Print Page Options
Previous Prev Day Next DayNext

M’Cheyne Bible Reading Plan

The classic M'Cheyne plan--read the Old Testament, New Testament, and Psalms or Gospels every day.
Duration: 365 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 इतिहास 35

योशियाह निस्तार चाड मनाउँछन्

35 राजा योशियाहले परमप्रभुका निम्ति यरूशलेममा निस्तार चाड मनाए। निस्तार चाडको थुमाको पाठालाई पहिलो महीनाको चौधौं दिनमा मारियो। योशियाहले तिनीहरूको कार्य गर्नका निम्ति पूजाहारीहरू छाने। तिनले पूजाहारीहरूलाई उत्साह दिए जब तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गरिरहेका थिए। योशियाहले ती लेवीहरूसँग कुरा-कानी गरे जसले इस्राएलका मानिसहरूलाई शिक्षा दिन्थे अनि जसलाई परमप्रभुको सेवाको निम्ति पवित्र तुल्याइएका थिए। तिनले ती लेवीहरूलाई भने, “पवित्र सन्दूकलाई मन्दिर भित्र राख जसलाई सुलेमानले निर्माण गरे। सुलेमान दाऊदका छोरा थिए। दाऊद इस्राएलका राजा थिए। पवित्र सन्दूकलाई काँधमा बोकेर एक स्थान देखि अर्को स्थानतिर नलैजाऊ। अब परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। परमेश्वरका मानिसहरू इस्राएलका मानिसहरूको सेवा गर। तिमीहरू स्वंयलाई तिम्रा परिवार समूहहरू अनुसार मन्दिरमा सेवाका निम्ति तयार पार। ती कामहरू गर जो राजा दाऊद अनि तिनका छोरा सुलेमानले गर्नु भनी तिमीहरूलाई दिएका छन्। पवित्र स्थानमा लेवीहरूको समूहसित उभिएरबस हरेक भिन्न-भिन्न परिवार समूहका मानिसहरूको निम्ति यसो गर, यसरी तिमीहरू तिनीहरूको सहायता गर्न सक्ने छौ। निस्तार चाडका थुमा पाठाहरू मार, तिमीहरू स्वयंलाई परमप्रभुका निम्ति पवित्र तुल्याऊ। भेंडाका पाठाहरूलाई तिम्रा दाज्यू-भाइहरू इस्राएलका मानिसहरूका निम्ति तयार पार। परमप्रभुले हामीलाई गर्नु भनी आदेश गर्नु भएका सबै कुराहरू गर। परमप्रभुले हामीलाई ती सबै आदेशहरू मोशाद्वारा दिनु भएको थियो।”

योशियाहले इस्राएलका मानिसहरूलाई निस्तार चाडका निम्ति मार्नु भनी 3,000 भेंडा र बाख्राहरू दिए। तिनले मानिसहरूलाई 3,000 गाई-बस्तुहरू पनि दिए। यी सबै पशुहरू राजा योशियाहका आफ्नै बगालका थिए। योशियाहका अधिकारीहरूले पनि खुशीसाथ मानिसहरूलाई, पूजाहारीहरूलाई अनि लेवीहरूलाई निस्तार चाडमा प्रयोग गर्नु भनी पशुहरू अनि चीज-बीजहरू दिए। प्रधान पूजाहारी हिल्कियाह, जकर्याह अनि यहीएल मन्दिरको जिम्मावार अधिकारीहरू थिए। तिनीहरू पूजाहीहरूलाई 2,600 भेंडाका पाठा र बाख्राहरू अनि 300 गोरूहरू निस्तार चाडका बलिहरूका निम्ति दिए। कोन्नयाह तिनका भाइहरू शमायाह अनि नतनेल, अनि हशबियाह सहित, यीएल अनि योजाबादले 5,000 भेंडा र बाख्राहरू अनि 500 गोरूहरू निस्तार चाडका बलिहरूका निम्ति लेवीहरूलाई दिए। तिनीहरू लेवीहरूका अगुवाहरू थिए।

10 निस्तार चाडको सेवाका निम्ति जब हरेक कुरा तयार भए तब पूजाहारीहरू तिनीहरूको स्थानहरूमा गए अनि लेवीहरू तिनीहरूको समूहहरूमा खडा भए। राजाले जो आदेश गरे त्यो यस्तै थियो। 11 निस्तार चाडका थुमाहरू मारिए। तब लेवीहरूले पशुहरूका छाला काढे अनि रगत पूजाहारीहरूलाई दिए। पूजाहारीहरूले रगत वेदीमा छर्किदिए। 12 त्यसपछि तिनीहरूले विभिन्न परिवार समूहहरूलाई होमबलिका निम्ति प्रयोग गर्न भनी पशुहरू दिए। यो यसकारणले गरियो कि होमबलि मोशाले व्यवस्थामा लेखिए अनुसार अर्पण गर्न सकियोस्। तिनीहरूले गोरूहरू लाई पनि त्यसै गरे। 13 लेवीहरूले निस्तार चाडका बलिहरूलाई तिनीहरूलाई आदेश गरिएको प्रकारले आगोमा पोले। अनि तिनीहरूले पवित्र भेटीहरूलाई भाँडा, कित्ली अनि तावाहरूमा उमाले। तब तिनीहरूले चाँडो गरी मासु मानिसहरूलाई दिए। 14 यो समाप्त भएपछि, लेवीहरूले आफ्नै निम्ति अनि पूजाहारीहरू जो हारूनका सन्तानहरू थिए। तिनीहरूका निम्ति मासु ल्याए। ती पूजाहारीहरूलाई अँध्यारो नभएसम्म खराएर ब्यस्त राखिए। तिनीहरूले होमबलिहरू अनि बलिका बोसो जलाउन कठिन परिश्रम गरे। 15 आसापका परिवारका लेवी गायकहरू ती स्थानहरूमा गए जो राजा दाऊदले तिनीहरू उभिनका निम्ति चुनेका थिए। ती आसाप, हेमान अनि यदूतून-राजाका अगमवक्ता थिए। प्रत्येक फाटकमा द्वारपालहरूले आफ्ना स्थान छाडनु परेन किनभने तिनीहरूका लेवी दाज्यू-भाइहरूले निस्तार चाडका निम्ति हरेक कुरा तिनीहरूका निम्ति तयार गरेका थिए।

16 यसरी त्यस दिन राजा योशियाहले आदेश गरे अनुसार परमप्रभुको आराधनाका निम्ति हरेक कुरा गरिए। निस्तार चाड मनाइयो अनि परमप्रभुको वेदीमा होम-बलिहरू अर्पण गरिए। 17 इस्राएलका मानिसहरूले, जो त्यहाँ थिए, निस्तार चाड अनि अखमीरे रोटीको चाड सात दिन सम्म मनाए। 18 निस्तार चाड, अगमवक्ता शमूएलको समय देखि यता यस्तो प्रकारले इस्राएलमा मनाइएको थिएन। इस्राएलका कुनै पनि राजाहरूले यो जस्तो निस्तार चाड कहिले मनाएका थिएनन्। राजा योशियाह, पूजाहारीहरू, लेवीहरू अनि यहूदा र इस्राएलका मानिसहरूले जो त्यहाँ थिए यरूशलेमका सबै मानिसहरू साथ अत्यन्त विशेष रूपले निस्तार चाड मनाए। 19 तिनीहरूले यो निस्तार चाड योशियाहको शासन कालको अठाह्रौं बर्षमा मनाए।

योशियाहको मृत्यु

20 योशियाहले मन्दिरका निम्ति ती सबै असल कुराहरू गरे। पछि, मिश्र देशका राजा नेको यूफ्रेटिस नदीको कर्कमीश शहर विरूद्ध लडाईं गर्न सेना लिएर आए। राजा योशियाह नेको विरूद्ध लड्न गए। 21 तर नेकोले योशियाह कहाँ दूतहरू पठाए।

तिनीहरूले भने, “राजा योशियाह, यो युद्ध तपाईंको समस्या होइन। म तपाईंको विरूद्ध लड्न आएको होइन्। म मेरा शत्रुहरू सित लड्न आएको हुँ। परमेश्वरले मलाई चाँडो गर भन्नु भयो। परमेश्वर मेरो पक्षमा हुनुहुन्छ, यसर्थ मलाई दिकदारी नगर्नुहोस्। यदि तपाईंले म विरूद्ध लडाई गर्नु भयो भने, परमेश्वरले तपाईंलाई नष्ट गर्नु हुनेछ।”

22 तर योशियाह हटेनन्। तिनले नेकोसित लड्ने निश्चय गरे, यसर्थ तिनले आफ्नो रूप बद्ले अनि लडाईं लड्न गए। योशियाहले परमेश्वरको आदेशबारे नेकोले भनेका कुरा सुनेनन्। 23 योशियाह युद्धमा भएको बेला काँढले लाग्यो। तिनले आफ्ना सेवकहरूलाई भने, “मलाई यहाँबाट लैजाऊ, म नराम्रो रूपले घाइते भएकोछु।”

24 यसर्थ सेवकहरूले योशियाहलाई तिनको रथबाट बाहिर निकाले अनि तिनलाई तिनले आफूसित लडाईमा ल्याएको अर्को रथमा हाले। तब तिनीहरूले योशियाहलाई यरूशलेम लगे। राजा योशियाहको यरूशलेममा मृत्यु भयो। योशियाहलाई त्यो चिहानमा गाडियो जहाँ तिनका पुर्खाहरूलाई गाडिएका थिए। यहूदा अनि यरूशलेमका समस्त, मानिसहरू अति दुःखीत थिए किनभने योशियाहको मृत्यु भएको थियो। 25 यिर्मयाहले योशियाहका निम्ति केही शोक-गीतहरू लेखे अनि गाए। अनि पुरूष एवं स्त्री गायकहरू आज सम्म ती शोक-गीतहरू गाउँदै छन्। यो इस्राएलका मानिसहरूले सदैव गर्ने केही कुरा बन्यो-तिनीहरू योशियाहका निम्ति शोक-गीत गाउँछन्। ती गीहरू शोक-गीतहरू नाउँको पुस्तकमा लेखिएका छन्।

26-27 योशियाहले तिनी राजा हुँदा आफ्नो शासनकालको शुरू देखि अन्त सम्म गरेका सबै अन्य कुराहरू इस्राएल अनि यहूदाका राजाहरूको इतिहास नाउँको पुस्तकमा लेखिएका छन्। त्यो पुस्तकले परमप्रभु प्रति तिनको भक्ति अनि तिनले परमप्रभुको व्यवस्था कसरी पालन गरे सो देखाउँदछ।

प्रकाश 21

नयाँ यरुशलेम

21 तब मैले एउटा नयाँ स्वर्ग अनि नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग अनि पृथ्वी अदृश्य भयो। अब त्यहाँ सागर थिएन। अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखेँ। यो पवित्र नगर नयाँ यरुशलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिंगारिएकी दुलही जस्तै बनाइएको थियो।

मैले सिंहासनबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले भन्यो, “अब परमेश्वरको भवन मानिसहरूसँग छ। उनी तिनीहरूसँग रहनेछन्। तिनीहरू उनका मानिसहरू हुनेछन्। परमेश्वर स्वयं तिनीहरूसित हुनेछन् अनि तिनीहरूका परमेश्वर बन्नेछन्। परमेश्वरले तिनीहरूको आखाँबाट जम्मै आँसु पुछ्नु हुनेछ। अब उसो त्यहाँ मृत्यु, शोक, रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरू बितेर गए।”

उनी एक जो सिंहासनमा थिए उहाँले भन्नुभयो, “हेर! अहिले म हरेक कुरालाई नयाँ तुल्याउँदैछु।” तब उहाँले भन्नुभयो, “यसलाई लेख, किनभने यी वचनहरू विश्वासयोग्य अनि सत्य छन्।”

उहाँ जो सिंहासनमा हुनुहुनथ्यो उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा अनि ओमेगा, आदि अनि अन्त हुँ। म कुनै पनि मानिस जो तिर्खाएको छ उसलाई जीवनका पानीको फोहराबाट सित्तैमा दिनेछु। कुनै मानिस, जसले विजय प्राप्त गर्छ, यो सबै प्राप्त गर्नेछ। अनि म उसको परमेश्वर हुनेछु। अनि ऊ मेरो छोरो हुनेछ। तर मानिसहरू जो कातर, अविश्वासी घृणाजनक कर्म गर्ने, हत्यारा व्यभिचारी जादूवाला, मूर्तिपूजक अनि जम्मै झूटा बोल्नेहरू छन् तिनीहरूले गन्धकको अग्नि कुण्डमा ठाँउ पाउँछन्। यो दोस्रो मृत्यु हो।”

सात स्वर्गदूतहरू मध्ये एकजना दूत मेरोमा आए। तिनी स्वर्गदूतहरू मध्येका एक हुन् जसकोमा अन्तिम आखिरी कष्टहरूले भरिएका सात कचौराहरू थिए। ती स्वर्गदूतले भने, “मसित आऊ। म तिमीहरूलाई परमेश्वरको थुमाको दुलही देखाँउछु जो परमेश्वरको थुमाकी पत्नी हो।” 10 ती स्वर्गदूतले मलाई आत्मामा बोकेर अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर, यरुशलेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट-तलतिर भरिरहेथ्यो।

11 यो परमेश्वरको महिमाले चम्किरहेथ्यो। यसको चमक वहुमूल्य रत्न बिल्लौर झैं उज्वल थियो। 12 त्यो नगरमा बाह्र ढोकाहरूसहित एक विशाल उच्च पर्खाल थियो जहाँ बाह्रजना स्वर्गदूतहरू थिए। प्रत्येक ढोकामा इस्राएलीहरूका बाह्र वंशहरू मध्ये एक वंश परिवारको नाउँ लेखिएको थियो। 13 पूर्वपट्टि तीन ढोका, उत्तरपट्टी तीनवटा ढोका, दक्षिणपट्टी तीनवटा ढोका अनि पश्चिमपट्टी तीनवटा ढोकाहरू थिए। 14 नगरका पर्खाल बाह्रवटा आधारशिलामाथि निर्माण गरिएको थियो। सिलाहरूमा भेंडा़को पाठाको बाह्र-प्रेरितहरूको नाउँ लेखिएको थियो।

15 त्यो स्वर्गदूत जसले मसित कुरा गरे, तिनको हातमा सुनको नाप्ने डन्डा थियो। त्यो स्वर्गदूतसित भएको डन्डा, त्यसको ढोका अनि पर्खालहरू नाप्नको लागि थियो। 16 त्यो नगर एक वर्गाकार क्षेत्रमा निर्माण गरिएको थियो। त्यसको लम्वाई र चौंडाइ बराबर थियो। स्वर्गदूतले त्यो डन्डाले नगरको नाप गरे। त्यो नगर बाह्र हजार स्टेडिया लामो, बाह्र हजार स्टेडिया चौडा अनि बाह्र हजार स्टेडिया अग्लो थियो। 17 स्वर्गदूतले पर्खाललाई पनि नापे। त्यो एक सय चवालीस हात थियो। यो मानिसहरूको नपाई हो जो स्वर्गदूतले चलाए। 18 पर्खाल विल्लौरले बनाइएको थियो। त्यो नगर शुद्ध काँच जस्तो शुद्ध सुनले निर्माण भएको थियो।

19 त्यो नगरको पर्खालका आधारशिलामा हरेक किसिमका मूल्यवान मोतीहरू थिए। पहिलो आधारशिला बिल्लौर, दोस्रो नीलम, 20 तेस्रो स्फटिक, चौथो पन्ना, पाँचौ गोमेद, छैटौ मानक, सातौं पीतमणि, आठौं पिरोजा, नवौं पोखराज, दशौ लहसूने, एधारौं धुम्रकान्त अनि बाह्रौं चन्द्रकान्त रत्नहरू थिए। 21 बाह्र ढोकाहरू बाह्र मोतीहरू थिए। प्रत्येक ढोका एक एक मोतिद्वारा निर्माण गरिएको थियो। नगरको गल्ली सफा काँच झैं शुद्ध सुनको बनाइएको थियो। त्यो सुनको काँच जस्तै स्वच्छ थियो।

22 मैले नगरमा मन्दिर देखिन। सर्व-शक्तिमान परमप्रभु परमेश्वर अनि थुमा नगरको थुमा थियो। 23 नगरलाई उज्यालो पार्न सूर्य अनि चन्द्रमा चाँहिँदैनथ्यो किनभने परमेश्वरको महिमाले त्यो नगरलाई प्रकाश दिन्छ अनि भेंड़ाको पाठा नगरको बत्ती हो।

24 संसारका राष्ट्रहरू नगरको प्रकाशमा हिँड्नेछन्। पृथ्वीका राजाहरूले आफ्ना गौरव त्यो नगरमा ल्याउने छन्। 25 नगरको ढोकाहरू कुनै दिन, बन्द रहेन, किनभने त्यहाँ रात छैन। 26 राष्ट्रहरूका महानता अनि सम्पति त्यो नगरमा ल्याइनेछ। 27 नगरमा अस्वच्छ वस्तुहरू कोही पस्न पाउने छैन। कुनै पनि मानिस जो लज्जाजनक कुरा गर्छ वा झूटो बोल्छ यो नगरमा कहिल्यै प्रवेश गर्ने छैन। केवल ती मानिसहरू जसका नाउँ भेंडा़का पाठाको पुस्तकमा लेखिएको छ, नगरमा प्रवेश गर्नेछन्।

मलाकी 3

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर, म मेरो समचार-वाहकलाई पठाउँदैछु। उसले मेरो निम्ति बाटो तयार पर्नेछ। मालिक तपाईं जसको खोजिमा हुनुहुन्छ त्यो अचानक उसको मन्दिरमा आउँनेछ। करारको समाचार-वाहक साँच्चै आउँदैछ।

“कुनैपनि मानिस त्यस समयको निम्ति तयार पर्न सक्नेछैन। कुनै पनि मानिस उहाँको बिरूद्ध उभिन सक्नेछैन जब उहाँ आउनुहुन्छ। उहाँ त्यो बल्दै गरेको आगो जस्तो हुनुहुनेछ, उहाँ धोवीको साबुन जस्तै हुनुहुन्छ, जसलाई मानिलहरूले लुगा धुने काममा लगाउनेंछन्। उहाँले लेवी कुलहरूलाई पवित्र पार्नु हुनेछ। उहाँले लेवी कुलहरूलाई यस्तो शुद्ध पार्नुहुन्छ जस्तो आगोले चाँदीलाई शुद्ध पार्छ उहाँले तिनीहरूलाई शुद्ध सुन र चाँदी जस्तै बनाउँनु हुनेछ। तब उनीहरूले परमप्रभु कहाँ भेटी लिएर आउँनेछन् अनि ती कामहरू पनी ठीकसँग गर्नेछन्। त्यसपछि परमप्रभुले यहूदा अनि यरूशलेमको भेटी स्वीकार गर्नु हुनेछ। यो पहिला समयको जस्तै हुनेछ। यो पहिलाको लामो समय जस्तै हुनेछ। तब म तिमीहरू कहाँ आउँनेछु। तब म ठीक काम गर्नेछु। म त्यो साक्षी जस्तै हुनेछु जुन मानिसहरूद्वारा गरेको नराम्रो कामको निम्ति न्यायकर्ताहरूले गर्ने गर्छन्। कति मानिसहरूले नराम्रो जादु गर्छन, कतिले व्याभिचारी पाप गर्छन, कतिले झूटा गवाही दिन्छन्, कतिले आफ्नो मजदूरलाई ठग्छन्। उनीहरू आफैंले तोकेको रकम दिंदैनन्। विधवाहरू, टुहुरा-टुहुरीहरूलाई सहायता गर्दैनन्। मानिसले मेरो सम्मान गर्दैनन्।” सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो।

परमेश्वरलाई लुट्नु

“म परमप्रभु हुँ, अनि म परिवर्तन हुनेछैन। तिमीहरू याकूबका सन्तान हौ, यसकारण तिमीहरूलाई पूर्णरूपले नष्ट गरियो। तर तिमीहरूले मेरो नियमहरू कहिल्यै पनि पालन गरेनौ। यहाँ सम्म कि तिमीहरूका पिता-पुर्खाहरूले पनि मेरो अनुशरण गरेनन्। मकहाँ आऊ अनि म तिमीहरूकहाँ आउँनेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।

“तिमीहरू भन्छौ, ‘हामीहरू फेरि कसरी फर्कनु?’

“परमप्रभुलाई लुट्न बन्द गर। मानिसहरूले परमेश्वरको चिजहरू चोर्नु हुँदैन। तर तिमीहरूले मेरो भागहरू चोर्यो।

“तिमीहरू भन्छौ, ‘हामीले तपाईंको के चोर्यौं?’

“तिमीहरूले मलाई तिमीहरूको चीजको दशांश दिनुपर्ने थियो। तिमीहरूले मलाई बिशेष भेटी दिनुपर्ने थियो। तर तिमीहरूले मलाई ती चीजहरू दिएनौ। यस्तैप्रकारले तिमीहरूका सबै देशले मेरो चीजहरू चोर्यो। तिमीहरू श्रापमा छौ।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो।

10 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यो परीक्षाको जाँच गर। आफ्नो चीजको दशांश मलाई देऊ। ती चीजहरू ढुकुटीमा राख। मेरो घरमा खाने कुराहरू लिएर आऊ। यसरी मलाई जाँचेर हेर! यदि तिमीले यो सबै कामहरू गर्यौ भने म तिमीहरूलाई आशीर्वाद दिनेछु। तिमीहरूसँग राम्रो चीजहरू जस्ताको त्यस्तै हुनेछन् जस्तो आकाशबाट पानी पर्छ। तिमीहरूले हरेक चीजहरू आवश्यक्ता भन्दा ज्यादा पाउँनेछौ। 11 म किराहरूलाई तिम्रो फसलहरू नष्ट पार्न दिनेछैन। तिमीहरूको सबै दाखको बोटहरूले फल फलाउँनेछ।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो।

12 “अन्य जातिहरूले पनि तिमीहरूलाई सुखी भन्नेछन्। तिमीहरूको देश साँच्चै नै आश्चर्यजनक देश हुनेछ।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ।

न्यायको बिशेष समय

13 परमप्रभु भन्नुहुन्छ, “तिमीले मेरो बिषयमा कुराहरू गर्यौ।”

तर तिमीहरू सोध्छौ, “हामीले तपाईको बिषयमा के कुरा गर्यौं?”

14 तिमीहरूले भन्यौ, “परमप्रभुको उपासना गर्न ब्यार्थछ। हामीले ती कामहरू गर्यौ जुन परमप्रभुले गर्नु भन्नुभयो, तर हामीले केही पनि पाएनौं। हामीहरू आफ्नो पापको लागि त्यति नै दुःखीछौं जति शोकमा परेको मानिस दुःखी हुन्छ। यसबाट केही पनि काम भएन। 15 हामीले सोच्यौ अहङ्कारी मानिसहरू सुखी हुन्छन्। दुष्टहरू सफल हुन्छन्। उनीहरू परमेश्वरको धैर्यको परिक्षा लिनको निम्ति नराम्रो कामहरू गर्छन् अनि परमेश्वरले उनीहरूलाई दण्ड दिनुहुँदैन।”

16 परमेश्वरका भक्तहरूले एक-अर्कामा कुरा गरे जुन परमेश्वरले सुन्नुभयो। उहाँसँग एउटा पुस्तक छ जुन पुस्तकमा परमेश्वरका भक्तहरूको नाउँ छन् ती उनीहरू नै हुन् जसले परमेश्वरको नाउँको सम्मान गर्छन्।

17 परमप्रभु भन्नुहुन्छ, “ती मानिसहरू मेरो हुन्। म उनीहरू प्रति कृपा दर्शाउँछु। मानिहरूले ती नानीहरूमाथि ज्यादा दया राख्छन् जसले आज्ञा पालन गर्छन्। यस्तै प्रकारले म आफ्नो भक्तहरूमाथि कृपा राख्छु। 18 मानिसहरू मकहाँ फर्केर आऊ अनि राम्रो र नराम्रो कामको बारेमा सम्झ। तिमीहरूले परमेशवरका भक्त र अन्य मानिसहरू बिचको अन्तर सम्झ।

यूहन्ना 20

केही चेलाहरूले येशूको चिहान रित्तो पाए

(मत्ती 28:1-10; मर्कूस 16:1-8; लूका 24:1-12)

20 हप्ताको पहिलो दिन बिहानै मरियम मग्दलिनी येशूको चिहानमा गई। तिनले देखिन कि त्यो ठूलो चट्टान जो चिहानको द्वारमा राखिएको थियो त्यो ढुङ्गा हाटाइएको थियो। यसैले मरियम शिमोन पत्रुस र अन्य चेलाहरूकहाँ गई (जसलाई येशूले धेरै माया गर्नुहुन्थ्यो।) मरियमले तिनीहरूलाई भनिन, “तिनीहरूले प्रभुको देहलाई चिहानबाट लगेछन्। हामी जान्दैनौ तिनीहरूले उहाँलाई कहाँ राखेका छन्।”

यसकारण पत्रुस र अर्को चेला चिहानमा जानलागे। तिनीहरू दुबैजना दगुरे, तर अर्को चेला पत्रुस भन्दा छिटो दगुरे। यसैले अर्को चेला चिहानमा पहिले पुगे। चेलाले निहुरिएर तलतिर हेरे। तिनीहरूले सूती लुगाको टुक्राहरू मात्र त्यहाँ रहेको देखे, तिनीहरू भित्र झरेनन्।

त्यसपछि शिमोन पत्रुस आइपुग्यो। पुत्रस चिहान भित्र गयो। उसले सूती लुगाको टुक्रा मात्र त्यहाँ रहेको देख्यो। उसले येशूको टाउँको बाँधिएको लुगा पनि देख्यो। त्यो लुगा पट्याएर सूतीको कपडाका टुक्रादेखि अलग्गा राखिएको थियो। त्यसपछि अर्को चेला पनि पस्यो। यो मानिस अघि चिहानमा पहिलो पुग्ने चेला थियो। तिनले भित्र पुगेर जे देखे त्यो विश्वास गरे। ती चेलाहरूले अझ बुझेका थिएनन कि धर्मशास्त्रले भनेकोछ कि येशू मृत्युबाट जागी उठ्नै पर्छ।

येशू मरियम मग्दलिनीकी अघि देखा पर्नु भयो

(मर्कूस 16:9-11)

10 त्यसपछि चेलाहरू आफ्ना घर फर्के। 11 तर मरियम चिहानकै बाहिर उभिएर रोइरही। जब रोई रहेकी थिइन् चिनहान भित्र हेर्नु तिनी निहुरिन्। 12 मरियमले सेतो वस्त्रमा दुइ स्वर्गदूतहरू देखी। तिनीहरू जहाँ येशूको टाउकोपट्टी र अर्को स्वर्गदूत येशूको खुट्टापट्टी बसिरहेका थिए।

13 स्वर्गदूतहरूले मरियमलाई सोधे, “हे! नारी! किन रोईरहेकी छौ?”

मरियमले जवाफ दिइन, “कसैले मेरा प्रभुको शरीर लगेर गएछ। तिनीहरूले कहाँ राखेका छन् मलाई थाहा छैन।” 14 मरियमले यति भनिसकेर जब फर्किन उनले उहाँलाई त्यहाँ उभिरहनु भएको देखिन्। तर तिनले येशू भनेर चिनिनन्।

15 येशूले उनलाई सोध्नुभयो, “नारी, तिमी किन रोइरहेछौ? तिमी कसलाई खोजिरहेछौ?”

मरियमले उहाँलाई त्यहाँ बगैंचाको माली सम्झी। तब मरियमले उहाँलाई सोधी, “के तिमीले येशूलाई लग्यौ, महोदय? भन उहाँलाई कहाँ राखेकाछौ। म त्यही जानेछु र उहाँलाई लानेछु।”

16 येशूले उसलाई भन्नुभयो, “हे मरियम।”

मरियम येशू तर्फ फर्की र यहूदी भाषामा उसलाई भनी, “रब्बोनी”, अर्थत “हे गुरुज्यू।”

17 येशूले उसलाई भन्नुभयो, “मलाई नछोऊ। म अझ्झ सम्म पिताकोमा गई सकेको छुइन। तर मेरा दाज्यू-भाइहरू भएकोमा जाऊ, र तिनीहरूलाई यसो भनः ‘म मेरो पिता र तिमीहरूका पिताकहाँ फर्की जाँदैछु। म मेरो परमेश्वर र तिमीहरूको परमेश्वरकहाँ फर्की जाँदैछु।’”

18 मरियम मग्दलिनी चेलाहरूकहाँ गईन् अनि उनीहरूलाई भनिन, “मैले प्रभुलाई भेटें।” अनि येशूले जे भन्नु भएको थियो ती सब भनिदिइन्।

येशू चेलाहरूकहाँ देखा पर्नु भयो

(मत्ती 28:16-20; मर्कूस 16:14-18; लूका 24:36-49)

19 हप्ताको पहिलो दिन थियो। चेलाहरू त्यो बेलुकी भेला भएका थिए। यहूदीहरूको डरले दैलोहरू बन्द थियो। तब येशू आउनु भयो र तिनीहरूका सामुने उभिनु भयो। येशूले भन्नुभयो “शान्ति तिमीहरूसँग रहोस्।” 20 येशूले यति भने पछि उहाँले आफ्ना हात र कोखा देखाउनु भयो। तब चेलाहरूले प्रभुलाई देखेर अति खुशी भए।

21 त्यसपछि येशूले फेरि भन्नुभयो, “शान्ति तिमीहरूसँग रहोस्। पिताले मलाई पठानु भयो। त्यस्तै प्रकारले अब म तिमीहरूलाई पठाइरहेछु।” 22 यती भनिसके पछि, येशूले चेलाहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ। 23 यदि तिमीहरूले मानिसहरूका पाप क्षमा गरिदियौ भने तिनीहरूका पापहरू क्षमा हुनेछ। यदि त्यसो गरेनौ भने तिनीहरूका पापहरू क्षमा हुनेछैन्।”

येशू थोमासँग देखापर्नुभयो

24 थोमा जसलाई दिदुमस भनिन्छ, येशू चेलाहरूकहाँ आउनु हुँदा थिएनन्। बाह्रजना मध्ये थोमा एकजना थिए। 25 अरू चेलाहरूले थोमालाई भने, “हामीले प्रभुलाई देख्यौं।” थोमाले भने, “म त्यति बेला सम्म विश्वास गर्दिन जबसम्म काँटीले छेडिएका दागहरू उहाँको हातमा देख्दिन अनि औंला त्यो काँटीको दागहरूमा राख्दिन र उहाँको कोखामा मेरो हात राख्दिन।”

26 एक हप्तापछि सबैजना चेलाहरू घरमा जम्मा भएका थिए। थोमा तिनीहरूसँग थिए। दैलो बन्द थियो, तर येशू आउनु भयो र तिनीहरू समक्ष उभिनु भयो। उहाँले भन्नुभयो, “शान्ति तिमीहरूमा रहोस्।” 27 त्यसपछि येशूले थोमालाई भन्नुभयो, “आऊ तिम्रो औंला यहाँ छिराऊ। मेरा हातहरू हेर, तिम्रो हात मेरा कोखमा पसाउ। शंका गर्न छोड अनि विश्वास गर्न थाल।”

28 थोमाले येशूलाई भने, “मेरा प्रभु र मेरा परमेश्वर!”

29 येशूले थोमालाई भन्नुभयो, “तिमीले मलाई विश्वास गर्यौ किनभने तिमीले मलाई देख्यौ। ती मानिसहरू धन्य हुन् जस-जसले मलाई नदेखिकनै विश्वास गरे।”

यूहन्नाले यो पुस्तक किन लेखे

30 येशूले धेरै अरू चमत्कारहरू देखाउनु भएको उहाँका चेलाहरूले देखेका थिए। ती चमत्कारहरू यस पुस्तकमा लेखिएको छैन। 31 तर ती कुराहरू लेखिए ताकि तिमीहरूले विश्वास गर्न सक्छौ कि येशू नै ख्रीष्ट हुन्; जो परमेश्वरको पुत्र हुन् भनि जब तिमीहरू उहाँलाई विश्वास गर्छौ, तिमीहरूले उहाँको नाममा जीवन पाउन सक्छौं।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International