Revised Common Lectionary (Complementary)
115 हे परमप्रभु, हामीले सम्मान पाउनु पर्ने होइन।
तपाईंको प्रेम र विश्वासले गर्दा
सम्मान तपाईंको मात्र हो।
2 किन ती जातिहरू “हाम्रा परमप्रभु कहाँ छन्?” भनेर छक्क पर्दछन्।
3 परमप्रभु स्वर्गमा हुनुहुन्छ।
अनि उहाँले आफ्नो चाहनाले जे पनि गर्न सक्नुहुन्छ।
4 ती सम्प्रदायहरूका “देवताहरू” सुन र चाँदीले बनिएका खाली मूर्तिहरू मात्र हुन्।
तिनीहरू कुनै मानिसले बनाएका मूर्तिहरू मात्र हुन्।
5 ती मूर्तिहरूका मुखहरू छन्, तर बोल्न सक्दैनन्।
तिनीहरूका आँखाहरू छन्, तर देख्न सक्दैनन्।
6 तिनीहरूका कानहरू छन्, तर सुन्न सक्दैनन्।
तिनीहरूका नाकहरू छन्, तर सुँघ्न सक्तैनन्
7 तिनीहरूका हातहरू छन्, तर अनुभव गर्न सक्दैनन्
तिनीहरूका खुट्टाहरू छन्, तर हिंड्न सक्दैनन्
अनि कुनै स्वर-ध्वनिहरू उनीहरूका कण्ठबाट निकाल्न सक्तैनन्।
8 ती मानिसहरू जसले तिनीहरूलाई बनाउँछन् र तिनीहरूमाथि भरोसा गर्छन्,
तिनीहरू त्यस्तै हुन्छन्!
9 हे इस्राएल का मानिसहरू, परमप्रभुमाथि भरोसा गर!
परमप्रभु तिनीहरूका बल र ढाल हुन्।
10 हारूनका परिवारहरू, परमप्रभुमाथि भरोसा राख!
परमप्रभु तिनीहरूका बल र ढाल हुनुहुन्छ।
11 हे परमप्रभुका अनुयायीहरू, परमप्रभुमाथि भरोसा गर!
परमप्रभु तिनीहरूका बल र ढाल हुन्।
12 परमप्रभुले हामीलाई सम्झनुहुन्छ।
परमप्रभुले हामीलाई आशीर्वाद दिनुहुन्छ।
परमप्रभुले इस्राएल लाई आशीर्वाद दिनुहुनेछ।
परमप्रभुले हारूनका परिवारलाई आशीर्वाद दिनुहुनेछ।
13 महान् र क्षुद्र दुवैलाई आशीर्वाद दिनुहुनेछ।
परमप्रभुले आफ्ना भक्तहरूलाई आशीर्वाद दिनुहुनेछ।
14 परमप्रभुले तिमीहरूका छोरा-छोरीहरूलाई
धेरै भन्दा धेरै नै आशिर्वाद दिऊन्।
15 परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनु भयो,
तिमीहरूलाई आशीर्वाद दिऊन्!
16 स्वर्ग परमप्रभुको अधिकारमा छ।
तर पृथ्वी उहाँले मानिसहरूका अधिकारमा दिनु भयो।
17 मरेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
चिहान भित्र भएका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
18 तर हामी अहिले परमप्रभुको प्रशंसा गर्छौं,
अनि हामी उहाँको प्रशंसा सदा-सर्वदा गर्छौं।
परमप्रभुको प्रशंसा गर!
दबोरा र बाराकको स्तुति गीत
5 इस्राएलका मानिसहरूले सीसरालाई पराजित पारेको दिन, दबोरा अनि बाराक, अबीनोअमका छोराले यो गीत गाएः
2 “इस्राएलका मानिसहरू युद्धका निम्ति तयार भए।
तिनीहरू स्वेच्छाले युद्धमा जाने भए!
परमप्रभुलाई धन्यवाद चढाऊ!
3 “हे राजाहरू हो। सुन!
हे शासकहरू हो। सुन!
म गाउनेछु।
म स्वयं परमप्रभु प्रति गाउँनेछु।
म परमप्रभुका निम्ति,
इस्राएलका मानिसहरूका परमेश्वरका निम्ति भजन गाउने छु।
4 “हे परमप्रभु, अतीतमा तपाईं सेइरबाट आउनुभयो।
तपाईं एदोम देशबाट हिंड्नु भयो।
तपाईं हिंड्नु भयो, अनि पृथ्वी काम्यो,
आकाशबाट वृष्टि भयो,
मेघहरूले पानी बर्साए।
5 परमप्रभुको अघि पर्वतहरू हल्लिए, सीनै पर्वतका परमेश्वरको अघि, परमप्रभु इस्राएलका परमेश्वरको अघि।
6 “अनातका छोरा शमगरको समयमा,
याएलको समयमा, मुख्य सडकहरू रित्ता थिए।
व्यापारीहरू अनि यात्रीहरू पछिल्लो मार्गबाट हिंडदथे।
7 “त्यहाँ कोही सेनाहरू थिएनन्।
दबोरा तिमी नआएसम्म, इस्राएलकी आमा बन्नलाई,
तिमी नआएसम्म इस्राएलमा कुनै सेनाहरू थिएनन्।
8 “परमेश्वरले नयाँ अगुवाहरू चुन्नु भयो।
शहरका द्वारहरूमा लड्नका निम्ति।
इस्राएलका 40,000 सेनाहरू मध्ये कसैले पनि एक ढाल
अनि एक भाला पाउँन सकेनन्।
9 “मेरो हृदय इस्राएलका ती सेनापतिहरूसित छ,
जो स्वेच्छाले युद्धमा जाने भए!
परमेश्वर प्रति धन्यवाद चढाऊ!
10 “सेतो गधाको ढाडमा चढ्ने,
जीनको कम्बलमा बस्ने
अनि बाटोमा हिंड्ने
तिमी मानिसहरू ध्यान देऊ।
11 पशुहरूको लागि पानी भएको खाडलहरूमा
हामी झ्याम्टाको सङ्गीत सुन्दछौं।
मानिसहरू परमप्रभुको विजय, इस्राएलमा उहाँका सेनाहरूको विजय,
जब परमप्रभुका मानिसहरू शहरद्वारमा लडेर विजयी भए,
त्यस विषयमा गाउँछन्।
तिम्रो सभाहरूले मण्डलीको मद्दत गरोस्
26 यसकारण दाज्यू-भाइ दिदी-बहिनीहरू हो। तिमीहरूले के गर्नु पर्छ? जब तिमीहरू भेला हुन्छौ, कसैसित गीत हुन्छ, कसैसित शिक्षा हुन्छ, कसैसित परमेश्वरको नयाँ सत्य हुन्छ, फेरि अर्को एकजनासित विभिन्न भाषा बोल्ने हुन्छ अनि अर्को चाँहि त्यो भाषा व्याख्या गरिदिने हुन्छ। यी सब कुराको उद्धेश्य मण्डलीलाई दरिलो बनाउनु हो। 27 जब तिमीहरू भेला हुँदछौ, यदि कुनै मानिसले खाली दुइजना होऊन् अथवा तीनजना भन्दा वेशीले नबोलुन्। तिनीहरू एक पछि अर्को पालैसित बोलुन्। अनि अर्को मानिसले तिमीहरूले बोलेको भाषा अनुवाद गरिदिनु पर्छ। 28 तर यदि त्यहाँ कुनै अर्थ खोल्ने छैन भने त्यो विभिन्न भाषा बोल्ने मानिस मण्डलीको सभामा चुपचाप बसोस्। त्यस मानिसले खाली आफैंसित र परमेश्वरसित मात्र बोल्नु पर्छ।
29 अनि खाली दुइ वा तीनजना अगमवक्ताहरू मात्र बोल्नुपर्छ। अरूहरूले के भनिन्छ त्यो जाँच्नु पर्छ। 30 अनि बसिरहेको कुनै मानिसलाई परमेश्वरबाट सन्देश आयो भने बोल्दै गर्ने पहिलो मानिस रोकिनु पर्छ। 31 तिमीहरू सबैले एक पछि अर्काले अगमवाणी दिन सक्छौ। त्यस प्रकारले सबै मानिसलाई सिकाउनु र उत्साहित तुल्यानु सक्छौ। 32 अगमवक्ताहरूको आत्मा अगवक्ताहरूकै अधीनमा हुन्छ। 33 किनभने परमेश्वर गोलमालको परमेश्वर हुनु हुन्न, तर शान्तिका परमेवश्वर हुनु हुन्छ।
34 मण्डलीको सभामा स्त्रीहरू चुपचाप बस्नु पर्छ। परमेश्वरका मानिसहरूको सबै मण्डलीहरूमा यस्तै हुनुपर्छ। स्त्रीहरूलाई बोल्ने अनुमति छैन। तिनीहरू अधीनमा रहनुपर्छ, जस्तो मोशाको नियमले पनि भन्छ। 35 यदि स्त्रीहरूले कुनै कुरो जान्न चाहे तिनीहरूले आ-आफ्नो पतिहरूलाई घरमा सोध्नु पर्छ। मण्डलीको सभामा बोल्नु स्त्रीहरूको निम्ति शर्मको कुरो हो।
36 के परमेश्वरको शिक्षा तिमीहरूबाट आएको हो? होइन। कि त्यो शिक्षा पाउने तिमीहरू मात्र हौ? होइनौ। 37 यदि कसैले आफू अगमवक्ता हुँ अथवा आत्मिक वरदान पाउने हुँ भन्ने सम्झन्छ भने त्यस मानिसले बुझोस् कि मैले तिमीहरूलाई जे लेख्दैछु त्यो प्रभुको आज्ञा हो। 38 यदि त्यस मानिसले यो जान्दैन भने उसले परमेश्वरलाई जान्दैन।
39 यसैकारण मेरा प्रिय दाज्यू-भाइ, दिदी-बहिनीहरू, तिमीहरूले अगमवाणी गर्ने साँच्चो चाहना गर। अनि विभिन्न भाषाहरूमा बोल्नु नछोड। 40 तर प्रत्येक कुरो राम्रो र व्यवस्थित ढङ्गले गरिनु पर्छ।
© 2004, 2010 Bible League International