Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 इतिहास 5:1-6:11

तब, परमप्रभुको मन्दिरका निम्ति सुलेमानले गरेका सम्पूर्ण कार्य पूर्ण भए। सुलेमानले सबै चीजहरू ल्याए जो तिनका पिता दाऊदले मन्दिरका निम्ति दिएका थिए। सुलेमानले सुन चाँदीका सबै चीजहरू अनि सजाउने सबै वस्तुहरू ल्याए। सुलेमानले ती सबै चीज बीजहरू परमेश्वरको मन्दिरका कोष-कक्षमा राखे।

पवित्र सन्दूक मन्दिरमा ल्याइयो

सुलेमानले इस्राएलका सबै अग्रज अनि कुल समूहका प्रधानहरूलाई यरूशलेममा एक साथ भेट गर्ने आदेश दिए। (यी मानिसहरू इस्राएलका परिवारहरूका प्रधानहरूका प्रमुखहरू थिए।) सुलेमानले यसो गरे जसमा कि लेवीहरूले परमप्रभुको करारको सन्दूक दाऊदको शहर सियोनबाट मन्दिर सम्म ल्याउन सकोस्। इस्राएलका सबै मानिसहरू झूप्रो-बासको चाडको समयमा राजा सुलेमानको समक्षमा एकसाथ भेला भए। यो उत्सव सातौं महीनामा मनाइन्थ्यो।

जब इस्राएलका सबै अग्रजहरू आइपुगे, लेवीहरूले करारको सन्दूक उठाए। तब पूजाहारी अनि लेवीहरूले करारको सन्दूक बोकेर यरूशलेममा लगे। तिनीहरूले भेट हुने पाल अनि त्यसमा भएका सबै पवित्र बस्तुहरू पनि यरूशलेममा ल्याए। राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले करारको सन्दूक अघि भेटे। राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले भेंडा अनि गोरूहरूका बलि चढाए। भेंडा अनि गोरूहरू यति विघ्नथिए कि कुनै व्यक्तिले ती गिन्ती गर्न सकेनन्। त्यसपछि पूजाहारीहरूले परमप्रभुको करारको सन्दूक त्यसका निम्ति तयार पारिएका स्थानमा ल्याए। त्यो स्थान मन्दिर भित्रको महा-पवित्र स्थान थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूका पखेंटा मुनि राखियो। करूब स्वर्गदूतहरूले तिनीहरूका पखेंटाहरू त्यस स्थान माथि फैलाएका थिए जहाँ करारको सन्दूक थियो। करूब स्वर्गदूतहरूले करारको सन्दूकलाई ढाकेका थिए र सन्दूक बोक्न प्रयोग गरिएका डन्डामाथि खडा थिए। ती डन्डाहरू यति लामा थिए कि तिनीहरूको टुप्पो महा-पवित्र स्थानको सामुन्नेबाट नै देख्न सकिन्थ्यो। तर कुनै व्यक्तिले पनि ती डंण्डाहरूलाई मन्दिरको बाहिरबाट देख्न सक्तैन थियो। ती डंण्डाहरू आज सम्म पनि त्यहीं छन्। 10 करारको सन्दूकमा दुइ फलाकहरू बाहेक अरू केही थिएन। मोशाले ती दुइ फलाकलाई होरेब पहाडमा करारको सन्दूकभित्र राखेका थिए। होरेब त्यो स्थान हो जहाँ परमप्रभुले इस्राएलका मानिसहरूसित करार गर्नु भएको थियो। इस्राएलका मानिसहरू मिश्रदेशबाट बाहिर भए पछि त्यो घट्ना घटेको थियो।

11 त्यहाँ भएका सबै पूजाहारीहरूले स्वयंलाई पवित्र तुल्याउने रीति सम्पन्न गरे। तब, पूजाहारीहरू पवित्र स्थानको बाहिर आए, तिनीहरू एकै साथ उभिए, तर तिनीहरूको विशेष समूहमा होइन। 12 लेवी गायकहरू वेदीका पूर्वतर्फ उभीए। आसाप, हेमान अनि यदूतूनका सबै गायक समूहहरू त्यहाँ थिए। तिनीहरूका छोरा अनि आफन्तहरू पनि त्यहाँ थिए। ती लेवी गायकहरू सेतो मलमलका पोशाकमा थिए। तिनीहरू सित झ्याम्टा, वीणा र सारङ्गीहरू थिए। त्यहाँ 120 पूजाहारीहरू ती लेवी गायकहरू साथ थिए। ती 120 पूजाहारीहरूले तुरही बजाए। 13 मानिसहरू कसैले तुरही बजाए कसैले गाए ती एक व्यक्ति जस्तै थिए। तिनीहरूले एउटै ध्वनिमा बजाए जब तिनीहरूले परमप्रभुको स्तुति गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले तुरही, झ्याम्टा अनि वाद्य-यन्त्रबाट ठूलो आवाज निकाले। तिनीहरूले यसो भन्दै परमप्रभुको स्तुति गरे,

“परमप्रभुको स्तुति गर, किनभने उहाँ असल हुनुहुन्छ।
    उहाँको सत्य प्रेम सदा-सर्वदा रहि रहन्छ।”

तब परमप्रभुको मन्दिर बादलले भरियो। 14 पूजाहारीहरूले सेवा कार्य चलाइ राख्न सकेनन् किनभने यो मन्दिर परमप्रभुको महिमाले बादलको रूपमा भरिएको थियो।

तब सुलेमानले भने,

“परमप्रभुले भन्नुभयो,
    ‘उहाँ अन्धकार मेघमा बस्नु हुने छ।’
परमप्रभु, मैले तपाईंलाई बस्नका निम्ति एक मन्दिर निर्माण गरेको छु।
    यो एउटा उच्च मन्दिर हो, एक स्थान जहाँ तपाईं सदा सर्वदा रहनु हुनेछ।”

सुलेमानको भाषण

राजा सुलेमान घुमे अनि त्यहाँ भेला भएका इस्राएलका सबै मानिसहरूलाई आशीर्वाद दिए जो जती उनको अघि उभिरहेका थिए। सुलेमानले भने,

“परमप्रभु इस्राएलका परमेश्वरको स्तुति होस्। उहाँले मेरो पिता दाऊदसित बातचित गर्नुहुँदा जे प्रतिज्ञा गर्नु भएको थियो त्यो पूरा गरिदिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो त्यो यो होः ‘मैले इस्राएललाई धेरै अघि मिश्रदेशबाट बाहिर ल्याएँ। अनि अहिले सम्म मैले मेरो नाउँमा मन्दिर निर्माण गर्ने स्थानका निम्ति इस्राएलका कुनै पनि कुल समूहको शहर मैले छानेको छैन्। मैले मेरा इस्राएलका मानिसहरू, मानिसहरूलाई अगुवाइ गर्ने व्यक्ति चुनेको छैन। तर अहिले मेरो नाउँको निम्ति स्थानको रूपमा यरूशलेम चुनेको छु। अनि मैले मेरा इस्राएली मानिसहरूको अगुवाइका निम्ति दाऊदलाई चुनेको छु।’

“मेरा पिता दाऊदले इस्राएलका परमप्रभु परमेश्वरको नाउँमा एउटा मन्दिर निर्माण गर्न चाहेका थिए। तर परमप्रभुले मेरा पितालाई भन्नुभयो, ‘दाऊद जब तैंले मेरो नाउँमा एउटा मन्दिर निर्माण गर्न चाहिस्, तैंले उत्तम गरिस्। तर तैंले मन्दिर निर्माण गर्न सक्तैनस्। तर तेरो आफ्नो छोराले मेरो नाउँमा मन्दिर निर्माण गर्ने छ।’ 10 अहिले परमप्रभुले जे गर्छु भन्नु भएको थियो त्यही गर्नु भएको छ। म मेरा पिताको स्थानमा नयाँ राजा भएको छु। दाऊद मेरा पिता थिए। अहिले म इस्राएलको राजा भएको छु। यही नै परमप्रभुले प्रतिज्ञा गर्नु भएको थियो। अनि मैले इस्राएलका परमप्रभु परमेश्वरको नाउँमा मन्दिर बनाएको छु। 11 मैले मन्दिरमा करारको सन्दूक राखेकोछु। कराको सन्दूक जहाँ छ त्यही परमप्रभुको करार राखिएको छ। परमप्रभुले यो करार इस्राएलका मानिसहरूसित सम्पन्न गरेका थिए।”

1 यूहन्ना 4

झूटा शिक्षकहरूको विरुद्ध यूहन्नाको चेतावनी

मेरा प्रिय मित्रहरू, अनेक झूटा अगमवक्ताहरू अहिले यो संसारमा छन्। यसर्थ प्रत्येक आत्मालाई विश्वास नगर। तर आत्माहरूलाई जाँच्ने गर कि तिनीहरू परमेश्वरबाट आएका हुन् वा होइनन्। परमेश्वरको आत्मा तिमीहरू कसरी चिन्न सक्छौ? “यस्तो प्रकारले तिमीहरूले परमेश्वरको आत्मा चिन्न सक्छौ। प्रत्येक आत्मा जसले येशूलाई ख्रीष्ट भनी स्वीकार गर्छ अनि उनी मानव रुपमा पृथ्वीमा आउनु भयो ऊ परमेश्वरबाट हो।” अनि प्रत्येक आत्मा जसले येशूको बारेमा यो स्वीकार्दैन, त्यो परमेश्वरबाट होइन। यो ख्रीष्टको शत्रुको आत्मा हो। तिमीहरूले सुनेका छौ कि ख्रीष्टको शत्रु आउँदैछ। अनि अहिले ख्रीष्ट विरोधी यो संसारमा आइसकेको छ।

मेरा प्रिय बालकहरू, तिमीहरू परमेश्वरका हौ। यसर्थ तिमीहरूले झूटो शिक्षकहरूलाई परास्त गरेका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान् हुनुहुन्छ। अनि ती झूटो शिक्षकहरू संसारका हुन्। यसैले तिनीहरूको शिक्षा पनि संसारकै हो। अनि तिनीहरू जे भन्छन् संसारले सुन्छ। तर हामी परमेश्वरबाट हौं अनि प्रत्येक जसले परमेश्वरलाई चिन्छ, अनि सुन्छ। त्यसरी हामी कुन आत्मा सत्य हो र कुन झूटो हो चिन्छौं।

प्रेम परमेश्वरबाट आउँछ

प्रिय मित्रहरू, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ परमेश्वरको बालक भएको हुन्छ अनि परमेश्वरलाई चिन्छ। मानिस जसले प्रेम गर्दैन उसले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। यसरी परमेश्वरले हामीलाई उहाँको प्रेम दर्शाउनु भएको छ परमेश्वरले उहाँको एउटै पुत्र यस संसारमा पठाउनु भयो यसर्थ उहाँ मार्फत हामी जीवन पाउन सक्छौं। 10 सत्य प्रेम हाम्रो निम्ति परमेश्वरको प्रेम हो, परमेश्वरको निम्ति हाम्रो प्रेम होइन। परमेश्वरले हामीलाई प्रेम गर्नु भयो अनि जुन माध्यमले हाम्रो पापहरू मोचन गर्न सकिन्छ त्यसका निम्ति आफ्नो पुत्र पठाउनु भयो।

11 प्रिय मित्रहरू, जब परमेश्वरले हामीलाई प्रेम गर्नु हुन्छ। हामीले एक अर्कालाई प्रेम गर्नु पर्छ। 12 कसैले पनि परमेश्वरलाई कहिल्यै देखेका छैनन्। तर यदि हामीले एक-अर्कालाई प्रेम गर्यौं भने तब परमेश्वर हामीमा रहनुहुन्छ अनि उहाँको प्रेम हामीमा पक्का बनिनेछ।

13 हामीलाई थाहा छ कि हामी परमेश्वरमा रहन्छौ अनि परमेश्वर हामीमा रहनु हुन्छ। हामी यो जान्दछौं किनभने परमेश्वरले हामीलाई उहाँको आत्मा प्रदान गर्नु भएको छ। 14 हामीले देख्यौ कि पिताले आफ्ना पुत्रलाई संसारको उद्धारकर्त्ताको रुपमा पठाउनु भयो अनि त्यही कुरा हामी मानिसहरूमा गवाही दिन्छौ। 15 यदि कुनै व्यक्तिले भन्छ, “म विश्वास गर्छु कि येशू परमेश्वरका पुत्र हुनुहुन्छ” तब परमेश्वर त्यस व्यक्तिमा रहनु हुन्छ। अनि त्यो मानिस परमेश्वरमा रहन्छ। 16 अनि यसरी परमेश्वरको प्रेम हामीप्रति रहेको जान्दछौं। अनि हामी त्यो प्रेममा विश्वास गर्छौं।

परमेश्वर प्रेम हुनुहुन्छ। मानिस जो प्रेममा रहन्छ ऊ परमेश्वरमा रहेको हुन्छ। अनि परमेश्वर त्यस व्यक्तिमा रहनुहुन्छ। 17 यदि हामीमा परमेश्वरको परिपक्क प्रेम भए तब त्यो दिन जब उनी जाँचकोलागि आउनु हुन्छ हामीमा डर रहने छैन कारण यो संसारमा उहाँ हामी जस्तै हुनुहुन्छ। 18 जहाँ परमेश्वरको प्रेम हुन्छ त्यहाँ भय हुँदैन। किनभने परमेश्वरको सम्पूर्ण प्रेमले भय हटाइदिन्छ। परमेश्वरको दण्ड नै भयको कारण हो। यसरी जुन व्यक्तिमा भय रहन्छ तिनमा परमेश्वरको प्रेम सिद्ध भएको हुँदैन।

19 हामी प्रेम गर्छौ किनभने परमेश्वरले पहिला हामीलाई प्रेम गर्नु भयो। 20 यदि कसैले भन्छ “म परमेश्वरलाई प्रेम गर्छु” तर आफ्ना भाइ अथवा बहिनीहरूलाई घृणा गर्छ भने त्यो मानिस झूटो हो। यदि आफ्नो भाइ अथवा बहिनी जसलाई उसले देख्न सक्छ, उसले प्रेम गर्न सक्तैन भने परमेश्वर जसलाई उसले कहिल्यै देखेकै छैन, कसरी प्रेम गर्न सक्छ? 21 अनि परमेश्वरले हामीलाई आदेश दिनु भएको छ मानिस जसले परमेश्वरलाई प्रेम गर्छ उसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।

नहूम 3

निनवेको निम्ति नराम्रो समचार

यो हत्याराहरूको शहरलाई
    एकदमै नराम्रो हुनेछ!
निनवे शहर एकदमै झूटले भरिएको छ।
यो अन्य देशहरूबाट ल्याएको
    सामानहरूले भरिएकोछ।
तमीहरूले कोर्राको आवाज,
    पाङ्ग्राहरूको आवाज,
घोडाहरूका दौड
    अनि रथहरू दगुर्दै गरेको आवाजहरू सुन्दैछौ।
घोड-सवारले आक्रमण गरिरहेकाछन्
    र तिनीहरूका तरवारहरू चम्किरहेकाछन्,
    तिनीहरूको भालाहरू चम्किरहेकाछन्।
त्यहाँ लाशको थुप्रो छ,
    अनगन्ती लाशहरू छरिएका छन्,
    मानिसहरू ती लाशहरूमा ठेस लागेर लरबराएका छन्।
यी सबै निनवेको कारणले भएको हो।
    निनवे वेश्या जस्तै छे जो कहिल्यै पनि तृप्तिहुँदिन।
    त्यसलाई अझै धेरै-धेरै चाहिन्छ।
उसले अझै धेरै देशमा आफूलाई बेच्यो
    अनि त्यसले उसलाई आफ्नो दास बनाउँन टुना-मुना गर्यो।

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,
“हे निनवे म तिम्रो बिरूद्धमा छु।
    म तिम्रो पोषाक तिम्रो अनुहारमाथि उठाउँनेछु।
सबै राष्ट्रहरूलाई म तिम्रो नग्नता देखाईदिनेछु।
    ती राष्ट्रहरूले तिम्रो लाज हेर्नेछन्।
म तिमीमाथि घृणा लाग्दा चिजहरू फ्याँकिदिनेछु।
    म तिमीलाई घृणित ब्यवहार गर्नेछु।
    मानिसले तिमीलाई देखेर हाँस्ने छन्।
प्रत्येक जसले तिमीलाई देख्नेछन् ती छक्क पर्नेछन्।
तिनीहरूले भन्नेछन्, ‘निनवे नष्ट भयो!
    उसका निम्ति को रून्छ?’
म जान्दछु कि निनवेलाई शान्तवना दिने
    म कोही पनि भेट्नेछैन।”

निनवे, के तिमी निल नदीको किनारमा अवस्थित अमोन शहर भन्दा अझ असल छौ? होइन, अमोनको चारैतिर पानीथियो अनि अमोनले यो पानी स्वंयमलाई उनका शत्रुहरूबाट बचाउनको निम्ति प्रयोग गर्दथ्यो। उसले यो पनि सुरक्षित पर्खालको रूपमा प्रयोग गर्यो। कूश र मिश्रले अमोनलाई धेरै शक्ति दिए। त्यसलाई पूत अनि लिबियाको पनि समर्थन प्राप्त थियो। 10 तर अमोन पराजि भयो। तिनका मानिसहरू कैदीबनाएर अर्को देशमा लगियो। गल्लीहरूको कुनामा शत्रुका सैनिकहरूले उसका साना-साना नानीहरूलाई पछारेर टुक्रा-टुक्रा पार्यो। कुन मानिसले उसका कुन महत्वपूर्ण मानिसलाई कमारा बनाउन सक्छ, त्यो हर्ने चिठ्ठा हाले। अमोनका सबै महत्वपूर्ण मानिसहरूलाई उनीहरूले साङ्गलाले बाँधे।

11 यसकारण निनवे, एउटा मातेको मानिस जस्तै लड्ने छौ। तिमी लुक्ने चेष्टा गर्नेछौ। शत्रुबाट टाढा सुरक्षित स्थान खोज्दै हिँड्ने छौ। 12 तर निनवे, तिम्रो सबै बलियो ठाउँहरू नेभाराको रुखहरू जस्तै हुनेछ। नयाँ नेभाराको फल पाक्नेछ, कुनै एउटा मानिस आएर बोट हल्लाई दिन्छ र सबै नेभारा त्यो मानिसको मुखमा खस्छ। त्यसले सबै खान्छ र सबै सकिन्छ।

13 निनवे तिम्रो सबै मानिसहरू, स्त्रीहरू जस्तै छन् अनि तिनीहरूलाई लान शत्रुका सैनिकहरू तयार छन्। तिम्रो भूमिका फाटकहरू तिम्रो शत्रुहरूका निम्ति खुल्लाछन् अनि तिनीहरू भित्र पस्दैछन्। तिम्रो फाटकका काठका बारहरू जलाएर ध्वंश पारेकाछन्।

14 तिमी पानी जम्मागर, आफ्नो शहरभित्र जम्मा राख। किनकि शत्रुका सेनाले तिमीहरूका शहरहरू घेर्नेछन्। तिनीहरूले शहर भित्र कसैलाई पनि खाना अथवा पानी ल्याउँन दिनेछैनन्। आफ्नो सुरक्षा बलियो बनाऊ। अनि धेरै ईंटा बनाउनको निम्ति माटो जम्मा गर। ईंटा बनाउनको लागि मसला मिसाऊ अनि साँचो ठिक पार। 15 तिमी यी सबै कामहरू गर्न सक्छौ तर फेरि आगोले तिमीलाई पूर्ण रूपले ध्वंश पार्नेछ। अनि तरवारले तिमीलाई मार्नेछ। तिम्रो केही भूमि यस्तो देखा पर्नेछ मानौ केही सलहहरू आएकाछन् र यसको हर चिज खाईदिएका छन्।

निनवे तिमी लगातार बढ्दै गयौ तिमी फट्याङ्ग्राको हूल झैं भयौ। तिमी सलहको हूल झैं थियौ। 16 तिम्रो ब्यापारिको (जो बिभिन्न ठाउँमा गएर सामानहरू किन्छन् तिनीहरूको) संख्या बढेकोछ। तिनीहरू आकाशका ताराहरू जस्तै धोरै भएकाछन्। तिनीहरू सलहको हूल जस्तै भएकाछन् जसले प्रत्येक वस्तु समाप्त नहुन्जेल सम्म खान्छन् अनि त्यस पछि जान्छन्। 17 अनि तिम्रो राज्यका अधिकारीहरू, सलहहरू जस्तैछन्। यी ती सलहहरू जस्तैछन् जो जाडो दिनमा चट्टानमाथि बस्छन् तर सूर्य उदाएपछि चट्टानमा गर्मी हुन थाल्छ अनि ती उडेर कता जान्छ कसैलाई पनि थाह हुँदैन। तिम्रो अधिकारीहरू पनि यस्तै छन्।

18 हे अश्शूरका राजा, तिम्रो गोठालाहरू निदाइरहेका छन्। ती शक्तिशाली मानिसहरू आराम गरिरहेकाछन् अनि तिम्रो मानिसहरू पर्वतमा घुमिरहेकाछन्। तिनीहरूलाई फर्काएर ल्याउने कोही छैन्। 19 निनवे, तिमी नराम्रो प्रकारले घायल भएका छौ, अनि त्यस्तो कुनै चीज छैन जसले तिम्रो घाउहरू निको पार्छ। ज-जसले तिम्रो बिनाशको समचार सुन्छन् तिनीहरू सबैले ताली बजाउँछन्। उनीहरू सबै प्रसन्न हुन्छन्। किनभने उनीहरू सबैले यो पिडा अनुभव गरेकाछन् जुन तिनीहरूले उनीहरूलाई सधैँ दुःख दिने गर्थ्यौ।

लूका 19

जक्कै

19 येशू यरीहो शहर भएर जाँदै हुनुहुन्थ्यो। यरीकोमा एकजना जक्कै नाउँ भएको मानिस बस्थे। तिनी महसूल उठाउने हाकीम औ धनवान मानिस थिए। तिनी येशू को हुन भनी हेर्न चाहन्थे। अरू मानिसहरू पनि त्यहाँ उहाँलाई हेर्न चाहन्थे। जक्कै एकदमै पुडको मानिस थिए अनि उनले मानिसहरूको भीडमा येशूलाई देख्न सक्ने थिएनन्। अनि येशू आउँदै गरेको ठाँउ पुग्नु तिनी अघि दौडे। तिनी नेभाराको रूखमा चढे जहाँबाट तिनले येशूलाई देख्न सक्थे।

जब येशू त्यो ठाउँमा आइपुग्नु भयो उहाँले जक्कैलाई रूखमाथि देख्नु भयो। उहाँले तिनलाई भन्नुभयो, “जक्कै, झट्टै! तल ओर्लेरआऊ! आज म तिम्रो घरमा बास बस्नु पर्छ।”

त्यसपछि जक्कै झट्टै तल ओर्लेर आए। तिनी आफ्नो घरमा येशूलाई स्वागत गर्न पाउँदा खुबै खुशी भए। सबै मानिसहरूले यो देखो। तिनीहरू यसो भन्दै विरोध गर्न लागे, “हेर येशू कस्ता मानिससँग बस्न जानु हुँदैंछ? जक्कै पापी हो।”

जक्कैले प्रभूलाई भन्यो, “म असल काम गर्न चाहान्छु। म गरीबहरूलाई मेरो आधा सम्पति दिनेछु। अनि यदि मैले कसैलाई ठगेकोछु भने तिनीहरूलाई चार गुणा अधिक तिर्नेछु।”

येशूले भन्नुभयो, “यो मानिस असल हो। निश्चय नै यी अब्राहामको परिवारको हुनुपर्छ। आज जक्कै आफ्नो पापहरूबाट मुक्त भएको छ। 10 मानिसको पुत्र हाराएको मानिसहरूलाई खोज्नु र उद्धार गर्न आएको हो।”

परमेश्वरले दिनुभएको चीजहरू प्रयोग

(मत्ती 25:14-30)

11 येशू यरूशलेम नजीकै पुग्नु भएको थियो। कोही मानिसहरूले सोचे कि परमेश्वरको राज्य झैट्टै आउँदैछ। 12 मानिसहरूले यस्तै सोचका होलान् भनेर येशूले थाहा पाउनु भयो, अनि उहाँले तिनीहरूलाई यो कथा सुनाउनु भयोः “एकजना कुलीन मानिस आफ्ना निम्ति राजा हुनु टाडा देशमा जानलाई तयारी गर्दै थिए। तब फर्केर घर आई आफ्ना मानिसहरूमा पनि शासन गर्ने थिए। 13 यसकारण तिनले प्रत्येकलाई एक-एक थैलो पैसा दिए। तिनले भने, ‘म फर्केर नआउन्जेल यो तिमीहरूले व्यापार गर्दै गर।’ 14 तर राज्यमा भएका अरू मानिसहरूले उसलाई घृणा गरे। अनि तिनीहरूले एकदल आफ्ना मानिसहरूलाई यसो भन्न पठाए, ‘हामी यस मानिसलाई राजा बनाउन चाहाँदैनौ।’

15 “तर त्यो मानिसलाई राजा बनाइयो। जब तिनी आफ्नो देश फर्के तिनले भने, ‘ती नोकरहरूलाई बोलाऊ जससित मेरा पैसा छन्। म जान्न चाहन्छु तिनीहरूले ती पैसाबाट कतिसम्म कमाए।’ 16 पहिलो नोकर आयो अनि भन्यो, ‘मालिक, मैले तपाईंले दिनु भएको एक थैलो पैसाले दस थैला पैसा कमाएँ।’ 17 राजाले त्यो नोकरलाई भने, ‘अति राम्रो! तिमी असल नोकर हौ। तिमीहरू सानो कुरामा विश्वासी थियौ। यसकारण म मेरा दशवटा शहर शासन गर्न तिमीलाई नियुक्ती गर्छु।’

18 “दोस्रो नोकरले भने, ‘मालिक, मैले तपाईंको एक थैलो पैसाले अरू पाँच थैलो पैसा कमाएँ।’ 19 राजाले त्यो नोकरलाई भने, ‘तिमीले पनि पाँचवटा शहरहरूमा शासन गर!’

20 “त्यपछि अर्को नोकर आयो। त्यसले राजलाई भन्यो, ‘मालिक! यहाँ तपाईंको पैसाको थैलो छ। मैले यसलाई लुगाले बेह्रेर लुकाईराखेको थिएँ। 21 मलाई तपाईंदेखि अति डर थियो किनभने तपाईं अत्यन्त कठोर मानिस हुनुहुन्छ। तपाईंले आफूले नकमाएको पनि लानु हुन्छ, तपाईंले बीऊ नछरी वाली काट्नु हुन्छ।’

22 “त्यसपछि राजाले त्यो नोकरलाई भने, ‘तिमी खराब नोकर हौ! म तिमीलाई तिम्रै शब्दहरूबाट न्याय गर्छु। तिमीले भन्यौ म कठोर मानिस हुँ। तिमीले यसो पनि भन्यौ कि मैले जे कमाएको थिइनँ त्यो पैसा लिन्छु अनि जे रोपेको थिइनँ त्यसको फसल उठाउँछु। 23 यदि यी सबै साँच्चो हो भने मेरो पैसालाई तिमीले बैंकमा राख्न सक्थ्यौ। अनि जब म फर्केर आँए, मेरो रुपियाँले व्याज कमाएको हुन्थ्यो।’ 24 त्यसपछि राजाले त्यहाँ उभिरहेका मानिसहरूलाई भने, ‘रुपियाँको थैलो यसबाट लेऊ, अनि जुन नोकरकोमा दश थैली रुपियाँ छ त्यसलाई नै देऊ।’

25 “ती मानिसहरूले राजालाई भने, ‘तर मालिक, त्यो नोकरको त अघिबाटै दश थैलो रुपियाँ छ।’

26 “राजाले भने, ‘म भन्छु जसकोमा धेरै छ उसलाई धेरै नै दिइन्छ, अनि जसकोमा छैन, त्यसकोमा जो छ त्यो पनि लगिन्छ। 27 अहिले मेरो शत्रुहरू कहाँ छन्? खोई तिनीहरू कहाँ छन जसले म राजा भएको चाहाँदैनथे? ती शत्रुहरूलाई यहाँ ल्याऊ अनि मेरो अघि तिनीहरूको हत्या गर।’”

येशू राजा झैं यरूशलेममा प्रवेश गर्नु भएको

(मत्ती 21:1-11; मर्कूस 11:1-11; यूहन्ना 12:12-19)

28 यी सबै कुराहरू जब येशूले भनिसक्नु भयो उहाँ यरूशलेमतिर जानु भयो। 29 उहाँ जैतून नाउँ भएको पहाड नजिकको बेथानी शहरमा पुग्नु भयो। उहाँले आफ्ना दुइजना चेलाहरूलाई बोलाउनु भयो अनि 30 तिनीहरूलाई भन्नु भयो, “यहाँ जुन गाउँ तिनीहरूको सामुन्ने छ त्यहाँ जाऊ। जब शहरमा पस्न लागेका हुन्छौ त्यहाँ एउटा गधालाई बाँधिराखेको पाउनेछौ। त्यो गधामा पहिले कोही पनि चढेको छैन। गधाको लगाम फुकाल, अनि त्यसलाई मकहाँ लिएर आऊ। 31 कसैले गधा किन खोल्दैछौ भनी तिमीलाई सोधेभने भन, ‘यो गधा मालिकलाई चाहिएको छ।’”

32 दुवै चेलाहरू शहरतिर लागे। तिनीहरूले गधालाई येशूले भन्नु भए झैं पाए। 33 जब ती चेलाहरूले गधाको डोरी खोल्दैथे, गधाको मालिकहरूले चेलाहरूलाई सोधे, “किन तिमीहरू गधा खोल्दैछौ?”

34 चेलाहरूले जवाफ दिए, “प्रभुलाई यसको अवश्यकता छ।” 35 यसकारण तिनीहरूले त्यो गधालाई येशूकहाँ ल्याए। चेलाहरूले आफ्ना लुगाहरू गधाको पिठ्यूँमा बिछ्‌याए। त्यसपछि तिनीहरूले येशूलाई त्यो गधामा चढाए। 36 येशू गधामाथि चढेर यरूशलेम तर्फ लाग्नुभयो। मानिसहरूले येशूको लागि आफ्नो लुगाहरू बाटोमा ओछ्याए।

37 येशू यरूशलेम पुग्नै लाग्नु भएको थियो। उहाँ जैतून डाँडाको फेदीमा पुग्नु भएको थियो। चेलाहरूको सम्पूर्ण भीड नै खुशी थियो। तिनीहरू परमेश्वरलाई धन्यवाद चढाउँदै थिए। तिनीहरूले परमेश्वरको शक्तिपूर्ण कार्यहरू देखेर उहाँलाई कराई कराई धन्यवाद चढाउँदैथे। 38 तिनीहरूले भने,

“‘धन्य हुन, ती राजा जो परमप्रभुको नाउँमा आउँछन्।’(A)

स्वर्गमा शान्ति होस् अनि परमेश्वरलाई महिमा होस्।”

39 भीडमा उभिएर कोही फरिसीहरूले येशूलाई भने, “गुरूज्यू! यस्तो कुराहरू नभन्नु भनेर तपाईंका चेलाहरूलाई भन्नुहोस्।”

40 तर उहाँले भन्नुयो, “म तिमीहरूलाई भन्छु, यी कुराहरू भन्नै पर्छ। यदि मेरा चेलाहरूले यी कुराहरू भनेनन् भने, यी ढुङ्गाहरू यसको लागि चिच्याउनेछन्।”

यरूशलेमकोलागि येशूको बिलौना

41 येशू यरूशलेम नजिक आईपुग्नु भयो। उहाँले शहरलाई हेर्नु भयो अनि त्यसको निम्ति विलाप गर्नु भयो। 42 उहाँले यरूशलेमको विषयमा भन्नुभयो, “तिम्रोमा केले शान्ति ल्याउँछ? यदि तिमीले आज बुझेको भए, असल हुने थियो। तर तिमीले जान्दैनौ, किनभने यो तिम्रो आँखाबाटा ओझेल परेकोछ। 43 एउटा समय आउँदैछ कि तिम्रो शत्रुहरूले तिम्रो वरिपरि वाधाहरू खडा गराऊने छन्। तिमीलाई तिनीहरूले वरिपरिबाट घेर्नेछन् अनि तिमी सबै तिरबाट घेरामा पर्नेछौ। 44 तिनीहरूले तिमीलाई र तिम्रो मानिसहरूलाई ध्वंस पार्नेछन्। तिम्रो भवनहरूको एक ढुङ्गामाथिको अर्को ढुङ्गा पनि छाडिने छैन्। यो घट्ना घट्नेछ, कारण तिमी जान्दैनौ तिमीलाई बचाउन परमेश्वर कहिले आउँनु हुन्छ।”

येशूको मन्दिरतर्फ प्रस्थान

(मत्ती 21:12-17; मर्कूस 11:15-19; यूहन्ना 2:13-22)

45 येशू मन्दिरमा जानु भयो। त्यहाँ सामान बेच्नेहरूलाई खेदनु भयो। 46 उहाँले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ।’(B) तर तिमीहरूले यसलाई ‘डाँकूहरको वासस्थान’ बनाएका छौ।(C)

47 येशूले मन्दिरमा दिनहुँ शिक्षा दिनुहुन्थ्यो। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र कोही मानिसहरूका प्रमुखहरू येशूलाई मार्ने दाऊ खोजिरहेका थिए। 48 तर यस कामको लागि तिनीहरूले उपाय पाएका थिएनन् किनभने सबै मानिसहरू ध्यान पूर्वक येशूका कुराहरू सुनिरहेका थिए। मुख्य पूजाहारीहरू, व्यवस्थाका शास्त्रीहरू र प्रमुखहरूले येशूलाई कसरी मार्नु पर्ने हो जान्दैन थिए।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International