Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
उत्पत्ति 25

अब्राहामको परिवार

25 अब्राहामले फेरि विवाह गरे अनि तिनकी नयाँ पत्नीको नाउँ कतुरा थियो। कतुराले जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहालाई जन्माइन्। योक्षान, शबा अनि ददानका बुबा थिए। ददानका सन्तानहरू, अश्शूरी, लतूशी अनि लऊम्मी हुन्। एपा, एपेर, हनोक अबीदा अनि एल्दा मिद्यानका छोराहरू थिए। अब्राहाम र कतुराको विवाहबाट यी नानीहरू भए। 5-6 अब्राहामको मृत्यु हुनु अघि नै आफ्नो नोकर्नीहरूका छोराहरूलाई केही उपहारहरू दिए अनि तिनीहरूलाई पूर्बतिर पठाइदिए। तिनीहरूलाई इसहाकदेखि टाढा पठाइदिए। त्यसपछि आफूसँग जे जति थियो अब्राहामले इसहाकलाई दिए।

अब्राहाम एक सय पचहत्तर बर्षसम्म स्वस्थ थिए। त्यसपछि तिनी दुर्बल भए अनि मरे। तिनी घेरै बर्षसम्म आनन्दपूर्वक बाँचे। तिनलाई तिनका पुर्खाहरूसितै गाडियो। तिनका छोराहरू इसहाक अनि इश्माएलले तिनलाई मक्पेलाको ओडारमा गाडे। यो ओडार सोअरको छोरो एप्रोनको खेतमा थियो। यो मम्रेको पूर्वमा थियो। 10 यो त्यही ओडार थियो जुन अब्राहामले हित्ती मानिसहरूबाट किनेका थिए। अब्राहाम र तिनकी पत्नी सारालाई त्यही ओडारमा गाडे। 11 अब्राहामको मृत्यु भएपछि परमेश्वरले इसहाकलाई आशीर्वाद दिनुभयो अनि तिनी बेर-लहै-रोईमा बसिरहे।

12 इश्माएलको परिवारको सूची यही हो। इश्माएल अब्राहाम र हागारको छोरो थिए। हागार साराकी मीश्र देशी कमारी थिइन् 13 इश्माएलका छोराहरूको नाउँ यस प्रकार थियो। पहिलो छोरो नबायोत थियो। त्यसपछि जन्मनेहरूको सूची अनुसार केदार, अबदेल, मिब्साम, 14 मिश्मा, दुमा, मस्सा, 15 हदद, तेमा, यतूर, नपीश अनि केदमा थिए। 16 तिनीहरूको पर्खालभित्र र बाहिरको सम्झौता अनुसार यिनीहरू इस्राएलका छोराहरू थिए। 17 इश्माएल एक सय सैंतीस बर्षसम्म बाँचे। त्यसपछि उनको मृत्यु भयो। अनि उनलाई उनका आफन्तहरू गाडेको ठाउँमा गाडियो। 18 इश्माएलका सन्तानहरू समस्त मरुभूमिको इलाकामा बसे। यिनीहरूको इलाका हवीलादेखि शूरको नजिक मिश्रको सीमा र यसको पनि अघि अश्शूरको किनारसम्म थियो। तिनीहरू घुमी हिंडे अनि आफ्नो दाज्यू-भाइ, सन्तानहरू र भूमिमाथि आक्रमण गरिरहे।

इसहाकको परिवार

19 इसहाक अब्राहामको छोरो थियो र यो तिनको वृत्तान्त कथा हो। 20 जब इसहाक चालीस बर्षका भए उनले रिबेका नाउँकी कन्यासित विवाह गरे। रिबेका पद्दन-आराम भनिने ठाउँकी थिइन् अनि अरामी बतूएलकी छोरी र अरामी लाबानकी बहिनी थिइन्। 21 इसहाककी पत्नी रिबेका बाँझी थिई। यसर्थ इसहाकले आफ्नी पत्नीका निम्ति परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले तिनको प्रार्थना सुन्नु भयो अनि रिबेका गर्भवती भइन्।

22 जब रिबेका गर्भवती भइन्, उनले आफ्नो गर्भमा भएको शिशुबाट अत्यन्तै कष्ट सहनु पर्यो। उनको गर्भमा भएको शिशुहरू गर्भभित्रै आपसमा एका-अर्कामा लडाइँ गर्थे। रिबेकाले परमप्रभुसित प्रार्थना गरिन् अनि भनिन्, “मसित यस्तो किन भइरहेकोछ?” 23 परमप्रभुले उनलाई भन्नुभयो,

“तिम्रो कोखमा दुइवटा राष्ट्रहरू छन्।
    दुइवटा राष्ट्रका राजाहरू तिमीबाट जन्मनेछन्,
    र तिनीहरू छुट्टीनेछन्।
एउटा छोरो अर्को छोरोभन्दा शाक्तिशाली हुनेछ
    अनि जेठाले कान्छाको सेवा गर्नेछ।”

24 अनि जब समय पूरा भयो तब रिबेकाले जुमल्याहा छोरा जन्माइन्। 25 पहिलो छोरो रातो वर्णको थियो अनि उसको छाला भुत्लाले बनिएको लुगा जस्तो थियो। यसर्थ उसको नाउँ एसाव राखियो। 26 जब दोस्रो छोरो जन्मियो। उनले पहिलो छोरो एसावको कुर्कुच्चा बलियोसित समातेको थियो। यसैले उसको नाउँ याकूब राखियो। एसाव र याकूब जन्मदा इसहाक साठी बर्ष पुगेका थिए।

27 केटाहरू हलहली बढे। एसाव एकजना सिपालु शिकारी भयो अनि ऊ मैदानतिरै बस्न मन पराउँथ्यो। तर याकूब शान्त स्वभावको थियो अनि पाल भित्रै बस्थ्यो। 28 इसहाकले एसावलाई मन पराउँथिए अनि उनले मारेको जनवारहरूको मासु खान रूचाउँथिए। तर रिबेकाले याकूवलाई माया गर्थिन्।

29 एकदिन एसाव शिकारबाट थाकेर भोकले हत्तु भएर फर्केर आयो। याकूब एक भाँडा सिमी उसिनिरहेको थियो। 30 यसर्थ एसावले याकूबलई भने, “म भोकले दुर्बल भइरहेकोछु। मलाई त्यो केही रातो सिमी खान देऊ।” (यही कारणले मानिसहरूले उसलाई एदोम भन्ने गर्द थिए।)

31 तर याकूबले उनलाई भने, “पहिला तिमीले मलाई जेठा छोराको जन्मअधिकार बेच्नु पर्छ।”

32 एसावले भने, “म भोकले मर्न आँटेकोछु। यदि म मरें भने मेरो बाबुको सबै सम्पत्तिले पनि केही सहायता गर्न सक्तैन। यसर्थ म मेरो अंश दिइहाल्छु।”

33 तर याकूबले भने, “पहिले मलाई वचन दे तैंले मलाई त्यो दिन्छस्।” यसकारण एसावले याकूबलाई वचन दियो। एसावले आफ्नो बाबुको सम्पत्तिको आफ्नो जेष्ठ-अधिकार याकूबलाई बेचि दियो। 34 तब याकूबले एसावलाई रोटी र भोजन दियो। एसावले खायो, र हिंड्‌यो। यस प्रकारले एसावले यो देखायो आफू पहिलो छोरो भएकोमा उसलाई आफ्नो जेष्ठ-अधिकारको कुनै पर्वाह छैन।

मत्ती 24

भविष्यमा मन्दिर विनाश हुने

(मर्कूस 13:1-31; लूका 21:5-33)

24 जसै येशू मन्दिर छोडेर कतै जानु हुँदैथियो उहाँको चेलाहरू मन्दिरको भवनहरू देखाउन भनी आए। येशूले चेलाहरूलाई भन्नुभयो, “यी भवनहरू देख्दैछौ? म तिमीहरूलाई साँच्चो भन्दछु यी भवनहरू ध्वंस पारिनेछन्। कुनै ढुङ्गा अर्को ढुङ्गामाथि रहने छैन।”

त्यसको केही बेरपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। चेलाहरू येशूको साथमा एकान्तमा आए। तिनीहरूले भने, “यो घट्ना कहिले हुनेछ कृपया हामीलाई पनि भन्नुहोस्। तपाईंको आगमनको र संसारको अन्तको संकेत के हुनेछ?”

येशूले भन्नुभयो, “होशियार बस। तिमीहरूलाई कसैले मुर्ख बनाउन नपाओस्। धेरै मानिसहरू आउनेछन् र मेरो नाम लिनेछन्। तिनीहरूले ‘म नै ख्रीष्ट हुँ।’ भनी धेरैलाई मूर्खबनाउनेछन्। तिमीहरूले लँडाईका बारेमा सुन्नेछौ। अनितिमीहरूले अब हुने लँडाईका बारेमा पनि समाचार सुन्नेछौ। तर डराउनु पर्दैन। यी सब घट्नाहरू हुनैपर्छ। तर अन्त्य अझ आइहाल्ने छैन। किनभने एक जातिले अर्को जातिको विरोध गर्नेछ अनि राज्य राजयको विरोधमा युद्ध हुनेछ। अनि धेरै ठाउँमा अनिकाल लाग्नेछ अनि भूँईचालो जानेछ। यी सबै थोक सुत्केरी व्याथा लागे झैं आइलाग्ने छन्।

“त्यसपछि तिमीहरूलाई मानिसहरूले नराम्रो व्यवहार गर्नेछन्। मानिसहरूले तिमीहरूलाई शासकहरूको हातमा सुम्पने र सताउनेछन् र मार्नेछन्। तिमीहरूले ममाथि विश्वास गरेकै कारण मानिसहरूद्वारा तिमीहरू घृणित हुनेछौ। 10 त्यसबेला धेरै विश्वासीहरूले आफ्नो विश्वास हराउनेछन्। तिनीहरूले एका-अर्कालाई विरोध गर्नेछन् र एक-अर्कालाई घृणा गर्नेछन्। 11 अनेकौं झूटा अगमवक्ताहरू निस्कनेछन्। तिनीहरूले मानिसहरूलाई झूटो कुराहरूमा विश्वास गराउने कोशिश गर्नेछन्। 12 संसारैभरि थुप्रै दुष्टहरूदेखा पर्नेछन्। अनि एकदमै विश्वासीहरूले प्रेम देखाउने छैनन्। 13 तर अन्त्यसम्मै जो दृढ रहन्छ उही नै सुरक्षित हुनेछ। 14 संसारैभरि परमेश्वरको राज्यको बारेमा सुसमाचारहरू प्रचार गरिनेछ। प्रत्येक राष्ट्रलाई नै यी कुराहरू भनिनेछ। त्यसपछि अन्त्य आउने छ।

15 “दानियल अगमवक्ताले ‘यस्तो खराब कुराहरूले विध्वंश ल्याउने छ’ भनी बताएका थिए।[a] तिमीहरूले यस्तो डरलाग्दा कुराहरू पवित्र ठाउँ अनि मन्दिरमा उभिएको देख्नेछौ” यी कुरा पढ्ने मानिसले यसको अर्थ बुझ्नुपर्छ। 16 “त्यसबेला यहूदियाका मानिसहरू पहाडतिर भाग्नु पर्नेछ। 17 मानिसहरू कतै नरोकिई समय खेर नफाली, भाग्नेछन्। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही लिनलाई ऊ तल ओर्लिन हुँदैन। 18 यदि कोही खेतमा छ भने उ पनि कोट लिनलाई फर्की जानु हुँदैन।

19 “त्यसबेला, गर्भवती भएका स्त्रीहरू र अनि दूध पिउने शिशूलाई दु:ध चुसाउने आमाहरूका निम्ति खुबै दु:खपूर्ण हुनेछ। 20 विश्राम र जाडोको समयमा यसरी भाग्नु नपरोस् भनी प्रार्थना गर। 21 किनभने त्यसबेला अत्यन्त दुःख हुनेछ। सृष्टिको शुरू भएदेखि अहिलेसम्म संसारमा यस्तो दु:ख भएको थिएन। पछि कहील्यै पनि भविष्यमा यस्तो दु:ख आइपर्ने छैन।

22 “परमेश्वरले त्यो महासंकटको समय छोट्याउनुभएको छ। यदि त्यो समय छोट्याइएन भने, कुनै मानिस पनि बाँच्ने छैन। तर आफूले चुनेका मानिसहरूलाई मद्दत गर्नलाई परमेश्वरले त्यो समयलाई छोटो पार्नु भएकोछ।

23 “त्यसबेला कसै-कसैले तिमीहरूलाई यसो भन्नसक्छन्, ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ।’ अथवा अर्का कसैले भन्नसक्छ, ‘अहाँ त्यहाँ हुनुहुन्छ।’ तर तिनीहरूलाई विश्वास नगर। 24 झूटो ख्रीष्ट र झूटो अगमवक्ताहरू देखा पर्नेछन् ठुला-ठुला कुराहरू र चमत्कारहरू गर्नेछन्। सम्भव भए परमेश्वरले चुन्नु भएका मानिसहरूलाई समेत धोका दिनका निम्ति तिनीहरूले यसो गर्नेछन्। 25 हेर, मैले अधिबाटै यस बारेमा तिमीहरूलाई सर्तक गराएकोछु।

26 “कसैले भन्नेछ, ‘ख्रीष्ट मरुभूमिमा हुनुहुन्छ।’ तर तिमीहरू ख्रीष्टलाई भेट्न मरुभूमि तिर नजाऊ। अरू कसैले भन्नसक्छ, ‘ख्रीष्ट त्यो कोठामा हुनुहुन्छ।’ तर त्यसलाई विश्वास नगर। 27 जब मानिसको पुत्रको आगमन हुन्छ सबै मानिसहरूले देख्न पाउनेछन्। यसबेला आकाशमा बिजुली चम्केर चारैतिर उज्यालो भएजस्तो हुनेछ। र त्यो उज्यालो चारैतिर देखिनेछ। 28 गिद्धहरू जम्मा भएको देखेर तिमीहरू त्यहाँ सीनो छ भनेर जान्न सक्छौ त्यसैगरी मेरो आगमन त्यस्तै प्रत्यक्ष हुनेछ।

29 “ती दिनका संकटहरूपछि तुरन्तै,

‘घाम अँध्यारो हुनेछ,
    अनि जूनले पनि आफ्नो प्रकाश दिने छैन।
ताराहरू आकाशबाट झर्नेछन्,
    अनि आकाशका सबै चीजहरू हेरफेर हुनेछन्।’[b]

30 “त्यसबेला आकाशमा केही चिन्ह देखीने छन् र ती मानिसको पुत्रको चिन्ह हुनेछन्। संसारभरिका सबै मानिसहरू रूनेछन्। सबै मानिसहरूले मानिसको पुत्रलाई आकाशमा बादलसँग आँउदै गरेको देख्नेछन्। मानिसको पुत्र शक्ति र महान गौरव लिएर आउनेछन्। 31 चारै दिशाबाट आकासको एक छेऊ देखि अर्को छेउसम्म परमेश्वरद्वारा चुनिएको मानिसहरूलाई भेला गर्न मानिसको पुत्रले तुरहीको आवाज सहित स्वर्गदूतहरूलाई पठाउनु हुनेछ।

32 “नेभाराको रूखले तिमीहरूलाई शिक्षा दिनेछ जब नेभाराको रूखको हाँगाहरू हरियो देखिन्छन् पालुवा फेर्दै गरेको देखेर तिमीहरू जान्दछौ ग्रीष्म ऋतु नजिक छ। 33 तिमीहरूसित पनि यस्तै हुनेछ। जब तिमीहरू यस्तो भएको देख्छौ, त्यसबेला तिमीहरूलाई समय नजिक छ र त्यो आउने लागेको छ भनी थाहा हुनेछ। 34 म तिमीहरूलाई साँच्चो भन्दछु, यस पुस्ताका मानिसहरू जीवित रहदा नै यी कुराहरू हुनेछन्। 35 आकाश र पृथ्वी ध्वंस गरिनेछ, तर मैले बोलेका शब्दहरू कहिल्यै नाश हुनेछैनन्।

त्यस समय परमेश्वर मात्रै जान्नु हुनेछ

(मर्कूस 13:32-37; लूका 17:26-30,34-36)

36 “त्यो घट्ना कहिले घट्नेछ भनेर कुनै मानिसले पनि त्यो समय र दिन जान्दैन। पुत्र आफैं र स्वर्गदूतहरूले पनि जान्दैनन्। तर पिताले मात्र जान्नुहुन्छ।

37 “मानिसको पुत्र आउँदा, त्यसबेला त्यस्तै स्थिति हुनेछ जस्तो स्थिति नूहको समयमा भएको थियो। 38 त्यसबेला जल-प्रलय हुन अघि मानिसहरू खाइ पिइरहेका थिए। मानिसहरू विवाह गर्दै थिए र आफ्नो छोरा अनि छोरीहरूलाई विवाह गर्न दिइरहेका थिए। नूह जहाजभित्र नचढुन्जेलसम्म मानिसहरूले यसो गरिरहेका थिए। 39 मानिसहरूले के भइरहेको छ भनी केही जानेका थिएनन्। तर त्यसैबेला जलप्रलय भयो अनि सबै नष्ट भयो।

“मानिसको पुत्रको आगमनको समयमा पनि यस्तै हुनेछ। 40 दुइजना मानिसहरू खेतमा काम गरिरहेका हुनेछन्। एकजनालाई उठाइने छ र अर्कोलाई छोडिइनेछ। 41 दुइजना स्त्रीहरू जाँतोमा अन्न पिंधिरहेका हुनेछन्। एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ।

42 “यसकारण सधैँ तयार बस। कतिबेला तिमीहरूका परमप्रभु आउनु हुनेछ भन्ने कुरा तिमीहरूलाई थाहा हुने छैन। 43 याद गर यदी घरको मालिकले चोर कतिबेला आउँछ भनेर थाहा पाएको भए ऊ तयार भएर बस्ने थियो। ऊ सर्तक रहने थियो र चोरलाई धरभित्र पास्न दिदैन थियो। 44 यसकारण तिमीहरू पनि तयार बस। मानिसको पुत्र यस्तो समयमा आउनेछ जसको तिमीहरूले आशा गरेका हुने छैनौ।

असल र खराब नोकरहरू

(लूका 12:41-48)

45 “बुद्धिमान र विश्वासी नोकर को चाँहि छ र मालिकले उसलाई आफ्ना सबै नोकरहरूलाई भन्दा विशेष जिम्मेवारी सुम्पिन्छ र अरू सबैमाथि ठीक ठीक समयमा खानेकुराको प्रबन्ध गर्ने जिम्मामा लगाउँछ। 46 जब मालिक आउँछ र नोकरलाई दिइएको काम गरिरहेको भेट्छ, भने त्यो नोकर धन्य को हो। 47 म तिमीहरूलाई साँच्चो भन्दछु। त्यो मालिकले उसलाई आफूसित भएको सारा सम्पत्तिमाथि जिम्मा लगाउँछ उसले प्रत्येक कुराहरूको हेरचाह गर्न पाउँछ।

48 “तर नोकर नै दुष्ट छ र आफ्नो मालिक झट्ट आउँदैन भनेर सम्झन्छ भने त्यसबेला के हुन्छ? 49 त्यसपछि उसले अरू नोकहरूलाई पिट्न थाल्छ। उ आफूजस्तै अरू मानिसहरूसँग बसेर खान र पिउन लाग्छ। 50 अनि जब मालिक नसोचेको दिनमा आइपुग्नेछ। जब कि उसले आशा नगरेको दिन र नसम्झेको समयमा आइपुग्नेछ। 51 त्यसपछि मालिकबाट ऊ दण्डित हुनुपर्छ। मालिकले उसलाई कपटीहरूसँग सामेल गराइदिनेछ। त्यहाँ मानिसहरूको रूवावसी र दाह्रा किटाई हुनेछन्।

एस्तर 1

रानी वस्तीले राजाको हुकम मानिनन्

अहासूरसको समयमा यो कुरा घट्‌यो यी अहासूरस थिए जसले भारतबर्षदेखी इथियोपिया सम्मका 127 प्रदेशहरू माथि शासन गर्थे। ती दिनहरूमा अहासूरस राजाले राजधानी शूशनबाट शासन गर्थे।

आफ्नो शासनकालको तेस्रो बर्षमा, राज्यमा भव्य बडाई अनि प्रतिनीधिहरूलाई ठूलो भोज दिन ऐश्वर्यका प्रदर्शन गर्दा तिनले आफ्ना सबै अधिकारीहरू अनि सेवकहरू फारसी अनि मादी सेनापतिहरू, कुलीनहरू अनि आफ्ना अधिनका प्रदेशबाट आएर अधिकारीहरूका निम्ति 180 दिनसम्म भोजको आयोजन गरे। अनि त्यो उत्सव पुरा भयो राजाले शूशनमा भेट्न सकिने सबै धनी एवं गरीब मानिसहरूका निम्ति राजमहलसँगै बारेको बगौंचामा सातदिनसम्म भोजको आयोजन गरे। त्यहाँ मिहीन सुती वस्त्रका हातले बुनेका जाली बनावटका वस्त्र। नीला अनि सेता सुतीका पर्दाहरूको घेरामा मलमलको डोरी अनि बैजनी लुगा, चाँदीका खामाहरू सँगर्ममरको ढुङ्गाहरू थिए। तलमाथि बुट्टा बनाईएका राता सेता मोती अनि मुल्यावान पत्थर लाएको अनि चाँदीका आराम-आसनहरू राखिएका थिए। दाखरस सुनका कचौराहरूमा थिए। कचौरा विभिन्न प्रकारका थिए। अनि त्यहाँ धेरै राजकीय दाखरस थियो, किनभने राजा धेरै दयालू थिए। पेय वस्तु प्रचुर थियो प्रत्येक पाहुनाले जति इच्छा गर्छ त्यति पिउन दिनु भनी राजाले आफ्ना सेवकहरूलाई आदेश गरेका थिए।

त्यसै समयमा रानी वश्तीले स्त्रीहरूका निम्ति एक भोजको आयोजना राजा अहासूरस को राजमहलमा गरिन।

10-11 भोजको सातौं दिनमा जब राजा दाखरसको नशामा चूर थिए उनले यहूमान, बिज्ता, हर्बोना, बिग्ता, अबगता, जेतेर अनि कर्कस, सात जना, नपुंसकहरू जसले राजा अहासूरसको सेवा गर्थे रानी वश्तीलाई राजकीय मुकुट लगाएर उनको अघि ल्याउनु भने उनले रानीको सुन्दरता मानिसहरू अनि अधिकारीहरूलाई देखाउन चाहन्थे किनभने तिनी अत्यन्तै सुन्दरी थिइन्।

12 राजाले नपुंशकहरूलाई आज्ञा गरे। तापनि, रानी वश्तीले आउँन अस्वीकार गरिन्। यसकारण राजा एक्दमै क्रोधित भए। 13 यसकारण राजाले उनका ज्ञानी मानिसहरूसँग भने, जो नियमविचार शक्तिका विषयमा एक्दमै चतुर थिए, राजाले यी कुराहरू साधारण रूपले सोधे। 14 यी सात जना कर्शना, शेतार, अद्‌माता, तर्शीश, मेरेश, भर्सना अनि ममूकान, ज्ञानी अधिकारीहरू राजाका अत्यन्तै नजिक थिए यी फारस र मादीका अधिकारीहरूको राजासित पहुँच थियो अनि तिनीहरूले राज्यमा शासन चलाउँथे। 15 राजाले तिनीहरूलाई भने। “नियम, अनुसार रानी वश्तीलाई के गर्ने? किनभने राजा अहासूरसले नपुसकहरू मार्फत जे आदेश दिए त्यो रानीले पालन गरिनन्?”

16 अनि ममूकानले राजा अनि अधीकारीहरूको समक्ष भने, “रानी वश्तीले राजा प्रति मात्र होइन सबै अधिकारीहरू अनि राजा अहासूरसका प्रदेशहरूमा बस्ने सबै मानिसहरू प्रति अनादर गरेकीछन्। 17 किनकि रानी को अनादर सबै स्त्रीहरूमा पुगेकोछ, कि तिनीहरूले पनि खुल्लम-खुल्ला आफ्ना पतिहरूलाई तिरस्कार गर्न सक्छन्। हरेक स्त्रीहरूले भन्नेछन्, ‘जब राजा अहासूरसले रानी वश्तीलाई तिनको समक्ष आउनु भने तर तिनी आइनन्।’”

18 “आज, रानीले के गरिन् फारस र मादी अधिकारीहरूका पत्नीहरूले सुने अनि तिनीहरूले आफ्ना पतिहरूसित राजाका अधिकारीहरूले त्यही व्यवहार गरे तिनीहरूमा धेरै अपमान र क्रोध हुनेछ।

19 “यदि राजालाई राम्रो लाग्छ भने, उहाँबाट आदेश जारी होस् अनि यसलाई फारस र मादीहरूको व्यवस्थाको, नियममा लेखियोस्। यसको उलंघन नहोस्। आज्ञापत्रले यो घोषणागर्नुपर्छ कि वश्ती फेरि पनि राजा अहासूरसको अघि आउनुहुँदैन। तिनको रानीको अधिकार पनि अन्य स्त्रीलाई दिनु पर्छ। जो तिनी भन्दा सुन्दर छिन्। 20 राजाले जे हुकुम दिन्छन् विशाल राज्यले सुन्नेछ अनि सामाजिक स्तरमा ठूला या सानाका पत्नीहरूले सम्मान गर्नेछन्।”

21 अनि यो सल्लाह राजा अनि अधिकारीहरूको नजरमा असल ठानियो। अनि राजाले ममूकानको सल्लाहलाई स्वीकार गरे। 22 अनि राजाले समस्त प्रदेशहरूलाई तिनीहरूको भाषा र तिनीहरूको बोलि अनुसार व्यक्ति-व्यक्तिलाई उसको घरको शासक हुनलाई, तिनीहरूलाई आफ्ना मानिसहरू कै भाषामा जाहेरगरेर पत्रहरू पठाए।

प्रेरित 24

यहूदीहरूले पावललाई दोष लगाए

24 पाँचदिन पछि हनानिया सिजरिया गए। उनी प्रधान पूजाहारी थिए। उनले कतिपय बुढा यहूदी अगुवाहरू र तर्तुल्लस नाउँका वकीललाई आफ्नो साथमा ल्याए। तिनीहरू राज्यपालकको सामु पावलको विरुद्ध मुद्दा उठाउन सिजरिया गए। पावललाई सभामा डाकियो अनि तर्तुल्लसले उनको विरुद्ध यसो भन्दै मुद्दा पेश गर्न थाले,

“महामहिम फेलिक्स, तपाईंले गर्दा नै हाम्रा मानिसहरूले शान्ति उपभोग गरिरहेका छन् अनि तपाईंकै दूर-दर्शिताले हाम्रो देशमा हुन पर्ने सुधारहरू भए। हामी ती कुराहरूका लागि तपाईंलाई प्रत्येक ठाउँमा र हरेक तरिकाले धन्यवाद प्रकट गर्छौ। तर म तपाईंको धेरै समय नष्ट गर्न चाहँदिन। यसर्थ म केही शब्दमा तपाई अघि मुद्दा पेश गर्नेछु। दया गरी, धैर्य धारण गरिदिनु होला। यो मानिस एक समस्या ल्याउने मानिस हो र यसले जताततै संसारभरि यहूदीहरू माझ दङ्गा मचाँउछ। यो नासरीदलका नेता हो। 6-8 यसले मन्दिर अपवित्र बनाउन खोजिरहेको थियो तर हामीले यसलाई रोक्यौ। जब तपाईंले यस मानिसलाई जाँच गर्नु हुनेछ हामीले उमाथि लाएको सबै दोषहरू सत्य हुन भन् आफैं बुझ्नु हुनेछ।” अन्य यहूदीहरू सहमत भए अनि भने, “यी कूराहरू साँचि नै सत्य हुन्।”

पावल फेलिक्सको अगाडी

10 राज्यपालकले पावललाई बोल्ने संकेत गर्नुभयो। यसकारण पावलले राज्यपाललाई जवाफ दिए, “राज्यपाल फेलिक्स, म जान्दछु कि तपाईं धेरै समयदेखि यस राष्ट्रको न्यायकर्ता हुनुहुन्छ। यसर्थ म आफ्नो बचाउ पक्ष पेश गर्न पाउँदा खुशी छु। 11 म यरूशलेममा आराधाना गर्नलाई बाह्र दिन अघि मात्र गएँ। तपाईं आफैं यो सत्य हो भनेर जाँच्न सक्नु हुन्छ। 12 यी यहूदीहरू जसले मलाई दोष लगाए उनीहरूले मलाई मन्दिरमा कसैसँग बोलेको भेटेनन्। मैले कतै सभाघर मन्दिरमा अथवा यो शहरको अन्यत्र कतै समस्या खडा गर्न भीड जम्मा गरेको छैन। 13 ती यहूदीहरूले मेरो विरुद्धमा अहिले जे दोषारोपण गरे त्यसको प्रमाण दिन सक्तैनन्।

14 “तर म तपाईंलाई भन्दैछुः म हाम्रा पिता पुर्खाहरूका परमेश्वरलाई येशूका चेलाले जस्तै आराधना गर्दछु। यहूदीहरू भन्छन् येशूको मार्ग गल्ती हो। तर मोशाको व्यवस्थाहरूमा बताएको प्रत्येक कुरो अनि अगमवक्ताहरूले किताबमा लेखेकाहरू म विश्वास गर्छु। 15 म परमेश्वरमा त्यही आशा गर्छु जो यी यहूदीहरू गर्छन् कि धर्मी अनि अधर्मी मृत्युबाट बौरी उठ्नेछ। 16 यही कारणले म सधैँ परमेश्वर अनि मानिसहरूको अघि त्यही गर्ने प्रयास गर्छु जुन मेरो विश्वासमा सही हुन्छ।

17-18 “म धेरै वर्षदेखि यरूशलेमबाट टाढा रहेको थिएँ। म त्यहाँ मेरा मानिसहरूका निम्ति केही दानको उपहारहरू लिएर बलि चढाउनु फर्केको थिएँ। जति बेला तिनीहरूले मलाई मन्दिरमा भेटे मैले शुद्धिकरण विधि सिद्धाएको थिएँ। मैले मेरो वरिपरि कुनै भीड जम्मा गरेको थिइन् न त त्यहाँ मैले कुनै प्रकारको अशान्ति नै सृष्टि गरेको थिएँ। 19 तर कतिपय एशियाबाट आएका यहूदीहरू त्यहाँ थिए। यदि तिनीहरूसँग साँच्चै मेरो विरोधमा केही गवाही भए त्यो प्रमाण गर्न तिनीहरू यहीं हुन पर्ने 20 अथवा यहूदीहरूलाई जो यहाँ छन् सोध्नु होस् यदि तिनीहरूले मेरो विरुद्ध केही गल्तीहरू पाएका छन् कि जति वेला म यरूशलेममा यहूदीहरूको एक महासभामा थिएँ। 21 मैले खाली तिनीहरूको समक्ष एउटै कुरोको घोषणा गरेको थिएँ ‘आज मेरो न्याय गरिदैछ किनभने मानिहरू मृत्युबाट जाग्नेछन् भनेर म विश्वास गर्दछु।’”

22 फेलिक्सले येशूमार्ग विषयमा धेरै कुराहरू जान्दथे। उनले मुद्दा स्थगित गरे अनि भने, “जब सेनापति, लायसिअस यहाँ आउँछन् म यी कुराहरूको विषयमा निर्णय गर्नेछु।” 23 फेलिक्सले सैन्य अधिकारीलाई पावललाई सुरक्षामा राख्न भने। तर तिनले सैन्य अधिकारीलाई भने कि पावललाई केही स्वतन्त्र दिनु अनि उनको आश्यकता पुरा गर्न उनको साथीहरूलाई वाधा नदिनु।

पावल फेलिक्स र उहाँको पत्नीसँग बोल्दछन्।

24 केही दिन पछि फेलक्स आफ्नी यहूदी पत्नीसँग आए। उनको नाउँ द्रूसिल्ला थियो। फेलिक्सले पावललाई ल्याउनु भनेर आज्ञा दिए। फेलिक्सले ख्रीष्ट येशूमा विश्वासप्रति पावलले भनेको कुराहरू सुने। 25 तर फेलिक्स डराए जब पावलले धार्मिक जीवन, आत्मा संयम र भविष्यमा हुने न्यायको विषयमा भने। फेलिक्सले भने, “अहिले जाऊ। जब मसँग समय हुन्छ म तिमीलाई फेरि बोलाउने छु।” 26 तर फेलिक्सको पावलसँग बात गर्ने अर्को कारण थियो। फलिक्सले पावलबाट घुस पाउने आशा गरेका थिए। यसर्थ उनले पावललाई बारम्बार बोलाएर कुराकानी गर्थे।

27 तर दुइ वर्ष पछि पोर्सिअस फेस्तस राज्यपाल भए। फेलिक्स अब राज्यपाल रहेनन्। तर फेलिक्सले पावललाई कैदी नै बनाएर राखे। किनभने उनले यहूदीहरूलाई खुशी पार्न चाहन्थे।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International