Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
नहेम्याह 8:1-3

एज्राले व्यस्थाको किताब पढे

समस्त मानिसहरू पानी मूलद्वार अघि चोकमा एकत्रित भए। तिनीहरूले शास्त्री एज्रालाई मोशाको व्यवस्थाको पुस्तक ल्याउनु भने, जो परमप्रभुले इस्राएललाई दिनु भएको थियो। यसर्थ पूजाहारी एज्राले व्यवस्थाको पुस्तक समूहको समक्ष ल्याए, जो पुरूष अनि स्त्री दुवै, हरेक जसले सुनेका कुरा बुझ्न सक्थे तिनीहरूद्वारा गठन भएको थियो। यो सातौं महीनाको पहिलो दिन थियो। एज्राले व्यवस्थाको पुस्तकलाई पानी-मुलढोका अघिको चोकमा फर्केर विहान देखि मध्यदिनसम्म पुरूष, स्त्री अनि अन्य सबैले बुझ्न सक्नें गरि पढियो। सबै मानिसहरूले ध्यानपूर्वक व्यवस्थाको पुस्तकको कुराहरू सुने।

नहेम्याह 8:5-6

एज्राले सबै मानिसहरूले देख्ने गरी पुस्तक खोले किनभने उनी तिनीहरू भन्दा माथि उभिएका थिए। यसरी उसले व्यवस्थाको पुस्तक खोल्दा सबै मानिसहरू उभिए। एज्राले परमप्रभु महान् परमेश्वरको स्तुति गरे। अनि सबै मानिसहरूले आफ्ना हात उठाउँदै उत्तरदिए, “आमीन! आमीन!” तब तिनीहरू सबै परमप्रभुको अघि भुइँमा निहुरीए।

नहेम्याह 8:8-10

तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तक स्पष्ट सित पढे अनि के पढिएको थियो मानिसहरूलाई बुझ्न सहायता गरे।

नहेम्याह, जो राज्यपाल थिए, एज्रा पूजाहारी, अनि शास्त्री अनि मानिसहरूलाई निर्देश गरिरहेका लेवीहरूले सबै मानिसहरूलाई भने, “यो दिन तिमीहरूका परमप्रभु परमेश्वरका निम्ति पवित्र दिन हो। उदास नहोऊ अनि विलाप नगर।” किनभने सबै मानिसहरू व्यवस्थाका वचनहरू सुन्दा रोइरहेका थिए।

10 उसले तिनीहरूलाई भने, “जाऊ अनि मीठो भोजन खाऊ, र स्वादिष्ट दाखरस पिऊ अनि तिनीहरूलाई भाग पठाऊ जसले तयार गरेका छैनन्, किनभने यो दिन हाम्रा मालिकको निम्ति पवित्र छ। अनि उदास नोहोऊ किनभने परमप्रभुमा आनन्द नै तिम्रो शक्तिहो।”

भजनसंग्रह 19

प्रमुख संगीतकारलाई: दाऊदको भजन।

19 स्वर्गले परमेश्वरको महिमाको विषयमा बोल्छ।
    आकाश-मण्डलले उहाँका हातबाट बनिएका राम्रा-राम्रा कुराहरूका विषयमा भन्दछ।
प्रत्येक नयाँ दिनले धेरै-धेरै सृष्टिको कथा वर्णन गर्छ।
    अनि प्रत्येक रातले परमेश्वरको धेरै-धेरै शक्ति प्रकट गर्छ।
तिमीले साँच्चि नै केही वचन वा शब्दहरू सुन्न सक्तैनौ।
    उनीहरूले स्वर निकाल्दैनन् जो हामी सुन्न सक्छौं।
तर तिनीहरूको “स्वर” सारा संसारभरि फैलिएर जाँदछ।
    तिनीहरूका “वचनहरू” पृथ्वीको कुना-कुनासम्म पुग्छन्।

घामको लागि आकाश घर सरह हुन्छ।
    घाम एक हर्षित दुलहा जस्तो भएर आफ्नो ओछ्यानबाट आउँछ।
यो एउटा बलियो खेलाडी जस्तै दगुर्नमा तीव्र इच्छा भए झैं,
    आफ्नो यात्रा आकाशमा तर्न शुरू गर्छ।
घामले आफ्नो यात्रा एक क्षितिजबाट थालेर अर्को क्षितिजमा शेष गर्छ।
    यसको तापबाट केही पनि लुक्दैन।
    परमप्रभुको उपदेशहरू पनि त्यस्तै छ।

परमप्रभुका शिक्षाहरू अत्युत्तम छन्।
    तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्।
परमप्रभुको व्यवस्था विश्वास योग्यको छ।
    यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ।
परमप्रभुका विधिहरू सही छन्।
    तिनीहरूले मानिसहरूलई खुशी पार्छन्।
परमप्रभुका आदेशहरू निष्कपट छन्,
    तिनीहरूले जीवनमा उचित मार्ग देखाउँछन्।

परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो
    जसले अनन्त चम्किलो उज्यालो पार्छ।
परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्।
    तिनीहरू सम्पूर्ण ठीक छन्।
10 परमप्रभुको शिक्षाहरू अकबरी सुनभन्दा पनि मूल्यवान छन्।
    तिनीहरू सोझै घरबाट निकालेको उत्तम महभन्दा पनि मीठा छन्।
11 परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ।
    यदि तिनीहरूलाई पालन गर्यौं भने असल चिजहरू आउँछन्।

12 हे परमप्रभु, कसैले पनि आफ्ना सबै भूलहरू देख्न सक्तैनन्।
    यसैले मलाई गुप्ती पापहरू गर्न नलगाउनु होस्।
13 मैले चाहेका पापहरू गर्न नलगाउनु होस्।
    ती पापले ममाथि राज नगरोस्।
यदि तपाईंले मलाई सहयोग गर्नुभयो भने म आफ्ना पापहरूबाट मुक्त हुन्छु।
14 आशा गर्छु, मेरा वचनहरू र विचारहरूले तपाईंको चित्त बुझ्यो होला।
    परमप्रभु, तपाईं मेरो चट्टान हुनुहुन्छ, तपाईंले मात्र मलाई बचाउनु हुन्छ।

1 कोरिन्थी 12:12-31

ख्रीष्टको शरीर

12 मानिसको शरीर एउटै मात्र हो तर यसका अनेक अंगहरू हुन्छन्। हो, शरीरका धेरै अंगहरू छन्, तर ती सब अंगहरूले एउटै शरीर बनाउँछन्। ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छः 13 हामीहरूमा कति यहूदीहरू छौं र कति गैर-यहूदीहरू छौ। हामीहरूमा कति कमाराहरू छौं र कति मुक्त छौ। तर हामी सबै एउटै शरीर बनिनु बप्तिस्मा पाएका छौं। हामी सबैले त्यही एउटै आत्मा पाएका छौं।

14 मानिसको शरीर एउटा अंगले मात्र बनिएको हुँदैन तर धरै अंगहरू हुन्छन्। 15 खुट्टाले भन्न सक्ला, “म शरीरको होइन हातले भन्ला म शरीरको होइन।” तर त्यसो भन्दैमा खुट्टालाई भन्न सक्तैन यो शरीरको एक अंग होइन। 16 कानले भन्नु सक्ला, “म आँखा होइन। यसकारण म शरीरको होइन।” तर यसो भन्दैमा कानलाई भन्न सकिंदैन, कान शरीरको होइन। 17 यदि जम्मै शरीर एउटा आँखो हुँदो हो त शरीरले कसरी देख्ने थियो। यदि जम्मै शरीर एउटा कान हुँदो हो ता शरीरले कसरी सुन्ने थियो? 18-19 यदि शरीरको प्रत्येक अंग एउटै मात्र हुँदो हो त त्यहाँ शरीरै हुने थिएन। तर साँच्चै परमेश्वरले शरीरमा आफूले चाहे जस्तै गरी ती अंगहरूलाई राखिदिनु भयो। उहाँले प्रत्येक अंगलाई आफ्नो ठाँउमा राख्नु भयो। 20 अहिले यो जुन अवस्थामा छ अंगहरू धेरै छन् तर शरीर एउटै छ।

21 आँखाले हातलाई भन्न सक्दैन। “मलाई तिम्रो खाँचो छैन” अनि टाउकोले खुट्टा हरूलाई “मलाई तिमीहरूको खाँचो छैन” भन्न सक्दैन। 22 होइन। शरीरका ती अङ्गहरू जसलाई हामी दुर्वल सम्झन्छौं वास्तवमा तिनीहरू खुबै महत्वपूर्ण हुन्छन्। 23 अनि शरीरका तुच्छ ठानिएका ती अङ्गहरूलाई खुबै बचाइन्छ। अनि शरीरका जुन अङ्गहरूलाई हामी लुकाउन चाहन्छौ तिनलाई हामी विशेष ध्यान दिंदछौं। 24 हाम्रा शरीरका अझ सुन्दर अङ्गहरूलाई धेरै विशेष ध्यान दिइन्छ। तर परमेश्वरले शरीरको यसरी गठन गर्नु भएको छ कि उहाँले ती सम्मान नभएका अंगहरूलाई अझ धेरै सम्मान दिनु भएको छ। 25 हाम्रो शरीरको भाग भाग नछुट्टियोस् भनी परमेश्वरले यसो गर्नु भएको हो। विभिन्न अंगहरूले आपस्तमा उसरी नै ध्यान दिने गरून्। परमेश्वर त्यही चाहनु हुन्छ। 26 शरीरको कुनै एक अंगले दुःख पायो भने सम्पूर्ण शरीरले दुःख पाउँछ। अथवा यदि हाम्रो शरीरको एउटा अंगले सम्मान पाए अरू जम्मै अंगहरू पनि समान रूपले सम्मानित बन्नेछन्।

27 तिमीहरू जम्मै सामूहिक रूपले ख्रीष्टको एक शरीर हौ। तिमीहरू प्रत्येक शरीरका अंग हौ। 28 अनि मण्डलीमा, परमेश्वरले प्रेरितहरूलाई पहिलो, अगमवक्ताहरूलाई दोस्रो र शिक्षाहरूलाई तेस्रो स्थान दिनु भएको छ। त्यसपछि परमेश्वरले आश्चर्यकर्महरू गर्नेहरूलाई, रोग निको पार्ने वरदान पाएकाहरूलाई, मदद गर्न सक्नेहरूलाई, अगुवाइ गर्ने सक्ने क्षमता भएकाहरूलाई अनि विभिन्न थरिका भाषा बोल्ने वरदान पाएकाहरूलाई स्थान दिनु भएको छ। 29 सबै मानिस प्रेरितहरू होइनन्। सबै अगमवक्ताहरू होइनन्, सबै शिक्षकहरू होइनन्। आश्चर्यकर्म सबैले गर्न सक्दैनन्। 30 रोग निको पार्ने वरदान सबैले पाएका छैनन्। सबैले विभिन्न थरिको भाषा बोल्न सक्तैनन्। सबैले ती भाषाहरू को अर्थ खुलाउन सकदैनन्। 31 तर तिमीहरूले आत्मको अझै ठूलो वरदान लिनु चाहेको हुनुपर्छ।

लूका 4:14-21

येशूद्वारा मानिसहरूलाई शिक्षा

(मत्ती 4:12-17; मर्कूस 1:14-15)

14 येशू पवित्र आत्माको शक्ति लिएर गालीलमा फर्कूनु भयो। गालीलभरि उहाँको बारेमा समचारहरू फैलियो। 15 उहाँले तिनीहरूको सभा घरहरूमा सिकाउन शुरू गर्नुभयो। सबै मानिसहरूले उहाँको प्रशंसा गरे।

येशू आफ्नो शहरमा जानुहुन्छ

(मत्ती 13:53-58; मर्कूस 6:1-6)

16 येशूले आफू हुर्केको शहर नासरतको पनि यात्रा गर्नु भयो। विश्रामको दिनमा अघि झैं उहाँ सभाघरमा जानु भयो। उहाँ त्यहाँ (धर्मग्रन्थबाट) केही पढनलाई उभिनु भयो। 17 यशैया अगमवक्ताद्वारा लेखिएको ग्रन्थ उहाँलाई दिईएको थियो। उहाँले ग्रन्थ पल्टाउनु भयो अनि एक ठाउँ जहाँ निम्नलिखित कुराहरू लेखिएको भेट्टाउनु भयोः

18 “परमप्रभुको आत्मा ममाथि छ।
    परमेश्वरले मलाई गरीबहरूलाई सु-समचार सुनाउन,
बन्धनमा परेकाहरूलाई स्वतन्त्र गर्न,
    अनि अन्धो मानिसहरूलाई देख्न सक्ने पार्न पठाउनु भएकोछ।
अनेकौं यातनामा पिल्सिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएकोछ।
19     अनि आफ्नो मानिसहरूलाई बचाउन परमप्रभुको उचित समय आएको छ,
    भनिघोषणा गर्न पठाउनु भएकोहो।”(A)

20 उहाँले ग्रन्थ बन्द गर्नुभयो। उहाँले त्यो ग्रन्थ सहयोगीलाई दिएर त्यहीं बस्नुभयो। सभा घरमा भएका प्रत्येक मानिसले उहाँ लाई हेरिरहेका थिए। 21 येशू तिनीहरूसँग बोल्न थाल्नु भयो उहाँले भन्नु भयो, “मैले तिमीहरू अघि जो धर्मग्रन्थको अंश पढे त्यो आज पढदै गर्दा नै पूर्ण भयो।”

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International