Revised Common Lectionary (Complementary)
परमेश्वरको सेवक तड्पी रहेछ
13 “मेरो दासलाई हेर! ऊ एकदम सफल हुने छ। उनी एकदम मुख्य हुनेछ। भविष्यमा मानिसहरूले उनको आदर र सम्मान गर्नेछन्। 14 तर मानिसहरू मेरो दासलाई देखेर छक्क पर्नेछन्। उसलाई यस्तो प्रकारले चोट पुर्याइएको थियो कि उसलाई मानिस भनेर चिन्नलाई पनि गाह्रो पर्थ्यो। 15 तर अझ मानिसहरू छक्क पर्नेछन्। राजाले उसलाई हेर्नेछन, छक्क पर्नेछन् र मुखबाट एक शब्द पनि निस्कने छैन्। ती मानिसहरूले मेरो दासको कथा सुनेनन्। तिनीहरूले के भयो देखे। तिनीहरूले त्यो कथा सुनेनन् तर तिनीहरूले बुझे।”
53 हामीले घोषणा गरेका कुराहरू वास्तवमा कसले विश्वास गर्छ? वास्तवमा कसले परमप्रभुको दण्डलाई स्वीकार गर्दछ?
2 ऊ एक सानो पालुवा जस्तो परमप्रभुको अगाडी हुर्कियो। ऊ सुख्खा भूइँमा उम्रिरहेको एउटा जरा जस्तै थियो। उसमा त्यस्तो खास गौरव थिएन। उसमा विशेष कुरा देखिँदैन थियो। यदि हामीहरूले उसलाई हेर्यौं भने हामी त्यस्तो केही खास कुरा देख्ने छैनौ जसले ऊ प्रति हामी आकृष्ट नै हुने कारणै देखिन्दैन। 3 मानिसहरूले उसलाई हाँसोको पात्र बनाए अनि आफ्नो साथीहरूले उसलाई छाडिदिए। ऊ पीडा नै पीडाले भरिएको मानिस थियो। ऊ राम्रो प्रकारले निको हुनेछ भनेर जान्दथे। मानिसहरूले उसलाई हेर्न दिएनन्। हामीले उसलाई ध्यानै दिएनौं।
4 तर उसले हाम्रा कष्टहरू आफ्नै ठान्यो। उसले हाम्रा यातनाहरूको भारी उठायो अनि हामीले सोच्यौं उसलाई परमेश्वरले दण्ड दिनुभयो। हामीले सोच्यौ उसले गरेको दुष्टकर्मको लागि परमेश्वरले दण्ड दिनुभयो। 5 तर हामीले गरेको भूल कामहरूका लागि उसलाई पीडा सहन बाध्य गराइयो। उसलाई हाम्रो दोषकोलागि श्राप दिइयो। हाम्रो ऋणको निम्ति उसलाई सजाय दिइयो। उसको पीडाले नै हामीलाई क्षमा गरियो। 6 हामी सबै भेंडा़ जस्तै लक्ष्यविहीन घुमिरह्यौं। हामी सबै आ-आफ्ना बाटो तिर लाग्यौ। परमप्रभुले हाम्रो दोषहरू माफ गरिदिनु भयो अनि हामीले आफ्ना सबै दोष उहाँमाथि थुपार्यौ।
7 उसलाई चोट पुर्याएर दण्ड दिइयो। तर उसले कहिल्यै विरोध गरेन्। मार्नलाई लगेको भेंडा जस्तै उसले केही पनि भनेन। ऊ ऊन काट्दा पनि चुपचाप रहने भेंडाको पाठो जस्तो भयो। उसले आफ्नै बचाउको लागि कहिल्यै मुख खोलेन। 8 मानिसहरूले जबरजस्ती गरेर उसलाई लगे। अनि तिनीहरूले उसलाई निष्पक्ष प्रकारले न्याय गरेनन्। कसैले पनि उसको परिवारको बारेमा केही भन्न सकेनन, किनभने बाँचिरहेका मानिसहरूका ठाउँबाट उसलाई लगेर गयो। मेरा मानिसहरूका पापहरूका खातिर उसलाई दण्ड दिइयो। 9 ऊ मर्यो र उसलाई धनीहरूको चिहानसँगै गाडियो। उसलाई दुष्ट मानिसहरूसँग गाडियो। उसले केही नराम्रो काम गरेन। उसले कहिल्यै झूटो बोलेन तर यस्ता दुर्घटनाहरू उमाथि भए।
10 परमप्रभुले उसलाई श्राप दिने निर्णय गर्नु भयो। परमप्रभुले ऊ पीडित हुनै पर्छ भनेर निर्णय गर्नुभयो। यसकारण दासले स्वयंलाई मर्नको लागि समर्पण गरे। तर उसले लामो समय सम्म नयाँ जीवन बाँचे। उसले आफ्ना मानिसहरूलाई देख्नेछन्। परमप्रभुले उसबाट चाहे जस्तै उसले ती कुराहरू पूर्णगर्ने छ। 11 मनमा ऊ कैयौं कुराहरूबाट पीडित हुनेछ तर उसले हुने असल कुराहरू देख्नेछ। उसले सिकेका कुराहरूबाट ऊ सन्तुष्ट हुनेछ।
परमप्रभु भन्नु हुन्छ, “मेरो धर्मी दासले धेरैलाई दोषी बनाउनेछैन, उसले तिनीहरूका दोष बोकी लानेछ। 12 यसकारण मैले उसलाई मेरो मानिसहरू मध्ये पुरस्कार दिएँ। उसले ती सबै चीजहरू बलिया मानिसहरूसँग बाँड्नेछ। म उसैको लागि यो कुरा गरिरहेछु किनभने उसले मानिसहरूको लागि आफ्नो जीवन अर्पण गर्यो अनि मर्यो। मानिसहरूले भने ऊ एक अपराधी थियो। तर वास्तवमा के थियो भने उसले अन्य सबैका पापहरू स्वयंले बोक्यो। अनि जोसँग पापहरू छन् ती मानिसहरूकै लागि बोल्यो।”
प्रमुख संगीतकारलाई “मृगको प्रभातको धुन।” दाऊदको भजन।
22 हे मेरो परमेश्वर, हे मेरो परमेश्वर! किन मलाई छाडनुभयो?
मलाई बचाउँन तपाईं किन यति टाढा हुनुहुन्छ!
तपाईं मेरो विलौना, गुहार सुन्नलाई कति टाढा हुनुहुन्छ!
2 हे मेरो परमेश्वर, मैले तपाईंलाई दिउँसो बोलाएँ,
अनि मैले निरन्तर तपाईंलाई रातभरि बोलाएँ,
तर तपाईंले मलाई उत्तर दिनु भएन।
3 हे परमेश्वर तपाईं मात्र पवित्र हुनुहुन्छ तपाईं राजा जस्तो बस्नुहुन्छ।
इस्राएल का प्रशंसाहरू तपाईंको सिंहासन हो।
4 हाम्रा पिता-पुर्खाहरूले तपाईंमाथि भरोसा गरे
हो तिनीहरूले तपाईंमाथि भरोसा गरे, अनि तपाईंले तिनीहरूलाई बचाउनु भयो।
5 हे परमेश्वर, हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई गुहार मागे अनि तिनीहरू आफ्ना शत्रुहरूबाट जोगिए।
तिनीहरूले तपाईंमाथि भरोसा राखे अनि तिनीहरू निराश भएनन्!
6 यसकारण के म कीरा हुँ मानिस होइन?
मानिसहरू मबाट लज्जित छन्।
तिनीहरूले मलाई निन्दा गर्छन्।
7 प्रत्येक जसले मलाई हेर्छ मेरो खिसी गर्छ।
उसले आफ्नो टाउको हल्लाउँछ र मलाई जिब्रो देखाउँछ।
8 तिनीहरूले मलाई भन्दछन् “परमप्रभुलाई गुहारको लागि बोलाऊ,
हुन सक्छ तिमीलाई उनले बचाउलान।
यदि उनले तिमीलाई सँच्ची नै मन पराउँदछन् भने निःसन्देह उनले तिमीलाई रक्षा गर्ने नै छन्!”
9 हे परमेश्वर, सत्य हो भनि तपाईं मात्र एकजना हुनुहुन्छ जसमाथि म आश्रित हुन्छु।
तपाईंले म जन्मेको दिनदेखि नै मेरो खुबै हेरचाह गर्नु भएकोछ।
जब म दूध चुस्ने बालकै थिएँ तपाईंले मलाई आश्वसन र सान्त्वना दिनुभयो।
10 तपाईं मेरो जन्म काल देखि नै परमेश्वर हुनुभएको छ।
म आमाको गर्भबाट निस्कने बित्तिकै तपाईंको हेरचाहमा राखिएको थिएँ।
11 यसैले हे परमेश्वर, मलाई नछाड्नु होस्!
सङ्कष्ट नजिक छ। त्यहाँ मलाई साथ दिने कोही पनि छैनन्।
12 मानिसहरू मेरो चारैतिर छन्।
तिनीहरू बलिया साँढेहरू जस्ता छन् जसले मलाई घेरेर राखेको छ।
13 तिनीहरूले मलाई गर्जंदै
शिकार निल्ने सिंहले जस्तै आक्रमण गरिरहेका छन्।
14 मेरो शक्ति क्षीण भएको छ
जसरी जमीनमा पानी पोखिन्छन्।
मेरा जम्मै हाडहरू अलग भइसकेको छन्।
मेरो आँट हराई सक्यो!
15 मेरो मुख फुटेको माटोको भाँडो जस्तै सूक्खा छ।
मेरो जिब्रोमाथि तालुमा टाँसिदै छ।
तपाईंले मलाई मृत्युको धूलोमा फ्याँक्नु भएकोछ।
16 ती “कुकुरहरू” मेरो वरिपरि छन्।
ती दुष्टहरूको समुहले मलाई पासोमा पारेका छन्।
तिनीहरूले मेरा खुट्टा र हातहरू चिथोरेका छन्।[a]
17 म मेरो हाडहरू देख्न सक्छु
अनि मानिसहरूले मलाई चियो गरिरहेका छन्!
तिनीहरूले मलाई हेरिरहेका छन्!
18 ती मानिसहरूले मेरो लुगाहरू बाँडिरहेका छन्।
तिनीहरूले मेरो पोशाकहरूको निम्ति चिठ्ठा उडाइरहेका छन्।
19 हे परमप्रभु, मलाई छोडी नजानुहोस्! तपाईं मेरो बल हुनुहुन्छ।
मेरो सहायताको निम्ति आइहाल्नुहोस्।
20 हे परमप्रभु, मेरो प्राणलाई तरवारबाट बचाउँनुहोस्।
मेरो बहुमूल्य प्राण ती कुकुरहरूबाट जोगाई दिनुहोस्।
21 सिंहको मुखदेखि मेरो रक्षा गर्नुहोस्।
साँढेहरूका सींगहरूबाट मेरो रक्षा गर्नुहोस्।
22 हे परमप्रभु, म तपाईंको विषयमा मेरा दाज्यू-भाइहरूलाई भन्नेछु।
महासभामा म तपाईंको प्रशंसा गाउने छु।
23 सम्पूर्ण मानिसहरू ज-जसले उहाँको प्रशंसा गर्छन् परमप्रभुको प्रशंसा गर।
हे इस्राएल का सन्तान हो, परमप्रभुलाई सम्मान देखाऊ।
हे, इस्राएल का मानिसहरू! परमप्रभुको डर मान र सम्मान गर।
24 किनभने परमप्रभुले सङ्कटहरूमा परेका सबै दीनहीन मानिसहरूलाई सहयोग गर्नुहुन्छ।
परमप्रभु तिनीहरूदेखि लज्जित हुनुहुन्न।
यदि मानिसहरूले परमप्रभुलाई गुहार मागे,
उहाँ आफैं तिनीहरूदेखि लुक्नु हुन्न।
25 हे परमप्रभु, तपाईंले जे गर्नु भएकोछ त्यसको निम्ति म तपाईंको प्रशंसा महासभामा गर्छु।
ती सम्पूर्ण भक्तजनहरूको सम्मुख मैले सबै जुन दिन्छु भनेर वचन दिएको थिएँ बलिहरू अर्पण गर्नेछु।
26 नम्र मानिसहरू, आऊ, खाऊ र सुन्तष्ट हौ!
तिमीहरू जो परमप्रभुलाई खोज्दै आएका छौ उहाँको प्रशंसा गर!
तिमीहरूका हृदयहरू सधैँको निम्ति खुशी रहोस्।
27 टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून्
र उहाँतिर फर्केर आऊन्!
विदशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।
28 किनभने परमप्रभु नै राजा हुनुहुन्छ।
उहाँले सबै जातिहरू माथि शासन गर्नुहुन्छ।
29 बलिया, स्वस्थ्य मानिसहरूले खाइसके पछि परमेश्वरको सम्मुख शिर निहुराएर ढोग गर्दछन्।
वास्तवमा, सबै मानिसहरू मर्नेछ
अनि जो मरिसकेका छन्,
तिनीहरूले परमेश्वर सम्मुख शिर निहुराएर ढोग्दछन्!
30 अनि भविष्यमा हाम्रा सन्तानहरूले परमप्रभुको सेवा गर्नेछन्।
मानिसहरूले सदा-सर्वदा उहाँको विषयमा भन्ने छन्।
31 प्रत्येक मानिसहरूले आफ्ना भावी सन्तान र केटा-केटीहरूलाई
परमेश्वरले गर्नु भएको राम्रा कुराहरूको विषयमा भन्नेछन्।
16 “त्यो करार यही हो जुन भविष्यमा आफ्ना मानिसहरूलाई बताउँनेछु।
म आफ्ना नियम तिनका हृदयमा हालिदिनेछु।
म आफ्ना नियम तिनका मनमा राखिदिन्छु, प्रभु भन्नुहुन्छ।”(A)
17 तब उहाँ भन्नुहुन्छ:
“अनि म तिनका पापहरू र अधर्मलाई क्षमा दिनेछु,
र म यी कुराहरू उप्रान्त फेरि कहिल्यै सम्झने छैन।”(B)
18 अनि जब यी सबको क्षमा हुन्छ त्यहाँ पापहरूका निम्ति बलिदानको फेरि कहिल्यै खाँचो पर्ने छैन।
परमेश्वरको नजिक आऊ
19 यसर्थ, दाज्यू-भाइ, दिदी-बहिनीहरू, परम-पवित्र स्थानमा पस्न हामी पूर्ण स्वतंत्र छौं। येशूको रगतको कारणले हामी बिना कुनै डर जानसक्छौ। 20 अनि येशूले हाम्रो निम्ति खोलिदिनु भएको एउटा नयाँ र जिउँदो बाटोबाट हामी प्रवेश पाउन सक्छौं। यस नयाँ बाटोले पर्दातिर डोर्याउँछ, जुन ख्रीष्टको शरीर हो। 21 जो हाम्रा महाप्रधान पूजाहारी हुनुहुन्छ जसले परमेश्वरका घर चलाउनु हुन्छ। 22 शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ। 23 हामीले आफूमा भएको आशालाई थाम्नुपर्छ र आफ्नो आशा बारे, मानिसहरूलाई बताउन छोडनु हुँदैन। आफूले वचन दिनुभएको कुरा परमेश्वरले गर्नुहुनेछ भन्ने कुरा हामी पत्याउनसक्छौं।
विश्वासमा दृढ हौ र एकअर्कालाई सघाऊ
24 हामीले एक अर्कालाई विचार गर्नुपर्छ अनि प्रेम देखाउन र राम्रो काम गर्न हामी एक-अर्कालाई कतिसम्म सक्रियतापूर्वक उत्साहित गर्न सक्छौं त्यो हेर्नुपर्छ। 25 हामीसँग भेट हुनाबाट तर्किनु हुँदैन। कतिपय मानिसहरू त्यसै गर्दछन्। हामीले एक अर्कालाई भेट्नु र सघाउनु पर्छ, तिमीहरूले यसै गर्नुपर्छ किनकि दिन[a] अझै नजिक-नजिक आउँदै छ।
परमेश्वरको अघि उभिन येशूले सहायता गर्नुहुन्छ
14 हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ। उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं। 15 हाम्रा प्रधान पूजाहारी, येशू हुनुहुन्छ जो हाम्रा कमजोरीहरू बुझ्न समर्थ हुनुहुन्छ। जब येशू यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक कुरामा परीक्षित हुनुभयो जसरी हामी परीक्षित छौं, तर उहाँले कहिल्यै पाप गर्नु भएन। 16 येशू हाम्रा प्रधान पूजाहारी हुनु भएकोले परमेश्वरको अनुग्रहाको सिंहासन अघि उभिन हामीलाई स्वतंत्रता छ। त्यहाँ हामी सहायताको निम्ति करूणा र अनुग्रह पाउँछौ जब ती चाहन्छौं।
7 जब ख्रीष्ट संसारमा हुनुहुन्थ्यो उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो र सहायता माग्नुभयो। त्यहाँ एकैजना मात्र हुनुहुन्थ्यों जसले उहाँलाई मृत्युबाट बचाउनु सकनुहुन्थ्यो र येशूले आँसु र आर्तनाद सहित प्रार्थना गर्नुभयो। येशू नम्र र आज्ञाकारी हुनुहुन्थ्यो, त्यसैले परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिनुभयो। 8 येशू परमेश्वरका पुत्र हुनुहुन्थ्यो तर उहाँले कष्ट भोग्नु भयो र त्यसबाट उहाँले आज्ञाकारी बन्न सिक्नुभयो। 9 तब नै येशू पूर्ण बनाइनु भयो अनि उहाँको आज्ञा मान्नेहरू सबैको निम्ति अनन्त मुक्तिको स्रोत बन्नुभयो।
येशू पक्राउपर्नु भयो
(मत्ती 26:47-56; मर्कूस 14:43-50; लूका 22:47-53)
18 जब येशूले प्रार्थना सिध्याउनु भयो, उहाँले आफ्ना चेलाहरू लिएर जानुभयो। तिनीहरू किद्रोन खोल्सा पारि ऊ बेंसी गए। अर्कोपट्टि त्यहाँ जैतुन रूखहरूको बगैंचा थियो। येशू र उहाँका चेलाहरू त्यहाँ गए।
2 यहूदा, उहाँको विश्वासघातकले पनि त्यो ठाउँ चिन्दथ्यो, किनभने आफ्ना चेलाहरूसँग त्यहाँ उसलाई भेट्नु हुन्थ्यो। 3 यहूदाले एकदल सेनाहरू लगेर त्यसै बगैंचातिर गयो। यहूदाले मुख्य पूजाहारीहरू र फरिसीहरूबाट पनि केही सिपाहीहरू ल्याएको थियो। तिनीहरूले मशाल, बत्ती र हतियारहरू बोकेर आएका थिए।
4 येशू यी सबै घट्नाहरू उहाँमाथि हुनेछ भनेर जान्नु हुन्थ्यो। येशूले बाहिर आएर सोध्नु भयो, “तिमीहरू कसलाई खोजी रहेकाछौ?”
5 ती मानिसहरूले भने, “नासरतको येशूलाई।”
येशूले भन्नुभयो, “म येशू हुँ।” यहूदा जो येशूका विश्वाघातक त्यहीं उभिरहेको थियो। 6 जब येशूले भन्नुभयो, “म येशू हुँ,” तब मानिसहरू पछि पछि हटे अनि भूइँमा लोटे।
7 येशूले तिनीहरूलाई फेरि सोध्नु भयो, “तिमीहरू कसलाई खोजिरहेको छौ?”
मानिसहरूले भने, “नासरतको येशूलाई।”
8 येशूले भन्नुभयो, “मैले तिमीहरूलाई भने म येशू हुँ। यसर्थ तिमीहरूले मलाई नै खोजिरहेका हौ भने, यी अरू मानिसहरूलाई जानदेऊ।” 9 उहाँले यो भन्नुभयो ताकि उहाँले जे भन्नुभएको थियो त्यो पूरा हुन सक्यो, “तपाईंले मलाई दिनुभएको मध्ये कसैलाई पनि गुमाईनँ।”
10 शिमोन पत्रुसकोमा एउटा तरवार थियो। उसले तरवार निकालेर मुख्य पूजाहारीको नोकरलाई प्रहार गर्यो। पत्रुसले त्यसको दाहिने कान काटिदियो। त्यस नोकरको नाउँ माल्ख थियो। 11 येशूले पुत्रसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख! संकटको कचौरा पिताले मलाई दिनुभएको छ, के मैले त्यो नपिउँनु?”
अन्नास्को अगाडि येशूलाई लगियो
(मत्ती 26:57-58; मर्कूस 14:53-54; लूका 22:54)
12 त्यसपछि सिपाहीहरू र तिनीहरूका सेनापति अनि यहूदीका हाकिमहरूले येशूलाई पक्रे। 13 तिनीहरूले येशूलाई बाँधे अनि पहिले उहाँलाई अन्नासको अगाडि लगे। अन्नास प्रधान पूजाहारी कैयाफाका ससुरा थिए जो यस वर्षको निम्ति प्रधान पूजाहारी थिए। 14 कैयाफा तिनी हुन् जसले यहूदीहरूलाई भनेका थिए कि जम्मै मानिसहरूका निम्ति एउटा मान्छे मर्नु उचित छ।
पत्रुसले झूटो बोले येशूको बारेमा
(मत्ती 26:69-70; मर्कूस 14:66-68; लूका 22:55-57)
15 शिमोन पत्रुस र येशूका अर्को चेला उहाँसँगै गए। ती चेलाले प्रधान पूजाहारीलाई चिनेका थिए। यसर्थ उनी येशूसँग प्रधान पूजाहारीको घरको प्रांगणभित्र गए। 16 तर पत्रुस बाहिरै ढोका नजिक बस्यो। ती चेला जसले प्रधान पूजाहारीलाई चिन्यो र बाहिर आयो। उनी त्यस केटीसँग बोले जसले मानिसहरूलाई ढोका खोलिदिई। तब उसले पत्रुसलाई भित्र ल्याए। 17 द्वारपाल केटीले पत्रुसलाई भनी, “तिमी पनि त्यस मानिसको चेलाहरू मध्ये एक हौ?”
पत्रुसले जवाफ दियो, “अँहँ, म होइनँ।”
18 जाडोको दिन थियो। यसैले नोकहररू र द्वारापालहरूले आगोको भुङ्ग्रो बनाए। तिनीहरू आगोको वरिपरि उभिँदै आफूलाई न्यानो पारिरहेका थिए। पुत्रस पनि तिनीहरूसँगै उभिइरहेका थिए।
प्रधान पूजाहारीले येशूलाई प्रश्नहरू गरे
(मत्ती 26:59-66; मर्कूस 14:55-64; लूका 22:66-71)
19 प्रधान पूजाहारीले येशूलाई उनका चेलाहरू र उनको शिक्षाको विषयमा सोधे। 20 येशूले उत्तर दिनुभयो, “म सधैँ सबै मानिसहरूसँग खुल्लम-खुल्ला बोलेको छु। मैले सधैँ सभा-घर र मन्दिरको क्षेत्रमा जहाँ सबै यहूदीहरू भेला हुन्छन् खुल्लम-खुल्ला शिक्षा दिएकोछु। मैले कहिले पनि कुनै कुरो गुप्त राखिनँ। 21 यसर्थ किन प्रश्न गर्नुहुन्छ? जस जसले मेरो शिक्षा सुनेकाछन् ती मानिसहरूलाई सोध्नु होस्। मैले के भने तिनीहरू निश्चय जान्दछन्।”
22 जब येशूले त्यसो भन्नुभयो, एकजना द्वारपालले, जो नजिकै उभिइरहेको थियो उहाँलाई हिर्कायो। त्यस द्वारपालले भन्यो, “तैंले प्रधान पुजाहारीसँग त्यसरी बात गर्ने होइन।”
23 येशूले उत्तरमा भन्नुभयो, “यदि मैले केही गल्ती भनेको भए, यहाँ जो मानिसहरू छन् तिनीहरूको सामुन्ने प्रमाण गर के भूल छ। यदि मैले सही कुराहरू गरे भने, मलाई तिमी किन हिर्काउँछौ?”
24 तब अनासले येशूलाई कैयाफा प्रधान पूजाहारीकहाँ पठाए। त्यसबेला सम्म येशू बाँधिएकै हुनुहुन्थ्यो।
पत्रुसले फेरि झूट बोल्यो
(मत्ती 26:71-75; मर्कूस 14:69-72; लूका 22:58-62)
25 शिमोन पत्रुस आगोको छेउमा आफूलाई न्यानो पार्दै उभिरहेको थियो। केही मानिसहरूले पत्रुसलाई भने, “तिमी त्यस मान्छेको चेलाहरू मध्ये एक हौ?”
तर पत्रुसेल अस्वीकार गर्दै भन्यो, “अँहँ, म होइन।”
26 प्रधान पूजाहारीको एकजना नोकर त्यहाँ थियो। त्यो नोकर त्यस मान्छेको आफन्त थियो जसको कान पत्रुसले काटेको थियो। नोकरले भन्यो, “तिमीलाई उसँग मैले बगैंचामा देखेको होइन?”
27 तर फेरि पत्रुसले भन्यो, “अँहँ! म उनीसँग थिइनँ।” अनि त्यहीबेला भाले बास्यो।
पिलातसको समक्ष येशूलाई ल्याइयो
(मत्ती 27:1-2,11-31; मर्कूस 15:1-20; लूका 23:1-25)
28 त्यसपछि यहूदीहरूले येशूलाई कैयाफाबाट लिएर रोमी राज्यपालको महलतर्फ गए। यो बिहानी पख थियो। यहूदीहरू महलभित्र पसेनन्। तिनीहरू आफूले आफूलाई अशुद्ध राख्न चाहेनन् किनभने तिनीहरूले निस्तार चाडको भोज खानु थियो। 29 यसर्थ पिलातस बाहिर निस्केर यहूदीहरूलाई सोधे, “यस मानिसको विरुद्धमा तिमीहरूले के आरोप लगाएकोछौ?”
30 यहूदीहरूले भने, “यो अपराधी हो, यसकारण तपाईंको समक्ष ल्याएका छौं।”
31 पितालसले यहूदीहरूलाई भने, “तिमीहरू यिनलाई आफैं लैजाऊ अनि तिमीहरूकै व्यवस्था अनुसार न्याय गर।”
यहूदीहरूले भने, “तर तपाईंको कानुनले कुनै मानिसलाई मृत्यु दण्ड दिन हामीलाई अनुमति दिंदैन।” 32 (यस्तो भयो ताकि येशूले कस्तो मृत्युवरण गर्ने उहाँको वचन पुरा हुन सक्थ्यो।)
33 त्यसपछि पिलातस महलभित्र फर्के। पिलातसले येशूलाई बोलाएर सोध, “तिमी यहूदीहरूका राजा हौ?”
34 येशूले भन्नुभयो, “यो तपाईंको आफ्नै प्रश्न हो कि अरूले तपाईंलाई मेरो विषयमा सोध्नु लगाएको हो?”
35 पिलातसले भने, “म यहूदी होइन! तिम्रै मानिस र तिनीहरूका मुख्य पूजाहारीहरूले तिमीलाई मलाई सुम्पिए। तिमीले के भूल गरेका छौ?”
36 येशूले भन्नुभयो, “मेरो राज्य यस संसारको होइन। यदि म यस संसारको हुँदो हुँ तब मेरा सेवकहरूले मलाई यहूदीहरूको हातमा पर्नुबाट बचाउनुका निम्ति लडाईँ गर्ने थिए। तर मेरो राज्य भिन्दै जग्गाको हो।”
37 पिलातसले भने, “यसर्थ तिमी एक राजा हौ?”
येशूले उत्तर दिनुभयो, “तिमीले भन्यौ म राजा हुँ। त्यो सत्य हो। सत्यको साक्षीको लागि म जन्मेको थिए। त्यसैकारणले गर्दा म संसारमा आएको हुँ। अनि प्रत्येक मानिस जो सत्यको पक्षमा छ, मेरो कुरा सुन्दछ।”
38 पिलातसले भने, “सत्य के हो?” पिलातसले त्यसो भने पछि तिनी फेरि बाहिर यहूदीहरूकहाँ गए अनि भने, “मैले यस मानिसमाथि आरोप लगाउन केही दोष पाइन। 39 तिमीहरूको एक रीति अनुसार मैले तिमीहरूको निस्तार चाडको समयमा एक जना कैदीलाई मुक्ति दिनुपर्छ। तिमीहरू यस ‘यहूदीहरूको राजालाई’ मुक्ति दिइयोस् भन्ने चाहन्छौ?”
40 यहूदीहरूले फेरि चिच्याउँदै भने, “अँहँ, यसलाई होइन! बारब्बालाई मुक्त गरियोस्।” (बारब्बा एक डाँकू थियो।)
19 तब पिलातसले येशूलाई लैजाने र कोर्रा लगाउने आदेश दिए। 2 सिपाहीहरूले काँडादार हाँगाहरूका एउटा मुकुट गुँथे अनि येशूको टाउकोमा लगाई दिए। त्यसपछि तिनीहरूले बैजनी रंगको वस्त्र उनको शरीरमा पहिराइ दिए 3 सिपाहीहरूले धेरै पल्ट येशूको छैउमा आउँदै भने, “प्रणाम, हे यहूदीहरूका राजा!” भन्दै उहाँको अनुहारमा थप्पड लगाए।
4 फेरि पिलातस एक पल्ट बाहिर निस्के र यहूदीहरूलाई भने, “हेर! म येशूलाई तिमीहरू कहाँ ल्याउँदैछु किनभने मैले उसको विरूद्धमा आरोप लगाउने कुनै कारण पाइनँ।” 5 येशू बाहिर आए। उहाँले काँडेदार मुकुट र बैजनी वस्त्र लगाउनु भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “त्यो मान्छो यही हो।”
6 जब मुख्य पूजाहारीहरू र यहूदीका द्वारपालहरूले येशूलाई देखे तिनीहरू चिच्याए, “क्रूसमा यसलाई टाँग्नुहोस्! क्रूसमा यसलाई टाँग्नुहोस्!”
तर पिलातसले भने, “तिमीहरू यिनलाई लैजाऊ र क्रूसमा टाँग। मैले उनीमाथि आरोप लगाउने कुनै कारण नै पाईनँ।”
7 यहूदीहरूले उसलाई उत्तर दिए, “हाम्रो व्यवस्था बमोजिम ऊ मर्नै पर्छ, किनभने उसले दावी गरेको छ कि ऊ परमेश्वरको पुत्र हो।”
8 जब पिलातसले यो सुने, उनी साह्रै डराए। 9 पिलातस महलभित्र फेरि पसे। उनले येशूलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” तर येशूले उसलाई जवाफ दिनुभएन। 10 पिलातसले भने, “के तिमी मसँग बोल्दैनौ? याद गर, तिमीलाई मुक्त पार्ने अधिकार मसित छ। अनि तिमीलाई क्रूसमा टाँग्ने अधिकार पनि मसित छ।”
11 येशूले जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुने थिएन। त्यसैले ती मानिस जसले मलाई तपाईंलाई सुम्पियो उनिहरू तपाईं भन्दा महा-पापको दोषी हुन्।”
12 त्यसपछि, पिलातसले येशूलाई मुक्त पार्ने कोशिश गरे। तर यहूदीहरूले तिनलाई कराउँदै भने, “कसैले आफैंलाई राजा बनाउँछ भने त्यो सिजर बिरोधी हो। यसर्थ उसलाई तपाईं छुट्करा दिनु हुन्छ भने तपाईं सिजरको मित्र हुनु हुन्न।”
13 पिलातसले यहूदीहरूले के भने सुने। यसैले उसले येशूलाई महल बाहिर ल्याए त्यस ठाउँलाई “ढुङ्गाको पाटी” भनिन्छ। (जसलाई हिब्रू भाषामा गब्बाथा) भनिन्छ। त्यो न्यायसनमा पिलातस बसे। 14 यो प्रायः निस्तार चाड़को तयारी गर्ने दिनको मध्यान् भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “तिमीहरूका राजा यहाँ छन्!”
15 यहूदीहरू चिच्याए, “त्यसलाई उतै लानु होस्, लानु होस्! त्यसलाई क्रूसमा मार्नु होस्।”
पिलातसले यहूदीहरूलाई सोधे, “के मलाई तिमीहरूको राजालाई क्रूसमा टाँग्न लगाउँछौ?”
मुख्य पूजाहारीहरूले भने, “सिजर मात्र हाम्रो राजा हुनुहुन्छ।”
16 तब येशूलाई क्रूसमा झुण्ड्याएर मार्नु भनेर पिलातसले तिनीहरूलाई सुम्पे।
येशू क्रूसमा मर्नुभयो
(मत्ती 27:32-44; मर्कूस 15:21-32; लूका 23:26-39)
सिपाहीहरूले येशूलाई लगे। 17 येशूले आफ्नो क्रूस बोक्नु भयो अनि उहाँ “खोपडी ठाऊँ” तर्फ जानु भयो (हिब्रू भाषामा “गलगथा” भनिन्छ) 18 गलगथामा येशूलाई क्रूसमा टाँगे। तिनीहरूले दुइजना मानिसहरू उहाँको दुइ पट्टि अनि येशूलाई बीचमा राखे। 19 पिलातसले संकेत पटमा लेखे अनि क्रूसमा टाँसिदिए। त्यो संकेतपटमा लेखिएको थियो। “नासरतको येशू, यहूदीहरूका राजा।” 20 पिलातसले त्यो हिब्रू ल्याटिन र ग्रीक भाषामा लेखेका थिए। धेरै यहूदीहरूले त्यो संकेतपट पढे किनभने क्रूसमा येशूलाई टाँगेको ठाउँदेखि शहर नजिकै थियो।
21 यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने, “‘यहूदीहरूका राजा’ भनेर, नलेख्नु होस्, बरू लेख्नुहोस्, ‘यो मान्छेले भनेकोछ, म यहूदीहरूको राजा हुँ।’”
22 पिलातसले उत्तर दिए, “मैले जे लेखें-लेखें, बद्ली गरिनेछैन।”
23 क्रूसमा येशूलाई टाँगिसके पछि सिपाहीहरूले उहाँका वस्त्र उतारिदिए र त्यस वस्त्रलाई तिनीहरूले चार टुक्रमा च्याते, प्रत्येक सिपाहीले एक-एक गरेर पाए। तिनीहरूले कुर्ता सम्म खोलिदिए जो एउटै लुगाको टुक्रालाई माथि देखि तलसम्म सिलाएको थियो। 24 यसर्थ सिपाहीहरूले आपसमा भने, “यसलाई हामीले भाग गर्न च्यात्नु हुँदैन। यसलाई चिट्ठा लगाऊ कसको नाउँमा पर्छ।” धर्मशास्त्रमा भने जस्तै त्यो हुनगयोः
“तिनीहरूले आपसमा मेरा लुगाहरू बाँडे,
अनि मेरो लुगामा चिट्ठा हाले।”(A)
सिपाहीहरूले त्यसै गरे।
25 येशूकी आमा क्रूसकै नजिक उभिएकी थिइन। उहाँकी आमाको बहिनी, क्लोपासकी पत्नी पनि मरियमसँग उभिरहेकी थिइन्। मग्दलिनी मरियम पनि उभिरहेकी थिइन्। 26 येशूले आफ्नी आमालाई देख्नु भयो। उहाँले ती उभिनेहरूमा आफ्ना चेलाहरूलाई पनि देख्नु भयो। उहाँले आफ्ना आमालाई भन्नु भयो, “हे प्रिय नारी तिम्रो पुत्र यहाँ छ।” 27 त्यसपछि आफ्ना चेलालाई भन्नुभयो, “यहाँ तिम्रा आमा हुनुहुन्छ।” तब त्यसपछि, ती चेलाहरूले येशूकी आमालाई आफ्ना घरमा लगे।
येशू मर्नु भयो
(मत्ती 27:45-56; मर्कूस 15:33-41; लूका 23:44-49)
28 त्यसपछि, येशूले जान्नुभयो कि सबै कामहरू सिद्धियो। उहाँले धर्मशास्त्रमा लेखिएको सिद्ध होस् भनि भन्नुभयो, “मलाई तिर्खा लाग्यो।” 29 त्यहाँ सिर्काले भरिएको एउट भाँडो थियो। यसर्थ सिपाहीहरूले स्पन्जमा त्यो सोसे र हिसप उद्भिदको हाँगामा त्यसलाई डुबाए। त्यसलाई तिनीहरूले येशूको मुख सम्म पुर्याईदिए। 30 उहाँले सिर्का खानु भयो, स्वाद लिनु भयो। तब उहाँले भन्नुभयो “सिद्धियो।” येशूको शिर झुक्यो र उहाँले अन्तिम सास फेर्नु भयो।
31 यो दिन तयारीको दिन थियो अर्को दिन विशेष विश्रामको दिन थियो। यहूदीहरूले विश्रामको दिन त्यो मृत शरीर क्रूसमा झुण्ड्याई राख्न चाहेनन्। तब तिनीहरूले पिलातसलाई ती मानिसहरूको खुट्टा भाँच्नुका निम्ति आदेश मागे ताकि तिनीहरू छिटो मर्न सकुन्। अनि तिनीहरूको मृत शरीर क्रूसबाट तल झार्न सकियोस्। 32 सिपाहीहरू आए र पहिला येशूको छेऊको क्रूसको मान्छेको खुट्टा भाँचे। त्यसपछि तिनीहरूले क्रूसमा भएको येशूकै छेऊको अर्को मान्छेको खुट्टा भाँचे। 33 तर जब ती सिपाहीहरू येशूको छेऊमा गए, तिनीहरूले देखे उहाँ अघि नै मरिसक्नु भएको थियो। यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्।
34 तर एकजना सिपाहीले उहाँको कोखामा भालाले घोंचे। रगत र पानी बाहिर निस्कयो। 35 ऊ जसले त्यो देख्यो ऊ गवाही भयो अनि उसको गवाही सत्य छ। उसले जान्दछ कि उसले साँच्चो बोलिरहकोछ। उसले गवाही दिन्छ ताकि तिमीहरूले पनि विश्वास गर्न सक्छौ। 36 यी सबै कुराहरू घटे ताकि धर्मशास्त्र साँच्चो हुन्छः “उहाँको एउटै हड्डी पनि भाँचिनछैन।”(B) 37 अर्को ठाउँमा धर्मशास्त्र भन्छः “मानिसहरूले उनलाई हेर्नछन् जसलाई भालाले रोप्नेछन्।”(C)
येशू गाडिनुभयो
(मत्ती 27:57-61; मर्कूस 15:42-47; लूका 23:50-56)
38 त्यसपछि अरिमाथियावासी योसेफ नाम भएकोले पिलातसलाई येशूको मृत-शरीर लैजान पाऊँ भनेर विन्ती गरे। योसेफ येशूका चेलाहरू मध्ये एक थिए। तर तिनले यहूदीहरूको डरले यो गुप्त राखे। पिलातसले योसेफलाई येशूको शरीर लान सक्छ भनेर अनुमति दिए। त्यसकारण योसेफ येशूको शरीर लिएर गए।
39 निकोदेमस योसेफसँग गए। निकोदेमस ती एकजना मानिस थिए जो येशूकहाँ राती आउँदथ्यो र बात गर्दथ्यो। निकोदेमसले तेत्तीस किलो जति मसलाहरू त्यहाँ ल्याए। त्यो मूर्र र एलवाको मिश्रण थियो। 40 यी दुइ मानिसहरूले येशूको मृत शरीर लगे। उहाँको शरीर तिनीहरूले सुगन्धीत द्रव्यसहित सूती कपडाले बाँधे। यसरी नै यहूदीहरूले मानिसहरूलाई गाड्दथे। 41 जुन ठाउँमा येशू क्रूसमा टाँगिए, त्यहाँ एक बगैंचा थियो। बगैंचामा एक नयाँ चिहान थियो। कुनै मानिस पनि पहिल्यै कहिले त्यहाँ गडिएको थिएन। 42 मानिसहरूले येशूलाई त्यहीं नयाँ चिहानमा राखे कारण यो नजिक थियो अनि यहूदीहरू आफ्ना विश्रामको दिन तयारी गर्न थालेका थिए।
© 2004, 2010 Bible League International