Revised Common Lectionary (Complementary)
सुलेमानले रचेको, मन्दिरतर्फ जाँदैगर्दा गाएको भजन।
127 यदि घर बनाउँने परमप्रभु हुनुहुन्न भने।
घर बनाउनेहरूले त्यसै तिनीहरूको समय बर्बाद गरिरहेछन्।
यदि यो शहरमाथि परमप्रभुले ध्यान दिनु भएको होइन भने
प्रहरीहरूले आफ्नो समय व्यर्थ खेर फ्याँकिरहेछन्।
2 जीवन तयार पार्ने चेष्टामा विहान चाँडै जागेर
राती ढिलो सम्म बस्नु चाँहि समय नष्टपार्नु मात्र हो।
परमेश्वरले मन पराउनु भएका आफ्ना मानिसहरू
मस्त सुतीरहेका बेला पनि ध्यानमा राख्नु हुन्छ।
3 शिशुहरू परमप्रभुकै उपहार हुन्।
आमाको शरीरबाट पुरस्कार हो।
4 आफू जवान रहेको समयमा जन्मेका छोराहरू
सिपाहीको तरकसको काँडहरू जतिकै हुन्।
5 जुन मानिसको आफ्नो तरकस छोराहरूले भर्छ,
त्यो अत्यन्तै खुशी हुनेछ।
त्यो मानिस कहिल्यै परास्त हुने छैन।
उसको छोराहरूले उसलाई जनसमूह समक्ष,
उसको शत्रुहरू विरूद्ध सहायता गर्नेछन्।
बुढेसकालको समस्या
12 सानै उमेरदेखि आफ्ना सृष्टिकर्त्ताको स्मरण गर। बुढेसकाल आउन अघि समय नै उनलाई सम्झ। उमेर ढले पछि, “मैले मेरो जीवन खेर फालें।” भन्नु नपरोस्।
2 सानै उमेरदेखि आफ्ना सृष्टिकर्त्ताको स्मरण गर। जब सूर्य, चन्द्र र ताराहरू तिमीलाई अँध्यारो लाग्दछ जब एउटा आँधी पछि अर्को आँधी आए जस्तो घरि-घरि आपत आइपर्दछ। त्यसभन्दा अघि नै परमेश्वरलाई सम्झ।
3 त्यसबेला तिम्रा पाखुराहरू कमजोर बन्छन्। तिम्रा पाउहरू लुला र बाङ्गा बन्छन्। तिम्रा दाँतहरू झर्छन् र तिमी आफ्नो खाना समेत चपाएर खान नसक्ने हुन्छौ। आँखाले सफासित देख्दैनौ। 4 तिमी कान नसुन्ने हुन्छौ। बाटोका हल्ला खल्ला तिमी सुन्नसक्ने छैनौ। अन्न पिधिरहेको जाँतो पनि तिमीलाई शान्त लाग्छ। स्त्रीहरूले गाएको तिमीले सुन्न सक्ने छैनौ। बिहान एउटा चरा समेतले तिमीलाई बिउँझाइदिन्छ किनकि तिमी सुत्नै पनि सक्दैनौ।
5 डाँडाहरू देखि तिमीलाई डर लाग्छ। बाटोका स-साना ढुङ्गा देखि पनि लड्छु कि भन्ने डर लाग्छ। तिम्रा केशहरू बदामका फुल जस्तै सेतै हुन्छन्। हिँड्दा खेरी एउटा फटेंग्राले जस्तै तिमीले आफूलाई घिसार्छौ। तिम्रो बाँच्ने इच्छा[a] पनि हुँदैन, अनि त तिमी आफ्नो सदाको घरमा जानेछौ। अनि तिम्रा शरीरलाई दफन गर्न लैजाने मलामीहरू बाटोमा थुप्रने छन्।
मृत्यु
6 चाँदीको तार चुँडिन अघि र सुनको कचौरा फुटाइन अघि,
माटोको गाग्री इनारमा फुट्नु अघि,
अनि पाङग्रो जलाशयमा झर्नु पहिल्यै,
जब तिमीहरू युवास्थामा छौ तिम्रा सृष्टिकर्त्तालाई याद गर।
7 तिम्रो शरीर माटोबाट बनिएको हो।
मरेपछि पनि माटोमै फर्कन्छ।
तर आत्मा जुन परमेश्वरबाट आयो
मरेपछि त्यो आत्मा परमेश्वरकहाँ जानेछ।
8 सब थोक व्यर्थ छ। उपदेशक भन्छन् यी सब समयको बरबादी मात्र हो।
13-14 अब, किताबमा लेखिएका ती सबै कुराहरूबाट हामी के सिक्छौ त? सबभन्दा महत्वपूर्ण कुरो हो परमेश्वरलाई आदर गर र उहाँको आज्ञा मान। किनकि मानिसहरू जे गर्छन ती सब परमेश्वर जानुहुन्छ गुप्त कुरा समेत उहाँ जानुहुन्छ। सबै राम्रा कुरा नराम्रा उहाँ जानुहुन्छ। मानिसले गरेको प्रत्येक कर्मको उहाँ न्याय गर्नुहुन्छ।
परमेश्वरको राज्यलाई फहिलो ठान
(मत्ती 6:25-34,19-21)
22 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसकारण म तिमीरूलाई भन्दछु, बाँच्नका निम्ति खानेकुरा चाहिन्छ भन्ने विषयमा चिन्ता नगर। तिम्रो शरीरको विषयमा पनि चिन्ता नगर कि तिमी के लगाउँछौ? 23 खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीरको महत्व धेरै छ। 24 चराचुरूङ्गीहरूलाई हेर। तिनीहरू बीउ छर्दैनन् अनि वाली लाउँदैनन्। चराचुरूङ्गीहरूले भँण्डार अथवा भकारीहरूमा खानेकुरा थुपार्दैनन्। तर परमेश्वरले तिनीहरूलाई पेट भरी खुवाउँनुहुनेछ। अनि चराचुरुङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान हौ। 25 तिमीहरू कसैले चिन्ताद्वारा आफ्नो आयुमा केही समय थप्नसक्छ? 26 यदि तिमीहरू स-साना कुराहरू नै गर्न सक्दैनौ भने ठूलो विषयको किन फिक्री गर्छौ?
27 “जंङ्गली फूलहरूलाई हेर। सोच, तिनीहरू कसरी उम्रन्छन्। तिनीहरू आफ्नै लागि केही गर्दैनन् न त वस्त्र नै बनाउँछन्। म तिमीहरूलाई भन्दछु कि सुलेमान जस्ता राजा आफ्नो समस्त वैभवको साथ पनि यी फूलहरूमा झैं एउटा वस्त्र पहिरिएको थिएन। 28 परमेश्वरले नै जमीनमा ती घाँसलाई वस्त्र लगाइदिनुहुन्छ, जुन आज यहाँ छ भोलि त्यसलाई आगोमा फालिन्छ। यसैले तिमीहरूले जान्नु पर्छ कि परमेश्वरले नै तिमीहरूलाई अझ धेरै राम्रो वस्त्र पहिराई दिनुहुनेछ। तिम्रो एकदमै थोरै विश्वास छ।
29 “त्यसरी नै तिमीहरूले के खाऔंला अनि के पिऔल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर। 30 संसारका सबै मानिसहरू यी चीजहरूको पछि लाग्छन् तर तिमीहरूका पिताले जान्दछन् कि तिमीहरूले यी सब चाहन्छौ। 31 यसकारण तिमीहरूले खोज्नु पर्ने मुख्य त परमेश्वरको राज्य नै हो। तब तिमीहरूलाई यी सबै बस्तुहरू पनि दिइनेछ।
© 2004, 2010 Bible League International