Revised Common Lectionary (Complementary)
118 परमप्रभुलाई आदर गर किनभने उहाँ परमेश्वर हुनुहुन्छ।
उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!
2 इस्राएल ले यसो भन्छ,
“उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!”
14 परमप्रभु मेरो शक्ति र विजयी गीत हुनुहुन्छ।
उहाँले मलाई बँचाउनु हुन्छ।
15 तिमीले विजयी उत्सवहरू शिष्ट मानिसहरूका घरमा मानेको हुन सक्छौ।
परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
16 परमप्रभुको पाखुराहरू विजयी भएर उठे।
परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
17 म बाँच्ने छु मर्ने छैन
अनि परमप्रभुले के गर्नुभयो भनेर बताउनेछु।
18 परमप्रभुले मलाई दण्ड दिनु भयो,
तर उहाँले मलाई मर्न दिनु भएन।
19 असल प्रवेशद्वारहरू, मेरो निम्ति खोलियो
अनि म भित्र आउने छु र परमप्रभुलाई पूज्ने छु।
20 तिनीहरू परमप्रभुको प्रवेशद्वारहरू हुन्।
विशेष धर्मी मानिसहरू मात्र त्यहाँबाट जान सक्छन्।
21 परमप्रभुले, मेरो प्रार्थनाको जवाफ दिनु भएकोमा धन्यवाद प्रकट गर्दछु।
मलाई बचाउनु भएकोमा धन्यवाद प्रकट गर्छु।
22 जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्।
त्यही मूल ढुङ्गा[a] हुन गयो।
23 परमप्रभुले यस्तो बनाउनु भयो।
अनि हामीले यसलाई आश्चर्यजनक भनेर सोच्यौं।
24 आज त्यो दिन हो जुन परमप्रभुले बनाउनु भयो।
फेरि आज प्रफुल्लित र खुशी हौं!
यर्दन नदीमा अद्भुत कार्य
3 भोलिपल्ट बिहानै उठे यहोशू अनि इस्राएलका समस्त मानिसहरू अनि शित्तीम छाडेर हिँडे। तिनीहरूले यर्दन नदी तिर यात्रा गरे, अनि नदी तर्नु अघि छाउनी हालेर बसे। 2 तीन दिन पछि अगुवाहरू छाउनी भएर गए। 3 अगुवाहरूले मानिसहरूलाई आज्ञा दिए। तिनीहरूले भने, “तिमीहरूले पूजाहारी अनि लेवीहरूलाई परमप्रभु तिमीहरूको परमेश्वरको करारको सन्दूक बोकेका देख्ने छौ त्यसबेला तिमीहरू तिनीहरूको पछि लाग्नु पर्छ। 4 तर धेरै नजिक भएर नपछ्याउनु। तिनीहरूसँग दुइ हजार हातको पछि रहनु। तिमीहरू पहिला यहाँ आएका थिएनौ। तर यदि तिमीहरूले तिनीहरूलाई पछ्यायौ भने कहाँ जानु पर्ने तिमीहरूले थाहा पाउनेछौ।”
5 त्यसपछि यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले स्वयंलाई पवित्र बनाऊ। भोलि परमप्रभुले अद्भुत कुराहरू गर्नका निम्ति तिमीहरूको उपयोग गर्नु हुनेछ।”
6 तब, यहोशूले पूजाहारीहरूलाई भने, “करारको सन्दूक लेऊ अनि मानिसहरूको अघि गएर नदी पारी जाऊ।” यसकारण पूजाहारीहरूले सन्दूक उठाए अनि बोकेर मानिसहरूको अगाडी गए।
7 तब परमप्रभुले यहोशूलाई भन्नु भयो, “आज म तँलाई इस्राएलका समस्त मानिसहरूको नजरमा महान तुल्याउने काम शुरू गर्नेछु। तब मानिसहरूले जान्ने छन् म मोशाको साथमा थिएँ त्यसरी नै तेरो साथमा पनि छु। 8 पूजाहारीहरूले करारको सन्दूक बोक्ने छन्। पूजाहारीहरूलाई भन, ‘तिमीहरूले यर्दन नदीमा खुट्टा राख्नु पर्छ र पानीमा उभिनु पर्छ।’”
9 तब यहोशूले इस्राएलका मानिसहरूलाई भने, “आऊ, अनि परमप्रभु तिमीहरूका परमेश्वरको वचन सुन। 10 यहाँ प्रमाण छ कि जीवित परमेश्वर साँच्चै तिमीहरूका साथ हुनुहुन्छ। यहाँ प्रमाण छ कि उहाँले सँच्चै नै तिमीहरूका शत्रुहरूलाई परास्त गरिदिनु हुनेछ। उहाँले कनानी, हित्ती, परिज्जी, गिर्गाशी, एमोरी अनि यबूसी मानिसहरूलाई परास्त गर्नुहुने छ, उहाँले तिनीहरूलाई त्यो भूमि छोड्न वाध्य तुल्याउनु हुनेछ। 11 जब तिमीहरू यदर्न नदी पार गर्छौ सम्पूर्ण संसारका मालिकको करारको सन्दूक तिमीहरूको अघि जानेछ। 12 अब, बाह्रजना मानिसहरू छान। इस्राएलको बाह्र कुल समुहबाट एक मानिस छान। 13 पूजाहारीहरूले परमप्रभुको सन्दूक बोक्नेछन्। परमप्रभु सम्पूर्ण पृथ्वीका मालिक हुनुहुन्छ। जब तिनीहरू पानीमा पस्छन् यर्दन नदीको पानी बग्न रोकिन्छ। पानी बन्द भएर बाँध जस्तै बनिनेछ।”
14 पूजाहारीहरूले करारको सन्दूक बोके अनि मानिसहरूले आफ्नो छाउनी छाडे, मानिसहरूले यर्दन नदी तर्न तिनीहरूको पछि लागे। 15 (फसल कटनीको समयमा यर्दन नदी किनार माथि-माथि भएर बग्छ।) यसर्थ नदी पूर्ण रूपले भरिएको थियो। पूजाहारीहरू, जसले सन्दूक बोकेका थिए, नदीका किनारमा आए र तिनीहरूले पानीमा टेके। 16 अनि पानी बग्न तुरन्तै बन्द भयो। यो पानी नदीको धेरै टाढो अदाम (शरतानको शहर) सम्म एउटा बाँध जस्तो थुप्रियो, यस्तो प्रकारले कि अराबाह समुद्र (मृत सागर) तिर बगिरहेको पानी पुरै काटिएको थियो। मानिसहरू नदी पार गरेर यरीहोको नजीक पुगे। 17 त्यस स्थानको भूमि सूक्खा भयो, अनि पूजाहारीहरू परमप्रभुको करारको सन्दूक बोकेर नदीको माझमा पुगे र तिनीहरू रोकिए। पूजाहारीहरू त्यहाँ पर्खिए तब इस्राएलका सबै मानिसहरू सूख्खा भूमि भएर हिँडेर यर्दन नदी पारी पुगे।
येशू बौरी उठेको समाचार
(मर्कूस 16:1-8; लूका 24:1-12; यूहन्ना 20:1-10)
28 विश्रामको भोलिपल्ट सप्ताहको पहिले दिन थियो। पहिलो दिनको झिसमिसे उज्यालो हुदाँ मरियम मग्दलिनि र मरियम नाम गरेकी अर्की स्त्रीहरू चिहान हेर्न गए।
2 त्यसबेला त्यहँ ठूलो भूँईंचालो गयो। स्वर्गबाट प्रभुको एउटा दूत तलतिर ओर्ले। स्वर्गदूत चिहानतर्फ गए अनि चिहानको ढुङ्गालाई पल्टाएर पर सारे। त्यसपछि उनी त्यसमाथि बसे। 3 ती स्वर्गदूत बिजुली जस्तै चम्किला थिए। उनको लुगाफाटा हिउँ जस्तो सेतो थियो। 4 ती स्वर्गदूतलाई देखेर सैनिकहरू डरले कामे अनि बेहोस भएर लडे।
5 त्यो स्वर्गदूतले भने, “तिमीहरू डराउनु पर्दैन। म जान्दछु तिमीहरू येशूलाई खोजिरहेका छौ, जसलाई क्रूसमा झूण्ड्याएर मारिएको थियो। 6 तर येशू यहाँ हुनुहुन्न। उहाँ मृत्युबाट बौरी उठ्नु भएको छ, उहाँले पहिले नै भन्नुभए जस्तै। आऊ, अनि स्थान हेर जहाँ उहाँको शरीर राखिएको थियो। 7 अनि झट्टै गएर उहाँका चेलाहरूलाई भनिदेऊ। तिनीहरूलाई भन्, ‘येशू पुनर्जीवित हुनु भएको छ। उहाँ गालीलतिर जानुभएको छ। त्यहाँ तिमीहरूको अघि नै उहाँ पुग्नु हुनेछ। त्यहाँनै उहाँलाई तिमीहरूले देख्न पाउनेछौ।’” फेरि ती स्वर्गदूतले भने, “मैले तिमीहरूलाई भनिदिएको छु।”
8 त्यसपछि ती आईमाईहरू त्यो चिहान छोडेर गए। तिनीहरू डराए, तर खुशी पनि भए। तिनीहरू उहाँका चेलाहरूलाई त्यहाँ भएको घट्नाको विषयमा सुनाउन दगुरे। 9 तर ती आईमाईहरू उहाँका चेलाहरूलाई भन्न दगुर्दै गर्दा, येशू तिनीहरूकै अघि उभिरहनु भएको थियो। येशूले भन्नुभयो, “अभिवादन छ!” ती आईमाईहरू येशूकहाँ गए। तिनीहरूले झट्ट उहाँको पाउ पक्रेर उहाँको उपासना गरे। 10 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “डराउनु पर्दैन। जाऊ अनि मेरा भाइहरूलाई गालीलमा जान भनिदेऊ। तिनीहरूले मलाई त्यहाँ देख्न पाउनेछन्।”
© 2004, 2010 Bible League International