Revised Common Lectionary (Complementary)
99 परमप्रभु नै राजा हुनुहुन्छ,
यसैले सारा जातिहरू डरले काम्छन्।
परमेश्वर राजा सरह करूब स्वर्गदूतहरूमा बस्नु हुन्छ।
यसैले सारा संसार डरले काम्दछ।
2 सियोनमा परमप्रभु महान् हुनुहुन्छ!
उहाँ सम्पूर्ण मानिसहरूमाथि महान् अगुवा हुनुहुन्छ।
3 सारा मानिसहरूले तपाईंको नाउँको गुण-गान गरून्।
परमेश्वरको नाउँ विस्मयकारक छ।
परमेश्वर पवित्र हुनुहुन्छ।
4 शक्तिशाली राजाले न्याय मनपराउनु हुन्छ।
परमेश्वर, तपाईंले मंगलमयता बनाउनु भयो।
तपाईंले याकूबमा धार्मिकता र निष्पक्षता ल्याउनुभयो।
5 परमप्रभु हाम्रो परमेश्वरको प्रशंसा गर
अनि उहाँको पवित्र पाउदानमा[a] दण्डवत गर।
6 मोशा र हारून उहाँका केही पूजाहारीहरू मध्ये थिए।
तिनीहरू मध्ये शमूएल हुन् जसले परमेश्वरको नाम पुकारे।
तिनीहरूले परमेश्वरलाई प्रार्थना गरे,
अनि उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
7 परमेश्वर अग्ला बादलबाट बोल्नु भयो।
तिनीहरूले उहाँको विधिहरू पालन गरे
अनि परमेश्वरले तिनीहरूलाई नियम प्रदान गर्नुभयो।
8 हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो।
तपाईंले आफू क्षमादायी परमेश्वर अनि नीच काम गर्ने मानिसहरूलाई
दण्ड दिनेको रूपमा दर्शाउनु भयो।
9 हाम्रा परमप्रभु परमेश्वरको प्रशंसा गर।
हाम्रो परमेश्वर साँच्चि नै पवित्र हुनुहुन्छ।
उहाँको पवित्र पर्वत तर्फ दण्डवत् गर।
परमेश्वरले पूजाहारीहरूलाई ग्रहण गर्नुभयो
9 आठौं दिनमा मोशाले हारून, तिनका छोराहरू र इस्राएलका बूढा प्रधानहरूलाई बोलाए। 2 हारूनलाई उनले भने, “बगालबाट निष्खोट एउटा बाछा पापबलिको निम्ति अनि होमबलिको निम्ति एउटा निष्खोट भेंडा ल्याएर परमप्रभु सम्मुख बलि चढाऊ। 3 इस्राएलका मानिसहरूलाई भने, ‘परमप्रभुको अघि पापबलिको निम्ति एउटा बोका, निष्खोट एक बर्ष पुगेको एउटा बाछा अनि होमबलिको निम्ति निष्खोट एउटा एक बर्षको पाठा ल्याऊ। 4 अनि एउटा थुमा, एउटा साँढे र एउटा भेंडा मेलबलिको निम्ति अनि अन्नबलि तेलसित मिसाएका उपहारहरू परमप्रभु कहाँ लिएर आऊ किनभने आज परमप्रभु तिमीहरूको अघि प्रकट हुनुहुनेछ।’”
5 यसर्थ मोशाले आज्ञा दिए अनुसार भेट हुने पालअघि तिनीहरूले चीजहरू ल्याए। सम्पूर्ण मानिसहरू परमप्रभुअघि आएर उभिए। 6 त्यसपछि मोशाले भने, “परमप्रभुले तिमीहरूलाई यस्तो कार्य गर्नु भनी आज्ञा दिनु भएको थियो जसले गर्दा परमप्रभुको महिमा तिमीहरू प्रति झल्कियोस्।”
7 त्यसबेला मोशाले हारूनलाई भने, “तिमी वेदीको नजिक जाऊ, तिम्रो पापबलि अनि होमबलि चढाऊ, आफ्नो र मानिसहरूको निम्ति पाप प्रयाश्चित गर। परमप्रभुले आज्ञा गर्नु भएको अनुसार मानिसहरूले ल्याएको बलिदानहरू चढाएर तिनीहरूका निम्ति प्रायश्चित गरे।”
8 त्यसपछि हारून आफ्नो निम्ति वेदीको नजिक गएर पापबलिको निम्ति बाछो मारे। 9 पछि हारूनका छोराहरूले तिनको नजिक त्यसको रगत ल्याए, अनि तिनले आफ्नो औंलोमा रगत लिएर वेदीको कुना कुनामा लगाए अनि बाँकी रगत वेदीको आधारमा खन्याए। 10 तब परमप्रभुले मोशालाई आदेश गर्ने बित्तिकै हारूनले मृगौला, गर्भजालो, कलेजो ढाक्ने मासु अनि पशुको बोसो वेदीमा जलाए। 11 पाल बाहिर हारूनले मासु र छाला आगोमा जलाइदिए।
22 तब हारूनले मानिसहरू प्रति हात उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढाई सिध्याए पछि तिनी वेदीबाट तल ओर्लिए।
23 त्यसपछि मोशा र तिनी भेट हुने पालमा गए। जब तिनीहरू बाहिर आए तिनीहरूले मानिसहरूलाई आशीर्वाद दिए। तब परमप्रभुको महिमा सबै मानिसहरूमा झल्कियो। 24 परमप्रभुको सामुन्नेबाट आगो उत्पन्न भयो अनि वेदी माथिको होमबलि र बोसोलाई खरानी पार्यो। जब सबै मानिसहरूले यो देखे तिनीहरू कराए अनि आ-आफ्ना अनुहार भूइँतिर निहुराए।
परिर्तित जीवन
4 जब ख्रीष्ट आफ्नो शरीरमा हुनु हुन्थ्यो, उहाँले यातना भोग्नु भयो। यसर्थ तिमीहरूले ख्रीष्ट कै विचारमा स्वयंलाई तयार पार्नु पर्छ। एक मानिस जसले आफ्नो शरीरमा रहँदा यातना भोगेकाछन् उसले पाप गर्न छोडेको छ। 2 तिमीहरू स्वयंलाई तयार पार जसद्वारा तिमीहरू परमेश्वरको इच्छा अनुसारको कार्यमा बाँचेको जीवन उपयोग गर्नेछौ अनि मानिसहरूको विचार अनुसार होइन। 3 बितेको समयमा तिमीहरूले ती कुराहरू गरेर अत्याधिक समय नष्ट गर्यौ जुन विश्वास नगर्नेहरूले गर्छन्। तिमीहरू व्यभिचार कुवासना, अभिलाषा, मोज-मज्जा, मतवालापन अनि निषेदित मूर्ति पूजामा संलग्न रहयौ।
4 तिमीहरू त्यस्ता “असभ्य वस्तुहरूमा” भाग नलिँदा तिनीहरू आश्चर्य मानिरहेका छन्। येसैले तिनीहरू निन्दनीय कुरा गर्छन्। 5 तर ती मानिसहरूले ख्रीष्टलाई लेखा दिनेछन् जो मरेका र जिउँदा मानिसहरूको न्याय गर्न तयार हुनुहुन्छ। 6 ती मानिसहरूलाई सुसमाचार प्रचार गरियो जो अहिले मरिसकेका छन् किनभने तिनीहरूले आफ्नो जीवन कालमा गरेका कर्मका लागि अरू सबैलाई गरिए जस्तै तिनीहरूलाई न्याय गरिनेछ। तर तीनीहरू प्रति सुसमाचार प्रचार गरियो जसद्वारा तिनीहरू परमेश्वर जीवित रहनु भए झैं आत्मामा जीवित रहन सक्छन्।
© 2004, 2010 Bible League International