Revised Common Lectionary (Complementary)
97 परमप्रभुले राज गर्नु हुन्छ र पृथ्वी खुशी हो।
सबै सुदूरतिरका देशहरू खुशी हुन्छन्।
2 बाक्लो बादलहरूले परमप्रभुलाई घेरी राखेको छ।
धर्म र न्यायले यस राज्यलाई बलियो बनाउँदछ।
3 परमप्रभुको सामुन्नेबाट एउटा आकाश जाँदछ,
अनि उहाँका शत्रुहरूलाई नाश गर्दछ।
4 उहाँको बिजुली आकाशमा झलाक-झिलिक चम्किन्छ।
मानिसहरू यसलाई देख्छन् र डराउँछन्।
5 परमप्रभुको, समक्ष पर्वतहरू मैन जस्तो पग्लन्छन्,
सारा पृथ्वीका स्वामीको सामुन्ने।
6 हे आकाश, उहाँको धार्मिकताको बारे बताऊ।
ताकि परमेश्वरको महिमा सारा मानिसहरूले देखुन्।
7 मानिसहरू आफ्ना मूर्तिहरू पूजा गर्छन्।
तिनीहरू आफ्ना “देवताहरूका” विषयमा घमण्ड गर्दछन्।
तर ती मानिसहरू लज्जित हुनेछन्।
तिनीहरूका “देवताहरू” शिर झुकाएर परमप्रभुलाई उपासना गर्नेछन्।
8 हे सियोन, सुन अनि खुशी बन!
हे यहूदाका शहरहरू, खुशी होऊ।
किनभने परमप्रभुले बुद्धिमानी निर्णयहरू गर्नु भयो।
9 सर्वोच्च परमप्रभु, तपाईं नै वास्तवमा पृथ्वीका शासक हुनुहुन्छ।
तपाईं अन्य “देवताहरू” भन्दा धेरै असल हुनहुन्छ।
10 मानिसहरू जसले परमप्रभुलाई प्रेम गर्दछ उसले दुष्टतालाई घृणा गर्छ।
परमेश्वरले धूर्तहरूबाट उहाँका भक्तजनहरूलाई बचाउँनु हुँदछ।
11 धर्मी मानिसहरूमा उज्यालो र खुशीयाली चम्कन्छ।
12 धर्मी मानिसहरू, परमप्रभुमा खुशी होऊ।
उहाँको पवित्र नाउँको आदर गर।
लूका लेख्छन्
1 प्रिय थियोफिलस,
मैले मेरो प्रथम पुस्तकमा, येशूले जे-जे गर्नु भयो र सिकाउनु भयो प्रत्येक कुरो लेखें। 2 मैले येशूको सम्पूर्ण जीवन बारे लेखें, प्रारम्भदेखि उहाँ स्वर्ग तिर उचालिनु भए सम्म। यो घट्ना हुनु अघि उहाँद्वारा चुनिएका प्रेरितहरूसित उहाँले बातचित गर्नु भयो। प्रेरितहरूले के गर्नु पर्छ भन्ने कुरा पवित्र आत्माको सहयोग लिएर उहाँले बताउनु भयो। 3 यी सबै घट्नाहरू येशूको मृत्यु पछि भयो, अनि उहाँले आफ्ना प्रेरितहरूलाई आफू जिउँदो रहेको शक्तिशाली प्रमाणहरूले प्रमाणित गर्नु भयो। येशू मृत्युबाट बौरी उठे पछि प्रेरितहरूले उहाँलाई चालीस दिनको अवधिमा धेरै पल्ट देखे। उहाँले तिनीहरूसँग परमेश्वरका राज्यको विषयमा बताउनुभयो। 4 एक समय जब येशू तिनीहरूसँग खाई रहनु भएको थियो, उहाँले तिनीहरूलाई यरूशलेम नछोड्ने कुरा भन्नुभयो। उहाँले भन्नुभयो, “पिताले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएकोछ, जुन मैले तिमीहरूलाई पहिल्यै भनिसकेकोछु। त्यो प्रतिज्ञा प्राप्त गर्नलाई तिमीहरूले यरूशलेममा पर्खिनु पर्छ। 5 यूहन्नाले मानिसहरूलाई पानीद्वारा बप्तिस्मा दिए, तर केही दिन पछिबाट तिमीहरूले पवित्र आत्माद्वारा बप्तिस्मा लिनेछौ।”
येशूको स्वर्गारोहण
6 प्रेरितहरू जम्मा भए। तिनीरूले येशूलाई सोधे, “हे प्रभु के यो इस्राएललाई राज्य फेरि फिर्ता दिने तपाईंको समय यही हो?”
7 येशूले तिनीहरूलाई भन्नुभयो, “पिता मात्र एक हुनुहुन्छ जसको मिति र समयहरू निर्णय गर्ने अधिकार छ। तिमीहरू यी कुराहरू बारे जान्न सक्तैनौ। 8 तर पवित्र आत्मा तिमीमाथि आउनु हुनेछ अनि तिमीहरूले शक्ति पाउनेछौ। तिमीहरू मानिसहरूबीच मेरो गवाही हुनेछौ। पहिले तिमीहरू यरूशलेमका मानिसहरूका निम्ति गवाही हुनेछौ। तब तिमीहरूले यहूदियामा, सामरियामा अनि संसारका प्रत्येक ठाउँका मानिसहरूलाई बताउनेछौ।”
9 येशूले प्रेरितहरूलाई ती कुराहरू भनिसके पछि उहाँ माथि आकाश सम्म उचालिनु भयो। प्रेरितहरूले हेर्दा हेर्दै येशू बादलभित्र पस्नु भयो अनि तिनीहरूले उहाँलाई देख्न सकेनन्। 10 येशू टाढा गइरहनु भएको थियो अनि प्रेरितहरूले आकाश तर्फ हेरिरहेका थिए। अचानक दुइजना मानिसहरू सेतो वस्त्र धारण गरेर तिनीहरूका छेउमा उभिए। 11 ती दुइजना मानिसहरूले प्रेरितहरूलाई भने, “गालीलका मानिसहरू, तिमीहरू यहाँ किन आकाशतर्फ हेर्दै उभिरहेकाछौ? तिमीहरूले येशूलाई तिमीहरूदेखि स्वर्ग-आरोहण भएको देख्यौ। जसरी तिमीहरूले उहाँलाई जानु भएको देख्यौ त्यसरी नै उहाँ फर्की आउनु हुनेछ।”
प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन।
47 हे सारा मानिसहरू हो ताली बजाऊ।
परमेश्वर तिर आनन्दमय भएर चिच्याऊ!
2 सर्वशक्तिमान् परमप्रभु भय योग्य हुनुहुन्छ।
सारा पृथ्वीभरि नै उहाँ महान् राजा हुनुहुन्छ।
3 अन्य मानिसहरूलाई पराजित गर्न हामीलाई साथ दिनुभयो,
उहाँले ती जातिहरूलाई हाम्रो अधीनमा राख्नु भयो।
4 परमेश्वरले हाम्रो निम्ति जग्गा रोजी दिनु भयो।
उहाँले त्यो अचम्मको जग्गा याकूबको निम्ति रोज्नु भयो जसलाई उहाँले मन पराउनु भएको थियो।
5 नरसिंह र तुरहीको आवाजमा,
जयजयकार साथ उहाँ आफ्नो सिंहासनतर्फ जानुहुन्छ।
6 परमेश्वरको स्तुति-गान गर।
स्तुतिहरू गाऊ, हाम्रा राजाको निम्ति स्तुति-गाऊ।
7 परमेश्वर सारा पृथ्वीको राजा हुनुहुन्छ।
प्रशंसाको[a] गीतहरू गाऊ।
8 परमेश्वर आफ्नो पवित्र सिंहासनमा बस्नुहुन्छ
र सबै जाति-जातिहरूमाथि राज गर्नुहुन्छ।
9 सबै जाति-जातिका शासकहरू एकार्कासित भेट गर्दछन्।
अब्राहामका परमेश्वरको मानिसहरूसँग भेट गर्छन।
सबै जातिका सबै शासकहरू परमेश्वरकै हुन।
परमेश्वर ती सबैका सर्वोच्च अधिकारी हुनुहुन्छ।
93 परमप्रभु राजा हुनुहुन्छ।
उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ।
उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन।
2 परमेश्वर, तपाईंको राज्य सदा-सर्वदा चल्ने छ।
परमेश्वर, तपाईं अनन्त सम्म बाँच्नु भयो।
3 हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ।
जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।
4 जोडसँग आउने समुद्रका छालहरू गर्जनपूर्ण र शक्तिशली छन्
तर परमप्रभु तिनीहरू भन्दा अझ शक्तिशाली हुनुहुन्छ।
5 हे परमप्रभु, तपाईंको नियम सदा-सर्वदा चल्ने छ।
तपाईंको पवित्र मन्दिर धेरै कालसम्म रहनेछ।
पावलको प्रार्थना
15-16 त्यसैले मेरा प्रार्थनाको समयमा म सधैँ तिमीहरूलाई सम्झन्छु र तिमीहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छु। मैले त्यसै बेलादेखि यसो गर्न थालेको हुँ जब मैले प्रभु येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै मानिसहरू प्रति तिमीहरूको प्रेमको बारेमा सुनें। 17 म सधैँ हाम्रा प्रभु येशू ख्रीष्टका महिमामयी पिता परमेश्वरलाई प्रार्थना गर्दछु कि उहाँले तिमीहरूलाई यस्तो आत्मा दिऊन् जसले परमेश्वरको बारेमा ज्ञान र प्रकाश होस् र उहाँलाई पुरै बुझ्न सक्ने बनाउन्।
18 म प्रार्थना गर्दछु, कि उहाँले तिमीहरूको हृदयको आँखा खोलिदिउन् ताकि तिमीहरू आशालाई चिन्न सक जसका निम्ति परमेश्वरले तिमीहरूलाई चुन्नु भयो। अनि परमेश्वरले आफ्ना पवित्र जनहरूलाई वचन दिनुभएको आशिष कति सम्पन्न र महिमासाली रहेछ त्यो पनि जान्नेछौ।
19 अनि हामी विश्वास गर्नेहरूकोलागि परमेश्वरको शक्ति अति महान छ भन्ने कुरो पनि बुझ्नेछौ। 20 त्यही महा शक्तिद्वारा परमेश्वरले ख्रीष्टलाई मृत्युबाट उठाउनु भएको थियो र स्वर्गमा उहाँले आफ्नो दाहिनेपट्टी राख्नुभएको थियो। 21 परमेश्वरले ख्रीष्टलाई सबै शासक, अधिकारी, शक्तिशाली राजाहरूभन्दा पनि बढता महत्वपूर्ण बनाउनु भयो। कुनै यो संसारको दास अथवा भविष्यको संसारको दास, कुनै पनि शक्ति भन्दा ख्रीष्ट महत्वपूर्ण हुनुहुन्छ। 22 परमेश्वरले हरेक कुरालाई ख्रीष्टको अधीनमा राखिदिनु भयो अनि मण्डलीको हरेक कुरामा उहाँले ख्रीष्टलाई नै सर्वोच्च अधिकारी बनाउनु भयो। 23 मण्डली भनेको ख्रीष्टको शरीर हो। मण्डली ख्रीष्टले परिपूर्ण छ जसले सब थोक सब तरह ले भरिपूर्ण गरिदिन्छ।
44 उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ मैले के भने त्यो सम्झना गर। मैले भने, मोशाको व्यवस्थामा अगमवक्ताहरूको पुस्तकमा मेरो विषयमा भनिएको अनि भजनसंग्रहमा भनिएका प्रत्येक कुरा पूरा हुनेछ।”
45 त्यसपछि उहाँले धर्मशास्त्रहरूमा लेखिएका सबै कुराहरू बुझ्ने मन खोली दिनु भयो। 46 उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएकै छ कि ख्रीष्टलाई मारिनेछ अनि तेस्रो दिनमा उहाँ बौरी उठनु हुनेछ। 47-48 तिमीहरूले यी सबै घट्ना देख्यौ, तिमीहरू नै साक्षी छौं। तिमीहरू जानु पर्छ अनि सबै मानिसहरूमा प्रचार गर कि तिनीहरूको पापहरू क्षमा गर्न सकिन्छ। तिनीहरूलाई भनिदेऊ कि तिनीहरूले आफ्नो हृदय परिवर्तन गर्नै पर्छ अनि आफ्ना पापहरूको दुःख प्रकट गरून्। यरूशलेमबाट शुरू गरेर मेरो नाममा यी कुराहरू प्रचार गर। सारा संसारका मानिसहरूमा यो सुसमाचारहरू सुनाउनै पर्छ। 49 सुन! मेरो पिताले तिमीहरूको निम्ति केही दिने प्रतिज्ञा गर्नु भएको छ, म यो तिमीहरूलाई पठाउनेछु। तर तिमीहरू स्वर्गबाट शक्ति नपाउरून्जेल यहाँ यरूशलेममा नै पर्खिरहो।”
येशूको स्वर्गरोहण
(मर्कूस 16:19-20; प्रेरित 1:9-11)
50 येशूले आफ्ना चेलाहरूलाई बेथानीसम्म लैजानुभयो। उहाँले आफ्नो हात उचाल्नु भयो अनि तिनीहरूलाई आशीर्वाद दिनुभयो। 51 उहाँ तिनीहरूलाई आशीर्वाद दिंदै गर्दा, उहाँ तिनीहरूबाट छुट्टीनुभयो अनि स्वर्गमा उचालिनु भयो। 52 चेलाहरूले उहाँको आराधना गरे। त्यसपछि तिनीहरू यरूशलेम फर्किए। तिनीहरू अत्यन्तै खुशी थिए। 53 सारा समय परमेश्वरको प्रशंसा गर्दै तिनीहरू मन्दिरमा बसे।
© 2004, 2010 Bible League International