Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
न्यायकर्ता 6

मिद्यानीहरू इस्राएलसित युद्ध गर्छन्

फेरि इस्राएलीहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। यसकारण सात बर्षसम्म परमप्रभुले मिद्यानका मानिसहरूलाई इस्राएलका मानिसहरूमाथि पराजित पार्न दिनु भयो।

मिद्यानका मानिसहरू अत्यन्त शक्तिशाली अनि इस्राएलका मानिसहरू प्रति निष्ठूर थिए। यसर्थ इस्राएलका मानिसहरूले पर्वतहरूमा अनेक लुक्ने ठाउँहरू निर्माण गरेका थिए। तिनीहरूले आफ्ना भोजनहरू गुफाहरू अनि भेट्न गाह्रो पर्ने स्थानहरूमा लुकाए। तिनीहरूले त्यसो गरे किनभने पूर्वबाट मिद्यानी अनि अमालेकी मानिसहरू आएर तिनीहरूका बालीहरू सदैव नष्ट गरिदिन्थे। ती मानिसहरूले त्यो भूमिमा छाउनी थापेर बस्थे अनि इस्राएलका मानिसहरूले रोपेका बालीहरू नष्ट गरिदिन्थे। ती मानिसहरूले इस्राएलका मानिसहरूको गाजा शहर नजिकसम्मका भूमिको फसल नष्ट गरिदिए। ती मानिसहरूले इस्राएलका मानिसहरूलाई खानका निम्ति केही पनि छाडेनन्। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति कुनै भेंडा, वा गाई-बस्तु वा गधाहरू पनि छाडेनन्। मिद्यानका मानिसहरू माथि आए अनि त्यस भूमिमा छाउनी थापेर बसे। तिनीहरूले आफ्ना परिवारहरू अनि आफ्ना पशु प्राणीहरू ल्याए। तिनीहरू सलहको हुल झैं धेरै थिए। ती मानिसहरू अनि ऊँटहरू यति धेरै थिए कि तिनीहरूको गन्ती गर्न सम्भव थिएन। यी सबै मानिसहरू त्यस भूमिमा आए अनि त्यसलाई ध्वंश पारे। इस्राएलका मानिसहरू मिद्यानका मानिसहरूको कारणले अत्यन्त गरीब भए। यसर्थ इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभु समक्ष विलाप गरे।

मिद्यानका मानिसहरूले ती सबै दुष्टकर्महरू गरे। यसर्थ इस्राएलका मानिसहरू सहायताका निम्ति परमप्रभुसित विलाप गर्नलागे। यसर्थ परमप्रभुले तिनीहरू कहाँ एक अगमवक्तालाई पठाउनु भयो। अगमवक्ताले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु, इस्राएलका परमेश्वरले जे भन्नुहुन्छ त्यो यो होः ‘तिमीहरू मिश्रदेशमा दास थियौ। मैले तिमीहरूलाई मुक्त गरें अनि तिमीहरूलाई त्यस भूमिबाट बाहिर ल्याएँ। मैले तिमीहरूलाई मिश्रदेशका शक्तिशाली मानिसहरूबाट बचाएँ। त्यसपछि कनान देशका मानिसहरूले तिमीहरूलाई घात पुर्याए। यसर्थ मैले फेरि तिमीहरूलाई बचाएँ। मैले ती मानिसहरूलाई तिनीहरूका भूमि छोडन लगाएँ। अनि तिनीहरूको भूमि तिमीहरूलाई दिएँ।’ 10 तब मैले तिमीहरूलाई भने, ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू एमोरी मानिसहरूको भूमिमा बस्नेछौ, तिमीहरूले तिनीहरूका झूटा देवताहरू पूज्न हुँदैन थियो।’ तर तिमीहरूले मेरो कुरा पालन गरेनौ।”

परमप्रभुका स्वर्गदूत गिदोन भ्रमण गर्छन्

11-12 त्यस समयमा परमप्रभुका स्वर्गदूत गिदोन नाउँको मानिसकहाँ आए। परमप्रभुका स्वर्गदूत आए र ओप्रा नामक स्थानमा भएको फलाँटको रूखमुनि बसे। त्यो फलाँटको रूख योआश नाउँको मानिसको थियो। योआश अबीएजर परिवारका थिए। यिनी गिदोनका बुबा थिए। मिद्यानीहरूबाट लुकाउनलाई गिदोन दाखरस निकाल्ने ढिकीमा केही गहुँ कुटिरहेका थिए। परमप्रभुका स्वर्गदूत गिदोन समक्ष प्रकट भए अनि तिनलाई भने, “महान सैनिक! परमप्रभु तिम्रो साथ रहून्।”

13 तब गिदोनले भने, “म शपथ खान्छु हजूर यदि परमप्रभु हामीसित हुनु भएको भए हामीहरूले किन यति धेरै कष्ट पाइरहेका छौं? हामीले सुनेका छौं कि उहाँले हाम्रा पिता-पुर्खाहरूका निम्ति आश्चर्य जनक कुराहरू गर्नुभयो। हाम्रा पिता-पुर्खाहरूले हामीलाई भने कि परमप्रभुले नै तिनीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो। तर परमप्रभुले हामीलाई छाड्नुभयो। परमप्रभुले हामीलाई पराजित गर्न मिद्यानी मानिसहरूलाई दिनुभयो।”

14 परमप्रभु गिदोनतर्फ फर्किनु भयो अनि भन्नुभयो, “तेरो शक्ति प्रयोग गर्। जा मिद्यानी मानिसहरूबाट इस्राएलका मानिसहरूलाई बँचा। म तँलाई तिनीहरूलाई बचाउँन पठाइरहेछु।”

15 तर गिदोनले उत्तर दिए र भने, “मलाई क्षमा गर्नुहोस महाशय। म कसरी इस्राएलीलाई बचाउँन सक्छु र? मनश्शेको कुल समूहमा मेरो गोत्र सबै भन्दा कमजोर छ। अनि म मेरो परिवारको सबै भन्दा कान्छो हुँ।”

16 परमप्रभुले गिदोनलाई उत्तर दिनुभयो र भन्नुभयो, “म तँसित छु। यसर्थ तैंले मिद्यानका मानिसहरूलाई पराजित गर्न सक्नेछस्। यो यस्तो हुनेछ कि तँ एक व्यक्तिसित मात्र युद्ध गरिरहेछस्।”

17 तब गिदोनले परमप्रभुलाई भने, “यदि तपाईं मसित खुशी हुनुभयो भने तपाईं साँच्चै नै परमप्रभु हुनुहुन्छ भनी मलाई प्रमाण दिनु होस्। 18 कृपया यो प्रतिक्षा गर्नुहोस्। म तपाईं कहाँ फर्की नआएसम्म तपाईं नजानुहोस्। मलाई मेरो भेटी ल्याउन अनि तपाईंको समक्ष त्यसलाई राख्न दिनुहोस्।”

अनि परमप्रभुले भन्नुभयो, “तँ फर्केर नआएसम्म म पर्खीरहने छु।”

19 यसर्थ गिदोन भित्र गए अनि एउटा सानो पाठो उम्लेको पानीमा पकाए। गिदोनले लगभग एक एपा[a] जस्तो पीठो लिएर अखमीरे रोटी बनाए। त्यसपछि गिदोनले एउटा ढाकीमा मासु हाले अनि मासु उमालेको पानी एउटा भाँडमा हाले। गिदोनले मासु, उमालेको मासुको झोल अनि अखमिरे बिनाको रोटी पकाएर बाहिर ल्याए। गिदोनले त्यो भोजन फलाँटको रूखमुनि परमप्रभुको दूतलाई दिए।

20 परमेश्वरका दूतले गिदोनलाई भने, “त्यो मासु अनि अखमिरे रोटी त्यो चट्टान माथि राख्। त्यसपछि पानी खन्या।” गिदोनले त्यसै गरे जस्तो स्वर्गदूतले भने।

21 परमप्रभुको दूतसित हातमा एउटा हिँड्दा टेक्ने लट्ठी थियो। परमप्रभुका दूतले त्यो लट्ठीको टुप्पोले मासु अनि रोटीलाई छोए। तब चट्टानबाट आगो उत्पन्न भयो। मासु अनि रोटी पूर्ण रूपले भस्म भयो। तब परमप्रभुको दूत अदृश्य भए।

22 तब गिदोनले बुझे कि तिनी परमप्रभुको दूतसित कुरा गरिरहेका थिए। यसर्थ गिदोन चिच्याए, “सर्वशक्तिमान परमप्रभु! मैले परमप्रभुका दूतलाई आमने-सामने देखें!”

23 तर परमप्रभुले गिदोनलाई भन्नुभयो, “शान्त होऊ! भयभीत नहोऊ। तिमी मर्ने छैनौ!”

24 यसर्थ गिदोनले परमप्रभुको आराधना गर्न त्यस स्थानमा एक वेदी निर्माण गरे। गिदोनले त्यो वेदीको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ” राखे। त्यो वेदी अझ सम्म ओप्रा शहरमा छँदैछ। ओप्रा त्यो ठाउँ हो जहाँ अबीएजरका परिवार बस्छन्।

गिदोनले बालको वेदी ढालि दिन्छन्

25 त्यही राती परमप्रभुले गिदोनसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, “तेरो बाबुले पालेको सात बर्ष पुगेको जवान साँढे ले। तेरा बाबुको झूटो देवता बालको एउटा वेदीमा छ। त्यो वेदीको छेउमा एउटा काठको खम्बा पनि छ। त्यो खम्बा झूटा देवी अशेराको सम्मानमा बनाएको छ। त्यो बाल-वेदी ढाल्न साँढेको प्रयोग गर अनि अशेरका खम्बा काटिदे। 26 त्यसपछि परमप्रभु तेरो परमेश्वरको निम्ति ठीक प्रकारको वेदी निर्माण गर। त्यो वेदी यो उच्च भूमिमा निर्माण गर। त्यसपछि त्यो वेदीमा त्यो जवान साँढेलाई मारेर होमबलि दे। तिमीहरूको भेटी जलाउनलाई अशेरको खम्बाको काठ प्रयोग गर।”

27 यसर्थ गिदोनले आफ्ना दशजना सेवकहरू लगे अनि परमप्रभुले तिनलाई जे गर्नु भन्नु भएको थियो त्यही गरे। तर गिदोन तिनका परिवार अनि शहरका मानिसहरूले आफूले के गर्दै छु भनी देख्छन् भनी भयभीत भएका थिए। गिदोनले त्यही गरे जो तिनलाई गर्नुभनी परमप्रभुले भन्नु भएको थियो। तर तिनले त्यो काम दिउँसो होइन राती गरे।

28 शहरका मानिसहरू भोलिपल्ट बिहान उठे। अनि तिनीहरूले बालको वेदी नष्ट पारिएको देखे। तिनीहरूले अशेरका खम्बा पनि काटिएका देखे। त्यो अशेराको खम्बा बालको वेदीको छेउमै थियो। ती मानिसहरूले वेदी पनि देखे जो गिदोनले निर्माण गरेका थिए। अनि तिनीहरूले त्यो साँढेहरू देखे जसलाई वेदीमा बलिदान चढाइएको थियो।

29 शहरका मानिसहरूले एक अर्कालाई हेरे अनि सोधे, “हाम्रो वेदीलाई कसले ढाली दियो? कसले हाम्रो अशेराको खम्बा काटिदियो? कसले यो साँढेलाई यो नयाँ वेदीमा बलिदान चढायो?” तिनीहरूले अनेक प्रश्नहरू सोधे अनि ती कुराहरू कसले गरे भनी जान्ने कोशिश गरे।

कसैले तिनीहरूलाई भने, “योआशका छोरा गिदोनले यसो गरे।”

30 यसर्थ शहरका मानिसहरू योआश कहाँ आए। तिनीहरूले योआशलाई भने, “तिमीले तिम्रो छोरालाई बाहिर ल्याउनुपर्छ। बालको वेदी उसले ढाल्यो। अनि उसले वेदीको छेउमा भएको अशेरा देवीको खम्बा पनि काटिदियो। यसर्थ तिम्रो छोरा मर्नै पर्छ।”

31 तब योआशले त्यो भीडलाई भन्यो जो तिनका वरिपरि उभिएका थिए। योआशले भने, “के तिमीहरू बाल देवताको पक्ष लिंदैछौ? के तिमीहरू बालको उद्धार गर्न खोज्दै छौ? यदि कसैले बालको पक्ष लिन्छौ भने उसलाई बिहान हुँदा मारिनु पर्छ। यदि बाल वास्तवमा देवता भएको भए उसले आफ्नो सुरक्षा आफैँ गर्नु पर्ने।” 32 योआशले भने, “यदि गिदोनले बालको वेदी ढाल्यो भने बाललाई नै उसित बहस गर्न देऊ।” यसर्थ त्यसदिन योआशले गिदोनलाई नयाँ नाउँ दिए। तिनले उसलाई “यरूब्बाल” भने।

गिदोनले मिद्यानका मानिसहरूलाई पराजित गर्छन्

33 मिद्यानी, अमालेकी अनि अन्य मानिसहरू इस्राएलका मानिसहरूको विरूद्ध लड्न एक साथ मिले। ती मानिसहरू यर्दन नदी पारि गए अनि यिजरेलको बेंसीमा छाउनी हालेर बसे। 34 परमप्रभुको आत्मा गिदोन माथि आउनुभयो, अनि तिनलाई महान शक्ति प्रदान गर्नुभयो। गिदोनले अबीएजरका परिवारलाई आफ्नो अनुशरण गर्नका निम्ति बोलाउनलाई तुरही फुके। 35 गिदोनले मनश्शेका कुल समूहका समस्त मानिसहरू कहाँ दूतहरू पठाए। ती दूतहरूले मनश्शेका मानिसहरूलाई आफ्ना हतियारहरू लिन अनि युद्धका निम्ति तयार हुन भने। गिदोनले आशेर, जबूलून अनि नप्तालीका कुल समूह कहाँ पनि दूतहरू पठाए। ती दूतहरूले त्यही सन्देश लगे। यसर्थ ती कुल समूहहरू पनि गिदोन अनि तिनका मानिसहरूलाई भेट्न गए।

36 तब गिदोनले परमेश्वरलाई भने, “तपाईंले भन्नुभयो कि तपाईंले मलाई इस्राएलका मानिसहरूलाई बचाउँन सहायता गर्नु हुनेछ। मलाई प्रमाण दिनु होस्। 37 म भेंडाको ऊन ढीकीमा[b] राख्नेछु। यदि भेंडाको ऊनमा मात्र शीत परेर सबै भूइँहरू सुख्खा रहेको भए म बुझ्ने छु कि तपाईंले भन्नु भए जस्तै इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति तपाईंले मेरो प्रयोग गर्नु हुनेछ।”

38 अनि ठीक त्यस्तै नै भयो। गिदोन भोलिपल्ट विहानै उठे अनि भेंडाको ऊन निचोरे। तिनले भेंडाको ऊनबाट एक कचौरा भरि पानी निकाले।

39 तब गिदोनले परमेश्वरलाई भने, “म प्रति क्रोधित नहुनुहोस्। मलाई अझ एउटा कुरा सोध्न दिनुहोस। यो भेंडाको ऊनद्वारा तपाईंलाई अझ एक पल्ट जाँचगर्न मलाई दिनुहोस्। यसपल्ट वरिपरिको भूमि शीतले भिज्दा यो भेंडाको ऊन सुख्खा रहोस्।”

40 त्यो रात परमेश्वरले त्यही कुरा गर्नुभयो। ठीकै भेंडाको ऊन सुक्खा थियो। तर त्यस वरिपरिको भूमि शीतले भिजेको थियो।

प्रेरित 10

पत्रुस र कर्नीलियस

10 सिजरिया भन्ने शहरमा कर्नीलियस नाउँ भएको एकजना मानिस थिए। उनी रोमन एकाईका पल्टनका एकजना कप्तान थिए जसलाई “इटालियन” भनिन्थ्यो। कर्नीलियस एक जना धार्मिक मानिस थिए। उनी र अन्य मानिसहरू जो उनकै घरमा बस्थे साँच्चो परमेश्वरलाई आराधना गर्थे। उनले गरीबहरूलाई यथाशक्य पैसा-रूपिया दिन्थे कर्नीलियसले नित्य परमेश्वरको प्रार्थना गर्थे। एक पल्ट अपरान्ह तीन बजेतिर, कर्नीलियसले स्पष्ट एउटा दर्शन देखे। त्यहाँ तिनले एक स्वर्गदूत आफूतिरै “कर्नीलियस!” भन्दै आइरहेको देखे।

कर्नीलियसले स्वर्गदूतलाई डराएर हेरे अनि भने, “तपाईं के चाहनु हुन्छ, प्रभु?”

स्वर्गदूतले भने, “परमेश्वरले तिम्रो प्रार्थना सुन्नु भयो अनि गरीब, दुःखीहरूप्रति गरेको दया देख्नु भयो। परमेश्वरले तिम्रो सम्झना गर्नु हुँदैछ। केही मानिसहरू जोप्पा शहरमा पठाऊ। शिमोनलाई फर्काई ल्याउन तिम्रा केही मानिसहरू पठाऊ जसलाई पत्रुस पनि भनिन्छ। शिमोन जुन मानिसकोमा बस्दैछ उसको नाउँ पनि शिमोन नै हो। उसले छालाको काम गर्छ। उसको घर समुद्रको नजिकमा छ।” कर्नीलियससँग बोल्ने स्वर्गदूत गए कर्नीलियसलले आफ्ना दुइजना नोकरहरू र एकजना सिपाहीलाई बोलाए। त्यो सिपाही धार्मीक प्रवृतिका मानिस थिए। तिनी कर्नीलियसको मानिसगत सहयोगी थियो। कर्नीलियसले ती तीनैजनालाई राम्ररी गरेर कुरा सम्झाए। त्यसपछि तिनीहरूलाई जोप्पा पठाइदिए।

अर्को दिन ती तीनैजना जोप्पा शहर नजीक आईपुगे। त्यसबेला पत्रुस छानामाथि प्रार्थना गर्न भनी गए। त्यो मध्याह्रको बेला थियो। 10 पत्रुस भोको थिए। तिनी खान चाहन्थे। तिनीहरूले भोजन तयार गरिरहेको बेला दर्शन देखे। 11 उनले आकाश खुल्ला देखे अनि ठूलो लुगाको टुक्रा जस्तो केही तल खसिरहेथ्यो। त्यो ठूलो लुगा त्यसका चार कुना द्वारा अडिएको थियो अनि भूइँमा झरिरहेको थियो। 12 नाना किसिमका प्राणीहरू त्यहाँ थिए- हिँड्ने प्राणीहरू, धस्रिने प्राणीहरू, अनि हावामा उड्ने चरा-चुरूङ्गीहरू। 13 त्यसपछि एउटा आवाजले पत्रुसलाई भन्यो, “उठ पत्रुस, कुनै पनि एउटा सजीव प्राणी मारेर खाऊ।”

14 तर पत्रुसले भने, “म त्यस्तो कहिल्यै गर्नै छैन, प्रभु! मैले त्यस्तो कुनै पनि अशुद्ध र अपवित्र खाना खाएको छैन।”

15 तर आवाजले उसलाई दोस्रो पलट भन्यो, “परमेश्वरले ती सबै कुराहरू शुद्ध भएको घोषणा गर्नु भएको छ। यसर्थ तिमी त्यसलाई ‘अपवित्र’ नसोच!” 16 यस्तो घट्ना तीनपल्ट भयो। त्यसपछि सबै चीजहरू आकशतिरै फर्काएर लग्यो। 17 यस्तो दर्शनको मतलव के होला भनेर पत्रुस छक्क परे।

यसबेला कार्नीलियसले पठाएका मानिसहरूले शिमोनको घर पत्ता लगाए। तिनीहरू दैलोमा उभिरहेका थिए। 18 तिनीहरूले जोडले बोलाए अनि सोधे, “के शिमोन पत्रुस यहाँ बस्छन्?”

19 पत्रुस त्यही दर्शनको विषयमा सोचिरहेका थिए। तर आत्माले उनलाई भन्नुभयो, “हेर! तीनजना मानिसहरूले तिमीलाई खोजिरेहछन्। 20 उठ अनि तल्लो तलामा जाऊ। ती मानिसहरूसँग अप्ठेरो, नमानी जाऊ। मैले तिनीहरूलाई तिमीकहाँ पठाएको हुँ।” 21 तब पत्रुस ती मानिसहरू भएकहाँ तल्लो तलामा ओर्ले। उनले भने, “तिमीहरूले खोजिरहेको मानिस म हुँ। तिमीहरू किन यहाँ आयौ?”

22 ती मानिसहरूले भने, “कर्नीलियस एक सैनिक अधीकारी हुन्। उनी धार्मिक प्रवृतिका मानिस हुन् उनी परमेश्वरको आराधना गर्दछन्। सम्पूर्ण यहूदीहरूले उहाँलाई सम्मान गर्दछन्। एक पवित्र स्वर्गदूतले उहाँको घरमा तपाईंलाई निमन्त्रणा गर्नु भन्नु भएथ्यो ताकि उहाँले तपाईंबाट केही सन्देशहरू सुन्न सकुन्।” 23 पत्रुसले तिनीहरूलाई भित्र आउने र आज राती त्यही बस्ने आग्रह गरे।

अर्कोदिन पत्रुस तयार भएर ती तीनजना मानिसहरूसँग गए। केही जोप्पाका चेलाहरू पनि पत्रुससँग गए। 24 अर्कोदिन तिनीहरू सिजरिया भन्ने शहरमा आइपुगे। कर्नीलियसले तिनीहरूलाई पर्खिरहेका थिए। उनले पहिल्यैबाट आफ्ना सन्तानहरू र आफ्ना साथीहरूलाई घरमा भेला गरिसकेका थिए।

25 जब पत्रुस घरभित्र पसे, कर्नीलियसले उनीसँग भेट गरे अनि पत्रुसको पाउमा निहुरिएर श्रद्धा गरे। 26 तर पत्रुसले उनलाई उठ्ने आग्रह गरे। पत्रुसले भने, “उठ! म केवल तिमी जस्तै मानिस हुँ।”

27 पत्रुस कर्नीलियसँग वार्तालाप गर्दै भित्र पसे अनि त्यहाँ धेरै मानिसहरू भेला भएका देखे।

28 उनले तिनीहरूलाई भने, “तिमीहरूले जान्दछौ कि यहूदी भएर अरू वंशका मानिसहरूसँग यसरी सँगत गर्नु अथवा मानिसहरूकोमा जानु यहूदीहरूको व्यवस्थाको विरुद्ध हो। तर परमेश्वरले मलाई देखाई सक्नु भएको छ कि मैले कसैलाई ‘अपवित्र’ अथवा ‘अशुद्ध’ भनेर भन्नु हुँदैन। 29 त्यसैकारणले म यहाँ कुनै आक्षेप विनै आएँ। अब मलाई भन, के कारणले मलाई यसरी बोलाएको हो”

30 कर्नीलियसले भने, “चार दिन अघि, म घरमा प्रार्थना गरिरहेको थिएँ। त्यसबेला अपरान्ह तीन बजेको थियो। अचानक एकजना स्वर्गदूत चम्किलो लुगा लगाएर मेरो सामुन्ने उभिए। 31 तिनले भने, ‘कर्नीलियस! परमेश्वरले तिम्रो प्रार्थाना सुन्नु भयो अनि गरीब दुःखीहरूलाई तिमीले दान दिएको देख्नु भयो। परमेश्वरले तिमीलाई याद गर्नु हुन्छ। 32 त्यसैले शहर जोप्पामा मानिसहरू पठाऊ र शिमोन जसलाई पत्रुस पनि भनिन्छ यहाँ आउने निवेदन गर। पत्रुसलाई आउने आग्रह गर। उनी सिमोन छालाको कर्मीको घरमा बसेकाछन्। उसको घर समुद्रको छेउमा छ।’ 33 यसकारण मैले तपाईंलाई तुरून्त लिएर आउन भनि मानिस पठाएँ। तपाईं आइदिनु नै हाम्रो लागि राम्रो भयो। यहाँ हामी अब परमेश्वर समक्ष छौं ती सबै कुराहरू सन्नुलाई जो प्रभुले भन्नु भनि तपाईंलाई आदेश दिनु भएकोछ”

कर्नीलियसको घरमा पत्रुसको भाषण

34 पत्रुसले बोल्न शुरू गरे, “अब मैले साँच्चै बुझ्नु कि परमेश्वरको निम्ति सबै मानिसहरू एक समान हुन्। 35 अनि हरेक राष्ट्रमा परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ, जसले उहाँको आराधाना गर्छ अनि जे सही छ त्यो गर्छ। 36 परमेश्वर यहूदीहरूसँग बोल्नु भएको छ। परमेश्वरले येशू ख्रीष्टको जो सबै मानिसहरूका परमप्रभु हुनुहुन्छ उनको माध्यमद्वारा शान्तिको सुसमाचार उनीहरूका लागि पठाउनु भयो।

37 “यहूदिया भरि के भयो भन्ने कुरा तिमीहरूलाई थाहा होला। यो गालीलमा यूहन्नाले बप्तिस्माको बारेमा मानिसहरूलाई प्रचार गरे पछि शुरू भएको हो। 38 तिमी नासरतका येशूको विषयमा जान्दछौ। परमेश्वरले उहाँलाई पवित्र-आत्मा र शक्ति प्रदान गरेर ख्रीष्ट बनाउनु भयो। येशू चारैतिरका मानिसहरूको लागि राम्रो काम गर्दै जानुभयो अनि प्रेतात्मा वा दुष्टात्मा लागेका मानिसहरूलाई उहाँले निको पार्नुभयो। यसले परमेश्वर येशूको साथमा भएको प्रमाण दिँदछ।

39 “हामीले उहाँले यहूदिया र यरूशलेममा गर्नु भएका सम्पूर्ण कार्यहरू देख्यौं। हामी त्यो देखिरहेका छौ। त्यसको गवाही बनिरहेछौ। तर तिनीहरूलले उहाँलाई काठले बनाएको क्रूसमा झुण्ड्याएर मारे। 40 तर, उहाँको मृत्यु भएको तीन दिन पछि परमेश्वरले उहाँलाई बौराउनु भयो अनि मानिसहरूलाई छर्लक्क येशूलाई देखाइदिनु भयो। 41 तर येशूलाई सबै मानिसहरूले देख्न सकेनन्। जजसलाई परमश्वरले गवाहीको रूपमा छान्नु भएको थियो तिनीहरूले मात्र येशूको दर्शन पाए। हामी ती गवाहीहरू हौं उहाँ मृत्युबाट बौरे पछि हामीले येशूसँगै खाना-पिना गर्यौं।

42 “येशूले हामीलाई प्रचार गर्नु अनि मानिसहरूलाई भन्नुभयो कि उहाँलाई मात्र परमेश्वरले जीउँदो मानिसहरू अनि मृतहरूको पनि न्याय गर्नका निम्ति छान्नु भएको हो। 43 प्रत्येक मानिस जसले येशूमाथि विश्वास गर्दछ येशूको नाउँमा उसले पापहरू माफ पाउनेछ। सम्पूर्ण अगमवक्ताहरूले उनको सत्यता सावित गरे।”

गैर-यहूदीहरूसँग पवित्र-आत्मा

44 पत्रुस बोलिरहेको बेला सन्देश सुन्ने ती सबै मानिसहरूमा पवित्र आत्मा उत्रनु भयो। 45 यहूदी विश्वासीहरू जो पत्रुससँग त्यहाँ आएका थिए तिनीहरू छक्क परे किनकी गैर-यहूदीहरूमा पनि पवित्र-आत्माको उपहार बर्षिएको थियो। 46 यहूदीहरूले ती गैर-यहूदीहरूले विभिन्न भाषाहरू बोलेका र परमेश्वरको स्तुति गरेको सुने। त्यसपछि पत्रुसले भने, 47 “के कसैले पानीलाई रोक्न सक्छ जसद्वारा यी मानिसहरूलाई बप्तिस्मा लिनबाट रोक्न सकिन्छ? तिनीहरूले पनि हामीहरूले जस्तै पवित्र आत्मा प्राप्त गरेका छन्।!” 48 तब पत्रुसले कर्नीलियस, उनका सन्तानहरू अनि साथीहरूलाई येशू ख्रीष्ट को नाउँमा बप्तिस्मा दिने आज्ञा दिए। तब मानिसहरूले पत्रुसलाई केही दिन सम्म त्यही बसिदिने बिन्ती गरे।

यर्मिया 19

फुटेको भाँडो

19 परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, जाऊ अनि कुमालेकोबाट माटोको भाँडो किन। मानिसहरूका केही प्रमुखहरू र पूजाहारीहरू कहाँ लैजाऊ। बेन-हिन्नोमको बेंसीमा जाऊ, जुन खपटे प्रवेशद्वारको नजिकै छ बेन मैले तिमीलाई जे भनेको छु त्यस ठाउँमा ती कुराहरू तिनीहरूलाई घोषणा गर्नु पर्छ। अनि भन, ‘परमप्रभुको वचन सुन, हे यहूदाका राजाहरू अनि यरूशलेमका मानिसहरू हो, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, म यस ठाउँमा सर्वनाश ल्याउँदैछु अनि यो सुनेर हरेक मानिस आश्चर्यचकित हुनेछ। म ती कुराहरू हुन दिनेछु किनभने यहूदाका मानिसहरूले मलाई त्यागेका छन्। तिनीहरूले यो ठाउँ विदेशी मूर्तिहरूले भरेकाछन्। यहूदाका मानिसहरूले अन्य देवताहरूलाई बलिहरू चढाए जसलाई न तिनीहरूका पिता-पुर्खाहरू न यहूदाका राजाहरूले चिनेका छन्। अनि तिनीहरूले यो ठाउँ निर्दोष रगतले भरिदिए। आफ्नो नानीहरू बाललाई आगोमा चढाउनु तिनीहरूले अल्गा ठाउँहरू बनाए। मैले तिनीहरूलाई यसो गर्नु भनेको थिइनँ। मैले तिनीहरूलाई आफ्नो नानीहरू बलिदान गर्नु भनेको थिइनँ। मैले यस्तो कुराहरू सोचेको पनि थिइनँ। अहिले मानिसहरूले यस ठाउँलाई तोपेत्त र बेन-हिन्नोनको खाडी भन्छन्। तर, म तिमीहरूलाई यो चेताउनी दिन्छु। यो परमप्रभुको सन्देश हो त्यस्तो दिनहरू आइरहेछ, जब मानिसहरूले यसलाई हत्याको खाडी भन्नेछन। यस ठाउँमा, म यहूदा र यरूशलेमका योजनाहरू नष्ट पारिदिनेछु। म तिनीहरूलाई आफ्नो शत्रुहरूको तरवार अघि पर्ने बनाउनेछु तिनीहरूको सम्मुख पारिदिनेछु जसले तिनीहरूको जीवन खोजिरहेका छन्। म तिनीहरूको लाशहरू जंगली जनावर र चरा चुरूङ्गिहरूको आहार बनाइदिन्छु। म पूर्णरूपले यस शहरलाई ध्वंश पारिदिनेछु अनि यरूशलेम भएर जाने पथ-यात्रीहरू यसको विनाशमा व्याकुल भएर टाउँको हल्लाउनेछन्। शत्रुहरूले शहरको चारैतिर सेना ल्याउने छन्। ती सेनाहरूले जसले तिनीहरूको जीवन खोजिरहेकाछन् तिनीहरूलाई घेरामा पार्नेछन्। म तिनीहरूलाई आफ्नै नानीहरूको र एक-अर्काको मासु खाने बनाउँछु।’

10 “तब तिमीसित जो जो गएकाछन् तिनीहरूको उपस्थितिमा भाँडो फुटाऊ। 11 त्यस समयमा यी वचनहरू भन ‘सेनाहरूका परमप्रभु भन्नुहुन्छ म यहूदाको राज्य र यरूशलेमको शहर, जसरी कसैले कुमालेको भाँडा फुटाउँछ र त्यो जोडिन सक्तैन। मृत शरीरहरू तोपेतमा दपनाइनेछ जब सम्म त्यहाँ जग्गा शेष हुँदैन। 12 म यस्तो यस भूमिमा र यसका बासिन्दाहरूका निम्ति गर्नेछु। म यस शहरलाई तोपेत झैं पार्नेछु।’ यही परमप्रभुको सन्देश थियो। 13 ‘यरूशलेमका घरहरू र यहूदाको राजाका महलहरू तोपेतको ठाउँहरू जस्तै “अशुद्ध” पार्नेछु। यस्तो चीजहरू किन हुन्छ? किनभने मानिसहरूले ती घरहरूका छानामाथि झूटो देवताहरू पूजे। तिनीहरूले ताराहरू पूजे र तिनीहरूका सम्मानमा होमबलि समर्पित गरे। तिनीहरूले अरू देवताहरूलाई अर्घबलि चढाए।’”

14 तब यर्मिया तोपेतबाट गए जहाँ परमेश्वरले उसलाई प्रचार गर्न भन्नु भएको थियो। यर्मिया परमेश्वरको मन्दिर तिर गए अनि मन्दिरको चोकमा उभिए। यर्मियाले सबै मानिसहरूलाई भने 15 “यो सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएको हो ‘म यरूशलेममा र यसको वरिपरिका गाउँहरूमा धेरै प्रकारका नराम्रा कुराहरू घटाउनेछु। यो हुने छ, किनभने तिनीहरू मेरो आदेशहरू पालन गर्न एकदमै अट्टेरी गर्छन्। म चाँडै ती कुराहरू घटाउने छु।’”

मर्कूस 5

दुष्टात्मा बाट छुटकारा पाएको एक मानिस

(मत्ती 8:28-34; लूका 8:26-39)

येशू र उहाँका चेलाहरू समूद्रको अर्को किनारतिर भएका गिरासिन मानिसहरूकहाँ जानूभयो। जब येशू डुङ्गाबाट बाहिरिनु हुँदै थियो त्यसैबेला चिनहानबाट दुष्ट आत्मा लागेको एउटा मानिस उहाँलाई भेट्न आयो। त्यो मानिस चिहानहरूमा बस्ने गर्दथ्यो। त्यसलाई कसैले अधीन गर्न सकेनन्, यतिसम्म कि साङ्गलोले बाँधेर पनि। धेरैपल्ट मानिसहरूले त्यसको हात र खुट्टाहरू साङ्गलोले बाँधेर राख्ने चेष्टा गरे। तर त्यसले आफ्ना हात र खुट्टामा बाँधेका साङ्गलाहरू चुँडाईदिन्थ्यो। त्यसलाई वशमा राख्न कसैको शक्ति थिएन। रातदिन चिहानको वरिपरि र पहाडतिर त्यो मानिस डुलिरहन्थ्यो। त्यो चिच्याएर रून्थ्यो, अनि आफैंले आफैंलाई ढुङ्गाले काट्दै हिँड्थ्यो।

जब येशू टाढामा हुनुहुन्थयो, त्यो मानिसले उहाँलाई देख्यो, त्यो येशूकहाँ दगुरेर आयो अनि उहाँका अघि निहुरियो। 7-8 येशूले त्यस मानिसलाई भन्नुभयो, “ए दुष्टात्मा, यस मानिसबाट निस्की आइज।” अनि त्यो मानिस तिखो स्वरले चिच्यायो, “मबाट तपाईले के चाहनुहुन्छ, येशू, सर्वोच्च परमेश्वरका पुत्र? म परमेश्वरमा शपथ हालेर तपाँईलाई बिन्ती गर्दछु मलाई सजाय नदिनुहोस्?”

त्यसपछि येशूले त्यस मानिसलाई सोध्नु भयो, “तेरो नाम के हो?”

त्यसले उत्तर दियो, “मेरो नाऊँ फौज हो, किनभने हामीहरू धेरै छौं।” 10 ती दुष्टआत्माहरूले येशूलाई घरि घरि त्यस इलाकाबाट बाहिर निकाला नगरियोस् भनि विन्ती गरे।

11 त्यहाँ नजिकैको एउटा पहाडमा धेरै सुँगुरहरूको बथान चरिरहेका थिए। 12 दुष्टात्माहरूले येशूलाई बिन्ती गर्नलागे, “हामीलाई सुँगुरहरू भएको ठाऊँमा पठाईदिनुहोस्। हामीलाई तिनीहरू भित्र जान दिनुहोस्।” 13 अनि येशूले तिनीहरूलाई त्यसै गर्न दिनुभयो। ती दुष्टात्मा मानिसलाई छोडेर सुँगुरहरूमा पसे। त्यसपछि ती सुँगुरहरू भिरालो पहाड़ अनि समुद्र तिर हुर्रिन लागे। सबै सुँगुरहरू डुबे, त्यो बगालमा प्राय 2,000 वटा सुँगुरहरू थिए।

14 सुँगुर चराऊनेहरू पनि भागिगए। तिनीहरू शहर र बस्ती तिर गए, तिनीहरूले भएका सबै घट्नाहरू मानिसहरूलाई सुनाए तब मानिसहरू घट्ना हेर्न आए। 15 मानिसहरू येशूकहाँ आए, तिनीहरूले दुष्टात्मा लागेका मानिसलाई त्यहाँ देखे, त्यस मानिसले लुगाफाटा पहिरिएको थियो, अनि त्यसको मानसिक अवस्था ठीकै थियो। सबै मानिसहरू भयभीत थीए। 16 केही मानिसहरू त्यहाँ थिए जसले येशूले गर्नु भएका कुराहरू देखेका थिए। ती मानिसहरूले अरू मानिसहरूलाई दुष्टात्माले भेट्टाएको त्यस मानिसलाई के भएको थियो त्यो वर्णन गरे। तिनीहरूले सुंगुरहरूको बारेमा पनि सुनाए। 17 अनि मानिसहरूले बिन्ती गर्दैं येशूलाई त्यहाँबाट तुरुन्ते जानुहोस् भने।

18 येशू डुङ्गा मा चढ्दै हुनुहुन्थ्यो, दुष्टात्माहरूदेखि मुक्त भएको त्यस मानिसले येशूसँगै जानलाई बिन्ती गर्यो। 19 तर येशूले त्यस मानिसलाई आफूसँग जान अनुमति दिनुभएन। येशूले भन्नुभयो, “आफ्नो घर-परिवार र साथीहरू भएकहाँ जाऊ, प्रभूले तिम्रो निम्ति जे जति गर्नुभएकोछ, त्यस बारे सबैलाई भन। परमेश्वरले मलाई दया गर्नु भयो भनी तिनीहरूलाई भन”

20 तब त्यो मानिस गयो अनि त्यहाँका दश- शहरका मानिसहरूलाई येशूले गर्नु भएको महान कार्यहरूको बारेमा सुनायो। सबै मानिसहरू चकित भए।

येशूद्वारा मृत युवतीलाई प्राणदान अनि रोगी स्त्रीलाई आरोग्य प्रदान

(मत्ती 9:18-26; लूका 8:40-56)

21 येशू डुङ्गामा चढेर समुद्रपार गरी समुद्रको अर्को तर्फ जानुभयो। समुद्रको त्यस किनारमा उहाँका वरिपरि धेरै मानिसहरू भेला भए। 22 सभाघरका एकजना याईरसले येशूलाई देखे, अनि येशूलाई दण्डवत गरे। 23 याईरसले येशूलाई एकोहोरो बिन्ती गरिरहे र भने, “मेरी सानि छोरी मर्न आँटेकी छे। कृपया झट्टै आऊनुहोस् र उसमाथि तपाईं को हात राख्नुहोस् त्यसपछि ऊ निको हुनेछे अनि बाँच्नेछे।”

24 अनि येशू याईरससित जानूभयो। धेरै मानिसहरूले येशूलाई पछ्याए। येशूलाई वरिपरि घेरिएको भीडले उहाँलाई धकेलीरहेको थियो।

25 ती मानिसहरूसँग एउटी आईमाई पनि थिई। त्यस आईमाईलाई बाह्र वर्ष अघिदेखि रगत बग्ने व्यथा थियो। 26 त्यो आईमाई खुबै पीडीत थिई। धेरै वैद्यहरूले त्यसको उपचार गरे। आफ्ना भए जति सबै सम्पत्ति त्यसले खर्च गरेकी थिई, तर उसमा सुधार पटक्कै आएन। त्यसको व्यथा अझ बिग्रँदै गयो।

27 त्यस आईमाईले येशूको बारेमा सुनेकी थिई। मानिसहरूको भीडबाट भएर गई त्यस स्त्री पछिल्तिरबाट येशू कहाँ आई अनि उहाँको वस्त्र छोई। 28 त्यसले बिचार गरी, “यदि मैले उहाँको वस्त्र मात्रपनि छुन पाएँ भने म जाती हुनसक्छु।” 29 अनि जब त्यसले उहाँको वस्त्र छोई तत्कालै रगत बग्न बन्द भयो। त्यस आईमाईले आफ्ना सारा जीउ नै व्यथा मुक्त भएको अनुभव गरी। 30 अनि येशूले आफूबाट शक्ति संचार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनु भयो अनि भीडतर्फ र्फकनुभयो, अनि उहाँले सोध्नु भयो, “कसले मेरो वस्त्र छोयो?”

31 चेलाहरूले येशूलाई भने, “तपाईंको वरिपरि यति विध्न मानिसहरू छन्। तपाईंलाई ठेल्दैछन्। तर तपाईं सोध्नु हुन्छ, ‘मलाई कसले छोयो?’”

32 तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाऊन घरि घरि हेर्न लाग्नु भयो। 33 त्यस आईमाईले आफू निको भएको ठानी, अनि त्यो आई अनि येशूको चरणमा घोप्टी त्यो डरले काँपिरहेकी थिई। त्यसले सारा सत्य येशूलाई सुनाई। 34 येशूले त्यस आईमाईलाई भन्नुभयो, “हे स्त्री, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ। शान्तिसित जाऊ। अब तिमी तिम्रो रोगबाट मुक्त भयौ।”

35 येशू अझैसम्म त्यहाँ बोलिरहनु भएको थियो। केही मानिसहरू सभाघरका प्रमुखका घरबाट आए, तिनीहरूले भने, “तिम्रो छोरी मरी सकी। अब गुरूज्यूलाई दु:ख दिने आवश्यकता छैन।”

36 तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरका प्रमुखलाई भन्नुभयो, “डराउनु पर्दैन, खालि विश्वास गर।”

37 येशूले पत्रुस, याकूब, याकूबका भाइ यूहन्ना बाहेक अरू कसैलाई पनि उहाँको साथमा आउन अनुमति दिनुभएन। 38 येशू अनि उहाँका चेलाहरू सभाघरका शासकको घरमा जानू भयो। येशूले मानिसहरू चित्कार गरिरहेको अनि रोईरहेको सुन्नु भयो। त्यहाँ खुब अलमल थियो। 39 येशू घरभीत्र पस्नुभयो अनि मानिसहरूलाई भन्नुभयो, “तिमीहरू किन यत्रो हल्ला मच्चाई रहेछौ? यो केटी मरेको छैन। ऊ सुती रहेकी छे।” 40 तर तिनीहरूले येशूमाथि हाँसो गरे।

येशूले सबै मानिसहरूलाई घरदेखि बाहिर जानभन्नु भयो। उहाँले बालिकाको बाबू आमा अनि आफ्ना तीनजना चेलाहरूलाई राख्नु भयो अनि त्यो बालिका भएको कोठाभित्र जानुभयो। 41 अनि बालिकाको हात समातेर येशूले भन्नुभयो, “तालिता कूमी!” (जसको अर्थ, “सानी बालिका, म तिमीलाई भन्दैछु उठ!”) 42 सानी बालिका जुरूक्कै उठी अनि हिँड्न लागी। (बालिका 12 र्वष पुगेकी थिई) बाबु, आमा र चेलाहरू यो देखी छक्क परे। 43 येशूले ती बाबू र आमालाई यसबारेमा कसैलाई पटक्कै केही नभन्नु भनेर कड़ा आज्ञा दिनुभयो, त्यसपछि येशूले त्यस केटीलाई केही खानेकुरा दिनु भनेर अह्राउनुभयो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International