्दार मानिस छ। ऊ परमेश्वरको आराधना गर्छ र नराम्रा कामहरूदेखि सधैँ टाडो रहन्छन।”
9 शैतानले जवाफ दियो, “निश्चय! तर परमेश्वरलाई आराधना गर्न अय्यूबसँग एक खास कारण छ। 10 तपाईंले सधैँ उसको परिवार, उसलाई र उसँग भएका चीजहरूको रक्षा गर्नुहुन्छ। उसले गरेका सबै कार्यहरू तपाईंले सफल पार्नुहुन्छ। हो, ऊमाथि तपाईंको आशिष रहेको छ। उ यति सम्पन्न छ कि सारा मुलुकभरि उसको आफ्नै साँढे, ऊँट, र भेंडाका बथानहरू फैलिएका छन्। 11 तर यदि तपाईंले उसँग भएका सारा कुराहरू नष्ट गरिदिनु भयो भने, म दृढता पूर्वक भन्छु कि उसले तपाईंलाई तपाईंकै सामु सराप्नेछ।”
12 परमप्रभुले शैतानलाई भन्नुभयो, “ठीक छ, अय्यूबसँग भएका जे पनि कुराहरूमाथि तँ जे चाहन्छस् गर। तर उसको शरीरलाई चोट नपुर्या।”
तब शैतान परमप्रभुदेखि टाढा गयो।
अय्यूबले सारा चीजहरू गुमाउँछ
13 एकदिन, अय्यूबका छोरा-छोरीहरू आफ्ना जेठा दाज्यूको घरमा खाँदै अनि दाखरस पिउँदै उत्सव मनाइरहेका थिए। 14 तब एकजना सन्देश-वाहक अय्यूबकहाँ आए र भने, “गोरूहरूले जोतिरहेका थिए र गधाहरूले छेउमा नै घाँस खाईरहेका थिए। 15 शबाईका मानिसहरूले हामीमाथि आक्रमण गरे अनि तपाईंका पशुहरू लगे। ती मानिसहरूले अन्य नोकरहरूलाई पनि मारे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”
16 त्यो सन्देश-वाहक बोलिरहेकै बेला अर्को सन्देश-वाहक अय्यूबकहाँ आई पुग्यो। त्यो दोस्रो सन्देश-वाहकले भन्यो, “आकाशबाट आएको चट्याङले तपाईंको सारा भेंडाहरू र नोकरहरू मार्यो। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”
17 त्यो सन्देश-वाहक बोलिरहेको बेला अर्को सन्देश-वाहक आई पुग्यो। त्यो तेस्रो सन्देश-वाहकले भन्यो, “कल्दीहरूले तीन सैन्यदलहरू पठाए। तिनीहरूले हामीमाथि आक्रमण गरे अनि सारा ऊँटहरू लगे। तिनीहरूले नोकरहरूलाई पनि मारे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”
18 तेस्रो सन्देश-वाहक बोलिरहेकै बेला, अर्को सन्देश-वाहक त्यहाँ आई पुग्यो। त्यो चौथो सन्देश-वाहकले भन्यो, “तपाईंका जेठा छोरोको घरमा तपाईंका अन्य छोरा-छोरीहरूले खाइरहेका र दाखरस पिइरहेका थिए। 19 तब एक जोडदार हावा मरुभूमिबाट अचानक चल्यो र त्यसले घर घराशायी पारिदियो। त्यो घर तपाईंका छोरा-छोरीहरूमाथि बज्रयो, अनि तिनीहरू सबैजना मरे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”
20 जब अय्यूबले ती सबै खबरहरू सुने आफ्नो दुःख र उदासीनता प्रकट गर्नका लागि उनले आफ्ना लुगाहरू च्याते अनि केश खौरिए। तब अय्यूब भूईंमा घोप्टो परेर परमेश्वरलाई दण्डवत गरे। 21 उनले भनेः
“जब म यस संसारमा जन्मको थिएँ,
म नाङ्गै थिएँ अनि मसँग केही पनि थिएन।
जब म मर्छु अनि यो संसार छाडेर जान्छु,
म नाङ्गै नै जानेछु अनि मसँग केही रहनेछैन।
परमप्रभुले दिनुभयो,
अनि परमप्रभुले लानु भयो।
परमप्रभुको नाउँको प्रशंसा होस्।”
22 ती सारा कुराहरू घटे, तर अय्यूबले केही गल्ती काम गरेनन्। जे भयो त्यसको लागि अय्यूबले परमेश्वरलाई दोष दिएनन्।
हर समय तयार बस
34 “होशियार बस! आफ्नो समय महा-भोजहरूमा मात्र नबिताऊ। अथवा, संसारिक कुराहरूमा मात्र समय नफाल। किनभने त्यो दिन तिमीमा धरापमा परे झैं झट्टै आई लाग्नेछ। 35 पृथ्वीमा भएका सबैमाथि यस्तो एक्कासि आइपर्नेछ। 36 यसर्थ, हर समय तयार बस। प्रार्थना गर जसद्वारा तिमी ती आई पर्ने संकटबाट बाँच्न सक्नेछौ। प्रार्थना गर ताकि तिमीहरू मानिसको पुत्र अघि खडा हुन सक्नेछौ।”
37 येशूले दिनभरि मन्दिरमा उपदेश दिनुभयो अनि राती शहर बाहिर गएर जैतून भन्ने पाहाड़मा बिताउनु भयो। 38 प्रत्येक बिहान मानिसहरू मन्दिरमा जान्थे अनि येशूको शिक्षा सुन्थे।
यहूदी नेताहरू येशूलाई मार्न चाहन्छन्
(मत्ती 26:1-5,14-16; मर्कूस 14:1-2,10-11; यूहन्ना 11:45-53)
22 यहूदीहरूको अखमीरी रोटीको चाडको समय नजिकै आइरहेका थियो। 2 मुख्य पूजाहारीहरू र व्यवस्थाका शास्त्रीहरूले येशूलाई मार्ने उपाय खोज्दै थिए। तर मानिसहरूदेखि तिनीहरू डराँउथे।
येशूको विरूद्ध यहूदाको योजना
(मत्ती 26:14-16; मर्कूस 14:10-11)
3 येशूको बाह्रजना प्रेरितहरूमध्ये एकजनाको नाम यहूदा थियो जसलाई इस्कारयोत भनिन्थ्यो। शैतान यहूदाको भित्र पस्यो अनि त्यसलाई नराम्रो कार्य गर्नु प्रेरित गर्यो। 4 मन्दिरलाई पहरा दिइरहेका सिपाहीहरू र मुख्य पूजाहारीहरूसँग येशूलाई सुम्पने विषयको उपाय बारे कुराकानी गर्यो। 5 यस विषयमा मुख्य पूजाहारीहरू अत्यन्त खुशी भए। यदि यहूदाले येशूलाई सुम्पेको खण्डमा तिनीहरूले रूपियाँ दिने बाचा गरे। 6 यहूदा सहमत भयो। त्यसपछि यहूदाले येशूलाई तिनीहरूकहाँ सुम्पने अवसर खोज्न थाल्यो। यो काम गर्दा भीड नरहोस भन्ने यहूदा चाहान्थ्यो।
© 2004, 2010 Bible League International