Revised Common Lectionary (Complementary)
दाऊदको स्तुतिको भजन।
145 म मेरो परमेश्वरको प्रशंसा गर्छु र मेरो राजाको प्रशंसा गर्दछु।
म तपाईंको नाउँलाई सदा-सर्वदा धन्य मान्नेछु।
2 म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु।
म तपाईंको नाउँलाई सदा-सर्वदा प्रशंसा गर्नेछु।
3 परमप्रभु महान् हुनुहुन्छ, मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन्,
उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं।
4 परमप्रभु, तपाईंले गर्नु वा रच्नुभएको कार्यहरूका निम्ति
मानिसहरूले सदा-सर्वदा र अनन्तरूपमा प्रशंसा गर्नेछन्।
5 तपाईंको शाही र महिमा अश्चर्यजनक छन्
म तपाईंको आश्चर्यकामहरूको बारेमा भन्ने छु।
6 हे परमप्रभु, मानिसहरूले तपाईंका आश्चर्यजनक कार्यहरूको बारेमा भन्नेछन्।
म तपाईंले गर्नु भएको महान् कार्यहरूको बारेमा भन्नेछु।
7 मानिसहरूले तपाईंले गर्नुभएका राम्रा कुराहरूको प्रशंसा गर्दछन्।
मानिसहरूले तपाईंकै धार्मिकताको गीत गाउने छन्।
8 परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ।
परमप्रभु धीरजी र मायालु हुनुहुन्छ।
9 परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ।
परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ।
10 परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ।
तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्।
11 तिनीहरूले भन्छन्, तपाईंको राज्य कति महान् छ।
तिनीहरूले भन्छन् तपाईं कति महान् हुनुहुन्छ।
12 परमप्रभु, यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्।
मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्नेछन्।
13 परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ।
तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ।
14 पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ।
परमप्रभु जो सङ्कटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ।
15 परमप्रभु, सम्पूर्ण जीवित प्राणीहरूले आफ्नो भोजनको लागि तपाईंलाई नै खोज्दछन्
अनि तपाईंले तिनीहरूलाई ठीक समयमा नै आहार दिनुहुन्छ।
16 परमप्रभु, तपाईं आफ्ना हातहरू खुल्ला पार्नुहोस्
अनि तपाईंले प्रत्येक जीवित प्राणीहरूलाई उनीहरूको आवश्यकता अनुसार सबै थोकहरू दिनुहोस्।
17 परमप्रभुले गर्नुभएको प्रत्येक कुरा धार्मिक अनि उचित छ।
प्रत्येक कुराहरूबाट उहाँ कति भलो हुनुहुन्छ, भन्ने दर्शन्छ।
18 जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
19 परमप्रभुले त्यही गर्नुहुन्छ जो भक्तजनहरूले चाहन्छन्।
परमप्रभुले उहाँका भक्तजनहरूले सहायताको निम्ति गरेको पुकार सुन्नु हुन्छ।
उहाँले उनीहरूको प्रार्थनालाई जवाफ दिनुहुन्छ र तिनीहरूलाई बचाउनुहुनेछ।
20 जसले उहाँलाई प्रेम गर्दछ परमप्रभुले तिनीहरूकै रक्षा गर्नुहुन्छ
तर परमप्रभुले दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।
21 म परमप्रभुको प्रशंसा गर्नेछु!
म, प्रत्येकले सदा-सर्वदा र अनन्त उहाँको प्रशंसा गरेको चाहन्छु।
9 मेरी प्रेमिका, मेरी दुलही तिमीले मलाई उत्तेजित गराउछ्यौ।
तिम्रो आखाँको एक झलकले तिम्रो गलामा लगाइएको
मोतीको हारका एउटै दानाले, मेरो हृदय चोरेकी छौ।
10 हे मेरी साथी, हे मेरी दुलही।
तिम्रो माया कति सुन्दर छ।
तिमीले गाँसेको माया दाखरस भन्दा धेरै राम्रो छ,
तिम्रो अत्तरको सुगन्ध अन्य कुनै पनि सुगन्ध भन्दा असल छ।
11 मेरी दुलही! तिम्रो ओठबाट मह टप्किन्छ,
दूध र मह तिम्रो जिब्रो मुनि छ,
तिम्रा वस्त्रहरूबाट मिठो अत्तरको वासना आउँछ।
12 मेरी प्रेमिका, मेरी दुलही!
ताल्चा लगाएको बगैंचा जस्तै शुद्ध छौ।
बन्द गरेको ताल जस्तै शुद्ध छौ।
त्यो बन्द गरेको फोहरा जस्तै शुद्ध छौ।
13 तिम्रो शरीर दारीम जस्तै छ,
अनि अरू लोभ्याउने फलहरू,
फूलहरू र मसलाहरूको वासनाले भरिएको
बगैंचा झौं 14 जटामसी केश दालचिनी,
तिमी एउटा सबै प्रकारको सुगन्धित रूखहरूले भरिएको बगैंचा झैं छौ
मूर्र र यसमा सबै प्रकारको असल मसलाहरू छन्।
15 तिमी बग्ने पानीको स्रोत जस्तै छौ।
तिमी कुवाको पानी झैं ताजा छौ,
लेबानोनबाट बग्दै आएको पानीको मूल झैं छौ।
ऊनी बोल्छिन्
16 उत्तरी हावा, तिमी उठ,
दक्षिणी हावा, तिमी आऊ।
मेरो बगैंचामा बह
अनि आफ्नो सुगन्ध छर्क।
मेरा प्रेमी आफ्नो बगैंचाभित्र पसुन्।
अनि त्यहाँका मिठा फलहरू खाऊन्।
प्रियतम भन्छन्
5 मेरी प्रेमीका, हे मेरी दुलही,
म आफ्नो सुगन्धित सामग्रीसित बगैंचामा पसें।
मैले मेरो मुर्र र मशलाहरू बटुलेकोछु।
मैले मेरो चाका महसँग खाएँ।
मैले आफ्नो दाखरस र दूध पिएकोछु।
स्त्रीहरू प्रेमीहरूसँग कुरा गर्छन्
हे साथीहरू हो, खाऊ! प्रेमीहरू हो, पिऊ!
र प्रेमको मद्यले मस्त हौ।
येशूद्वारा उपवास सम्बन्धीको प्रश्नमा उत्तर
(मत्ती 9:14-17; मर्कूस 2:18-22)
33 तिनीहरूले येशूलाई भने, “फरिसीहरूले झैं यूहन्नाको चेलाहरूले पनि समय समयमा उपवास र प्रार्थना गर्दछन्। तर तपाईंको चेलाहरू त सधैँ खान्छन् र पिउँछन्।”
34 येशूले तिनहरूलाई भन्नुभयो, “कुनै पनि विवाहमा, जन्तीहरूलाई दुलहा तिनीहरूका साथमा बसुन्जेल उपवास बस्न सक्तैन। 35 तर समय यस्तो आउँछ जब दुलहा तिनीहरूबाट छुट्टिनु पर्दछ। त्यस समय तिनीहरू उपवास बस्नेछन्।”
36 येशूले तिनीहरूलाई यो दृष्टान्त सुनाउनु भयोः “कुनै मानिसले नयाँ लुगा च्यातेर पुरानो लुगा टाल्दैन। किनभने त्यसो गरे नयाँ लुगा बिग्रन्छ, अनि टालेको टुक्रा पुरानो लुगासँग मिल्दैन। 37 कसैले पनि नयाँ दाखरसलाई पुरानो दाखरसको मशकमा भर्दैंन। किनभने नयाँ दाखरसले मशकहरू फुटाउँछ, जसले गर्दा दाखरस चुहेर जान्छ औ मशकहरू पनि नष्ट हुन्छ। 38 मानिसहरूले सधैँ नयाँ दाखरसलाई नयाँ मशकामा राख्छन्। 39 कसैले पनि पुरानो दाखरस पिए पछि नयाँ दाखरस पिउन खोज्दैन। किनभने उसले भन्छ, ‘पुरानो दाखरस नै असलछ।’”
© 2004, 2010 Bible League International