Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 56

प्रमुख संगीतकारलाई: “सुदूर ओक्मा ढुकुर” भन्ने रागमा दाऊदको “मिक्ताम” भन्ने भजन। जब गाथमा उहाँलाई पलिश्तीहरूले पक्रिए।

56 हे परमेश्वर, मानिसहरूले ममाथि आक्रमण गरे,
यसैले मप्रति तपाईंको कृपादान रहोस्।
    तिनीहरूले लगातार मेरो खेदो गरेर मसँग लडाइँ गरे।
मेरो शत्रुहरूले ममाथि लगातार आक्रमण गरे।
    त्यहाँ अनगन्ति लडाकुहरू छन्।
जब म भयग्रस्त हुन्छु,
    तब तपाईंमाथि भरोसा राख्दछु।
म परमेश्वरमा भरोसा गर्छु यसैले म भयभित हुन्न,
यसर्थ मानिसहरूले जे गर्न सक्छन् त्यसमा म डराउँदिन।
    उहाँको मप्रतिको वचनको लागि उहाँको स्तुति गर्छु।
मेरा शत्रुहरूले सधैँ मेरा कुराहरूको उल्टो अर्थ लाउँछन्।
    तिनीहरूले सधैँ मेरो विरूद्ध योजनाहरू तयार गर्दछन्।
तिनीहरू सधैँ लुक्छन्
    अनि जसरी पनि मलाई मार्ने मौका हेर्दै,
    मेरो प्रत्येक चहल-पहल हेर्दछन्।
हे परमेश्वर, तिनीहरूलाई टाढा पठाई दिनुहोस्।
किनभने तिनीहरूले नराम्रो अधर्म कामहरू गरेका छन्।
    तिनीहरूलाई विदेशी जातिहरूको क्रोधमा तड्पाउनु टाढा पठाइदिनुहोस्।
तपाईं जान्नुहुन्छ म कति डराएको छु।
    तपाईं जान्नुहुन्छ मैले कति विलाप गरें।
    निःसन्देह तपाईंले मेरो सम्पूर्ण आँसुको हिसाब राख्नु भएको होला।

यसैले, मेरो शत्रुहरूलाई प्ररास्त गरिदिनोस्।
    जब म तपाईंलाई सहयोगको निम्ति गुहार गर्छु,
    म जान्दछु तपाईं त्यसो गर्न सक्नुहुन्छ,
    कारण तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ!
10 म परमेश्वरको वचनलाई प्रशंसा गर्छु।
    म परमप्रभुको प्रशंसा गर्छु जसले उहाँको वचन म प्रति राख्नुभयो।
11 म परमेश्वरमा भरोसा गर्छु,
    यसैकारण मानिसहरूले मलाई के गर्न सक्लान् भनी मैले डर मान्नु पर्दैन।

12 हे परमेश्वर, मैले खास वचनहरू तपाईंको लागि दिएको छु।
अनि मैले जे वचन दिएको छु त्यो गर्ने नै छु।
    म मेरो धन्यवादको भेटीहरू तपाईंलाई अर्पण गर्ने छु।
13 किनभने तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउँनु भयो।
तपाईंले मलाई परास्त हुन देखि जोगाउनु भयो।
    यसैले म उज्यालोमा परमेश्वरलाई उपासना गर्नेछु,
    त्यो खाली जिउँदो मानिसहरूले मात्र देख्न सक्छन्।

यर्मिया 1:11-19

दुइ दृश्यहरू

11 परमप्रभुको सन्देश मकहाँ आयो। यो सन्देश परमप्रभुबाट नै आएको थियो: “यर्मिया, तिमीले के देख्छौं?”

मैले परमप्रभुलाई भनें, “म हाडे बदामको काठबाट बनिएको एउटा लट्ठी देख्छु।”

12 परमप्रभुले मलाई भन्नुभयो, “तिमीले ठीकै देख्यौ। मेरो सन्देशलाई म नियालि रहेछु अनि म यो गर्नेछु।”

13 परमप्रभुको सन्देश मकहाँ फेरि आयो। परमप्रभुको सन्देश यस्तो थियो “यर्मिया, तिमीले के देख्यौ?”

मैले परमप्रभुलाई भनें, “मैले उम्लिरहेको एउटा भाँडामा पानी देखें। त्यो भाँडा उत्तर पट्टि ढल्किरहेको छ।”

14 परमप्रभुले मलाई भन्नुभयो, “केही भयानक उत्तरदेखि आउने छ।
    त्यो यस देशमा बस्ने सम्पूर्ण मानिसहरूमाथि घट्नेछ।
15 म चाँडै उत्तर राज्यहरूका सम्पूर्ण मानिसहरूलाई बोलाउनेछु।”
परमप्रभुले ती कुराहरू भन्नुभयो।

“ती राज्यहरूका राजाहरू आउनेछन्
    अनि यरूशलेमको प्रवेशद्वारको छेउमा आफ्ना सिंहासनहरू बसाउनेछन्।
तिनीहरूले यरूशलेम शहरका पर्खालहरूमाथि आक्रमण गर्नेछन्।
    तिनीहरूले यहूदाका सबै शहरहरूमाथि आक्रमण गर्ने छन्।
16 अनि म मेरा मानिसहरूका विरूद्ध न्यायको घोषणा गर्नेछु।
    म यसो गर्ने नै छु किनभने तिनीहरू दुष्ट मानिसहरू हुन्।
तिनीहरू मेरो विरोधी भएका छन्।
मेरा मानिसहरूले मलाई छाडे।
    तिनीहरूले अन्य देवताहरूलाई बलि चढाए।
    तिनीहरूले आफ्नै हातले बनाएका मूर्तिहरूलाई दण्डवत् गरे।

17 “यर्मिया तिमी चाहिँ तैयार होऊ,
    उठ र मानिसहरूलाई भन।
मैले दिएको प्रत्येक आज्ञाहरू तिनीहरूलाई भन।
    मानिसहरूसित नडाराऊ, नत्र म तिमीलाई भयभीत पार्नेछु।
18 आज म तिमीलाई फलामको खम्बा झैं
    अनि काँसाको पर्खाल झैं बलियो
र दृढ शहर बनाउनेछु।
    यहूदाको राज्यमा राजाहरू, नेताहरू, पूजाहारीहरू
    र सर्वसाधारण मानिस प्रत्येकको सामुन्ने
    तिमी उभिन सक्नेछौ।
19 ती सबै मानिसहरू तिम्रो विरूद्धमा लड्नेछन्
    तर तिनीहरूले तिमीलाई पराजित गराउने छैनन्।
किनभने म तिमीसँग छु,
    अनि म तिमीलाई बचाउने छु।”
यो सन्देश परमेश्वरबाट आएको हो।

लूका 19:41-44

यरूशलेमकोलागि येशूको बिलौना

41 येशू यरूशलेम नजिक आईपुग्नु भयो। उहाँले शहरलाई हेर्नु भयो अनि त्यसको निम्ति विलाप गर्नु भयो। 42 उहाँले यरूशलेमको विषयमा भन्नुभयो, “तिम्रोमा केले शान्ति ल्याउँछ? यदि तिमीले आज बुझेको भए, असल हुने थियो। तर तिमीले जान्दैनौ, किनभने यो तिम्रो आँखाबाटा ओझेल परेकोछ। 43 एउटा समय आउँदैछ कि तिम्रो शत्रुहरूले तिम्रो वरिपरि वाधाहरू खडा गराऊने छन्। तिमीलाई तिनीहरूले वरिपरिबाट घेर्नेछन् अनि तिमी सबै तिरबाट घेरामा पर्नेछौ। 44 तिनीहरूले तिमीलाई र तिम्रो मानिसहरूलाई ध्वंस पार्नेछन्। तिम्रो भवनहरूको एक ढुङ्गामाथिको अर्को ढुङ्गा पनि छाडिने छैन्। यो घट्ना घट्नेछ, कारण तिमी जान्दैनौ तिमीलाई बचाउन परमेश्वर कहिले आउँनु हुन्छ।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International