Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 84:8-12

हे सेनाहरूका परमेश्वर परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्
    हे याकूबका परमेश्वर, मलाई ध्यान दिनुहोस्।

हे परमेश्वर, हाम्रो रक्षक[a] को रक्षा गर्नुहोस्,
    तपाईंका अभिषिक्त राजा[b] प्रति कृपालु हुनु होस्।
10 हे परमेश्वर, तपाईंको मन्दिरभित्रको एक दिन
    अरू ठाउँका हजार दिनभन्दा उत्तम छ।
दुष्टहरूका घरमा बस्नुभन्दा
    बरू मेरा परमेश्वरका मन्दिरको द्वारपाले हुनलाई मलाई मन पर्छ।
11 परमप्रभु हाम्रा रक्षक र महिमामय राजा हुनुहुन्छ,
    परमेश्वरले हामीलाई दया र महिमाले आशीर्वाद दिनुहुन्छ।
जसले परमप्रभुको अनुशरण र आज्ञा पालन गर्दछ।
    उहाँले ती मानिसहरूलाई प्रत्येक असल चीज दिनुहुन्छ।
12 हे सेनाहरूका परमप्रभु,
    मानिसहरू जसले तपाईंमाथि भरोसा गर्छन् उनीहरू अति नै आनन्दित हुन्छन्।

दानियल 5:13-31

13 त्यस पछि दानियललाई राजाको अघि पेश गरियो। राजाले दानियललाई भने, “तिमीनै दानियल हौ, निकालाबास भएको एक यहूदी, जसलाई राजा, मेरो पितामहले यहूदाबाट ल्याएका थिए। 14 मैले तिम्रो विषयमा सुनें। तिमी एकजना त्यस्ता मानिस हौ जसमा पवित्र देवताहरूको आत्मा छ। तिमी एकजना त्यस्तो मानिस हौ, जसकोमा उत्तम समझ र अचम्मको रहस्य बुझ्ने ज्ञान छ। 15 बुद्धिमान पुरूष अनि तांत्रिकहरूलाई यो भित्ताको लेखौटको अर्थ बताउनको निम्ति मेरोमा ल्याइयो। म चाहन्थें कि उनीहरूले यसको अर्थ खोलुन्। तर तिनीहरूले भित्ताको लेखौटको व्याख्या गर्न सकेनन्। 16 मैले सुनें तिमीले यसको अर्थ खोल्न र व्याख्या गर्न सक्छौ अनि समस्याहरू हल गर्न सक्छौ। हेर, यदि तिमीले यो पढ्न सक्यौ अनि त्यसको व्याख्या गर्न सक्यौ भने तिमीलाई बैजनी वस्त्र अनि सुनको हार दिनेछु। साथै तिमी यस राज्यको दर्जामा तेस्रो मानिस गनिनेछौ।”

17 त्यस पछि दानियलले उत्तर दिए, “तपाईंको उपहारहरू तपाईंनै राख्नु होस्, अनि आफ्ना उपहारहरू अरूलाई नै दिनु होस्। तर म यो लेखौट पढेर तपाईंलाई यसको अर्थ खोलि दिन्छु।

18 “सर्वोच्च परमेश्वरले तपाईंको बाजे राजा नबूकदनेस्सरलाई एउटा राज्यको महान शक्तिशाली राजा बनाउनु भयो। 19 अनि उहाँले दिनु भएको अधिकारले विभिन्न भाषा बोल्ने जाति जातिका मानिसहरू तिनको अघि डरले थरथर काम्थे। आफ्नो इच्छा अनुसार तिनले कसैको प्राण लिन्थे वा जीउँदो राख्थे, पदोन्नति गरिदिन्थे वा पदाच्यूत गरिदिन्थे।

20 “तर जब नबूकदनेस्सर अट्टेरी, ढिट र अभिमानी भए तब तिनी आफ्नो सिंहासनबाट खसालिए र तिनको गौरव तिनीबाट खोसियो। 21 तब नबूकदनेस्सर समाजबाट निकालिए। उनको मन पशुको जस्तै बनाईयो तिनको बसाई जङ्गली गधाहरूसित हुन थाल्यो। अनि गाईले जस्तै घाँस खान थाले। उनको शरीर आकाशको शीतले भिज्यो। उनीमाथि यस्तो हुँदै गयो, फेरि उनलाई ज्ञान भयो कि मानिसको राज्य माथि सर्वोच्च परमेश्वरले शासन गर्नुहुन्छ अनि साम्राज्यहरूमाथि शासन गर्नको निम्ति उहाँले जसलाई चाहानुहुन्छ त्यसैलाई पठाउँनुहुन्छ।

22 “अनि तिमी बेलसजर उहाँकै छोरा हुनुहुन्छ, तपाईंले यो सबै कुरा जान्दा जान्दै पनि अझै आफ्नो हृदयलाई नम्र बनाउनु भएको छैन। 23 तपाईं नम्र हुनु भएन यसको सट्टामा तपाईं स्वर्गका परमेश्वरको विरूद्धमा खडा हुनुभयो। तपाईंले परमप्रभुको मन्दिरका भाँडा-कुँडाहरू तपाईंकहाँ ल्याउने आज्ञा दिनुभयो, अनि तपाईं र राज भवनका अधिकारीहरू, तपाईंका पत्नीहरू र दासहरूले त्यो भाँडाहरूमा दाखरस पिउनु भयो। तपाईंले दाखरस पिउँदै सुन, चाँदी, काँस, फलाम, काठ अनि ढुङ्गाका देवताहरूको महिमा गर्न थाल्नु भयो। तिनीहरू साँच्चो देवता होइनन्। तिनीहरूले देख्न सक्तैनन्, सुन्न सक्तैनन् तथा केही पनि सोच्न सक्तैनन्। तर तपाईंले परमेश्वरको सम्मान गर्नुभएन जसको शक्तिमा तपाईंको जीवन अनि प्रत्येक कुरा त्यसमाथि निर्भर छ। 24 यसैले, परमेश्वरले त्यो हात पठाउनु भयो, जसले भित्तामा लेखौट लेख्यो। 25 लेखौट यही हो:

मने, मने, तकेल, पर्सीन।

26 “अनि त्यो लेखौटको अर्थ यो हो:

मने:
    अर्थात तिम्रो राज्यको अन्त हुन्छ, परमेश्वरले त्यति बेला सम्मको दिन गनी सक्नु भएको छ।
27 तकेल:
    तिमीलाई तराजुमा जोखियो अनि तिमीलाई घट्दै गएको पाइयो।
28 पर्सीन:
    तिम्रो राज्य भाग-भाग गरेर मादी र फारसीहरूलाई दिइने छ।”

29 यस पछि बेलसजरले आज्ञा दिए कि दानियललाई बैजनी लुगा लगाई दिनु अनि गलामा सुनको हार पहिराइयोस् अनि तिनी राज्यको तेस्रो दर्जाको मानिस हुन् भनी घोषण गरियो। 30 त्यसै रात कल्दीहरूको राजा बेलसजर मारिए। 31 अनि मादिका राजा दाराले त्यो राज्य लिए, उनी त्यति बेला 62 बर्षका थिए।

मत्ती 21:28-32

येशूद्वारा दुइ जना पुत्रको उखान

28 “तिमीहरू यसको बारेमा के सोच्छौ? एकजना मानिसका दुइ छोराहरू थिए। त्यो मानिसले आफ्नो जेठा छोरालाई भन्यो, ‘छोरा, जाऊ र गएर आज दाखबरीमा काम गर।’

29 “छोराले जवाफ दियो, ‘म जाँदिन।’ तर केही समयपछि उसले आफ्नो विचार बद्ल्यो, अनि गयो।

30 “त्यसपछि बाबु अर्को छोराकहाँ गए र भने, ‘छोरा, जाऊ अनि आज मेरो दाखबरीमा काम गर।’ छोरोले जवाफ दियो, ‘हुन्छ, बाबु, म गएर काम गर्छु।’ तर त्यो छोरा गएन।

31 “अब यी दुइ छोराहरूमा कुन चाहिँले आफ्नो बाबुको आज्ञा पालन गर्यो?”

यहूदी नेताहरूले जवाफ दिए, “जेठा चाँहिले।”

येशूले तिनीहरूलाई भन्नुभयो, “म साँच्चो कुरा तिमीहरूलाई भन्दछु। महसूल उठाउनेहरू र वेश्याहरू खराब मानिसहरू हुन् भनी तिमीहरू ठान्दछौ। तर परमेश्वरको राज्यमा तिमीहरू भन्दा पहिले तिनीहरूले प्रवेश गर्न पाउनेछन्। 32 यूहन्ना सही जीवन बाँच्ने उपाय देखाउनलाई आएका थिए। तर तिमीहरूले यूहन्नालाई पटक्कै विश्वास गरेनौ। तर महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्ना माथि विश्वास गरे। अनि महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्नालाई विश्वास गरेको तिमीहरूले देखेका थियौ। तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International