Revised Common Lectionary (Complementary)
5 सुलेमान गिबोनमा भएको समयमा राति सपनामा परमप्रभु उनकहाँ देखा पर्नुभयो। परमेश्वरले भन्नुभयो, “तँलाई जे चाहिन्छ भन्। म तँलाई त्यो दिनेछु।”
6 सुलेमानले जवाफ दिए, “आफ्ना भक्त मेरा पिता दाऊद प्रति तपाईं औधी दयालु हुनुहुन्थ्यो। उहाँले तपाईंको अनुशरण गर्नुभयो। उहाँ धर्मी अनि ईमान्दारी थिए। उहाँ पछि, उसलाई एउटा छोरा उसको सिंहासनमा बस्न दिएर महान दया देखाँउनु भयो। 7 परमप्रभु मेरो परमेश्वर, मेरा पिता दाऊदको स्थानमा मलाई राजा हुने अनुमति दिनु भएको छ। तर म सानो केटा मात्र छु, मानिसहरूलाई अगुवाई गर्ने अनुभ मसँग छैन। 8 म, तपाईंको दास हुँ अनि तपाईंले चुनिएको मानिसहरू मध्ये एक हुँ जो असंख्य छन्। त्यो गन्न सकिदैन। यसकारण शासकले तिनीहरूबीच धेरै निर्णय लिनु पर्छ। 9 यसै कारण म तपाईंसमक्ष बुद्धिको माग गर्दैछु जसको कारण म राम्ररी शासन गर्न सकूँ अनि सहीढंगमा जनतालाई न्याय दिन सकूँ। यसले मलाई सही र भूलबीच अन्तर छुट्याउने योग्यता दिने छ। यस महान्, बुद्धिको अभावमा यी महान् मानिसहरू माथि शासन गर्न सम्भव छैन।”
10 सुलेमानले आफ्नो बुद्धिको लागि माग गरेकोमा परमप्रभु प्रसन्न हुनुभयो। 11 यसकारण परमेश्वरले उनलाई भन्नुभयो, “तैंले आफ्नो लागि दीर्घायु मागिनस् अनि तैंले धन-सम्पत्तिको माग पनि गरिनस्। तैंले आफ्ना शत्रुहरूको मृत्युको माग पनि गरिनस्। तर तैंले बुद्धिका लागि बिन्ती गरिस् अनि सही निर्णय लिइस्। 12 यस कारण म तैंले मागेको कुरा दिनेछु। म तँलाई बुद्धि र विवेक दिनेछु। म तँलाई यस्तो महान् बुद्धिजीवी बनाउने छु जस्तो अतीतमा कोही भएको थिएन। अनि भविष्यमा तँ जस्तो अरू कुनै हुने छैन।
पे
129 हे परमप्रभु, तपाईंको करार अद्भूत छ।
यसकारण म त्यसको अनुशरण गर्दछु।
130 कुनै ज्योतिले तिनीहरूलाई बाँच्ने ठीक तरिका देखाए झैं मानिसहरूले तपाईंको शब्दहरू बुझ्न शुरू गरे।
तपाईंका वचनले सामान्य भन्दा सामान्य मानिसहरूलाई सम्म बुद्धिमानी बनाउँदछ।
131 हे परमप्रभु, म साँच्चो रूपले तपाईंका आज्ञाहरू मनन गर्न चाहन्छु,
म त्यो स्वास रोकिएर अधैर्यपूर्ण पर्खिरहेको मानिस जस्तो छु।
132 हे परमेश्वर, मलाई हेर्नुहोस र म प्रति कृपालु बन्नु होस्।
जसले तपाईंको नाउँको पुकारा गर्छन्,
ती मानिसहरूका लागि असल काम गरिदिनुहोस्।
133 हे परमप्रभु, तपाईंले कसम खाए झैं मलाई डोर्याउनु होस्
मतर्फ कुनै प्रकारको दुर्घटना घट्न नदिनुहोस्।
134 हे परमप्रभु, मलाई दुःख-कष्ट दिने मानिसहरूबाट बचाउनु होस्
अनि म तपाईंको आज्ञाहरू पालन गर्ने छु।
135 हे परमप्रभु, मलाई ग्रहण गर्नुहोस्,
अनि आफ्नो नियमहरू सिकाउनुहोस्।
136 म आँसुका बलिन्द्रधारा नदी सरी बहाएर रोएँ
किनभने कसैले पनि तपाईंको शिक्षाहरू पालन गरेनन्।
26 आत्माले नै हामीलाई हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ। हामीले कसरी प्रार्थना गर्नु पर्ने हो! जान्दैनौ। तर आत्माले गंभीर भावले परमेश्वरसँग हाम्रो पक्षमा प्रार्थना गरिदिनुहुनेछ जुन शब्दहरूमा वर्णन गर्न सकिँदैन। 27 परमेश्वरले हाम्रो हृदयमा के छ बुझ्न सक्नु हुन्छ किनभने आत्मा मानिसहरूका लागि परमेश्वरसँग उहाँकै इच्छाले बोल्नु हुन्छ।
28 हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो। 29 यो संसार बनाउन भन्दा अघिदेखि नै परमेश्वरले ती मानिसहरूलाई जान्नु हुन्थ्यो। अनि परमेश्वरले तिनीहरू आफ्नै पुत्र जस्तै होउन् भन्ने निर्णय गर्नुभयो। त्यसैकारण येशू धेरै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूमा जेठो हुनुभयो। 30 परमेश्वरले ती मानिसहरूलाई आफ्नै पुत्र जस्तै होउन् भन्ने योजना गर्नुभयो। अनि परमेश्वरद्वारा बोलइएका तिनीहरूलाई पनि धर्मी बनाइयो। अनि परमेश्वरद्वारा धर्मी बनाइएका तिनीहरूलाई उहाँले महिमा पनि दिनुभयो।
येशू ख्रीष्टमा परमेश्वरको प्रेम
31 यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ? 32 परमेश्वरले हाम्रो निम्ति जे पनि गर्नुहुनेछ। परमेश्वरले उहाँको आफ्नै पुत्रलाई कष्ट मात्र भोगाउनु भएन तर हाम्रा निम्ति बलि दिनुभयो। तब के परमेश्वरले हामीलाई येशूका साथै हरेक उपहार दिनुहुन्न र? 33 परमेश्वरले चुन्नु भएका मानिसहरूलाई कसले दोष लगाउन सक्छ? कसैले सक्तैन! परमेश्वर मात्र एक हुनुहुन्छ जसले आफ्ना मानिसहरूलाई धर्मी बनाउनुहुन्छ। 34 परमेश्वरका मानिसहरूलाई कसले दोषी हो भनी भन्न सक्छ? कसैले सक्तैन! ख्रीष्ट येशू हाम्रा निम्ति मर्नुभयो, तर त्यति मात्र होइन, उहाँ मृत्युबाट जीवित पनि हुनुभयो। अनि उहाँ परमेश्वरको दाहिनेपट्टि हुनुहुन्छ र हाम्रा निम्ति परमेश्वरलाई बिन्ति गरिरहनु भएको छ। 35 ख्रीष्टको प्रेमबाट हामीलाई अलग गर्न सक्ने कुनै थोक छ? छैन। के दुःखले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन! के कठिनाई वा खेदाइले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? सक्दैन। के अनिकाल वा नाङ्गोपनाले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्नसक्छ? अँहँ। के कुनै आपद वा मृत्युले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्न सक्छ? अँहँ सक्दैन। 36 धर्मशास्त्रले भन्छ,
“तिमीहरूका निमित्त हामीहरू दिनभरि नै मृत्युको मुखमा छौं।
मानिसहरू सोंच्दछन् हामी बेकारहौं, मारिने भेंडा़ जस्ता छौं।”(A)
37 तर परमेश्वरको प्रेमको कारणले हामी ती सबै कुराहरूमा पूर्ण विजयी बन्छौं। 38-39 हो, म निश्चिन्त छु कि कुनै चीजले पनि हामीलाई परमेश्वरको प्रेमबाट अलग पार्न सक्तैन न मृत्यु वा जीवनले न स्वर्गदूतहरू वा शासन गर्ने आत्माहरूले न त कुनै वर्तमानका वा भविष्यका कुराले न त कुनै माथिका वा तलका शक्तिले न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ जो हाम्रा प्रभु ख्रीष्ट येशूमा छ।
अरू केही उखानहरू
(मर्कूस 4:30-34; लूका 13:18-21)
31 तब येशूले मानिसहरूलाई अर्को उखान भन्नु भयो: “स्वर्गको राज्य एउटा रायोको बीऊ जस्तो हो। एकजना मानिसले त्यसलाई आफ्नो खेतमा रोप्यो। 32 त्यो बीऊ अरू बीऊहरूमध्ये सबैभन्दा सानो बीऊ हुन्छ। तर जब यो उम्रन्छ त्यो बारीको सबभन्दा ठूलो पोथ्रा हुन सक्छ। त्यो रूख जस्तै उम्रन सक्छ हाँगाहरू यति ठुला उम्रन सक्छन् कि तिनमा चरा-चुङ्गीहरूले आफ्ना निम्ति गुँड बनाउन सक्छन्।”
33 येशूले अर्को उखान भन्नुभयो, “स्वर्गको राज्य खमीर जस्तो हो। जसलाई एउटी स्त्रीले रोटी बनाउन एउटा ठूलो भाँडामा पिठोसित मिसाइन्। त्यो खमीरले पीठोको सबै डल्लालाई खमीरी बनायो।”
गाड़धन र मोतीको उखान
44 “स्वर्गको राज्य जमीनमा लुकाइएको सम्पत्ति जस्तै हो। कुनै एक दिन एउटा मानिसले त्यो पायो, ऊ खूबै खुशी भयो। उसले त्यसलाई फेरि खेतमा लुकायो। तब ऊ गएर आफूसंग भएको सबै चिजहरू बेच्यो र त्यो खेत किन्यो।
45 “फेरि, स्वर्गको राज्य एक व्यापरी जस्तै हो, जसले असल मोतीहरू खोज्छ। 46 एकदिन त्यो व्यापारीले एउटा बहुमूल्य मोती फेला पार्यो। र उसले गएर आफूसँग भएको सबै बेचेर त्यो मोती किन्यो।
माछामार्ने जालको उखान
47 “स्वर्गको राज्य समुद्रमा हानेको एउटा महा-जाल जस्तै हो। त्यो जालमा विभिन्न किसिमका माछाहरू परे। 48 त्यो जालभरि माछा थिए। तब जालहारीले त्यो जाललाई किनारमा ताने, भुईंमा बसेर तिनीहरूले राम्रो किसिमका माछाहरू छुट्याउन र आफ्नो टोकरीमा हाल्न थाले। अनि तिनीहरूले नराम्रा किसिमका माछाहरू फ्याँकिदिए। 49 जगतको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आइपुग्ने छन् अनि राम्रा मानिसहरूबाट नराम्रा मानिसहरूलाई अलग गर्नेछन्। 50 स्वर्गदूतहरूले तिनीहरूलाई जल्दो भट्टीमा फालिदिनेछन्। ती मानिसहरू पीडाले रूनेछन् दाँत किट्नेछन्।”
51 तब येशूले आफ्ना शिष्यहरूलाई सोध्नुभयो, “के यी सुबै कुराहरू तिमीहरूले बुझ्यौ?”
तिनीहरूले जवाफ दिए, “ज्यु प्रभु, हामीले बुझ्यौं।”
52 तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “प्रत्येक शास्त्री जसले स्वर्गको राज्यको विषयमा सिकेको एउटा घरको मालिक जस्तै हुन्। उसले आफ्नो घरमा पुराना र नयाँ चीजहरू जोगाई राखेको हुन्छ। अनि उसले ती पुराना र नयाँ चीजहरू बाहिर झिक्दछ।”
© 2004, 2010 Bible League International