Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
यहोशू 14-15

14 पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि इस्राएलका सबै कुल समूहका अगुवाहरूले कनानमा कुन चाहि भूमि मानिसहरूलाई दिने भनि निर्णय गरे। परमप्रभुले धेरै अघि त्यो तरिका मोशालाई आज्ञा गर्नु भएको थियो जुन तरिकाले उहाँ चाहनु हुन्थ्यो, कि मानिसहरूले आफ्ना भूमि छानुन्। साढे नौं कुल समूहका मानिसहरूले कुन भूमि कस-कसले पाउने सो निर्णय गर्नका निम्ति चिट्ठा लगाए। मोशाले अघिनै अढाई कुल समूहलाई यर्दन नदीको पूर्व तिरको भूमि तिनीहरूलाई दिइसकेका थिए। तर अन्य मानिसहरूलाई दिए जस्तै लेवी कुल समूहलाई कुनै भुमि दिइएन। ती बाह्र कुल समूहहरूलाई तिनीहरूकै भूमि पाए। यूसुफका छोराहरू दुइ कुल समूहमा विभाजन भएका थिए मनश्शे अनि एप्रैम। अनि प्रत्येक कुल समूहले केही भूमि प्राप्त गरे। तर लेवी कुल समूहका मानिसहरूलाई कुनै भूमि दिइएन। तिनीहरूलाई बस्नका निम्ति केवल केही शहरहरू दिए। अनि यी शहरहरू प्रत्येक कुल समूहका भूमिमा थिए। तिनीहरूलाई आफ्ना पशुहरू अनि खेतहरू पनि दिइयो। परमप्रभुले मोशाद्वारा आज्ञा गरे अनुसार इस्राएलको मानिसहरूले भूमि विभाजित गरे।

कालेबले आफ्नो भूमि प्राप्त गरे

एकदिन यहूदाका कुल समूहबाट केही मानिसहरू गिलगालमा यहोशूकहाँ गए। ती मानिसहरू मध्ये एकजना कनज्जी-यपुन्नेका छोरा कालेब थिए। कालेबले यहोशूलाई भने, “परमप्रभुले कादेशबर्नेमा तपाईं र मेरो विषयमा उहाँको दास मोशालाई भन्नु भएका कुराहरू तपाईंलाई याद छ। हामी जहाँ जाँदै थियौं परमप्रभुका दास मोशाले मलाई भूमि हेर्न पठाउनुभयो। त्यस समयमा म चालीस बर्षको थिएँ। जब म फर्कें, जो यसको बारेमा ईमान्दारी साथ मैले अनुभव गरेको थिएँ। मैले मोशालाई भने। ती अन्य मानिसहरू जो मसित गएका थिए तिनीहरूले मानिसहरूलाई ती कुराहरू भने जसले तिनीहरूलाई भयभीत तुल्याए। तर म साँच्ची नै विश्वास गरें कि परमप्रभुले त्यो भूमि हामीलाई दिनुहुनेछ। यसकारण त्यसदिन मोशाले मसित एउटा प्रतिज्ञा गरे। तिनले भने, ‘त्यो भूमि जहाँ तिमी गयौ त्यो तिम्रो हुनेछ। तिम्रा छोरा-छोरीहरू सदाका निम्ति त्यो भूमिको मालिक हुनेछन्। म त्यो भूमि तिमीलाई दिनेछु। किनभने तिमीले साँच्चै नै परमप्रभु, मेरा परमेश्वर माथि विश्वास गरेका छौ।’

10 “अहिले, परमप्रभुले भन्नु भए अनुसार पैंतालीस बर्ष सम्म उहाँले मलाई जीवित राख्नु भएको छ। त्यस समयमा हामी सबै मरुभूमिमा बिनाकाम घुमि-हिँड्यौं। अहिले म पचासी बर्ष पुगें। 11 म अझै उतिकै बलियो छु जतिबेला मोशाले मलाई बाहिर पठाएका थिएँ। म त्यसबेला जस्तै आज पनि युद्ध गर्न सक्छु। 12 यसर्थ अब मलाई त्यो पहाडी देश दिनुहोस् जो परमप्रभुले धेरै अघि मलाई वचन दिनु भएको थियो। त्यससमय तपाईंले सुन्नु भयो कि शक्तिशाली अनाकी मानिसहरू त्यहाँ बस्थे। अनि शहरहरू अत्यन्त ठूला र सुरक्षित थिए। तर अब, हुन सक्छ, परमप्रभु मेरो साथ हुनुहुन्छ अनि परमप्रभुले भन्नु भए झैं त्यो भूमि म लिने छु।”

13 यहोशूले यपुन्नेका छोरा कालेबलाई आशीर्वाद दिए। यहोशूले तिनलाई आफ्नै हुने गरी हेब्रोन शहर दिए। 14 अनि त्यो शहर अझ पनि कनिज्जी यपुन्नेका छोरा कालेबको अधीनमा छ किनभने उसले परमप्रभु इस्राएलका परमेश्वर प्रति विश्वास गरे अनि उहाँको आदेश पालन गरे। 15 पहिले त्यो शहरलाई कितर्यर्बा भनिन्थ्यो। शहरको नाउँ अनाकी मानिसहरू मध्ये सबै भन्दा महान मानिस अर्बाको नाउँमा राखिएको थियो।

त्यसपछि, त्यो भूमिमा शान्ति छायो।

यहूदाका निम्ति भूमि

15 त्यो भूमि जो यहूदालाई दिइएको थियो त्यो कुल समूहका माझ विभाजन गरियो। त्यो भूमि एदोमको सीमानासम्म अनि दक्षिणमा तेमानको सीन मरुभूमिसम्म फैलिएको थियो। यहूदाको भूमिको दक्षिणी सीमाना खारा समुद्रको दक्षिण अन्त देखी शुरू भएको थियो। सीमाना अक्रब्बीन छिरूर्वोको दक्षिणबाट जीन मरुभूमि तर्फ अनि माथि कादेश तिर यसको दक्षिणतिरबाट हुँदै हेस्रोन कटेर अद्दारसम्म अनि त्यहाँबाट कर्कासम्म गयो। यो सीमाना मिश्रको खोला अज्मोन तिर बडेर गएको थियो। अनि त्यसपछि भूमध्य सागर तर्फ अघि बढेको थियो। यो तिनीहरूको दक्षिणी सीमाना हो।

तिनीहरूको पूर्वी सीमाना खारा समुद्र किनार देखि त्यो क्षेत्र सम्म फैलिएको थियो, जहाँ यर्दन नदी, खारा समुद्र भित्र बहन्थ्यो।

तिनीहरूको उत्तरी सीमाना त्यो क्षेत्रबाट शुरू भएको थियो, जहाँ यर्दन नदी खारा समुद्र भित्र प्रवेश गर्थ्यो। बेथोग्लमदेखि उत्तरमा बेतराबा सम्म सीमाना फैलिएको थियो। त्यो सीमाना बोहनको चट्टान छिचलेर गएको थियो। (बोहन: रूबेनका छोरा थिए।) उत्तरी सीमाना आकोर वेशीदेखि दबीरको उकालोसम्म छ। तब सीमाना उत्तरतर्फ सोजो गिलगाल तिर गएको थियो। गिलगाल बाटोको अर्को पट्टि छ जुन अदुम्मीम पर्वत भएर गएको छ। त्यो सानो खोलाको दक्षिण पट्टि थियो। त्यो सीमाना एन्शेमेशको खोला पछिल्तिर गएको थियो। त्यो सीमाना एन्शेगेलमा अन्त भएको थियो। त्यसपछि त्यो सीमाना यबूसी शहरको दक्षिणी छेउबाट हिन्नोम बेंसी भएर गएको थियो। (त्यो यबूसी शहरलाई यरूशलेम भनिन्थ्यो।) त्यस स्थानमा त्यो सीमाना हिन्नोम बेंसीको पश्चिममा भएको पहाडको चुचुरो तिर गएको थियो। यो रपाईं बेंसीको उत्तरतर्फ अन्तमा थियो। त्यस स्थान देखि त्यो सीमाना नेप्तोहको पानीको तलाउ तर्फ गएको थियो। त्यस पछि त्यो सीमाना एप्रोन नजिकका शहरहरू तिर गएको थियो। त्यस स्थानमा त्यो सीमाना घुमेर बाला तिर गएको थियो। (बालालाई किर्यत्यारी पनि भनिन्छ।) 10 बालामा त्यो सीमाना पश्चिम तर्फ घुमेको थियो। अनि सेईरको पहाडी देश तर्फ गएको थियो। त्यो सीमाना यारीम पर्वत (कसालोन)को उत्तरी छेउसम्म भएर तलतिर बेतशेमेश तिर फैलिएको थियो। त्यहाँ देखि त्यो सीमाना तिम्रामा पार गरेर गएको थियो। 11 सीमाना एक्रोनको उत्तरी पहाड भएर फैलिएको छ। त्यस सीमाना बाला पर्वत पार भएर शिक्करोन तिर सोझैं यब्नेल भएर भूमध्य सागरमा अन्त भएको थियो। 12 भूमध्य सागर यहूदको भूमिको पश्चिमी सीमाना थियो। यसरी यहूदाको भूमि यी चार सीमानाहरू भित्र थियो। यहूदाका कुलहरू यो क्षेत्रमा बस्थे।

13 यहोशूले यपून्नेको छोरो कालेबलाई यहूदाको निम्ति तोकिएको क्षेत्रभित्रको केही भूमि परमप्रभुले भन्नु भए झैं नै दिए। तिनले अर्बा किर्यार्वाको शहर (जसलाई हेब्रोन शहर भनिन्छ) अनाकका पिताले तिनलाई दिए। 14 कालेबले हेब्रोनमा बसेका तीन अनाकी वंशीहरूलाई त्यो स्थान छोड्न बाध्य तुल्याए। ती वंशहरू शेशै, अहीमन र तल्मै थिए। तिनीहरू अनाक वंशका थिए। 15 त्यसपछि कालेब दबीर निवासीहरूको विरूद्ध अघिबढे (पहिला, दबीरलाई कीर्यत सेपेर पनि भनिन्थ्यो।) 16 कालेबले भने, “म कीर्यत सेपेर माथि आक्रमण गर्न चाहन्छु। म मेरे छोरी अक्सालाई त्यस मानिसलाई दिनेछु जसले आक्रमण गरेर त्यो शहरलाई परास्त गर्छ। म त्यस मानिसलाई मेरो छोरी विवाह गर्न दिनेछु।”

17 ओत्निएल कालेबका भाइ कनजका छोरा थिए। ओत्निएलले त्यो शहरलाई परास्त गरे, यसकारण कालेबले आफ्नी छोरी अक्सालाई ओत्निएलसँग विवाह गरिदिए। 18 जब अक्सा ओत्निएल कहाँ आई, ओत्निएलले अक्सालाई भने तिम्रा बाबु कालेबसित पानी भएको उब्जाउ भूमिको निम्ति बिन्ती गर। अक्सा आफ्ना पिताकहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिइन्, कालेबले सोधे, “तँ के चाहन्छेस्?”

19 अक्साले उत्तर दिइन्, “मलाई एउटा आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगवमा सूखा भूमि दिनुभयो। दयागरी मलाई पानी भएको केही भूमि पनि दिनु होस्।” यसर्थ तिनले चाहेको भूमि कालेबले दिए। तिनले त्यो भूमिको पानीका माथिल्लो अनि तल्लो पोखरीहरू दिए।

20 यहूदाका कुल समूहले त्यो भूमि प्राप्त गरे, जो परमप्रभुले तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। प्रत्येक कुल समूहले भूमिको अंश पाए।

21 यहूदाका कुल समूहले नेगेबको दक्षिणी अंशका सबै शहरहरू प्राप्त गरे। यी शहरहरू एदोमको सीमाना नजिकै थिए। यहाँ ती शहरहरूको सूची छः

कब्सेल, एदेर, यागूर, 22 कीना, दीमोना, अदादा, 23 केदेश, हासोर, यित्नान, 24 जीप, तेलेम, बालोत, 25 हासोरादत्ता, किरय्योथ-हेस्रोन (हासोर), 26 अमान, शर्मा, मोलादा, 27 हसगद्दा, हेशमोन, बेत्पालेत, 28 हसर्शूआल, बेशेर्बा, बिज्योत्या, 29 बाला, ईम, एसेम, 30 एल्तोलद, कसील, होर्मा, 31 सिक्लग, मदूमन्ना, सन्सन्ना, 32 लबाओत, शिल्हीम, एन अनि रिम्मोन। त्यहाँ सबजसम्म उन्तीसवटा शहर अनि तिनका सबै खेतहरू थिए।

33 यहूदाका कुल समूहले पश्चिमी तराईमा भएका शहरहरू पनि पाए। ती शहरहरूको सूची यहाँ छः

एश्तोल, सारा, अश्ना, 34 जानोह, एन्गन्नीम, तपूह, एनाम, 35 यर्मूत, अदुल्लाम, सोको, अजेका, 36 शारैम, अदीतैम, अनि गदेरा (गदेरोतेम) त्यहाँ जम्मा चौधवटा शहरहरू अनि तिनका सबै खेतहरू थिए।

37 यहूदाका कुल समूहलाई यी शहरहरू पनि दिइएः

सनान, हदाशा, मिग्दलाद, 38 दिलान, मिस्पे, योक्तेल, 39 लाकीश, बोस्कत, एग्लोन, 40 कोब्बन, लहमाम, कितलीश, 41 गदेरोत, बेत्दागान, नामा अनि मक्केदा। त्यहाँ जम्मा सोह्रवटा शहर अनि ती वरिपरिका सबै खेतहरू थिए।

42 यहूदाका मानिसहरूले यी शहरहरू पनि पाएः

लिब्ना, एतेर, आशान, 43 यिप्ताह, अश्ना, नसीब, 44 कीला, अक्जीब अनि मारेशा। त्यहाँ जम्मा नौंवटा शहर अनि ती वरिपरिका खेतहरू थिए। 45 यहूदाका मानिसहरूले एक्रोन शहर अनि यसका नजिकका सबै स-साना शहरहरू र ती वरिपरिका खेतहरू पनि प्राप्त गरे। 46 तिनीहरूले एक्रोनको पश्चिमको क्षेत्र अनि अश्दोद नजिकका सबै खेतहरू अनि शहरहरू पनि पाए। 47 अश्दोद वरिपरिका सबै क्षेत्र अनि स-साना शहरहरू यहूदाको भूमिका अंश थिए। यहूदाका मानिसहरूले गाजा वरिपरिका क्षेत्र अनि खेतहरू अनि त्यसका नजिकमा भएका शहरहरू पनि प्राप्त गरे। तिनीहरूको भूमि मिश्रको नदीसम्म लगातार फैलिएको थियो। अनि तिनीहरूको भूमि, भूमध्य समुद्रको किनारा छेउ-छाउ सम्म लगातार थियो।

48 यहूदाका मानिसहरूलाई पहाडी देशका शहरहरू पनि प्रदान गरे। ती शहरहरूको सूची यहाँ छः

शामीर, यत्तीर, सोको, 49 दन्ना, किर्यत्सन्ना (दबीर), 50 अनाब, एश्तमो, अनीम, 51 गोशेन, होलोन, अनि गीलोह। त्यहाँ जम्मा एघारवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

52 यहूदाका मानिसहरूलाई यी शहरहरू पनि दिइयोः

अरब, दुमा, एशान, 53 यार्नूम, बेत्तप्पूह, अपेका, 54 हुम्ता, किर्यतर्बा (हेब्रोन) अनि सीओर। त्यहाँ नौंवटा शहरहरू र ती वरिपरिका सबै खेतहरू थिए।

55 यहूदाका मानिसहरूलाई यी शहरहरू पनि दिइयोः

माओन, कर्मेल, जीप, यूता, 56 यिज्रेल, योक्दाम, जानोह, 57 कैन, गिबा अनि तिम्ना। त्यहाँ जम्मा दशवोटा शहरहरू अनि ती वरिपरिका खेतहरू थिए।

58 यहूदाका मानिसहरूलाई यी शहरहरू पनि प्रदान गरिएः

हल्हूल, बेत्सर, गदोर, 59 मारात, बेतनोत, एल्तकोन। सबजम्मा त्यहाँ छवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

60 यहूदाका मानिसहरूलाई (रब्बा अनि किर्यतबाल जोकिर्यत्यारीम) यी दुइ शहरहरू पनि दिइए।

61 यहूदाका मानिसहरूलाई मरुभूमिमा भएका शहरहरू पनि दिइए। यहाँ ती शहरहरूको सूचीछः

बेतराबा, मिद्दीन, सकाका, 62 निब्शान, नूनको शहर अनि एनगदी। त्यहाँ जम्मा छवटा शहरहरू अनि ती वरिपरिका सबै खेतहरू थिए।

63 यहूदाका सेना यरूशलेममा बसेका यबूसी मानिसहरूलाई बाहिर निक्लन बाध्य तुल्याउन सामर्थ भएनन्। यसर्थ आजसम्म यरूशलेममा यहूदाका मानिसहरू माझ यबूसी मानिसहरू बस्छन्।

भजनसंग्रह 146-147

परमप्रभुको प्रशंसा गरौं!
    हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर!
जीवनभरि नै म परमप्रभुको गुणगान गर्नेछु
    जीवनभरि नै म उहाँ प्रति प्रशंसाको गीत गाउने छु।
साथ पाउनलाई तिमीहरूको अगुवामाथि आश्रित नबन मानिसहरूलाई भरोसा नगर।
    किनभने मानिसहरूले तिमीलाई बचाउन सक्दैनन्।
मानिसहरू मर्दछन् र गाडिन्छन्,
    अनि तब, तिनीहरूका सबै योजनाहरू र सहयोगहरू जान्छन्।
तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्।
    ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।
परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो।
    परमप्रभुले समुद्र र त्यहाँ भएका प्रत्येक कुरा रच्नु भयो।
परमप्रभुले तिनीहरूलाई सधैँ रक्षा गर्नुहुन्छ।
दबिएका मानिसहरूको निम्ति परमेश्वर न्याय गराउनु हुन्छ।
    परमप्रभुले भोकाहरूलाई भोजन दिनु भयो।
कैदमा थुनिएकाहरूलाई स्वतन्त्र पार्नुभयो।
    परमप्रभुले अन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो।
परमप्रभुले ती मानिसहरूलाई साथ दिनुहुन्छ जो सङ्कटमा परेका छन्।
    परमप्रभुले धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ।
परमप्रभुले परदेशीहरूलाई हाम्रो देशमा रक्षा गर्नुहुन्छ।
    परमप्रभुले विधवाहरू र टुहुरा-टुहुरीहरूलाई हेरचाह गर्नुहुन्छ
    तर परमप्रभुले दुष्ट मानिसहरूलाई नाश गर्नुहुन्छ।
10 परमप्रभुले सधैँको निम्ति राज्य गर्नुहुनेछ
    हे सियोन! तेरा परमेश्वरले सदा-सर्वदा राज्य गर्नुहुनेछ।

परमप्रभुको प्रशंसा गरौं!

परमप्रभुको प्रशंसा गर किनभने उहाँ असल हुनुहुन्छ।
    परमप्रभुप्रति स्तुतिगान गर!
    उहाँको गुण-गान गर्नु आनन्दमय र असल हो।
परमप्रभुले यरूशलेम बनाउनु भयो।
    परमेश्वरले इस्राएल वासीहरूलाई फेरि फर्काई ल्याउनु भयो,
    जसलाई कैदी बनाएर थुनिएको थियो।
परमेश्वरले तिनीहरूको टुक्रीएको हृदय निको पारिदिनु हुन्छ।
    तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
परमेश्वरले ताराहरू गन्नुहुन्छ,
    र ती प्रत्येकको नाउँ जान्नुहुन्छ।
हाम्रो स्वामी महान् हुनुहुन्छ,
उहाँ अत्यन्त पराक्रमी हुनुहुन्छ।
    उहाँको ज्ञान अपार छ।
परमप्रभु नम्र मानिसहरूलाई सघाउनु हुन्छ
    तर दुष्ट मानिसहरूलाई सताउनु हुन्छ।
परमप्रभुलाई धन्यवाद होस्।
    हाम्रो परमप्रभुलाई वीणा बजाएर प्रशंसा गरौं।
परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ।
    परमेश्वरले पृथ्वीमा बर्षा पठाउनु हुन्छ
    परमेश्वरले पर्वतहरूमा हरियो घाँसहरू उमार्नु हुन्छ।
परमेश्वरले पशुहरूलाई खाना दिनुहुन्छ।
    परमेश्वरले चराहरूलाई खुवाउनु हुन्छ।
10 युद्धका घोडाहरूले र शक्तिशाली सैन्यहरूले
    उहाँलाई खुशी पार्दैन।
11 परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ,
जसले उहाँलाई पूज्दछन्।
    परमप्रभु ती मानिसहरूसँग खुशी हुनुहुन्छ,
    जसले उहाँको प्रेममा भरोसा राख्छन्।
12 हे यरूशलेम! परमप्रभुको प्रशंसा गर!
    हे सियोन! आफ्ना परमप्रभुको प्रशंसा गर।
13 यरूशलेम, परमेश्वरले तिम्रा प्रवेशद्वारहरू बलियो बनाइदिनु भयो।
    अनि परमेश्वरले तिम्रो शहरका मानिसहरूलाई आशीर्वाद दिनुभयो।
14 परमेश्वरले तिमीहरूलाई आफ्नो देशमा ल्याईदिनु भयो।
    यसैले शत्रुहरूले तिमीहरूका अन्नहरू युद्धमा लगेनन्।
    अनि तिमीहरूसँग प्रशस्त खाद्य-पदार्थहरू छन्।
15 परमेश्वरले पृथ्वीलाई आदेश दिनुभयो,
    यसले तुरन्तै पालन गर्यो।
16 जबसम्म धर्ती ऊन जस्तो सेतो हुँदैन परमेश्वरले हिम बर्षा गराउनु हुन्छ।
    परमेश्वरले हावाबाट धूलोको कण खसे झैं हिमपात बर्षाउनु हुन्छ।
17 परमेश्वरले आकाशबाट चट्टानहरू झैं असिना बर्षाउनु हुन्छ।
    उहाँले पठाएको चिसो कसैले पनि थाम्न सक्तैन।
18 त्यसपछि, परमेश्वरले अर्को आज्ञा गर्नुभयो,
अनि फेरि तातो बतास बहन थाल्यो
    हिउँ पग्लियो अनि पानी बग्न थाल्यो।

19 परमेश्वरले आज्ञाहरू याकूबलाई दिनुभयो,
    परमेश्वरले आफ्ना नियमहरू र कानूनहरू इस्राएललाई दिनुभयो।
20 परमेश्वरले यस्ता कामहरू कुनै जातिको लागि गर्नु भएन।
    परमेश्वरले अन्य जातिहरूलाई आफ्नो नियमहरू सिकाउनु भएन।

परमप्रभुको प्रशंसा गर!

यर्मिया 7

मन्दिरमा दिएको यर्मियाहको उपदेश

यो यर्मियालाई परमप्रभुको सन्देश हो: “यर्मिया, परमेश्वरको मन्दिरको प्रवेश द्वारमा उभ। यो सन्देश प्रवेश द्वारमा प्रचार गर:

“‘हे यहूदाका मानिसहरू! परमप्रभुको वचन सुन। परमप्रभुको पूजा गर्न जो पनि यी फाटकहरूबाट आउँछ; यो वचन सुन, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले यही भन्नुहुन्छ, “तिमीहरू आफ्नो जीवन शैली परिवर्तन गर अनि राम्रा कर्महरू गर। म तिमीहरूलाई यस भूमिमा बस्न दिनेछु।” कतिपय मानिसहरूले झूटो कुराहरू गर्छन् त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।” यदि तिमीहरूले आफ्ना जीवन परिवर्तन गरेर असल कर्महरू गर्यौ भने, म तिनीहरूलाई यस ठाउँमा बस्न दिनेछु। तिमीहरू परस्परमा ईमान्दार हुन पर्छ। तिमीहरू परदेशीहरूसँग ईमान्दार हुनु पर्छ। तिमीहरूले विधवाहरू एवं टुहुरा-टुहुरीहरूसित ठीक कुराहरू गर्नु पर्छ। निर्दोष मानिसहरूलाई नमार। अन्य देवताहरूका अनुवायी नबन्। किनभने तिनीहरूले तिमीहरूका जीवन नष्ट पारिदिने छन्। यदि तिमीहरूले मेरो आज्ञा-पालन गर्यौ भने, म तिमीहरूलाई यस ठाउँमा बस्न दिने छु। म यो भूमि सधैँ भरि तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु।

“‘हेर, तिमीहरू झूटो कुराहरूमाथि भरोसा गरिरहेका छौ जुन अनर्थका छन्। के तिमी चोरी गर्छौ, हत्या अनि व्यभिचार गर्छौ! के तिमी झूटो शपथ लिनेछौ? के बाललाई पूज्छौ? तिमीहरूले नजानेका देवताहरू पूज्छौ? 10 यदि तिमीहरूले त्यस्ता पापहरू गर्यौ भने, मेरो समक्ष मेरो घरमा जुन मेरो नाउँले डाकिन्छ त्यहाँ उभिन सक्छौं भनेर सम्झिन्छौ? के तिमीहरू सम्झन्छौ कि मेरो समक्ष उभिएर यसो भन्न सक्छौ, “हामी सुरक्षित छौं,” त्यस्ता डरलाग्दा दुष्टयाईं गरिरहनलाई? 11 यो मन्दिर मेरो नाउँद्वारा बोलाइन्छ। के यो घर तिमीहरूका लागि डाकाहरू लुक्ने ठाउँ बाहेक केही होइन जस्तो लाग्छ? म तिमीहरूलाई नियाली रहेछु।’” यो सन्देश परमप्रभुबाट आएको थियो।

12 “‘यहूदाका मानिसहरू शीलो अब शहरमा जाऊ। त्यो ठाउँमा जाऊ जहाँ मैले मेरो नाममा प्रथम घर बनाएँ। इस्राएलका मानिसहरूले पनि पाप कामहरू गरे। जाऊ र त्यहाँ हेर, मैले के गरें किनभने तिनीहरूले पाप कामहरू गरें। 13 किनभने तिमीहरूले यी सब गर्यौ, परमप्रभु भन्नुहुन्छ, किनभने मैले तिमीहरूलाई तत्कालै भने, तर तिमीहरूले ध्यान दिएनौ अनि मैले बोलाएँ तर जवाफ दिएनौ। 14 यसकारण यरूशलेममा अवस्थित मेरो नाउँद्वारा बनिएको घर ध्वंस पार्नेछु। म त्यो घरलाई शीलो भत्काए झैं नष्ट पारिदिनेछु। अनि यरूशलेममा अवस्थित त्यो घर जुन मेरो नाउँद्वारा बोलाइन्छ त्यसमा तिमीहरू भरोसा गर्छौ। मैले त्यो ठाउँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएँ। 15 म तिमीहरूलाई मेरो नजरबाट जबरजस्ती हटाउनेंछु, जसरी मैले तिमीहरूका दाज्यू-भाइहरू, एप्रैमका सबै मानिसहरूलाई गरें।’

16 “सम्मान, यर्मिया यहूदाका मानिसहरूका लागि प्रार्थना नगर। तिनीहरूको निम्ति बिन्ती अथवा प्रार्थना नगर। तिनीहरूका सहायताका निम्ति मलाई अन्तर बिन्ती नगर। म तिनीहरूका निम्ति तिम्रो प्रार्थना सुन्ने छैन। 17 यहूदाका शहरहरू र यरूशलेमका गल्लीहरूमा तिनीहरूले के गरिरहेका छन् तिमी देख्न सक्तैनौ? 18 छोरा-छोरीहरूले दाउरा बटुल्छन् अनि बाबुहरू आगो सल्काउँछन्। स्वर्गकी रानीलाई मिठो रोटी चढाउँन स्त्रीहरू पिठो मुसिरहेका छन्। अरू देवताहरूलाई खुशी पार्न अर्घबलि चढाउने छन् मलाई रीस उठाउन तिनीहरू यसो गर्छन्। 19 तर म त्यो होइन जसलाई यहूदाका मानिसहरूले चोट पुर्याइरहेका छन्।” यो सन्देश परमेश्वरबाट आएको हो, “तिनीहरू आफैंलाई चोट पुर्याका छन्। तिनीहरूले आफैंलाई लज्जित तुल्याइरहेका छन्।”

20 यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “म यो ठाउँमा, यहाँका मानिसहरू, पशुहरू, खेतका वृक्षहरू अनि अन्नहरू माथि मेरो रीस पोखाउने छु। मेरो रीस बलिरहेको आगो जस्तै हुनेछ। त्यो कसैले निभाउनु सक्नेछैन।”

आज्ञाकारिता बलिदानहरू भन्दा असलहो

21 सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: “तिमीहरूका बलिदानहरूमा तिमीहरूका होमबलि थप अनि उत्सर्गमा चडाएका मासुहरू खाऊ। 22 मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेखि बाहिर ल्याएँ। मैले तिनीहरूलाई होमबलि चढाउन अथवा बलि चढाउन भनिनँ नता केही आज्ञा दिएँ। 23 मैले केवल तिनीहरूलाई आज्ञा दिएँ, ‘मेरो आज्ञा पालन गर अनि म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरो मानिसहरू हुनेछौ तिमीहरूको हितका निम्ति मेरा सबै आज्ञाहरू पालन गर।’

24 “तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुराको वास्ता गरेनन्। तिनीहरू हठ्ठी थिए अनि तिनीहरूको दुष्ट हृदयले जे मन परायो त्यही गरे। तिनीहरू अघि बढेनन् बरू पछि सरे। 25 तिमीहरूका पिता-पुर्खाहरूले मिश्र छाडेको दिनदेखि आज सम्म मेरा सेवकहरू तिमीहरूकहाँ पठाएँ। मेरा सेवकहरू अगमवक्ताहरू थिए। मैले तिनीहरूलाई दिन दिनै पठाँए। 26 तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरा सुन्दै सुनेनन्। तिनीहरू अत्यन्त हठी थिए अनि आफ्ना पिताहरूले भन्दा नीच भन्दा नीच कामहरू गरे।

27 “यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई ती कुराहरू भन्नेछौ। तर तिनीहरूले तिम्रा कुराहरू सुन्ने नै छैनन्। तिमीले तिनीहरूलाई डाक्ने छौ, तर तिनीहरूले जवाफ दिने छैनन्। 28 यसकारण तिमीले तिनीहरूलाई यी कुराहरू भन्नेछौ ‘यो यस्तो राज्य हो जहाँ मानिसहरूले परमप्रभु आफ्नो परमेश्वरको आज्ञा पालन गर्दैनन्। तिनीहरूले परमेश्वरले भने अनुशासन ग्रहण गरेनन्। सत्य सडेको छ, तिनीहरूको ओठबाट यो अलग गरिएको छ।’

हत्याकाण्डको बेंसी

29 “यर्मिया, आफ्नो केश काट र त्यसलाई फ्याकिदेऊ। पहाडको थुम्कामा चढ र शोक गीत गाऊ। किनभने परमेश्वरले यो वंश जसले उहाँलाई रीस उठायो त्यसलाई अस्वीकार र त्याग गर्नु भएको छ। 30 त्यसै गर किनभने यहूदाका मानिसहरूले पाप कामहरू गरिरहेको मैले देखेको छु।” यो सन्देश परमेश्वरबाट आएको हो “तिनीहरूले आफ्नो मूर्तिहरू स्थापित गरेका छन्। अनि म ती मूर्तिहरू घृणा गर्दछु। तिनीहरूले मूर्तिहरू मेरो नाउँद्वारा डाकिने घरमा स्थापित गरे। तिनीहरूले मेरो घर ‘अशुद्ध’ पारे। 31 यहूदाका मानिसहरूले बेंसीमा भएको उपत्यकामा तोपेतको उच्च स्थानहरू बनाए। ती जग्गाहरूमा मानिसहरूले आफ्ना छोरा छोरीहरूलाई मारे-तिनीहरूले बलिको रूपमा तिनीहरूलाई जलाए। यस्तो आज्ञा मैले कहिल्यै गरिनँ। यस्तो कुराहरू मेरो मनभित्र कहिल्यै पसेको थिएन। 32 यसर्थ, म तिमीहरूलाई चेताउनी गर्छु। दिनहरू आइरहेछ,” यो सन्देश परमेश्वरबाट आएको हो, “जब मानिसहरूले यस ठाउँलाई तोपेत अथवा बेन-हिन्नोनको उपत्यका भनेर डाक्ने छैन। होइन्, तिनीहरूले यसलाई हत्याको बेंसी भनेर डाक्नेछन्। तिनीहरूले यो नाउँ दिने छन्। जब सम्म त्यहाँ एउटा चिहानको लागि मात्र पनि जग्गा रहनेछैन तब सम्म मानिसहरूले लाशहरू तोपेतमा गाड्नेछन्। 33 लाशहरू चरा चुरूङ्गी र जङ्गली पशुहरूको खाद्य बनिनेछ। त्यहाँ चराहरू र जनावरहरूलाई धपाउनु कोही पनि जीवित रहनेछैन। 34 म यहूदाका शहरहरूमा र यरूशलेमका गल्लीहरूमा आनन्द र खुशीयालीको ध्वनि अन्त गरिदिनेछु। यहूदा अथवा यरूशलेममा हर्ष र आनन्दको सोर अन्त गरिदिने छु। दुलहा र दुलहीको आवाज निस्कने छैन। त्यो भूमि उजाड हुनेछ।”

मत्ती 21

येशू राजा झैं यरूशलेममा प्रवेश गर्नु भयो

(मर्कूस 11:1-11; लूका 19:28-38; यूहन्ना 12:12-19)

21 येशू र उहाँका चेलाहर यरूशलेम नजिक आईपुग्न लागेका थिए। तर तिनीहरू पहिले जैतुन-डाँडा को बेथफागेमा रोकिए। येशूले आफ्ना दुइ जना चेलाहरूलाई त्यहाँको एउटा नगरमा पठाउनु भयो। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले देखेको शहरमा जाऊ। त्यहाँ प्रवेश गर्न साथ एउटा गधालाई बाँधिएको भेट्टाउने छौ। त्यो गधासँग एउटा बछेडो पनि हुनेछ। ती दुवै फुकालेर म कहाँ ल्याऊ। यदि कसैले तिमीहरूलाई केही प्रश्न गरे उसलाई, ‘प्रभुलाई यी गधाहरूको आवश्यक परेको छ। उहाँले ती चाँडै फर्काइ दिनु हुनेछ भनी जवाफ दिनु।’”

अगमवक्ताले भनेको यो कुरा पूरा होस् भनेर यसो भएको थियो:

“सियोन नगरलाई भन,
    ‘अहिले तिमीहरूको राजा आउनु हुँदैछ।
उहाँ विनम्र हुनुहुन्छ अनि गधामा चढेर आउनु हुँदैछ।
    उहाँ एउटा भारी बोक्ने बछेडोमाथि आउनु हुँदैछ,
    जो काम गर्नकै खातिर जन्मेको पशु हो।’”(A)

चेलाहरू गए र येशूले बताउनु भए अनुसार गरे। उनीहरू गधा र त्यसको बछेडालाई लिएर येशूकहाँ फर्की आए। तिनीहरूले आफ्ना वस्त्र गधालाई ओढाइदिए, अनि येशू त्यसमाथि बस्नु भयो। येशू यरूशलेम तिर जाने बाटामा गधामा चढेर जानुभयो। धेरै मानिसहरूले येशूको निम्ति बाटोमा वस्त्रहरू ओछ्याइदिएका थिए। अरू मानिसहरूले रूखका हाँगाहरू काटे र बाटोमा ओछ्याई दिए। केही मानिसहरू येशूको अधि-अधि हिंड्दै थिए। कोही मानिसहरू येशूको पछि-पछि हिंडदै थिए। मानिसहरू यसो भन्दै कराउन लागे,

“दाऊदको पुत्र होसन्ना!
    ‘प्रभुको नाउँमा आउने धन्यका हुन्!’(B)

स्वर्गको परमेश्वरको प्रशंसा गर।”

10 त्यसपछि येशू यरूशलेमभित्र प्रवेश गर्नु भयो। सम्पूर्ण शहरबासि अचम्मित भए। तिनीहरूले सोधे, “यो को हो?”

11 येशूसँगै आएका मानिसहरूले जवाफ दिए, “उनी येशू हुन्। गालील शहरको नासरतका अगमवक्ता उनी नै हुन्।”

येशू मन्दिरतर्फ जानुहुन्छ

(मर्कूस 11:15-19; लूका 19:45-48; यूहन्ना 2:13-22)

12 येशू मन्दिरतर्फ लाग्नुभयो। उहाँले किन-बेच गर्ने सबैलाई त्यहाँबाट धपाउनु भयो। अनि येशूले ढुकुर बेच्नेहरूको बेञ्चहरू पनि पल्टाई दिनु भयो। 13 येशूले त्यहाँ भएका मानिसहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर भनिनेछ।’(C) तर तिमीहरूले परमेश्वरको घरलाई डाकूहरूको ‘अड्डामा परिणत गरिरहेछौ।’(D)

14 केही अन्धा र केही लङ्गडा मानिसहरू मन्दिरमा येशू कहाँ आए। येशूले ती मानिसहरूलाई निको पारिदिनु भयो। 15 मुख्य पुजाहारीहरू र शास्त्रीहरूले यो दृष्य देखे। तिनीहरूले येशूका चमत्कार कार्यहरू अनि मन्दिरमा बालकहरूले येशूलाई नै प्रशंसा गरिरहेका देखे। बालकहरू भन्दै थिए, “दाऊदका पुत्र, होसन्ना!” यसमा पूजाहरीहरू र शास्त्रीहरू क्रोधित भए।

16 मुख्य पूजाहरीहरू र शास्त्रीहरू येशूलाई सोधे, “बालकहरूले के भनिरहेका छन् तपाईंले सुन्नु भो?”

येशूले जवाफ दिनुभयो, “अवश्य। के तिमीहरूले कहिले धर्मशास्त्रहरूमा पढेका छैनौ? ‘उहाँले बालकहरूलाई स्तुति गर्न सिकाउनु भयो?’(E)

17 त्यसपछि येशूले त्यो ठाउँलाई छोड्नुभयो र नगरदेखि बाहिर बेथानीमा जानुभयो। त्यो रात येशूले त्यहीं बिताउनु भयो।

येशूद्वारा विश्वासको शक्ति प्रदर्शन

(मर्कूस 11:12-14,20-24)

18 भोलिपल्ट बिहानै, येशू नगरतिर फर्किरहनु भएको थियो। उहाँ भोकाउनु भएको थियो। 19 उहाँले बाटोको किनारमा त्यस नेभाराको रूख देख्नु भयो। येशूले नेभाराको रूखको छेउमा गएर उहाँले केही फल खाने इच्छा गर्नुभयो। तर त्यो नेभाराको रूखमा त्यसमा खाने फल केही थिएन। त्यहाँ पातैपात मात्र थिए। अनि येशूले त्यो रूखलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल लाग्ने छैन।” अचानक त्यो रूख ओइलायो र मर्यो।

20 चेलाहरूले त्यो देखे। तिनीहरू चकित भए। तिनीहरूले सोधो, “कसरी नेभारको रूख सुक्यो र झट्टै मरिहाल्यो?”

21 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरूमा विश्वास छ र त्यसमा शंका छैन भने, मैले जस्तै तिमीहरूले पनि गर्न सक्नेछौ। तिमीहरूले त्यो भन्दा धेरै गर्न सक्नेछौ। तिमीले यस पहाडलाई भन्न सक्छौ, ‘ए पहाड जा अनि समुद्रमा खस।’ यदि तिमीहरूमा विश्वास भए, तिमीहरूले भने जस्तै हुनेछ। 22 विश्वास गरेर माग्यौ भने तिमीहरूले प्रार्थनमा मागेको जुनसुकै कुरा पनि पाउनेछौ।”

येशूको शक्ति माथि यहूदी नेताहरूको शंका

(मर्कूस 11:27-33; लूका 20:1-8)

23 येशू मन्दिरतर्फ जानुभयो। र उहाँले सिकाइरहनु भएको बेला, मुख्य पुजारीहरू र जन-साधारणका अगुवाहरू येशूकहाँ आए। तिनीहरूले येशूलाई भने, “हामीलाई भन्नुहोस्। यी कार्यहरू गर्न तपाईंको के अधिकार छ? यस्तो अधिकार तपाईंलाई कसले दियो?”

24 येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। यदि तिमीहरूले मलाई जवाफ दियौ भने, म कुन अधिकारले यी कामहरू गरीरहेछु भनी बताउनेछु। 25 मलाई भन: यूहन्नाको बप्तिस्मा परमेश्वरबाट वा मानिस कसबाट भयो?”

मुख्य पूजारीहरू र यहूदी नेताहरूले येशूको यो प्रश्न बारे बहस गरे। तिनीहरू आपसमा बात चीत गर्न थाले, “यदि हामीले यूहन्नाको बप्तिस्मा परमेश्वरबाटै भएको थियो, भन्यौ भने उहाँले भन्नु हुनेछ ‘त्यसो भए तिमीहरूले यूहन्नालाई किन विश्वास नगरेको?’ 26 यदि हामीहरूले ‘यो बप्तिस्मा मानिसबाटै भएको थियो,’ भन्यौ भने सबै मानिसहरू हामीहरूसँग रिसाउने छन्। हामी मानिसहरूबाट सावधान हुनुपर्छ किनभने तिनीहरू सबै यूहन्नालाई अगमवक्ता हो भनेर विश्वास गर्छन्।”

27 त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए, “यूहन्नालाई कहाँबाट त्यो अधिकार दिइयो हामी जान्दैनौ।”

तब येशूले भन्नुभयो, “त्यसो भए म पनि भन्ने छैन कि कुन अधिकारले म यी सब कार्यहरू गरिरहेछु।

येशूद्वारा दुइ जना पुत्रको उखान

28 “तिमीहरू यसको बारेमा के सोच्छौ? एकजना मानिसका दुइ छोराहरू थिए। त्यो मानिसले आफ्नो जेठा छोरालाई भन्यो, ‘छोरा, जाऊ र गएर आज दाखबरीमा काम गर।’

29 “छोराले जवाफ दियो, ‘म जाँदिन।’ तर केही समयपछि उसले आफ्नो विचार बद्ल्यो, अनि गयो।

30 “त्यसपछि बाबु अर्को छोराकहाँ गए र भने, ‘छोरा, जाऊ अनि आज मेरो दाखबरीमा काम गर।’ छोरोले जवाफ दियो, ‘हुन्छ, बाबु, म गएर काम गर्छु।’ तर त्यो छोरा गएन।

31 “अब यी दुइ छोराहरूमा कुन चाहिँले आफ्नो बाबुको आज्ञा पालन गर्यो?”

यहूदी नेताहरूले जवाफ दिए, “जेठा चाँहिले।”

येशूले तिनीहरूलाई भन्नुभयो, “म साँच्चो कुरा तिमीहरूलाई भन्दछु। महसूल उठाउनेहरू र वेश्याहरू खराब मानिसहरू हुन् भनी तिमीहरू ठान्दछौ। तर परमेश्वरको राज्यमा तिमीहरू भन्दा पहिले तिनीहरूले प्रवेश गर्न पाउनेछन्। 32 यूहन्ना सही जीवन बाँच्ने उपाय देखाउनलाई आएका थिए। तर तिमीहरूले यूहन्नालाई पटक्कै विश्वास गरेनौ। तर महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्ना माथि विश्वास गरे। अनि महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्नालाई विश्वास गरेको तिमीहरूले देखेका थियौ। तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।

परमेश्वरले आफ्ना पुत्रलाई पठाउँनुहुन्छ

(मर्कूस 12:1-12; लूका 20:9-19)

33 “यो उखान सुन कुनै मानिसको जमीन थियो। उसले त्यो जमीनमा दाख लगायो। उसले दाखको जमीनको वरिपरि पर्खाल निर्माण गर्यो। अनि त्यसभित्र दाख पेल्ने कोलखनेको थियो। फेरि त्यो मानिसले एउटा मचान बनाचो। उसले आफ्नो खेत कोही किसानहरूलाई जिम्मा दिएर ऊ यात्रामा गयो। 34 केही समय पछि, फसल उठाउने समय भयो। अनि त्यस मानिसले आफ्नो हिस्सा ल्याउन पठायो।

35 “तर किसानहरूले ती नोकरहरूलाई समाते अनि एकजनालाई पिटे, अर्कोलाई मारिदिए अनि अर्कोलाई ढुङ्गाले हिर्काएर मारिदिए। 36 फेरि त्यो खेत-मालिकले किसानहरूकहाँ अरू नोकरहरूलाई पठायो। उसले पाहिलेभन्दा धेरै नोकरहरू पठाएको थियो। तर किसानहरूले तिनीहरूसँग पनि यस्तै नै व्यवहार गरे। 37 त्यसपछि उसले आफ्नै छोरालाई किसानहरूकहाँ पठायो। उसले भन्यो, ‘किसानहरूले मेरो छोरालाई आदर देखाउनेछन्।’

38 “तर किसानहरूले आपसमा यसो भने, ‘यो ता मालिकको छोरा हो। यो खेत उसको हुनेछ। हामीले यसलाई मार्यौ भने खेत हाम्रै हुनेछ।’ 39 अनि किसानहरूले छोरालाई समातेर, उसलाई खेत बाहिर मारेर फ्याँकिदिए।

40 “अब त्यो खेत को मालिक आएर ती किसानलाई के गर्ला?”

41 ती यहूदी पूजाहारीहरू र नेताहरूले भने, “उसले ती दुष्टहरूलाई अवश्य नै मार्नेछ। त्यसपछि उनले आफ्नो खेत अरू किसानहरूलाई कमाउन दिनेछन्। जसले फलको समयमा मालिकलाई उसको भाग बुझाउन ल्याउँछ उनीहरूलाई त्यो खेत कमाउन दिईनेछ।”

42 येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले यो धर्मशास्त्रमा पढेका छौ:

‘जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे,
    त्यही ढुङ्गा मुख्य कुने ढुङ्गा बन्यो।
यो परमप्रभुले गर्नु भएको हो,
    र यो हाम्रो लागि अचम्मको हुनेछ।’(F)

43 “त्यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ। त्यस पछि परमेश्वरले यस्ता मानिसहरूलाई दिनु हुनेछ, जसले परमेश्वरले आफ्नो राज्यमा चाहनु भए अनुसारको काम उत्पन्न गर्नेछन्। 44 अनि जो कोही पनि त्यो ढुङ्गामाथि खस्नेछ ऊ टुक्रा टुक्रा बन्नेछ। यदि त्यो ढुङ्गा कसैमाथि खस्यो भने त्यसले त्यसलाई धूलोपिठो पार्नेछ।”

45 येशूले भन्नु भएको यो उखानलाई मुख्य पूजाहारीहरू र फरिसीहरूले सुने। येशूले तिनीहरूकै विषयमा बोल्दै हुनुहुन्छ भन्ने कुरा तिनीहरूले बुझे। 46 तिनीहरू येशूलाई पक्रने उपाय खोजीरहेका थिए। तर तिनीहरू मानिसहरूदेखि डराउँथे। किनभने मानिसहरूमा येशू अगमवक्ता हुन् भन्ने विश्वास थियो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International