Revised Common Lectionary (Complementary)
प्रमुख संगीतकारलाई गित्तित रागमा गाउने दाऊदको भजन।
8 हे परमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ।
तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ।
2 साना केटा-केटी र दूधमुखे बालकहरूका मुखहरूबाट पनि तपाईंको महिमा र प्रशंसा सुनिन्छ।
तपाईंले तिनीहरूलाई त्यस्तो शक्तिशाली गीतहरू दिनुभएकोछ,
जसले तपाईंको सम्पूर्ण शत्रुहरूलाई चुप पारी दिन्छ।
3 हे परमप्रभु, म तपाईंको आफ्नो हातले बनाउनु भएको स्वर्गलाई हेर्छु।
अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरूलाई हेर्छु,
4 र म अचम्म मान्छु, किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्?
किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ?
किन तपाईंले तिनीहरूको त्यति वास्ता राख्नुहुन्छ?
किन तपाईंले तिनीहरूको त्यति सम्झना गर्नुहुन्छ?
5 तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्!
किनकी तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणीहरू (स्वर्गदूत) जस्तै बनाउनु भयो,
अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो।
6 तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको मालिक तिनीहरूलाई बनाउनु भयो।
तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो।
7 सबै मानिसहरूले भेंडा र गाई साथै सम्पूर्ण जङ्गली जनावरमाथि अधिकार गर्छन।
8 तिनीहरूले आकाशमा उड्ने पंक्षी र समुद्रमा पौडिने हरेक जनावर
र माछाहरूमाथि पनि अधिकार गर्छन्।
9 हे परमप्रभु, हाम्रा स्वामी, सारा पृथ्वीमा तपाईंको नाउँ अत्यन्त महान छ।
12 “अय्यूब, के तिमीले आफ्नो जीवनमा कहिल्यै बिहानलाई शुरू हुने आज्ञा दिएको थियौ
अथवा दिनलाई शुरू हुने आज्ञा गर्यौ?
13 अय्यूब, के तिमीले कहिले बिहानको उज्यालोलाई पृथ्वी समात भन्यौ
अनि दुष्ट मानिसहरूलाई लुकेका ठाउँहरूमा भयभीत पार्यौ।
14 बिहानको उज्यालोले पहाडहरू
र खाल्डाहरू देखिन सजिलो गराइदिन्छ
जब दिनको उज्यालो पृथ्वीमा आउँछ,
ती ठाउँहरूका आकारहरू लुगाको मुजाहरू जस्तै हुन्छन्।
नरम माटोले टाँचाको मुनि आकार लिए जस्तै
पृथ्वीले आकार धारण गर्छ।
15 दुष्ट मानिसहरूले उज्यालो मन पराउँदैनन्।
किनभने जब उज्यालो फैलिन्छ ती दुष्ट मानिसहरूले खराब कर्म गर्न वाधा पाउँछन्।
16 “अय्यूब, तिमी कहिले समुद्रको गहिरो भागमा पुगेको छौ जहाँबाट समुद्र शुरू हुन्छ?
तिमी कहिले समुद्रको सतहमा हिंडेकाछौं?
17 अय्यूब तिमीले मृत्युको कालो ठाउँमा डोर्याउने द्वारहरू कहिले देखेका छौ?
तिमीले मृत्युलोकमा लैजाने द्वारहरू देखेका छौ?
18 अय्यूब, पृथ्वी कति विस्तृत छ के तिमी साँच्चै जान्दछौ?
यदि तिमी यी सारा कुराहरू जान्दछौ भने मलाई भन।
19 “अय्यूब, प्रकाश कहाँबाट आउने गर्छ?
अन्धकार कहाँबाट आउँछ?
20 अय्यूब, के तिमी प्रकाश र अन्धकार कहाँबाट आए तिनीहरू त्यतैतिर फर्काउनँ सक्छौ?
के तिमी जान्दछौ कसरी त्यस ठाउँमा जान पर्छ?
21 निःसन्देह तिमी ती कुराहरू जान्दछौ अय्यूब, तिमी धेरै बृद्ध र ज्ञानी छौ।
जब मैले ती कुराहरू बनाउदै थिए तिमी त्यहीं थियौ?
12 त्यही सुसमाचार प्रचार गर्नका निम्ति अहिले मैले कष्ट भोग्नु परिरहेको छ। तर म लज्जित छैनँ। म उहाँ एक जनालाई जान्दछु जसलाई मैले विश्वास गरें। म विश्वस्त छु कि मलाई उहाँले सुम्पनु भएको कामको रक्षा गर्न त्यस दिनसम्म[a] उहाँ सामर्थ हुनु हुन्छ।
13 मबाट सुनेको सत्य शिक्षाहरूको अनुशरण गर। ख्रीष्ट येशूमा भएको हाम्रो प्रेम र विश्वाससित यी शिक्षाहरूको अनुशरण गर। ती शिक्षाहरू तिम्रो शिक्षणका निम्ति उदाहरणहरू हुन्। 14 तिमीलाई दिइएको सत्यको रक्षा गर। हामीमा बसेको पवित्र आत्माको सहायाताले ती कुराहरूको रक्षा गर।
© 2004, 2010 Bible League International