Revised Common Lectionary (Complementary)
हबकूकद्वारा परमेश्वरलाई उजूरी
1 यो यही वचन हो जुन हबकूक अगमवक्तालाई दिईएको थियो।
2 हे परमप्रभु, म निरन्तर तपाईंसँग सहायता मागी रहेकोछु। तपाईंले मेरो निम्ति कहिले सुन्नुहुन्छ? म यो उपद्रोको कारण तपाईंसँग पुकारा गरिरहेछु, तर तपाईंले यस बिषयमा केहि पनि गर्नु भएन? 3 मानिसहरूले सामानहरू लुट्छन् अनि अरू मानिसहरूलाई चोट पुर्याउँछन्। मानिसहरू लडाईं अनि झगडा़ गरिरहेकाछन्। किन तपाईंले मलाई यस्तो भयानक कुराहरू देखाउनु हुँदैछ। 4 व्यावस्थाका कानूनहरू ब्यार्थ भईसकेकोछ अनि मानिसहरूले न्याय गर्दैनन्। दुष्टहरूले धर्मीहरूलाई लडाईंमा जितिरहेछन्। यसकारण न्याय निष्पक्ष छैन। न्यायले जित्दैन।
2 “म एउटा प्रहरी झैं उभिन्छु र हेर्छु।
परमप्रभुले मलाई के भन्नु हुन्छ म पर्खेर सुन्नेछु।
म प्रतिक्षा गर्नेछु अनि म जान्नेछु कि,
उहाँले मेरो प्रश्नको के जवाफ दिनुहुन्छ।”
हबकूकलाई परमेश्वरको जवाफ
2 परमप्रभुले मलाई उत्तर दिनुभयो, “तिमीलाई जुनकुरा दर्शाउँछु त्यसलाई राम्रोसित लेख। यो वचन सफा र प्रष्टसँग लेख कारण अरू मानिसहरूले पनि हेरेर पढ्न सकुन्। 3 यो समचार त्यो एउटा बिशेष भबिष्यको बिषयमा छ। यो समचार अन्तको समयको बिषयमा हो अनि यो सत्य हुन आउनेछ। यस्तो लाग्नेछ त्यस्तो समय कहिल्यै आउँनेछैन। तर धीरजसँग त्यसको समय प्रतिक्षा गर। त्यो समय आउनेछ त्यो आउन ढिलो लाग्ने छैन। 4 यो समचारले ती मानिसहरूलाई सहाएता गर्ने छैन जसले यसमाथि कान थाप्न अस्वीकार गर्नेछन्। तर धर्मी मानिसहरूले यो समचारमाथि बिश्वास गर्नेछन् अनि तिनीहरूलाई आफ्नो विश्वासको कारणले बाँच्न दिइनेछ।”
दाऊदको भजन।
37 दुष्ट मानिसहरूप्रति उदास न होऊ।
दुष्ट काम गर्नेहरूको ईर्ष्या नगर।
2 दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन्
जो ओइलिन्छन् अनि चाँडै मर्छन्।
3 यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने,
तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं।
4 आनन्दसित परमप्रभुको सेवा गर
अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ।
5 परमप्रभुमाथि भरोसा गर।
उहाँ माथि भरोसा गर उहाँले तिमीलाई सहायता गर्नुहुनेछ।
6 तिमीहरूका असल कार्यहरू र निर्मलता,
मध्य दिनको घाम झैं चम्कियोस्।
7 परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्खौं।
दुष्ट मानिसहरूको सफलतामा ईर्ष्या नगर।
जब दुष्ट मानिसहरूले दुष्ट योजनाहरू बनाउँछन्,
अनि तिनीहरूको खराब युक्तिहरूमा सफल हुन्छन्, तब तिमीहरू नरिसाओ।
8 तिमीहरू रिसले बौलाहा न होऊ! त्यति उदास न होऊ, जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्नेछौ।
9 किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्,
तर ती मानिसहरू जसले परमप्रभुलाई सहयोगको लागि बिन्ती गर्छन्,
परमप्रभुले वचन दिनु भएको जमीन पाउनेछन्।
1 ख्रीष्ट येशूको एक प्रेरित पावलबाट। परमेश्वरले मलाई प्रेरित बनाउन चाहनुभयो। उहाँले मलाई ख्रीष्ट येशूमा जीवनको प्रतिज्ञाबारे प्रचार गर्ने निर्देशन दिनु भएको छ।
2 मेरो प्यारो छोरो तिमोथी प्रति। पिता परमेश्वर अनि हाम्रो प्रभु ख्रीष्ट येशूबाट तिमीलाई, अनुग्रह कृपा र शान्ति मिलोस्।
उत्साह अनि धन्यवाद
3 दिन अनि रात आफ्नो प्रार्थनामा म तिमीलाई संझन्छु। मेरा प्रार्थनाहरूमा म तिम्रोलागि परमेश्वरलाई धन्यवाद चढाउँछु। मेरा पुर्खाहरूले सेवा गरेका परमेश्वर उहाँ नै हुनुहुन्छ। जुन कुरो गर्नु उचित हो भन्ने म ठान्छु, तिनै कुराहरू गरेर म सदैव उहाँको सेवा गर्छु। 4 म मेरो मनमा तिमीले आँसु खसालेको सम्झन्छु, यसर्थ म तिमीलाई भेट्न उत्सुक छु जसद्वारा म आनन्दले परिपूर्ण बनुँ। 5 म तिम्रो सत्य विश्वास पनि सम्झन्छु। तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा त्यस किसिमको विश्वास थियो। अहिले म निश्चित छु तिम्रो पनि त्यस्तै विश्वास छ। 6 त्यसैले म तिमीलाई परमेश्वरले प्रदान गर्नु भएको त्यो वरदान बारे सम्झाउँन चाहन्छु। जब मैले मेरो हात तिमीमा राखें परमेश्वरले तिमीलाई त्यो वरदान दिनुभयो। अब म चाहन्छु कि तिमीले त्यो वरदानको उपयोग गर अनि आगो दन्केर ज्वाला निकाले झैं बढोस्। 7 परमेश्वरले हामीलाई कातरको आत्मा दिनु भएन। उहाँले हामीलाई शक्तिको आत्मा, प्रेम अनि आत्मा संयमको आत्मा प्रदान गर्नु भएको छ।
8 यसकारण हाम्रा प्रभु येशूको बारेमा मानिसहरूलाई भन्न नलजाऊ। अनि म कैदमा छु भनेर पनि लाज नमान। तर सुसमाचारको निम्ति मसित दुःख भोग्ने गर। त्यसो गर्न परमेश्वरले हामीलाई शक्ति दिनु हुन्छ।
9 परमेश्वरले हामीलाई बचाउनु भएको छ अनि हामीलाई आफ्ना पवित्र मानिस तुल्य बनाउनु भएको छ। यो हामीले केही गरेर भएको होइन। होइन, परमेश्वरले यो उहाँको इच्छा अनि अनुग्रहले गर्दा हामीलाई बचाउँनु भयो अनि उहाँको मानिस हुन आह्वान गर्नु भयो। यो अनुग्रह ख्रीष्ट येशूद्वारा हामीलाई अनादिकाल अघि दिइएको थियो। 10 त्यो अनुग्रह हामीलाई आज सम्म देखाइएको थिएन। हाम्रो मुक्तिदाता ख्रीष्ट येशू आउनु भए पछि त्यो देखाइयो। येशूले मृत्युलाई नष्ट गर्नु भयो र जीवनको मार्ग देखाऊनु भयो। हो सुसमाचारद्वारा येशूले हामीलाई अनन्तजीवनको त्यो मार्ग देखाउनु भयो।
11 त्यही सुसमाचार प्रचार गर्नका निम्ति एक शिक्षक अनि प्रेरितको रूपमा मलाई नियुक्त गरिएको हो 12 त्यही सुसमाचार प्रचार गर्नका निम्ति अहिले मैले कष्ट भोग्नु परिरहेको छ। तर म लज्जित छैनँ। म उहाँ एक जनालाई जान्दछु जसलाई मैले विश्वास गरें। म विश्वस्त छु कि मलाई उहाँले सुम्पनु भएको कामको रक्षा गर्न त्यस दिनसम्म[a] उहाँ सामर्थ हुनु हुन्छ।
13 मबाट सुनेको सत्य शिक्षाहरूको अनुशरण गर। ख्रीष्ट येशूमा भएको हाम्रो प्रेम र विश्वाससित यी शिक्षाहरूको अनुशरण गर। ती शिक्षाहरू तिम्रो शिक्षणका निम्ति उदाहरणहरू हुन्। 14 तिमीलाई दिइएको सत्यको रक्षा गर। हामीमा बसेको पवित्र आत्माको सहायाताले ती कुराहरूको रक्षा गर।
तिम्रो विश्वास कति ठूलो छ?
5 प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्वास बढाइदिनोस्।”
6 प्रभुले भन्नुभयो, “यदि तिमीमा रायोको गेडा जत्रो मात्र विश्वास छ भने, तिमीहरू त्यस कालो किम्बुको रूखलाई भन्न सक्छौ, ‘तँ आफैं उखेलिएर समुद्रमा रोपिन जा!’ अनि त्यो रुखले तिमीहरूको आज्ञा पालन गर्नेछ।
विश्वासी नोकर हुने चेष्टा गर
7 “मानिलेऊ तिमीहरूमध्ये कसैको एकजना नोकर छ जो खेत जोतिरहेको हुन्छ अथवा भेंडा़ चराइरहेको छ। जब काम सिध्याएर भित्र आँउछ, त्यलाई तिमी के भन्छौ? ‘आऊ अनि खाना खान बस’? 8 अँह! तिमी त्यो नोकरलाई भन्नेछौ, ‘मेरो निम्ति खाना तयार पार खाई पिई सक्छु तब तिमी खाऊ।’ 9 नोकरले त्यसरी आदेश पालन गरेकोमा त्यो अभारी हुन्छ? हुँदैन। 10 तिमीसँग पनि यस्तै हो। जब तिमीहरूलाई गर्नु दिएको प्रत्येक काम गर्दछौ, ‘तिमीरूले भन्नु पर्छ, हामी कुनै खास धन्यवाद पाउने योग्यको होइनौ। हामीले जे गर्नु पर्ने थियो त्यही काम मात्र गरेकाछौं।’”
© 2004, 2010 Bible League International