Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 1:1-2:4

संसारको शुरू

आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो। पृथ्वी शून्य थियो, पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो।

पहिलो दिन—प्रकाश

तब परमेश्वरले भन्नुभयो, “उज्यालो होस्!” अनि उज्यालो चम्कन थाल्यो। परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो। तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो। परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” नाउँ दिनु भयो।

साँझ पर्यो अनि बिहान भयो। यो पहिलो दिन थियो।

दोस्रो दिन—आकाश

तब परमेश्वरले भन्नुभयो, “पानीलाई दुइ भाग पार्न त्यहाँ बतास होस्!” यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो अनि पानी छुट्टियो। केही पानी बतासमाथि रह्यो अनि केही पानी बतास मुनि। परमेश्वरले त्यस बतासलाई “आकाश” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो दोस्रो दिन थियो।

तेस्रो दिन—सुख्खा भूमि र उद्भिद

तब परमेश्वरले भन्नुभयो, “आकाश मुनिको पानी एकै ठाउँमा जम्मा होस्, र त्यहाँ सुख्खा भूमि देखियोस्।” अनि त्यस्तै भयो। 10 त्यो सुख्खा भूमिलाई परमेश्वरले “पृथ्वी” नाउँ राख्नु भयो। अनि एकै ठाउँमा जम्मा भएको पानीलाई “समुद्र” नाउँ राख्नु भयो। परमेश्वरलाई यस्तो भएकोमा असल लाग्यो।

11 तब परमेश्वरले भन्नुभयो, “पृथ्वीमा घाँस, अन्न उत्पन्न गर्ने उद्भिद तथा फल हुने बोटहरू उम्रियोस्। फल-रूखहरूले बीउ भएका फल फलाउने छन्। अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ। यी उद्भिदहरू पृथवीमा उम्रिउन्।” अनि यस्तै भयो। 12 पृथ्वीमा घाँस र उद्भिदहरू उम्रे अनि अन्नहरू फले। अनि पृथ्वीमा फलभित्र बीउहरू हुने फल फल्ने रूखहरू उम्रिए। प्रत्येक उद्भिदले आफ्नै प्रकारको बीउहरू सिर्जना गरे। अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो।

13 साँझ पर्यो अनि बिहान भयो। यो तेस्रो दिन थियो।

चौथो दिन—सूर्य, चन्द्रमा र ताराहरू

14 तब परमेश्वरले भन्नुभयो, “आकाशमा उज्यालो होस्। यी उज्यालाहरूले दिनहरूबाट रातहरूलाई छुट्‌याउनेछन्। यो उज्यालाहरूलाई विशेष चिन्हहरूको निम्ति प्रयोग गरिनेछन् र यिनीहरूले सभाहरू कहिले हुने बताउनेछन्। अनि यिनीहरूलाई दिनहरू र वर्षहरू बताउनमा प्रयोग गरिनेछ। 15 यी उज्यालाहरू पृथ्वीमा ज्योति चम्काउनको निम्ति आकाशमा रहनेछन्।” अनि यस्तै भयो।

16 यसर्थ परमेश्वरले दुइवटा ठूला-ठूला प्रकाश पुञ्जहरू निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुन्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुन्ज बनाउनु भयो। परमेश्वरले ताराहरू पनि सृष्टि गर्नु भयो। 17 पृथ्वीलाई उज्यालो पार्नको निम्ति यी प्रकाश-पुन्जहरू परमेश्वरले आकाशमा राख्नु भयो। 18 यसकारण उहाँले तिनीहरूलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो। यी प्रकाश पुञ्जहरूले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो।

19 त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो चौथो दिन थियो।

पाँचौं दिन—माछा र चराहरू

20 तब परमेश्वरले भन्नुभयो, “पानी धेरै-धेरै प्राणीहरूले भरियोस्।” अनि पृथ्वीमाथि आकाशको फैलावटमा चरा चुरूङ्गीहरू उड्न थाले। 21 यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरू र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरू सृष्टि गर्नुभयो। परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरू सृष्टि गर्नुभयो। पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरू परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो।

22 परमेश्वरले यी सबै प्राणीहरूलाई आशीर्वाद दिएर भन्नुभयो, पानीका प्राणीहरूले धेरै बच्चाहरू जन्माएर समुद्र भरियोस् अनि भूमिमा पनि चरा-चुरूङ्गीहरूले धेरै-धेरै बच्चाहरू जन्माएर पृथ्वी भरियोस्।

23 त्यहाँ साँझ पर्यो र फेरि अर्कौ बिहान भयो। यो पाँचौ दिन थियो।

छैटौं दिन—स्थल-चर र मानिसहरू

24 परमेश्वरले भन्नुभयो, “पृथवीले धेरै प्रकारका जीवित चीजहरू बनाओस्। त्यहाँ घरेलु पशुहरू, घस्रने जन्तुहरू अनि सबै प्रकारको जङ्गली जनावरहरू रहोस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए।

25 यसर्थ परमेश्वरले जङ्गली जनावरहरू, पाल्तू जनावर, स-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरू सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो।

26 तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिस सृष्टि गरौं। हामी मानिस हाम्रै स्वरूप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन्। तिनीहरूले जलचर, नभचर, स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरूमाथि शासन गर्नैछन्।”

27 यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरूपमा मानिसलाई सृष्टि गर्नु भयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो। 28 परमेश्वरले तिनीहरूलाई आशीर्वाद दिंदै भन्नुभयो, “धेरै सन्तानहरू उत्पति गराऊ र पृथवी भरेर तिनीहरूको हेरचाह गर। समुद्रका माछाहरू, आकाशमा उड्ने चराहरू अनि पृथ्वीमा हिँड्डुल गर्ने, सबै प्राणीहरूमाथि शासन गर।”

29 परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई अन्न हुने उद्भिद र फल फल्ने रूखहरू दिन्छु। ती रुखहरूले आफैं भित्र फेरि उम्रने बीउ भएका फलहरू दिनेछन् र यी अन्न र फलहरू तिमीहरूको निम्ति खाद्य-पदार्थ हुनेछन्। 30 म फेरि पशुहरूलाई खानका निम्ति हरियो घाँस तथा उद्भिद दिनेछु र पृथ्वीमा भएका प्रत्येक सा-साना घस्रने प्राणीहरू, आकाशमा उड्ने चराहरू अनि पृथ्वीका सबै जनावरहरूले, यी चीजहरू खानेछन्।” अनि यस्तै भयो।

31 परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो।

त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।

सातौं दिन—विश्राम

यसरी पृथ्वी, आकाश र तिनीहरूभित्र प्रत्येक वस्तुको सृष्टि पूरा भयो। परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरूबाट विश्राम लिनुभयो। परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो, परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो।

मानव जातिको शुरु

आकाश र पृथ्वीको इतिहास यही हो। परमेश्वरले पृथ्वी र आकाश सृष्टि गर्दा भएका घटनाहरूको कुरा यही नै हो।

भजनसंग्रह 8

प्रमुख संगीतकारलाई गित्तित रागमा गाउने दाऊदको भजन।

हे परमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ।
    तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ।
साना केटा-केटी र दूधमुखे बालकहरूका मुखहरूबाट पनि तपाईंको महिमा र प्रशंसा सुनिन्छ।
    तपाईंले तिनीहरूलाई त्यस्तो शक्तिशाली गीतहरू दिनुभएकोछ,
    जसले तपाईंको सम्पूर्ण शत्रुहरूलाई चुप पारी दिन्छ।

हे परमप्रभु, म तपाईंको आफ्नो हातले बनाउनु भएको स्वर्गलाई हेर्छु।
    अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरूलाई हेर्छु,
र म अचम्म मान्छु, किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्?
    किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ?
किन तपाईंले तिनीहरूको त्यति वास्ता राख्नुहुन्छ?
    किन तपाईंले तिनीहरूको त्यति सम्झना गर्नुहुन्छ?

तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्!
किनकी तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणीहरू (स्वर्गदूत) जस्तै बनाउनु भयो,
    अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो।
तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको मालिक तिनीहरूलाई बनाउनु भयो।
    तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो।
सबै मानिसहरूले भेंडा र गाई साथै सम्पूर्ण जङ्गली जनावरमाथि अधिकार गर्छन।
तिनीहरूले आकाशमा उड्ने पंक्षी र समुद्रमा पौडिने हरेक जनावर
    र माछाहरूमाथि पनि अधिकार गर्छन्।
हे परमप्रभु, हाम्रा स्वामी, सारा पृथ्वीमा तपाईंको नाउँ अत्यन्त महान छ।

2 कोरिन्थी 13:11-13

11 दाज्यू-भाइ दिदी-बहिनीहरू! अब म विदा लिन्छु। परिपक्क हुने कोशिश गर। मैले तिमीहरूलाई भनेको कुरा गर। एक अर्कासित मिल र शान्तिसित बस। तब प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।

12 एक अर्काको अभिवादन पवित्र चुम्बनले गर। परमेश्वरका सबै पवित्र जनहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।

13 प्रभु येशू ख्रीष्टको अनुग्रह परमेश्वरको प्रेम अनि पवित्र आत्माको सहभागिता तिमीहरूमा सधैँ होस्।

मत्ती 28:16-20

येशूका आफ्ना चेलाहरूसँग कुराकानी

(मर्कूस 16:14-18; लूका 24:36-49; यूहन्ना 20:19-23; प्रेरित 1:6-8)

16 एघारजना चेलाहरू गालील गए। 17 येशूले भन्नुभएको डाँडामा तिनीहरू पुगे। चेलाहरूले येशूलाई डाँडामाथि देखे। तिनीहरूले येशूको उपासना गरे। तर कुनै-कुनै चेलाहरूलाई बिश्वास गरेनन् की तिनी साँच्चै येशू हुन्। 18 येशूले तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्विका सारा अधिकार मलाई दिइएको छ। 19 यसकारण जाऊ र सबै देशका मानिसहरूलाई मेरा चेलाहरू बनाऊ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा देओ। 20 जे जे मैले तिमीहरूलाई आज्ञा गरें ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International