Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 इतिहास 19-20

अम्मोनीहरूले दाऊदका मानिसहरूलाई लज्जित तुल्याउँछन्

19 नाहाश अम्मोनी मानिसहरूका राजा थिए। केही समयपछि नाहाशको मृत्यु भयो र तिनको सट्टामा उनका छोरा नयाँ राजा भए। तब दाऊदले भने, “नाहाश म प्रति दयालु थिए, यसर्थ म हानून, नाहाशका छोरा प्रति दयालु हुनेछु।” यसर्थ दाऊदले तिनको पिताको मृत्यु प्रति हानूनलाई सान्त्वना दिनका निम्ति दूतहरू पठाए। दाऊदका दूतहरू अम्मोन देशमा हानूनलाई सान्त्वना दिन गए।

तर अम्मोनी प्रधानहरूले हानूनलाई भने, “मूर्ख नबन्नुहोस्। दाऊदले वास्तवमा यी मानिसहरू तपाईलाई सहानुभूति दिन वा तपाईंका मृत पिता प्रति सम्मान जनाउन पठाएका होइनन्, दाऊदले तिनका समाचारवाहकहरूलाई तपाईंको देशको जासूसी गर्न भनी पठाएका हुन्। दाऊदले वास्तवमा तपाईंको देशलाई ध्वंश पार्न चाहन्छन्।” यसर्थ हानूनले दाऊदका समाचारवाहकहरूलाई पक्रे अनि तिनीहरूका दाह्री र कपाल काटिदिए। हानूनले तिनीहरूका वस्त्रहरू पनि कम्मर सम्म काटि दिए। त्यस पछि तिनले तिनीहरूलाई पठाइदिए।

दाऊदका मानिसहरूलाई घर जान अप्ठेरो पर्यो। केही मानिसहरू दाऊद कहाँ गए अनि तिनका मानिसहरू प्रति के घट्ना-घट्यो सो भने। यसर्थ राजा दाऊदले आफ्ना मानिसहरूलाई यो समाचार पठाए “तिनीहरू तिमीहरूको दाह्री फेरि नबढुन्जेल यरीहो शहरमै बस्नु। त्यस पछि तिमीहरू घर फर्केर आउन सक्छौ।”

अम्मोनीहरूले सोचे कि दाऊदले तिनीहरूलाई उसको शत्रु हो भन्ने विचार गरे। तब तिनीहरूले 1,000 तोडा चाँदी प्रयोग गरेर मिसुपुतामियाबाट रथहरू अनि सारथिहरू ज्यालामा ल्याए। तिनीहरूले अराम-माका अनि सोबाबाट पनि रथहरू अनि सारथिहरू ज्यालामा ल्याए। अम्मोनीहरूले 32,000 रथहरू ज्यालामा ल्याए। तिनीहरूले मकाका राजा अनि तिनका सेनालाई सहायता गर्न आउनु भनी तिनीहरूलाई ज्याला दिए। माकाका राजा र उसका सैनिकहरू आए अनि मेदबा शहरको नजिकमा छाउनी बसाए। अम्मोनीहरू आफैं आफ्ना शहरहरू बाट बाहिर आए र युद्धका निम्ति तयार भए।

दाऊदले सुने कि अम्मोनी मानिसहरू युद्धका निम्ति तयार हुँदैछन्। यसर्थ तिनले योआब अनि इस्राएलका समस्त सेनालाई अम्मोनी मानिसहरूसित युद्ध गर्न पठाए। अम्मोनीहरू बाहिर आए अनि युद्धका निम्ति तयार बसे। तिनीहरू शहरद्वारको नजिक थिए। जो राजाहरू सहायता गर्न आएका थिए तिनीहरू आफैं बाहिर मैदान तिर बसे।

10 योआबले देखे कि तिनीसित लड्नका निम्ति दुइ सैन्यदलहरू तयार थिए। एक दल तिनको सामुन्ने थियो अनि अर्को दल तिनका पछिल्लतिर थियो। यसर्थ योआबले इस्राएलका केही सर्वोत्तम सैनिकहरूलाई छाने। तिनले तिनीहरूलाई अरामका सेना विरूद्ध लड्न पठाए। 11 योआबले इस्राएलका सैनिकहरूलाई अबीशैको अधीनमा रहने आदेश दिए। अबीशै योआबका भाइ थिए। ती सैनिकहरू अम्मोनी सेना बिरूद्ध लड्न गए। 12 योअबले अबीशैलाई भने, “यदि अरामका सैनिक मेरा निम्ति अति शक्तिशाली भए तब तिमीले मलाई सहायता गर्नुपर्छ। यदि अम्मोनी सैनिक तिम्रा निम्ति अति शक्तिशाली भए भने म तिमीलाई सहायता गर्नेछु। 13 हामी साहसी अनि शक्तिशाली बनौं जब हामी हाम्रा मानिसहरूका निम्ति अनि हाम्रा परमेश्वरको शहरहरूका निम्ति लड्छौं। परमप्रभुले त्यही गरून् जो उहाँले उचित ठान्नुहुन्छ।”

14 योआब अनि तिनीसित भएका सेनाले अरामका सेनालाई आक्रमण गरे। अरामका सेनाहरू योआब अनि तिनका सेनाहरू देखि भागे। 15 अम्मोनी सेनाहरूले अरामका सेनाहरू भागिरहेको देखे यसर्थ तिनीहरू पनि भागे। तिनीहरू अबीशै र तिनका सेना देखि भागे। अम्मोनीहरू आफ्ना शहरमा फर्के अनि योआब यरूशलेम फर्केर गए।

16 अरामी प्रधानहरूले देखे कि इस्राएलीहरूले तिनीहरूलाई परास्त गरे। यसर्थ तिनीहरूले यूफ्रेटिस नदीको पूर्वतिर बसेका अरामी मानिसहरूबाट सहायता पाउनका निम्ति दूतहरू पठाए। शोपक अरामका हदर-एजेरका सेनापति थिए। शोपकले ती अन्य अरामी सैनिकहरूको पनि अगुवाइ गरे।

17 दाऊदले समाचार सुने कि अरामका मानिसहरू युद्धका निम्ति एकत्रित भइरहेका छन्। यसर्थ दाऊदले इस्राएलका सबै मानिसहरूलाई एकजुट गराए। दाऊदले तिनीहरूलाई यर्दन नदी पारी लगे। तिनीहरू अरामीहरूको आमने-सामने भए। दाऊदले आफ्ना सेनालाई युद्धका निम्ति तयार हुनु हुकुम गरे अनि तिनीहरूले अरामीहरूलाई आक्रमण गरे। 18 अरामीहरू इस्राएलीहरूबाट भागे। दाऊद र तिनका सेनाले 7,000 सारथिहरू अनि 40,000 अरामी सैनिकहरूलाई मारे। दाऊद अनि तिनका सेनाले अरामी सेनाका सेनापति शोपकलाई पनि मारिदिए।

19 जब हदर-एजेरका अधीकारीहरूले तिनीहरूलाई इस्राएलले परास्त पारेका देखे, तिनीहरूले दाऊदसित सन्धि गरे। तिनीहरू दाऊदका सेवक बने। यसर्थ अरामीहरूले अम्मोनीहरूलाई फेरि सहायता गर्न अस्वीकार गरे।

योआबले अम्मोनीहरूलाई नष्ट पार्दछन्

20 बसन्त ऋतुमा, योअबले इस्राएलका सैनिकहरूलाई युद्धमा लगेर गए। यो बर्षको त्यो समय थियो जब राजाहरू युद्धमा जान्थे, तर दाऊद यरूशलेम मै बसे। इस्राएलका सैनिकहरू अम्मोन देशमा गए अनि त्यसलाई ध्वंश पारे। त्यस पछि तिनीहरू रब्बा शहरमा गए। सैनिकहरू शहरको चारैतिर छाउनीमा तिनीहरू जानबाट रोक्नलाई मानिसहरूलाई शहरको भित्र वा बाहिर त्यहाँ बसे। योआब अनि इस्राएलका सेना रब्बा शहरको विरूद्ध त्यसलाई ध्वंश नपारून्जेल सम्म लडे।

दाऊदले तिनीहरूका राजाको शिरबाट श्रीपेच निकाले। त्यो सुनको श्रीपेच लगभग एक तोडा[a] थियो। श्रीपेचचमा मूल्यवान रत्नहरू थिए। श्रीपेच दाऊदको शिरमा लगाइयो। तब दाऊदले रब्बा शहरबाट धेरै मूल्यवान बस्तुहरू पाए। दाऊदले रब्बाका मानिसहरूलाई ल्याए अनि तिनीहरूलाई आरा, फलामका गल अनि बञ्चरोद्वारा काम गर्न लगाए। दाऊदले अम्मोनीहरूका सबै शहरहरूलाई पनि त्यसै गर्न लगाए। त्यस पछि दाऊद अनि सबै सेना यरूशलेम फर्के।

पलिश्ती दैंत्यहरू मारिन्छन्

पछि इस्राएलीहरूको पलिश्ती मानिसहरूसित गेजेर शहरमा युद्ध भयो। त्यस समय हूशाका सिब्बकैले सिप्पैलाई मारे। सिप्पै दैंत्यहरूका (रपाईहरूका) एकजना छोरा थिए। यसरी ती पलिश्ती मानिसहरू इस्राएली मानिसहरूका दास सरह भए।

फेरि त्यहाँ इस्राएलीहरू अनि पलिश्तीहरूको बीचमा युद्ध भयो। एल्हानान, याएरका छोराले लहमीलाई मारे। लहमी गोल्यतका भाइ थिए। गोल्यत गात शहरका थिए। लहमीको भाला अत्यन्त ठूलो अनि गह्रौ थियो। त्यो तानको विशाल डन्डा जस्तै थियो।

पछि, इस्राएलीहरूले पलिश्तीहरूसित गात शहरमा युद्ध लडे। यो शहरमा एकजना दैंत्य मानिस थियो। त्यसको हात अनि खुट्टामा चौबीसवटा औंलाहरू थिए। त्यस मानिसको प्रत्येक हातमा छः वटा औंलाहरू अनि प्रत्येक खुट्टामा छ वटा औंलाहरू थिए। त्यो पनि दैत्यहरूको छोरा थियो। यसरी जब त्यस मानिसले इस्राएललाई निन्दा गर्यो, तब जोनाथनले त्यसलाई मारिदिए। जोनाथन शिमेअका छोरा थिए। शिमेअ दाऊदका दाज्यू थिए।

ती पलिश्ती मानिसहरू गात शहरका दैंत्यहरूका (रफाका सन्तान) छोराहरू थिए। दाऊद अनि तिनका सेवकहरूले ती दैंत्य मानिसलाई मारे।

1 पत्रुस 1

पत्रुस, येशू ख्रीष्टका प्रेरितद्वारा अभिवादन!

परमेश्वरद्वारा चुनिएको जो आफ्ना घरदेखि टाढामा पोन्टस्, गलातिया, क्यापडोसिया, एशिया अनि बिथनियाभरि फैलिएर बसेका मानिसहरू प्रति। परमेश्वरले तिमीहरूलाई पवित्र मानिस बनाउनु भएको थियो। तिमीहरूलाई पवित्र तुल्याउने कार्य आत्माको हो। परमेश्वरको आज्ञाकारी र येशू ख्रीष्टको रगतले अभिषेक गरी शुद्ध पार्न तिमीहरू चुनिएका थियै।

परमेश्वरको अनुग्रह तिमीहरूमा अधिक भन्दा अधिक बढेर जाओस्।

जिउँदो आशा

परमेश्वर जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन् उहाँको प्रशंसा होस्। परमेश्वरमा सीमाविहिन कृपा छ र उनको कृपाको कारणले हामीलाई नयाँ जीवन दिइएको छ। यो नयाँ जीवनले मृत्युदेखि येशू ख्रीष्टको पुनरुत्थानद्वारा हामीप्रति सजीव आशा ल्याउँछ। अब हामी आशीर्वादको आशा राख्छौं जो उहाँको नानीहरूका निम्ति उहाँकहाँ छ। यो आशीर्वाद तिमीहरूका निम्ति स्वर्गमा जोगाएर राखिएको छ। यी आशीर्वादहरू ध्वंश, नष्ट अथवा धमिलो हुनेछैन। जबसम्म तिमीहरूले मुक्ति पाउँदैनौ।

तिम्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरू सुरक्षित रहन्छौ। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरूलाई समयको अन्तमा दिइनेछ। यसले तिमीहरूलाई अत्यन्त सुखी तुल्याउनु पर्छ यद्यपि क्षणिक समयकोलागि सबै प्रकारको कष्ट भोग्दा तिमीहरूलाई दु:खी बनाँउछ। यी दु:ख-कष्टहरू किन हुन्छन्? तिमीहरूको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरूमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।

तिमीहरूले ख्रीष्टलाई देखेका छैनौ तर पनि तिमीहरू उहाँलाई प्रेम गर्छौ। तिमीहरूले अहिले उहाँलाई देख्न सक्तैनौ तर तिमीहरू उहाँमाथि विश्वास गर्छौ। तिमीहरू अकथनीय अनि गौरवमय आनन्दले परिपूर्ण छौ। तिमीहरूको विश्वासको एक लक्ष्य छ। त्यो लक्ष्य तिमीहरूको आत्मा बचाउँनु हो। अनि तिमीहरूले तिमीहरूको लक्ष्य जो मुक्तिको निम्ति हो त्यो प्राप्त गर्दैछौ।

10 अगमवक्ताहरूले सावधानपूर्वक अध्ययन गरे अनि यो मुक्तिको विषयमा जान्ने कोशिश गरे। ती अगमवक्ताहरूले अनुग्रहको बारेमा अगमवाणी गरे जो तिमीहरूलाई देखाइयो। 11 ख्रीष्टको आत्मा ती अगमवक्ताहरूमा थियो। अनि आत्माले ती दु:ख-कष्टहरूको बारेमा, जो ख्रीष्टहरूको बारेमा, जो ख्रीष्टमाथि घट्ने थियो अनि त्यो महिमा जो ती दु:ख कष्टहरू पछि आउनेछन्, भनिरहेथ्यो। ती अगमवक्ताहरूले तिनीहरूलाई त्यो आत्माले के देखाइ रहेछन्, त्यसबारे जान्ने कोशिश गरे। ती कुराहरू कहिले घट्नेछन् अनि त्यसबेला संसारको अवस्था कस्तो हुनेछ, तिनीहरूले यो जान्ने कोशिश गरे।

12 यो तिनीहरूलाई देखाइयो कि जुन सेवा तिनीहरूले गरे तिनीहरू स्वयंका निम्ति होइन। ती अगमवक्ताहरूले तिमीहरूको सेवा गरिरहेका थिए जब तिनीहरूले यो कुराको विषयमा भने जो अहिले तिमीहरूले सुन्यौ। तिनीहरू जसले तिमीहरूलाई सुसमाचार प्रचार गरे तिमीहरूलाई ती कुराहरू भने। तिनीहरूले तिमीहरूलाई त्यो पवित्र आत्माको सहायताले भनिएका कुराहरू ती कुराहरू हुन जुन स्वर्गदूतहरू पनि जान्न उत्सुक छन्।

पवित्र जीवनको निम्ति आह्वान

13 यसर्थ सेवाको निम्ति मनलाई तयार पार अनि आत्म-नियन्त्रण गर। तिमीहरूले अनुग्रहकोलागि आशा गर्नु पर्छ जुन तिमीहरूलाई दिइनेछ, जब येशू ख्रीष्ट आउनु हुन्छ। 14 विगतमा तिमीहरूले यस विषयमा बुझेनौ, यसर्थ तिमीहरू नराम्रा कुराहरूले डोर्याइएका थियौ। तर अहिले तिमीहरू परमेश्वरका आज्ञाकारी बालकहरू हौ। यसर्थ बितेको समयमा जसरी बाँचेका थियौ, त्यसरी नबाँच। 15 तर परमेश्वर जस्तै पवित्र होऊ अनि तिमीहरूले गर्ने सबै कुरामा पवित्र बन। परमेश्वर एक हुनुहुन्छ जसले तिमीहरूलाई बोलाउनुभयो। 16 यो धर्मशास्त्रमा लेखिएको छ, “पवित्र बन, किनभने म पवित्र छु।”(A)

17 तिमीहरू परमेश्वरलाई प्रार्थना गर्छौ अनि उहाँलाई पिता भनी सम्बोधन गर्छौ। परमेश्वरले मानिसको कार्यलाई पक्षपात बिना जाँच गर्नुहुन्छ। यसर्थ, पृथ्वीमा प्रवासीहरू झैं बाँचिरहेको समयमा परमेश्वरको भय मानेर तिमीहरू बाँच्नु पर्छ। 18 तिमीहरू जान्दछौ कि विगत समयमा तिमीहरू लक्ष्यहीन भई बाँचेका थियौ। तिमीहरूले त्यस तरिकाले जीवित रहने कुरा ती मानिसहरूबाट सिक्यौ जो तिमीहरू भन्दा अघि बाँचिरहेका थिए। तर तिमीहरूलाई त्यस तरिकाले बाँच्नबाट बँचाइयो। तिमीहरू किनियौ ती वस्तुहरूद्वारा होइन जो सुन वा चाँदी जस्तै नष्ट हुन्छ। 19 तर तिमीहरू ख्रीष्टको बहुमूल्य रगतले किनियौ, जो दोषरहित भेंड़ाको पाठो हुनुहुन्छ। 20 विश्व निर्माण अघि नै ख्रीष्ट चुनिनु भएको थियो। तर तिमीहरूको लागि यो अन्तिम समयमा उहाँलाई संसारमा चिनाइयो। 21 ख्रीष्टद्वारा तिमीहरू परमेश्वरमाथि विश्वास गर्छौ। परमेश्वरले ख्रीष्टलाई मृत्युबाट बौरी उठाए। तब परमेश्वरले उहाँलाई महिमा दिनु भयो। यसर्थ तिमीहरूको विश्वास अनि आशा परमेश्वरमा छ।

22 अहिले, तिमीहरूले साँच्चो भातृप्रेम देखाऊ सत्यको पालन गरेर स्वयंलाई शुद्ध तुल्याएका छौ। यसर्थ एक-अर्कामा पूर्ण ह्रदयबाट गहिरो प्रेम गर। 23 तिमीहरू फेरि जन्मेका छौ। यो नयाँ जीवन नष्टमय वस्तुबाट आएको होइन तर यो जीवन नष्ट नहुने वस्तुबाट आएको छ। तिमीहरू सर्वदा रहिरहने परमेश्वरको अन्त नहुने सजीव सन्देशद्वारा जन्माइएका हौ। 24 धर्मशास्त्रले भन्छ:

“मानिसहरू सधैँ बाँच्तैनन् तिनीहरू घाँस झैं हुन्,
    तिनीहरूको महिमा घाँसको फूल झैं हो।
घाँस ओइलिन्छ,
    अनि फूलहरू झर्छन्।
25 तर परमेश्वरको वाणी सदैव रहिरहन्छ।”(B)

अनि त्यो, यो वचन हो जुन तिमीहरूलाई भनियो।

योना 3

परमेश्वरको बोलावट अनि योनाको आज्ञा पालन

त्यसपछि परमप्रभुले योनालाई फेरि भन्नुभयो, “तिमी निनवेको ठूलो शहरमा जाऊ अनि म जे कुरा तिमीलाई बताउँछु सो त्यहाँ प्रचार गर।”

यसैले योना उठे अनि परमप्रभुको आज्ञा पालन गर्दै निनवेमा गए। निनवे साह्रै ठुलो शहर थियो, त्यो पार गर्न तिन दिन लाग्थ्यो।

योना शहरको मध्य भागमा गए अनि मानिसहरूलाई प्रचारगर्न शुरु गरे। योनाले भने, “चालिस दिन पछि निनवे शहर नाश हुनेछ।”

परमेश्वरबाट त्यस्तो संदेश आएपछि निनवेका मानिसहरूले परमेश्वरमाथि विश्वास गरे। अनि तिनीहरू उपवास बसे र तिनीहरूले गरेका पापहरूका निम्ति सोच्न थाले। मानिसहरूले दुःख व्यक्त गर्नका निम्ति बिशेष प्रकारको वस्त्रहरू धरण गरे। शहरको सबै साना-ठूलाहरूले यसै गर्न थाले।

निनवेका राजाले यो समचार सुने अनि उनले पनि आफ्नो नराम्रो कर्मका निम्ति शोक मनाए। यसको निम्ति राजाले आफ्नो सिंहासन त्यागे। उनले आफ्नो राज वस्त्र त्यागे र आफ्नो दुःख व्यक्त गर्न शोक वस्त्र लगाए। त्यसपछि राजा धुलोमा बसे। त्यसपछि राजाले एउटा वचन लेख्न लगाए र शहरमा घोषणा गरेः

राजा अनि ठुलो शसकहरू को आदेश यो थियोः

केही समयको निम्ति कुनै पनि मानिस अथवा पशु गाई-गोरु अथवा भेंडा़-बख्रा, कसैले केहि खाने कुरा नखानु। कुनै पनि सजीव प्रणीले निनवे मा केहि पनि खाने पिउनेछैन। तर प्रत्येक मानिस र पशुहरूले पनि विशेष प्रकारको वस्त्र धारण गरुन् जसबाट यो देखियोस् कि तिनीहरू सबै दुःखी छन्। मानिसले परमेश्वरलाई ठूलो स्वरले बोलाउनेछन्। अनि प्रत्येक मानिसले आफ्नो जीवन शैली बद्ली गर्नु पर्नेछ, अनि उसले नराम्रो कर्म छोड्नु पर्नेछ। त्यसपछि हुनसक्छ, परमेश्वरले आफ्नो मन परिवर्तन गर्नु हुनेछ। अनि जुन योजना गर्नु भयो त्यो नगर्न पनि सकनु हुन्छ। परमेश्वर क्रोधित हुन रोकिनु होला र हामीहरू ध्वंश नहौंला।

10 मानिसहरूले जुन कुरा गरेकाथिए त्यो परमेश्वरले देख्नु भयो। कसरि तिनीहरू आफ्ना कुकर्मबाट फर्किएर आए। त्यसैले परमेश्वरले आफ्नो इच्छा बद्लिनुभयो, अनि तिनीहरूमाथि जुन आपत्ति ल्यउन सोच्नु भएको थियो सो गर्नु भएन। परमेश्वरले मानिसलाई दण्ड दिनु भएन।

लूका 8

येशूसँग एउटा समूह

अर्को दिन, येशूले परमेश्वरको राज्यको बारेमा प्रचार र सुसमाचारहरू बताउँदै गाँउ औ शहरहरू यात्रा गर्दै जानु भयो। बाह्रैजना प्रेरितहरू उहाँसँगै थिए। त्यहाँ उहाँसँग यस्ता स्त्रीहरू पनि थिए जो रोग तथा दुष्ट आत्माबाट छुटकारा भएका थिए। तिनीहरू माझ एउटी मरीयम नाउँ भएकी स्त्री पनि थिई। त्यो मग्दलिनी शहरको वासिन्दा थिई। उसकोबाट सातवटा भूतहरू निकालिएको थियो। अरू पनि स्त्रीहरूः योअन्ना, चूजाकी पत्नी (होरोदको सहयोगी) सुजाना, र धेरै अरू स्त्रीहरू त्यस स्त्रीसँग थिए। ती स्त्रीहरूले येशू र उहाँको प्रेरितहरूलाई आफ्नै रूपिँया पैसा दिएर मद्दत पुर्याए।

येशूद्वारा बीऊ छर्नेको कथा प्रयोग

(मत्ती 13:1-17; मर्कूस 4:1-12)

येशूले यात्रा गर्नु भएको प्रत्येक शहरका मानिसहरू भेला भएर उहाँलाई घेरी रहेका थिए। उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो:

“एकजना खेती वाला बीऊ छर्नलाई निस्कयो। जब त्यसले बीऊ छर्न थाल्यो कतिपय बीऊहरू बाटोतिर झरे। मानिसहरूले बीऊहरू टेके अनि चरा-चुरुङ्गीले ती बीऊहरू खाइदिए। केही बीऊहरू चट्टानमा छरिए। ती बीऊहरू उम्रन थाले पनि चिसोपनको अभावले सुकी गए। कतिपय बीऊहरू काँढाघारीमा छरिए। ती बीऊहरू उम्रन थाले, तर पछिबाट ती काँढाहरू बढेर तिनीहरूलाई पनि बढन रोक्यो। अनि कतिपय बीऊहरू राम्रै जमीनमा परे। ती बीउहरू उम्रन लागे अनि सय गुणा धेरै अन्न दिनसक्ने भए।”

चेलाहरूले उहाँलाइ प्रश्न गरे, “यो कथाको अर्थ के हो?”

10 येशूले भन्नुभयो, “तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य जान्नलाई मौका दिइएकोछ। तर दृष्टान्तहरू म अरू मानिसहरूलाई पनि प्रयोग गर्छु कारण,

‘तिनीहरू हेर्नत हेर्छन्,
    तर देख्दैनन्,
अनि तिनीहरू सुन्दछन्,
    तर तिनीहरू बुझ्दैनन्।’(A)

येशूद्वारा बीउको दृष्टान्त व्याख्या

(मत्ती 13:18-23; मर्कूस 4:13-20)

11 “यो दृष्टान्तको अर्थ के हो भनेः बीऊ परमेश्वरको वचन हो। 12 बाटोमा झरेको बीऊहरू के भए होलान? तिनीहरू पनि परमश्वरको वचन सुन्नेहरूर जस्तै हुन् ती वचनहरू लगेर जान्छ। त्यसैले त्यस्ता मानिसहरूले वचनमा विश्वास गर्दैन्न अनि जोगिनेछन्। 13 तर चट्टानमा झरेको बीऊर चाँहि के हुन्? तिनीहरू चाँहि परमेश्वरको वचनहरू सुन्नेहरू जस्तै हुन अनि खुशीसँग ग्रहण गर्छन्। तर ती मानिसहरू गहिरो हुँदैन। तिनीहरू केही समय सम्म मात्र आफ्नो विश्वासमा रहनेछ। त्यसपछि जब केही परीक्षा आउँछ, तिनीहरू विश्वास गर्न छोड्छन् अनि परमेश्वरदेखि टाढा बस्छन्।

14 “काँढाघारीमा झरेको बीऊहरू चाँहि के होलान? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछन्, तर तिनीहरू जीवनका चिन्ता, धन, सुख चैनमा परेर निसासिन्छन्। त्यसैले तिनीहरूबाट फलहरू लाग्न पाऊँदैन। 15 अनि त्यो राम्रो जमीनमा परेको बीऊहरू चाँहि के होला? तिनीहरू पनि ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचनलाई असल र इमान्दार मनले सुन्छन्। तिनीहरू परमेश्वरको वचन पालन गर्दछन् अनि धैर्यसँग राम्रो फलहरू पनि फलाउँछन्।

आफूले बुझेजति बुझाऊ

(मर्कूस 4:21-25)

16 “कुन मानिसले बत्ती बालेर भाँडाले छोप्छ? अथवा खाटमुनि राख्छ? तर त्यो मानिसले बत्ती बालेर सामदानमा नै राख्दछ। जसद्वारा आउने मानिसहरूले प्रशस्त उज्यालो पाउँदछन्। 17 लुकेका प्रत्येक कुराहरूनै स्पष्ट देखिनेछ अनि उज्यालोमा ल्याइनेछ। 18 यसर्थ कसरी सुन्न पर्ने हो सर्तक होऊ। जसले केही बझ्न सक्छ त्यसले अरू धेरै जान्न पाउँछ। तर जसले बुझ्दैन, उसकोमा जति छ त्यो पनि हराउँछ।”

येशूकोलागि चेलाहरूनै साँच्चो परिवार

(मत्ती 12:46-50; मर्कूस 3:31-35)

19 येशूको आमा र भाइहरू उनलाई भेट्न आए। अत्यन्तै भीड भएको कारणले तिनीहरूले उहाँलाई भेट्न गाह्रो पर्यो। 20 कसैले उहाँलाई भने, “तपाईंको आमा र भाइहरू तपाईंलाई बाहिर पर्खेर उभिरहेकाछन्। तिनीहरू भेट्न चाहन्छन्।”

21 येशूले तिनीहरू सबैलाई उत्तर दिनुभयो, “मेरा आमा र मेरा भाइहरू तिनीहरू हुन् जसले परमेश्वरको वचन सुन्दछन् अनि त्यसलाई पालन गर्दछन्।”

चेलाहरू येशूको शक्ति हेर्दछन्

(मत्ती 8:23-27; मर्कूस 4:35-41)

22 एक दिन येशू अनि चेलाहरू एउटा डुङ्गामा चढे। उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ मसित झीलको अर्को पट्टि जाऔं।” अनि तिनीहरू हिँड्न थाले। 23 जब तिनीहरूले डुङ्गा खियाए, येशू निदाउनुभयो। झीलमा एउटा ठूलो आँधी चल्यो। डुङ्गामा पानी भरिन थाल्यो औ तिनीहरू खतरामा पर्न गए। 24 चेलाहरू येशूकहाँ गए अनि उहाँलाई व्यूँझाए। तिनीहरूले भने, “गुरूज्यू! गुरुज्यू! हामी डुब्न लाग्यौं।”

येशू उठ्नु भयो। उहाँले आँधी र छालहरूलाई हकार्नु भयो। आँधी थामियो, अनि झील शान्त बन्यो। 25 उहाँले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ छ?”

चेलाहरू डराए अनि चकित भए। तिनहरू आपसमा कुरा गर्न लागे, “उहाँ कस्ता मानिस हुनुहुन्छ? उहाँ आँधी र छाललाई आज्ञा दिनु हुन्छ अनि तिनीहरू पनि उनको आज्ञा पालन गर्छन्।”

दुष्टात्मा लागेको मानिस

(मत्ती 8:28-34; मर्कूस 5:1-20)

26 तिनीहरू झीलमा डुङ्गा खियाउँदै थिए। उनीहरू गालील पारीको इलाकामा पुगे जहाँ गेरासिन मानिसहरू बस्थे। 27 जब येशू त्यो डुङ्गाबाट उत्रनु भयो, त्यसैबेला शहरबाट आएको एकजना मानिस उहाँलाई भेट्न आए। त्यस मानिसलाई भूत लागेको थियो। त्यस मानिसले धेरै समयदेखि लुगा लाउँदैन थियो। त्यो मानिस घरमा नबसेर चिहान घारीमा बस्थ्यो।

28-29 त्यसलाई भूतले धेरै पटक समातको थियो। त्यसलाई जेलमा राखियो अनि हात खुट्टाहरू साँङ्गलोले बाँधियो। तर त्यस मानिले सधैँ साङ्गलाहरू चुडाउँथ्यो, अनि उसलाई भूतले एकान्त ठाँउतिर खेद्थ्यो। तर येशूले त्यस मानिसबाट त्यो भूत-आत्मालाई बाहिर निस्किने आज्ञा दिनुभयो। त्यो मानिस येशूको अघाडी घोप्टेर ठूलो स्वरले चिच्यायो, “हे, सर्वोच्च परमेश्वरका पुत्र येशू, मबाट तपाईं के चाहनुहुन्छ? दया गरी मलाई यातना नदिनुहोस्।”

30 येशूले त्यसलाई सोध्नु भयो, “तेरो नाम के हो?”

त्यस मानिसले जवाफ दियो, “लेजिअन।” त्यसले “लेजिअन” भन्यो किनभने धेरै भूतहरू ऊ भित्र पसेका छन्। 31 ती भूतहरूले तिनीहरूलाई अनन्त अँध्यारोमा नपुर्याइयोस् भनी याचना गरे। 32 त्यस पहाडमा एउटा ठूलो बथान सुँगुरहरू चरिरहेका थिए। ती भूतहरूले तिनीहरूलाई सुँगुरहरूमा पसाइदिनुहोस् भनी येशूलाई बिन्ती गरे अनि उहाँले तिनीहरूलाई त्यसै गर्ने अनुमति दिनुभयो। 33 तब भूतहरू त्यो मानिसबाट निस्कीए अनि सुँगुरहरूमा पसे। त्यति भएपछि सुँगुरहरू पहाड र समुद्रको किनार तिर भागा-भाग गर्न लागे र सबै सुँगुरहरू पानीमा डुबे।

34 जब सुँगुर गोठालाहरूले चाल पाए, तिनीहरू पनि भागे। तिनीहरूले यो घट्ना त्यहाँको बस्ती र शहरमा सबैतिर सुनाए। 35 मानिसहरू के भयो भनेर बाहिर निस्किए। तिनीहरू येशूकहाँ आए अनि त्यहाँ त्यो मानिस जसबाट भूतहरू भागेका थिए उहाँको खुट्टामा बसिरहेको पाए। त्यो मानिसले लुगा लगाएको थियो अनि त्यसको मनस्थिति ठीकै थियो। मानिसहरू डराए। 36 मानिसहरू जो त्यस घट्ना को दर्शक थिए अरू मानिसहरूलाई येशूले कसरी त्यो भूत लागेको मानिसलाई निको पार्नु भयो बताए। 37 गेरासेनका सबै मानिसहरूले येशूलाई त्यस ठाँउ छाडी कतै जान बिन्ती गरे। तिनीहरू खुबै डराएका थिए।

अनि उहाँ एउटा डुङ्गामा चढ्नु भयो अनि गालीलतर्फ जानु भयो। 38 त्यो मानिस जसलाई उहाँले निको पार्नु भएको थियो त्यसले पनि येशूसँगै जान बिन्ती गरयो। तर येशूले यसो भन्दै त्यो मानिसलाई जान लगाउनु भयो, 39 “घरतिर जाऊ अनि परमेश्वर तिम्रा निम्ति जे गर्नुभयो त्यसबारे मानिसहरूलाई सुनाऊ।”

त्यसपछि त्यो मानिस येशूले त्यसको निम्ति के-के गर्नुभयो सारा शहरका मानिसहरूलाई भन्दै हिड्‌यो।

येशूद्वारा मृतयुवतीलाई जीवनदान अनि बिमारी स्त्रीलाई चङ्गाई

(मत्ती 9:18-26; मर्कूस 5:21-43)

40 येशू गालील र्फकनुभयो, मानिसहरूले उहाँलाई स्वागत गरे। सबैले उहाँका निम्ति प्रतीक्षा गरिरहेका थिए। 41 एकजना याइरस नाउँ भएको मानिस येशूकहाँ आए। याइरस सभा-घरका प्रमुख थिए। तिनले येशूको पाऊमा परेर उहाँलाई आफ्नो घरमा जानु बिन्ती गरे। 42 याइरसको एउटी मात्र छोरी थिई। त्यो बाह्र र्बष पुगेकी थिई, अनि जो मर्नै लागेकी थिई।

जब येशू याइरसको घरमा जानु हुँदैथ्यो, मानिसको भीडले तिनलाई वरिपरिबाट ठेलमठेल गरी रह्यो। 43 एकजना बाह्र र्बष देखि रक्तस्रावले पिडित एउटी आइमाई पनि त्यहाँ थिई। आफ्नो सारा जेथा वैद्यको ओखती-मूलोमा खर्च गर्दा पनि तिनलाई निको पार्ने कोही निस्केनन्। 44 त्यो आइमाई पछि पट्टि आएर येशूको कोटको छेउ छोई। त्यसै समयदेखि त्यसको रक्तस्त्राव बन्द भयो। 45 अनि येशूले भन्नु भयो, “मलाई कसले छोयो?”

सबैले भने कि तिनीहरू कसैले उनलाई छोएका छैनन्। पत्रुसले भने, “गुरुज्यु, मानिसहरू वरिपरि छन् अनि तिनीहरूले तपाईंलाई ठेलिरहेका छन्।”

46 तर येशूले भन्नुभुयो, “कसैले मलाई छोयो। मैले मबाट शक्ति निस्केर गएको चाल पाएँ।” 47 जब त्यो आईमाईले यी कुराहरू सुनी, ऊ लुक्न सकिन, ऊ काम्दै आई अनि येशूको अघि निहुरिएर दण्डवत गरी। ती जम्मै मानिसहरूको अघि त्यस आइमाईले येशूलाई स्पर्श किन गरी अनि कसरी झट्टै आफ्नो रोगबाट मुक्त भएकी थिई बताई। 48 येशूले त्यस आइमाईलाई भन्नु भयो, “मेरी छोरी, तिम्रो विश्वासले तिमी निको भयौ। शान्तिसँग जाऊ।”

49 जब येशू बात गरिरहनु भएको थियो, एकजना सभा-घरका अगुवा घरबाट आए र भने, “तिम्री छोरी मरिसकेकी छे। अब गुरूलाई कष्ट नदेऊ।”

50 जब येशूले यो कुरा सुन्नु भयो। उहाँले याइरसलाई भन्नु भयो, “नडराऊ केवल विश्वास गर अनि तिम्रो छोरी निको भई हाल्छे।”

51 येशू त्यो घरमा जानुभयो। उहाँले आफ्नो साथमा पत्रुस, यूहन्ना, याकूब र त्यो केटीको बाबु र आमालाई पनि लानु भयो। उहाँले अरू मानिसहरूलाई भित्र पस्न दिनु भएन। 52 सबै मानिसहरू त्यो केटी मरेकोमा रूँदै शोक गरिरहेका थिए। तर येशूले भन्नुभयो, “नरोऊ त्यो मरेकी छैन, ऊ सुतिरहेकी छे।”

53 मानिसहरू येशूको कुरा सुनेर हाँस्न लागे किनभने त्यो केटी मरेकी छ भनेर तिनीहरूलाई थाहा थियो। 54 तर येशूले त्यो केटीको हात समात्नु भयो अनि भन्नुभयो, “सानो छोरी, उठ!” 55 त्यसको प्राण फर्केर आयो, अनि त्यो जुरुक्क उठी। येशूलेभन्नु भयो, “यसलाई केही खान देऊ।” 56 त्यो केटीका आमा बाबूहरू छक्क परे। उहाँले यो घट्नाको विषयमा तिनीहरूलाई कसैलाई नभन्नु भनी आदेश दिनु भयो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International