M’Cheyne Bible Reading Plan
शरण शहरहरू
20 तब परमप्रभुले यहोशूलाई भन्नु भयो, 2 “मैले तिमीहरूलाई निर्देश दिन मैले मोशालाई आज्ञा गरे झैं सुरक्षाका विशेष शहरहरू निर्माण गर्न इस्राएलीहरूलाई भन। इस्राएलीहरूलाई शरण स्थानको विशेष शहरहरू नियुक्त गर्नु भन। 3 यदि कुनै मानिसले अर्को मानिसलाई मार्छ, तर त्यो अन्जानमा हो अनि उसले त्यस मानिसलाई मार्न चाहेको होइन भने उसलाई मार्न चाहने उसका आफान्तहरूबाट लुक्नका निम्ति त्यो शरण शहरमा जान सक्छ।
4 “त्यस मानिसले जे गर्नुपर्छ त्यो यो होः जब त्यो भागेर ती शहरहरू मध्ये एउटामा जान्छ। त्यो त्यस शहरको प्रवेश द्वारमा रोकिएर उभिनु पर्छ अनि मानिसहरूका अगुवाहरूलाई भन्नु पर्छ के भएको थियो। तब अगुवाहरूले त्यसलाई शहरमा प्रवेश गर्न दिने छन्। त्यसलाई तिनीहरूसँगै बस्न दिऊन्। 5 तर त्यस मानिसलाई खेद्दै आउने मानिस शहरमा पछ्याउँदै आउन सक्नेछ। यदि यस्तो भयो भने शहरका अगुवाहरूले उसलाई छोड्नु हुँदैन। तिनीहरूले त्यस मानिसको रक्षा गर्नुपर्छ जो तिनीहरू कहाँ सुरक्षाको निम्ति आएकोछ किनभने त्यसले एउटा मानिसलाई अन्जानमा मारेको थियो। उ क्रोधित भएको थिएन, अनि त्यस मानिसलाई मार्ने योजना गरेको थिएन। 6 त्यो मानिसलाई त्यस शहरको न्यायलयले त्यसको न्याय नगरे सम्म त्यस शहरमा बस्नु पर्नेछ। अनि प्रधान पूजाहारीको मृत्यु नहुन्जेल त्यो त्यस शहरमा बस्नु पर्नेछ। त्यसपछि त्यो आफ्नै घर भएको शहरमा फर्की जानसक्नेछ, जहाँबाट त्यो व्यक्ति भागेको थियो।”
7 यसर्थ इस्राएलका मानिसहरूले “शरणस्थान-शहरहरू” घोषणा गर्नको निम्ति केही शहरहरू चुने। ती शहरहरू थिएः गालीलमा नप्तालीको पहाडी देश कादेश एप्रैमको पहाडी देश शकेममा। यहूदाको पहाडी देशमा किर्यतर्बा (हेब्रोन)। 8 रूबेनको भूमिको मरुभूमि इलाकाको यरीहोदेखि यर्दन नदी पारी पूर्वको बेसेर, गादको भूमि गिलादको रामोत, मनश्शेका भूमिमा बाशानको गोलान।
9 कुनै इस्राएली वा कुनै विदेशी तिनीहरूमाझ बस्ने जसले अन्जानमा कसैलाई मारेका थिए, उनीहरूलाई सुरक्षाका ती शहरहरू मध्ये एउटामा भागेर जान दिइन्थ्यो। तब त्यो मानिस त्यहाँ सुरक्षित हुनसक्थिएन अनि कसैद्वारा, जसले त्यसलाई खेदिरहेथ्यो, त्यसलाई मारिदिन्थे। त्यस मानिसलाई त्यस शहरको अदालतद्वारा जाँच गरिनेछ।
पूजाहारीहरू अनि लेवीहरूका निम्ति भूमि
21 लेवी कुल समूहका शासकहरू पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि इस्राएलका अन्य कुल समूहका शासकहरूसित बात गर्न गए। 2 यो कुरा कनानको भूमिको शीलो शहरमा भयो। लेवी अगुवाहरूले तिनीहरूलाई भने, “हामीहरूलाई बस्नका निम्ति शहरहरू दिनु भनी मोशाद्वारा परमप्रभुले तिमीहरूलाई आदेश दिएका थिए। अनि उहाँले हामीलाई खेतहरू पनि दिनु, जहाँ हाम्रा पशुहरू चर्छन्, भनी तपाईंलाई आदेश दिनु भएको थियो।” 3 यसर्थ इस्राएलका मानिसहरूले परमप्रभुको यो आदेशको पालन गरे। तिनीहरूले लेवी मानिसहरूलाई यी शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति ती वरिपरिका भूमि दिए।
4 कहातीको कुल, लेवीको वंश समूहका पूजाहारी हारूनका वंशजहरू थिए। कहाती वंशका अंशलाई तेह्र शहरहरू दिइयो जो यहूदा, शिमोन अनि बिन्यामीनका इलाका भित्र थिए।
5 अन्य कहाती कुलहरूलाई दश शहरहरू दिइयो जो एप्रैम, दान अनि आधा मनश्शेका इलाका भित्र थिए।
6 गेर्शोन कुलका मानिसहरूलाई तेह्र शहरहरू प्रदान गरिए। यी शहरहरू ती इलाकामा थिए जो इस्साकार, आशेर, नप्ताली अनि बाशानमा भएको आधा मनश्शेका थिए।
7 मरारी कुलका मानिसहरूलाई बाह्र शहरहरू दिइए। यी बाह्र शहरहरू रूबेन, गाद अनि जबूलूनका इलाकाबाट आएका थिए।
8 यसरी इस्राएलका मानिसहरूले लेवी मानिसहरूलाई यी शहरहरू अनि ती वरिपरिका खेतहरू दिए जसरी परमप्रभुले मोशालाई भन्नु भएको थियो।
9 यी नाउँहरू ती शहरहरूका हुन्, जो यहूदा अनि शिमोनको इलाकामा थिए। 10 कहात कुलबाट शहरहरू पहिला लेवीहरूलाई प्रदान गरियो। 11 लेवीहरूलाई तिनीहरूले दिए किर्यत-अर्बा (यो हेब्रोन हो। यसको नाउँ अर्बानामको मानिसको नाउँबाट राखिएको थियो। अर्बा अनाकका पिता थिए।) तिनीहरूका पशुहरूका निम्ति पनि कहातीहरूले शहर छेऊका केही भूमि तिनीहरूलाई दिए। 12 तर किर्यतर्बा शहर वरिपरिका खेत अनि स-साना शहरहरू यपुन्नेका छोरा कालेबका थिए। 13 यसर्थ तिनीहरूले हेब्रोन शहर हारूनका वंशलाई दिए (हेब्रोन शरणस्थान-शहर थियो।) हारूनका सन्तानहरूलाई तिनीहरूले लिब्ना, 14 यत्तीर, एश्तमो, 15 होलोन, दबीर, 16 ऐन, युत्ता अनि बेतशेमेश पनि दिए। तिनीहरूलाई पशुहरूको निम्ति पनि ती शहरहरू नजिकका केही भूमि तिनीहरूले दिए। तिनीहरूले ती दुइ समूहहरूलाई नै शहरहरू दिए।
17 तिनीहरूले हारूनका सन्तानलाई शहरहरू दिए जो बिन्यामीनका कुल समूहका थिए। यी शहरहरू गिबोन, गेबा, 18 अनातोत अनि अल्मोन थिए। तिनीहरूले यी चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति यी शहरहरू नजिकैका केही भूमि तिनीहरूलाई दिएका थिए। 19 त्यहाँ जम्मा तिनीहरूले पूजाहारीहरूलाई तेह्र शहरहरू प्रदान गरे। (सबै पूजाहारीहरू हारूनका सन्तानहरू थिए।) तिनीहरूले तिनीहरूका पशुहरूका निम्ति पनि प्रत्येक शहर नजिकैका केही भूमि तिनीहरूलाई दिए।
20 कहात वंशका अन्य मानिसहरूलाई ती शहरहरू प्रदान गरिए जो एप्रैम कुल समूहका क्षेत्रमा थिए। तिनीहरूले यी शहरहरू पाए। 21 एप्रैमको पहाडी देशका शकेम शहर। (शकेम एक शरण स्थान शहर थियो।) तिनीहरूले गेजेर, 22 किब्सैम अनि बेथहोरोन पनि प्राप्त गरे। एप्रैमले तिनीहरूलाई चार शहरहरू अनि प्रत्येक शहर वरिपरिका केही भूमि तिनीहरूका पशुहरूका निम्ति दिए।
23 दानको कुल समूहले तिनीहरूलाई एल्तके, गिब्बतौन, 24 अय्यालोन अनि गात-रिम्मोन दिए। दानले तिनीहरूलाई चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।
25 मनश्शेको आधा कुल समूहले तिनीहरूलाई तानाक र गत्रिम्मोन दिए। यो मनश्शेको आधा कुल समूहले तिनीहरूलाई दुइ शहर अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।
26 कहात कुलका बाँकी मानिसहरूले जम्मा दश शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि पाए।
27 गेर्शोन कुल पनि लेवी कुल समूहमा थिए। तिनीहरूले यी शहरहरू पाएः
मनश्शेका आधा कुल समूहले तिनीहरूलाई बाशानको गोलन दिए। (गोलन शरणस्थान-शहर थियो।) मनश्शेले तिनीहरूलाई बेश्तरा पनि दिए। यो मनश्शेको आधा कुल समूहले जम्मा दुइ शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।
28 इस्साकार कुलसमूहले तिनीहरूलाई किश्योन, दाबरत, 29 यर्मत अनि एन्गन्नीम दिए। इस्साकारले जम्मा चार शहरहरू र तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि तिनीहरूलाई दिए।
30 आशेरका कुल समूहले तिनीहरूलाई मिशाल, अब्दोन, 31 हेल्कात, अनि रहोब दिए। जम्मा आशेरले तिनीहरूलाई चार शहरहरू र तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।
32 नप्ताली कुल समूहले तिनीहरूलाई गालीलको केदेश दिए। (केदेश शरणस्थान-शहर थियो।) नप्तालीले तिनीहरूलाई हम्मोत्दर अनि कर्तान पनि दिए। नप्तालीले जम्मा तीन शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।
33 गेर्शोन कुलले जम्मा तेह्र शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि पाए।
34-39 अन्य लेवीसमूह मरारी कुलका थिए। मरारी कुलले यी शहरहरू पाएः जबूलूनका कुल समूहले तिनीहरूलाई योक्नाम, कर्ता, दिम्ना, अनि नहलाल दिए। जबूलूनले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए। रूबेन कुल समूहले तिनीहरूलाई बेसेर, यहसा, कदेमोत, अनि मेपात दिए। रूबेनले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका भूमि तिनीहरूलाई दिए। गाद कुल समूहले तिनीहरूलाई गिलादको रामोत दिए। (रामोत शरणस्थन-शहर थियो।) तिनीहरूले महनैम, हेस्बोन अनि याजेर पनि तिनीहरूलाई दिए। तिनीहरूलाई गादले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका भूमि तिनीहरूलाई दिए।
40 यसरी, अन्तिम लेवी कुलले जम्मा बाह्र शहरहरू प्राप्त गरे।
41 यसरी लेवीहरूले जम्मा अठचालीस शहरहरू अनि आफ्ना पशुहरूका निम्ति हरेक शहर वरिपरिका केही भूमि प्राप्त गरे। यी सबै शहरहरू ती इलाकामा थिए जो अन्य कुल समूहहरूका थिए। 42 यी प्रत्येक शहरमा आफ्ना पशुहरूका निम्ति केही भूमि थियो। प्रत्येक शहरका निम्ति त्यो प्रकृत थियो।
43 यसरी परमप्रभुले प्रतिज्ञा गर्नु भयो जो उहाँले इस्राएलका मानिसहरूलाई दिनु भन्नुभएको थियो। उहाँले मानिसहरूलाई सबै भूमि दिनुभयो जो उहाँले प्रतिज्ञा गर्नु भएको थियो। मानिसहरूले भूमि लिए अनि त्यहाँ बसे। 44 अनि परमप्रभुले तिनीहरूलाई, उहाँले तिनीहरूका अगुवाहरूसित प्रतिज्ञा गर्नु भए जस्तै, आफ्नो भूमिका चारैतिर शान्ति प्रदान गर्नदिनु भयो। तिनीहरूका कुनै पनि शत्रुहरूले तिनीहरूलाई परास्त गरेनन्। परमप्रभुले इस्राएलका मानिसहरूलाई हरेक शत्रुलाई परास्त गर्न दिनुभयो। 45 परमप्रभुले हरेक प्रतिज्ञा पूर्ण गर्नुभयो जो उहाँले इस्राएलका मानिसहरू प्रति गर्नु भएको थियो। त्यहाँ कुनै पनि प्रतिज्ञाहरू बाँकी रहेनन् जसलाई पूर्णगर्न चुक्नु भयो। प्रत्येक प्रतिज्ञा सत्य हुन आयो।
लूका लेख्छन्
1 प्रिय थियोफिलस,
मैले मेरो प्रथम पुस्तकमा, येशूले जे-जे गर्नु भयो र सिकाउनु भयो प्रत्येक कुरो लेखें। 2 मैले येशूको सम्पूर्ण जीवन बारे लेखें, प्रारम्भदेखि उहाँ स्वर्ग तिर उचालिनु भए सम्म। यो घट्ना हुनु अघि उहाँद्वारा चुनिएका प्रेरितहरूसित उहाँले बातचित गर्नु भयो। प्रेरितहरूले के गर्नु पर्छ भन्ने कुरा पवित्र आत्माको सहयोग लिएर उहाँले बताउनु भयो। 3 यी सबै घट्नाहरू येशूको मृत्यु पछि भयो, अनि उहाँले आफ्ना प्रेरितहरूलाई आफू जिउँदो रहेको शक्तिशाली प्रमाणहरूले प्रमाणित गर्नु भयो। येशू मृत्युबाट बौरी उठे पछि प्रेरितहरूले उहाँलाई चालीस दिनको अवधिमा धेरै पल्ट देखे। उहाँले तिनीहरूसँग परमेश्वरका राज्यको विषयमा बताउनुभयो। 4 एक समय जब येशू तिनीहरूसँग खाई रहनु भएको थियो, उहाँले तिनीहरूलाई यरूशलेम नछोड्ने कुरा भन्नुभयो। उहाँले भन्नुभयो, “पिताले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएकोछ, जुन मैले तिमीहरूलाई पहिल्यै भनिसकेकोछु। त्यो प्रतिज्ञा प्राप्त गर्नलाई तिमीहरूले यरूशलेममा पर्खिनु पर्छ। 5 यूहन्नाले मानिसहरूलाई पानीद्वारा बप्तिस्मा दिए, तर केही दिन पछिबाट तिमीहरूले पवित्र आत्माद्वारा बप्तिस्मा लिनेछौ।”
येशूको स्वर्गारोहण
6 प्रेरितहरू जम्मा भए। तिनीरूले येशूलाई सोधे, “हे प्रभु के यो इस्राएललाई राज्य फेरि फिर्ता दिने तपाईंको समय यही हो?”
7 येशूले तिनीहरूलाई भन्नुभयो, “पिता मात्र एक हुनुहुन्छ जसको मिति र समयहरू निर्णय गर्ने अधिकार छ। तिमीहरू यी कुराहरू बारे जान्न सक्तैनौ। 8 तर पवित्र आत्मा तिमीमाथि आउनु हुनेछ अनि तिमीहरूले शक्ति पाउनेछौ। तिमीहरू मानिसहरूबीच मेरो गवाही हुनेछौ। पहिले तिमीहरू यरूशलेमका मानिसहरूका निम्ति गवाही हुनेछौ। तब तिमीहरूले यहूदियामा, सामरियामा अनि संसारका प्रत्येक ठाउँका मानिसहरूलाई बताउनेछौ।”
9 येशूले प्रेरितहरूलाई ती कुराहरू भनिसके पछि उहाँ माथि आकाश सम्म उचालिनु भयो। प्रेरितहरूले हेर्दा हेर्दै येशू बादलभित्र पस्नु भयो अनि तिनीहरूले उहाँलाई देख्न सकेनन्। 10 येशू टाढा गइरहनु भएको थियो अनि प्रेरितहरूले आकाश तर्फ हेरिरहेका थिए। अचानक दुइजना मानिसहरू सेतो वस्त्र धारण गरेर तिनीहरूका छेउमा उभिए। 11 ती दुइजना मानिसहरूले प्रेरितहरूलाई भने, “गालीलका मानिसहरू, तिमीहरू यहाँ किन आकाशतर्फ हेर्दै उभिरहेकाछौ? तिमीहरूले येशूलाई तिमीहरूदेखि स्वर्ग-आरोहण भएको देख्यौ। जसरी तिमीहरूले उहाँलाई जानु भएको देख्यौ त्यसरी नै उहाँ फर्की आउनु हुनेछ।”
नयाँ प्रेरित चुनिए
12 त्यसपछि प्रेरितहरू जैतून पर्वतदेखि यरूशलेम तिर लागे। यो पर्वत यरूशलेमदेखि प्राय आधा माईल टाढो छ। 13 प्रेरितहरू शहरभित्र पसे। तिनीहरू त्यही ठाउँमा गए जहाँ तिनीहरू बसेका थिए; यो कोठा माथिल्लो तलामा थियो। प्रेरितहरू थिए पत्रुस, यूहन्ना, याकूब अन्द्रियास, फिलिप, थोमा, बर्थुलमै, मत्ती, याकूब (अल्फयसको छोरो) र शिमोन (कनानी) र यहूदा (याकूबको छोरो)।
14 प्रेरितहरू एक साथ थिए। एकै उद्वेश्यको लागि तिनीहरूले लगातार प्रार्थना गरिरहेका थिए। केही नारीहरू, मरियम येशूको आमा अनि उहाँका भाइहरू पनि त्यहाँ प्रेरितहरूसँग थिए।
15 केही दिन पश्चात् त्यहाँ विश्वास गर्नेहरूको सभा भइरहेको थियो। सभामा झण्डै एक सय बीस जना मानिसहरू थिए। पत्रुस उभिए र भने, 16-17 “भाइहरू हो! दाऊदको माध्यम पवित्र आत्माले केही घट्नाहरू घट्नेछन् भनी धर्मशास्त्रमा भनेका थिए। उनी यहूदाको विषयमा बात गरिरहेका थिए जो हाम्रा दलका एक जना थिए। यहूदाले हामीसित सेवा गरेका थिए अनि ती मानिसहरूका मार्ग दर्शक भए जसले येशूलाई पक्रे।”
18 (यहूदालाई पैसा दिएर त्यसो गर्न खटाएको थियो। आफ्नो दुष्ट कामको पैसाले एउटा जमीन किन्यो। तर यहूदा उँधो मुण्टो भएर पछारियो, त्यसको शरीर खुल्ला भएर फुट्यो, सबै आन्द्रा भुँडीहरू निस्किए। 19 यो घट्नाबाट सम्पूर्ण येरूशलेमको जनसाधरणले शिक्षा पाए। त्यसैकारणले त्य खेतको नाउँ मानिसहरूले हकल्दामा राखे। तिनीहरूको भाषामा हकल्दामाको अर्थ, “रगतको खेत” हुन्छ।)
20 पत्रुसले भने, “भजनसंग्रहमा यहूदाको विषयमा यस्तो लेखिएको छः
‘उसको घर जनहीन होस्।
कोही पनि त्यहाँ नबसुन्।’(A)
अनि यस्तो पनि लेखियो:
‘त्यसको काम अरू कसैले लैजाओस्।’(B)
21-22 “यसैकारण अब अर्को मानिस हामीसँग सम्मिलित होस् र येशू पुनरुत्थान हुनु भएको गवाही बनोस्। यो मानिस हाम्रै टोलीको हुनुपर्छ जो प्रभु येशूको जीवनकाल भरि हामीसँग रहेको हुनु पर्दछ। यो मानिस यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिएको दिनदेखि येशूको स्वर्ग-आरोहण भएको दिनसम्म हामीसँग रहेको हुनुपर्छ।”
23 प्रेरितहरूले दुइजना मानिसहरू टोलीको समक्ष राखे। एकजना यूसुफ बर्णबास थिए। जसलाई जस्तस पनि भनिन्थ्यो। अर्को मानिस मत्तियास थियो। 24-25 प्रेरितहरूले प्रार्थना गरे, “प्रभु, तपाईंले सबै को मनका कुराहरू जान्नु हुन्छ। हामीलाई देखाउनु होस् यी दुइजना मध्ये कसलाई यो काम गराउन तपाईंले छान्नु भएको छ। यहूदाले त्यसलाई छाडे अनि तिनी वास्तवमा कहाँका थिए त्यहीं गए। प्रभु, हामीलाई देखाउनुहोस् कि कुन मानिसले एक प्रेरितको स्थान लिनु पर्ने हो।” 26 प्रेरितहरूले दुइ जनाबाट एकजना छान्नलाई चिट्ठा गरे। चिट्ठामा मत्तियासको नाउँ पर्यो। यसैकारणले अन्य एघारजना प्रेरितहरू सहित ऊ पनि एक प्रेरित हुन पुगे।
परमप्रभु र मूर्तिहरू
10 हे इस्राएलका मानिसहरू, परमप्रभुको वचन सुन। 2 परमप्रभुले यही भन्नुहुन्छ:
“अन्य जातिहरूबाट आएका मानिसहरूको जस्तो जीवन नजिओ।
आकाशका विशेष चिन्हहरूसित नडराऊ।
अन्य जातिका मानिसहरूले अकाशमा जे देख्छन् तिनीहरू डराउँछन्।
तर तिमीहरू त्यस्ता कुराहरूमा डराउनु पर्दैन।
3 अन्य मानिसहरूका रीति-रिवाजहरू महत्वहीन छन्।
तिनीहरू जङ्गलमा रूख काट्छन्
शिल्पीकारले आफ्नो बञ्चरोले आकार बनाउँछ।
4 तिनीहरूले चाँदी र सुन लगाएर प्रतिमाहरू सुन्दर बनाउँछन्।
तब तिनीहरूले मार्तोलहरू र काँटीहरू मूर्तिहरू अड्याउनलाई प्रयोग गर्छन्,
ताकि ती मूर्तिहरू तल नझरोस्।
5 मूर्तिहरू खेतमा राखेको तर्साउने पुतला जस्तै हुन्।
तिनीहरू बोल्दैनन्।
तिनीहरूलाई बोक्नु पर्छ,
किनभने तिनीहरू हिंड्न सक्तैनन्।
तिनीहरूलाई आदर नगर!
तिनीहरूले नोक्सान
अथवा सहायता गर्नु सक्तैन।”
6 हे परमप्रभु, तपाईं जस्तो कोही पनि छैन!
तपाईं महान हुनुहुन्छ,
अनि तपाईंको नाउँ महान् र शक्तिशाली छ।
7 हे परमेश्वर प्रत्येकले तपाईंलाई आदर गर्नै पर्छ।
तपाईं सबै जातिहरूका महाराजा हुनुहुन्छ।
तपाईं सम्मानको योग्य हुनुहुन्छ।
अन्य राज्यहरूमा धेरै ज्ञानी मानिसहरू छन्,
तर तपाईं समान कोही पनि ज्ञानी छैन।
8 अन्य जातिका मानिसहरू लठुवा र मूर्ख छन्।
तिनीहरूका शिक्षा काठको महत्वहीन मूर्तिहरूबाट आउँछन्।
9 तिनीहरूले मूर्तिहरू बनाउनु तर्शीशबाट चाँदी
अनि उपज देशबाट सुन ल्याउँछन्।
मूर्तिकार र सुनारहरूले मूर्तिहरू बनाउँछन्
र नीलो र बैंजनी लुगाहरू लगाइदिन्छन्।
निपुण “शिल्पीहरूले” यी सब “चीजहरू” बनाँउछन्।
10 तर परमप्रभु चाँहि साँच्चो परमेश्वर हुनुहुन्छ।
उहाँ मात्र जीवित परमेश्वर हुनुहुन्छ।
उहाँ राजा हुनुहुन्छ, जसले सदाकाल शासन चलाउनु हुन्छ।
परमेश्वरको रीसमा पृथ्वी काम्छ,
अनि विदेशीहरूले उहाँको क्रोध सहन सक्तैनन्।
11 परमप्रभु भन्नुहुन्छ, “यो सन्देश मानिसहरूमा घोषित गर,
‘यी झूटा देवताहरूले आकाश र पृथ्वी बनाएनन्।
पृथ्वी र आकाश मुनि तिनीहरू लोप हुन्छन्।’”
12 परमेश्वर नै हुनुहुन्छ, जसले पृथ्वीलाई आफ्नो शक्तिले सृष्टि गर्नुभयो।
परमेश्वरले आफ्नो ज्ञानले संसारलाई रच्नु भयो
अनि उहाँले आफ्नो समझद्वारा आकाशलाई फैलाउनुभयो।
13 उहाँको वचनको आवाजले
आकाशमा पानी गर्जन्छ।
पृथ्वीको अन्तबाट उहाँले बादल आउने बनाउनु हुन्छ।
उहाँले बर्षा सित बिजुली ल्याउनु हुन्छ।
उहाँले आफ्नो भण्डारबाट बतास ल्याउनु भयो।
14 मानिसहरू एकदमै मूर्ख छन्।
मूर्तिहरूले आफ्ना सृष्टिाहरूलाई मूर्ख बनाए।
ती मूर्तिहरू वास्तवमा मिथ्या बाहेक केही होइन।
तिनीहरूमा जीवन हुँदैन।
15 ती मूर्तिहरू महत्वहीन हुन्।
तिनीहरू केवल खिसीका पात्र हुन्।
न्यायको समयमा ती मूर्तिहरू सड्नेछन्।
16 तर याकूबका परमप्रभु ती मूर्तिहरू जस्ता हुनुहुन्न।
परमप्रभुले सबै थोक बनाउनु भयो
अनि परमप्रभुले इस्राएल परिवारलाई,
परमप्रभुले उहाँको आफ्नै मानिसहरू भनी रोज्नु भयो।
परमेश्वरको नाउँ “सेनाहरूका परमप्रभु” हो।
विनाश आइरहेछ
17 घेरामा परेका तिमी मानिसहरू,
प्रत्येक चीज पोको पार
अनि जानलाई तत्पर हौऊ।
18 परमप्रभु भन्नुहुन्छ
“यस समय म यहूदाका मानिसहरूलाई देशबाट बाहिर निकाली दिनेछु।
म तिनीहरूमाथि सङ्कटहरू ल्याइदिनेछु
ताकि तिनीहरूलाई पक्राइनेछन्।”
19 धिक्कार छ मलाई! मैले नराम्रो घतले चोट पाएँ।
म साह्रै घाइते छु
यद्यपि मैले स्वयंलाई भने, “यो मेरो बीमार हो,
जसको लागि म पीडित हुनै पर्छ।”
20 मेरो पाल भत्काइयो।
सारा डोरीहरू चुँडाइयो।
मेरा छोरा-छोरीहरूले मलाई त्यागे।
तिनीहरू गए।
मेरो पाल फैलाउन
अथवा पालको पर्दा उठाउन यहाँ केही पनि छैन।
21 गोठालाहरू मूर्ख छन्,
अनि परमप्रभुलाई खोज्ने प्रयास गर्दैनन्।
यसकारण तिनीहरू सफल भएनन्,
यसकारण तिनीहरूका बथानहरू तितर-बितर भए अनि हराए।
22 सुन्, एउटा ठूलो हल्ला सुन!
हेर त्यो हल्ला उत्तरदेखि आइरहेछ।
यसले यहूदाका शहरहरू नष्ट पार्नेछ।
यहूदा एक रित्तो मरुभूमि झैं हुनेछ।
यो स्यालहरूका गुफा हुनेछ।
23 हे परमप्रभु! म जान्दछु कि मानिसले आफ्नो जीवन नियन्त्रण गर्दैन।
एउटा मानिसले आफ्नै पाइला ठीकसित राख्न सक्तैन।
24 हे परमप्रभु! निष्पक्ष भएर,
हामीलाई सुधार्नुहोस्।
क्रोधमा हामीलाई सजाय नदिनुहोस्
नत्र तपाईंले हामीलाई नाश पार्नु हुनेछ।
25 तपाईंको क्रोध ती जातिहरूमाथि पोखाउनु होस् जसले तपाईंलाई चिन्दैनन्
अनि ती मानिसहरूमाथि पोखाउनु होस्
ज-जसले तपाईंको नाउँ लिदैनन्।
ती जातिहरूले याकूबको परिवारलाई ध्वंस पारे।
तिनीहरूले इस्राएललाई पूर्णरूपले ध्वंस पारे।
तिनीहरूले इस्राएलको देश ध्वंस पारे।
भविष्यमा मन्दिर विनाश हुने
(मर्कूस 13:1-31; लूका 21:5-33)
24 जसै येशू मन्दिर छोडेर कतै जानु हुँदैथियो उहाँको चेलाहरू मन्दिरको भवनहरू देखाउन भनी आए। 2 येशूले चेलाहरूलाई भन्नुभयो, “यी भवनहरू देख्दैछौ? म तिमीहरूलाई साँच्चो भन्दछु यी भवनहरू ध्वंस पारिनेछन्। कुनै ढुङ्गा अर्को ढुङ्गामाथि रहने छैन।”
3 त्यसको केही बेरपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। चेलाहरू येशूको साथमा एकान्तमा आए। तिनीहरूले भने, “यो घट्ना कहिले हुनेछ कृपया हामीलाई पनि भन्नुहोस्। तपाईंको आगमनको र संसारको अन्तको संकेत के हुनेछ?”
4 येशूले भन्नुभयो, “होशियार बस। तिमीहरूलाई कसैले मुर्ख बनाउन नपाओस्। 5 धेरै मानिसहरू आउनेछन् र मेरो नाम लिनेछन्। तिनीहरूले ‘म नै ख्रीष्ट हुँ।’ भनी धेरैलाई मूर्खबनाउनेछन्। 6 तिमीहरूले लँडाईका बारेमा सुन्नेछौ। अनितिमीहरूले अब हुने लँडाईका बारेमा पनि समाचार सुन्नेछौ। तर डराउनु पर्दैन। यी सब घट्नाहरू हुनैपर्छ। तर अन्त्य अझ आइहाल्ने छैन। 7 किनभने एक जातिले अर्को जातिको विरोध गर्नेछ अनि राज्य राजयको विरोधमा युद्ध हुनेछ। अनि धेरै ठाउँमा अनिकाल लाग्नेछ अनि भूँईचालो जानेछ। 8 यी सबै थोक सुत्केरी व्याथा लागे झैं आइलाग्ने छन्।
9 “त्यसपछि तिमीहरूलाई मानिसहरूले नराम्रो व्यवहार गर्नेछन्। मानिसहरूले तिमीहरूलाई शासकहरूको हातमा सुम्पने र सताउनेछन् र मार्नेछन्। तिमीहरूले ममाथि विश्वास गरेकै कारण मानिसहरूद्वारा तिमीहरू घृणित हुनेछौ। 10 त्यसबेला धेरै विश्वासीहरूले आफ्नो विश्वास हराउनेछन्। तिनीहरूले एका-अर्कालाई विरोध गर्नेछन् र एक-अर्कालाई घृणा गर्नेछन्। 11 अनेकौं झूटा अगमवक्ताहरू निस्कनेछन्। तिनीहरूले मानिसहरूलाई झूटो कुराहरूमा विश्वास गराउने कोशिश गर्नेछन्। 12 संसारैभरि थुप्रै दुष्टहरूदेखा पर्नेछन्। अनि एकदमै विश्वासीहरूले प्रेम देखाउने छैनन्। 13 तर अन्त्यसम्मै जो दृढ रहन्छ उही नै सुरक्षित हुनेछ। 14 संसारैभरि परमेश्वरको राज्यको बारेमा सुसमाचारहरू प्रचार गरिनेछ। प्रत्येक राष्ट्रलाई नै यी कुराहरू भनिनेछ। त्यसपछि अन्त्य आउने छ।
15 “दानियल अगमवक्ताले ‘यस्तो खराब कुराहरूले विध्वंश ल्याउने छ’ भनी बताएका थिए।[a] तिमीहरूले यस्तो डरलाग्दा कुराहरू पवित्र ठाउँ अनि मन्दिरमा उभिएको देख्नेछौ” यी कुरा पढ्ने मानिसले यसको अर्थ बुझ्नुपर्छ। 16 “त्यसबेला यहूदियाका मानिसहरू पहाडतिर भाग्नु पर्नेछ। 17 मानिसहरू कतै नरोकिई समय खेर नफाली, भाग्नेछन्। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही लिनलाई ऊ तल ओर्लिन हुँदैन। 18 यदि कोही खेतमा छ भने उ पनि कोट लिनलाई फर्की जानु हुँदैन।
19 “त्यसबेला, गर्भवती भएका स्त्रीहरू र अनि दूध पिउने शिशूलाई दु:ध चुसाउने आमाहरूका निम्ति खुबै दु:खपूर्ण हुनेछ। 20 विश्राम र जाडोको समयमा यसरी भाग्नु नपरोस् भनी प्रार्थना गर। 21 किनभने त्यसबेला अत्यन्त दुःख हुनेछ। सृष्टिको शुरू भएदेखि अहिलेसम्म संसारमा यस्तो दु:ख भएको थिएन। पछि कहील्यै पनि भविष्यमा यस्तो दु:ख आइपर्ने छैन।
22 “परमेश्वरले त्यो महासंकटको समय छोट्याउनुभएको छ। यदि त्यो समय छोट्याइएन भने, कुनै मानिस पनि बाँच्ने छैन। तर आफूले चुनेका मानिसहरूलाई मद्दत गर्नलाई परमेश्वरले त्यो समयलाई छोटो पार्नु भएकोछ।
23 “त्यसबेला कसै-कसैले तिमीहरूलाई यसो भन्नसक्छन्, ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ।’ अथवा अर्का कसैले भन्नसक्छ, ‘अहाँ त्यहाँ हुनुहुन्छ।’ तर तिनीहरूलाई विश्वास नगर। 24 झूटो ख्रीष्ट र झूटो अगमवक्ताहरू देखा पर्नेछन् ठुला-ठुला कुराहरू र चमत्कारहरू गर्नेछन्। सम्भव भए परमेश्वरले चुन्नु भएका मानिसहरूलाई समेत धोका दिनका निम्ति तिनीहरूले यसो गर्नेछन्। 25 हेर, मैले अधिबाटै यस बारेमा तिमीहरूलाई सर्तक गराएकोछु।
26 “कसैले भन्नेछ, ‘ख्रीष्ट मरुभूमिमा हुनुहुन्छ।’ तर तिमीहरू ख्रीष्टलाई भेट्न मरुभूमि तिर नजाऊ। अरू कसैले भन्नसक्छ, ‘ख्रीष्ट त्यो कोठामा हुनुहुन्छ।’ तर त्यसलाई विश्वास नगर। 27 जब मानिसको पुत्रको आगमन हुन्छ सबै मानिसहरूले देख्न पाउनेछन्। यसबेला आकाशमा बिजुली चम्केर चारैतिर उज्यालो भएजस्तो हुनेछ। र त्यो उज्यालो चारैतिर देखिनेछ। 28 गिद्धहरू जम्मा भएको देखेर तिमीहरू त्यहाँ सीनो छ भनेर जान्न सक्छौ त्यसैगरी मेरो आगमन त्यस्तै प्रत्यक्ष हुनेछ।
29 “ती दिनका संकटहरूपछि तुरन्तै,
‘घाम अँध्यारो हुनेछ,
अनि जूनले पनि आफ्नो प्रकाश दिने छैन।
ताराहरू आकाशबाट झर्नेछन्,
अनि आकाशका सबै चीजहरू हेरफेर हुनेछन्।’[b]
30 “त्यसबेला आकाशमा केही चिन्ह देखीने छन् र ती मानिसको पुत्रको चिन्ह हुनेछन्। संसारभरिका सबै मानिसहरू रूनेछन्। सबै मानिसहरूले मानिसको पुत्रलाई आकाशमा बादलसँग आँउदै गरेको देख्नेछन्। मानिसको पुत्र शक्ति र महान गौरव लिएर आउनेछन्। 31 चारै दिशाबाट आकासको एक छेऊ देखि अर्को छेउसम्म परमेश्वरद्वारा चुनिएको मानिसहरूलाई भेला गर्न मानिसको पुत्रले तुरहीको आवाज सहित स्वर्गदूतहरूलाई पठाउनु हुनेछ।
32 “नेभाराको रूखले तिमीहरूलाई शिक्षा दिनेछ जब नेभाराको रूखको हाँगाहरू हरियो देखिन्छन् पालुवा फेर्दै गरेको देखेर तिमीहरू जान्दछौ ग्रीष्म ऋतु नजिक छ। 33 तिमीहरूसित पनि यस्तै हुनेछ। जब तिमीहरू यस्तो भएको देख्छौ, त्यसबेला तिमीहरूलाई समय नजिक छ र त्यो आउने लागेको छ भनी थाहा हुनेछ। 34 म तिमीहरूलाई साँच्चो भन्दछु, यस पुस्ताका मानिसहरू जीवित रहदा नै यी कुराहरू हुनेछन्। 35 आकाश र पृथ्वी ध्वंस गरिनेछ, तर मैले बोलेका शब्दहरू कहिल्यै नाश हुनेछैनन्।
त्यस समय परमेश्वर मात्रै जान्नु हुनेछ
(मर्कूस 13:32-37; लूका 17:26-30,34-36)
36 “त्यो घट्ना कहिले घट्नेछ भनेर कुनै मानिसले पनि त्यो समय र दिन जान्दैन। पुत्र आफैं र स्वर्गदूतहरूले पनि जान्दैनन्। तर पिताले मात्र जान्नुहुन्छ।
37 “मानिसको पुत्र आउँदा, त्यसबेला त्यस्तै स्थिति हुनेछ जस्तो स्थिति नूहको समयमा भएको थियो। 38 त्यसबेला जल-प्रलय हुन अघि मानिसहरू खाइ पिइरहेका थिए। मानिसहरू विवाह गर्दै थिए र आफ्नो छोरा अनि छोरीहरूलाई विवाह गर्न दिइरहेका थिए। नूह जहाजभित्र नचढुन्जेलसम्म मानिसहरूले यसो गरिरहेका थिए। 39 मानिसहरूले के भइरहेको छ भनी केही जानेका थिएनन्। तर त्यसैबेला जलप्रलय भयो अनि सबै नष्ट भयो।
“मानिसको पुत्रको आगमनको समयमा पनि यस्तै हुनेछ। 40 दुइजना मानिसहरू खेतमा काम गरिरहेका हुनेछन्। एकजनालाई उठाइने छ र अर्कोलाई छोडिइनेछ। 41 दुइजना स्त्रीहरू जाँतोमा अन्न पिंधिरहेका हुनेछन्। एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ।
42 “यसकारण सधैँ तयार बस। कतिबेला तिमीहरूका परमप्रभु आउनु हुनेछ भन्ने कुरा तिमीहरूलाई थाहा हुने छैन। 43 याद गर यदी घरको मालिकले चोर कतिबेला आउँछ भनेर थाहा पाएको भए ऊ तयार भएर बस्ने थियो। ऊ सर्तक रहने थियो र चोरलाई धरभित्र पास्न दिदैन थियो। 44 यसकारण तिमीहरू पनि तयार बस। मानिसको पुत्र यस्तो समयमा आउनेछ जसको तिमीहरूले आशा गरेका हुने छैनौ।
असल र खराब नोकरहरू
(लूका 12:41-48)
45 “बुद्धिमान र विश्वासी नोकर को चाँहि छ र मालिकले उसलाई आफ्ना सबै नोकरहरूलाई भन्दा विशेष जिम्मेवारी सुम्पिन्छ र अरू सबैमाथि ठीक ठीक समयमा खानेकुराको प्रबन्ध गर्ने जिम्मामा लगाउँछ। 46 जब मालिक आउँछ र नोकरलाई दिइएको काम गरिरहेको भेट्छ, भने त्यो नोकर धन्य को हो। 47 म तिमीहरूलाई साँच्चो भन्दछु। त्यो मालिकले उसलाई आफूसित भएको सारा सम्पत्तिमाथि जिम्मा लगाउँछ उसले प्रत्येक कुराहरूको हेरचाह गर्न पाउँछ।
48 “तर नोकर नै दुष्ट छ र आफ्नो मालिक झट्ट आउँदैन भनेर सम्झन्छ भने त्यसबेला के हुन्छ? 49 त्यसपछि उसले अरू नोकहरूलाई पिट्न थाल्छ। उ आफूजस्तै अरू मानिसहरूसँग बसेर खान र पिउन लाग्छ। 50 अनि जब मालिक नसोचेको दिनमा आइपुग्नेछ। जब कि उसले आशा नगरेको दिन र नसम्झेको समयमा आइपुग्नेछ। 51 त्यसपछि मालिकबाट ऊ दण्डित हुनुपर्छ। मालिकले उसलाई कपटीहरूसँग सामेल गराइदिनेछ। त्यहाँ मानिसहरूको रूवावसी र दाह्रा किटाई हुनेछन्।
© 2004, 2010 Bible League International