Revised Common Lectionary (Complementary)
दाऊदको स्तुतिको भजन।
145 म मेरो परमेश्वरको प्रशंसा गर्छु र मेरो राजाको प्रशंसा गर्दछु।
म तपाईंको नाउँलाई सदा-सर्वदा धन्य मान्नेछु।
2 म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु।
म तपाईंको नाउँलाई सदा-सर्वदा प्रशंसा गर्नेछु।
3 परमप्रभु महान् हुनुहुन्छ, मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन्,
उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं।
4 परमप्रभु, तपाईंले गर्नु वा रच्नुभएको कार्यहरूका निम्ति
मानिसहरूले सदा-सर्वदा र अनन्तरूपमा प्रशंसा गर्नेछन्।
5 तपाईंको शाही र महिमा अश्चर्यजनक छन्
म तपाईंको आश्चर्यकामहरूको बारेमा भन्ने छु।
6 हे परमप्रभु, मानिसहरूले तपाईंका आश्चर्यजनक कार्यहरूको बारेमा भन्नेछन्।
म तपाईंले गर्नु भएको महान् कार्यहरूको बारेमा भन्नेछु।
7 मानिसहरूले तपाईंले गर्नुभएका राम्रा कुराहरूको प्रशंसा गर्दछन्।
मानिसहरूले तपाईंकै धार्मिकताको गीत गाउने छन्।
8 परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ।
परमप्रभु धीरजी र मायालु हुनुहुन्छ।
9 परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ।
परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ।
10 परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ।
तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्।
11 तिनीहरूले भन्छन्, तपाईंको राज्य कति महान् छ।
तिनीहरूले भन्छन् तपाईं कति महान् हुनुहुन्छ।
12 परमप्रभु, यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्।
मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्नेछन्।
13 परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ।
तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ।
14 पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ।
परमप्रभु जो सङ्कटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ।
15 परमप्रभु, सम्पूर्ण जीवित प्राणीहरूले आफ्नो भोजनको लागि तपाईंलाई नै खोज्दछन्
अनि तपाईंले तिनीहरूलाई ठीक समयमा नै आहार दिनुहुन्छ।
16 परमप्रभु, तपाईं आफ्ना हातहरू खुल्ला पार्नुहोस्
अनि तपाईंले प्रत्येक जीवित प्राणीहरूलाई उनीहरूको आवश्यकता अनुसार सबै थोकहरू दिनुहोस्।
17 परमप्रभुले गर्नुभएको प्रत्येक कुरा धार्मिक अनि उचित छ।
प्रत्येक कुराहरूबाट उहाँ कति भलो हुनुहुन्छ, भन्ने दर्शन्छ।
18 जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
19 परमप्रभुले त्यही गर्नुहुन्छ जो भक्तजनहरूले चाहन्छन्।
परमप्रभुले उहाँका भक्तजनहरूले सहायताको निम्ति गरेको पुकार सुन्नु हुन्छ।
उहाँले उनीहरूको प्रार्थनालाई जवाफ दिनुहुन्छ र तिनीहरूलाई बचाउनुहुनेछ।
20 जसले उहाँलाई प्रेम गर्दछ परमप्रभुले तिनीहरूकै रक्षा गर्नुहुन्छ
तर परमप्रभुले दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ।
21 म परमप्रभुको प्रशंसा गर्नेछु!
म, प्रत्येकले सदा-सर्वदा र अनन्त उहाँको प्रशंसा गरेको चाहन्छु।
ऊ उनीसित कुरा गर्छन्
4 मेरी प्रेमीका, तिमी अत्यन्तै सुन्दरी छौ।
आहा! तिमी सुन्दरी छौ।
घुम्टोभित्र लुकेका
ती तिम्रा आँखाहरू ढुकुरका जस्तै छन्
तिम्रा ती लामा केश
गिलाद पाहाडबाट ओह्रालो नाच्दै झरिरहेको बाख्राको बगाल झैं छन्।
2 तिम्रो दाँतहरू भेंडा़ झैं सेता छन्
जसलाई भर्खरै नुहाइएको र कत्रनु तयारी बनाएको छ।
तिनीहरू सबैले जुम्ल्याहा पाठा जन्माउँछन्
र तिनीहरूको एउटै थुमा पनि हराएको छैन।
3 तिम्रो ओठहरू रेशमको धागो जस्तै राता छन्।
तिम्रो मुख अति सुन्दर छ,
तिम्रो घुम्टोभित्रका गालाहरू
एउटा दारीमका दुइ फ्याकहरू जस्तै छन्।
4 तिम्रो घाँटी लामो अनि पातलो छ,
दाऊदको किल्ला जस्तै,
त्यो किल्ला सजाउनको निम्ति बनाएका
हजारौं ढालहरू यसको भित्ताहरूमा
शक्तिशाली सेनाहरूसँग छन्।
5 तिम्रो स्तनहरू एक जोडी पाठाहरू जस्तै छन्,
हरिणको जुम्ल्याहा पाठा जस्तै
जुन लिली फूलहरू विच चरिरहन्छ।
6 म त्यो गन्धरसको पर्वत माथि जानेछु,
र सुगन्धितको पहाडमा जानेछु,
जब मैले आफ्नो अन्तिम सास लिनेछु
अनि छायाँहरू लामो भई लुक्नेछन्।
7 मेरी प्रेमी, तिमी सबैभन्दा सुन्दरी छौ,
तिमीमा कुनै प्रकारको दाग छैन।
8 हे मेरी दुलही म भएकोमा आऊ,
तिमी मेरो निम्ति लेबनोनबाट आऊ।
तिमी मसित अमानाको चुचुरोबाट,
सनीरको उचाईबाट,
सिंहको गुफाबाट
अनि चितुवाको पाहाडबाट आऊ।
3 हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।
पावल परमेश्वरलाई धन्यवाद चढाउँछन्
4 परमेश्वरले ख्रीष्ट येशूको माध्यममा तिमीहरूलाई दिइएको अनुग्रहको निम्ति म आफ्ना परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु। 5 येशूमा तिमीहरूले हरतरहले आशीर्वाद पाएकाछौ। तिमीहरू आफ्नो जम्मै बोली-बचन र सारा ज्ञानमा धनी भएका छौ। 6 ख्रीष्टको सत्य बारे तिमीहरूमा प्रमाणित भएको छ। 7 यसैले हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन पर्खिरहुन्जेल तिमीहरूलाई कुनै आत्मिक वरदानको अभाव हुने छैन। 8 येशूले तिमीहरूलाई सदा सुदृढ राख्नु हुनेछ कि हाम्रा प्रभु येशू ख्रीष्टको पुरागमनको दिनमा पनि तिमीहरूलाई केही दोष हुने छैन। 9 परमेश्वर विश्वास योग्य हुनुहुन्छ। एक उनै हुन् जसले तिमीहरूलाई आफ्ना पुत्र येशू ख्रीष्ट, हाम्रा प्रभुसित सँगती गर्नु बोलाउनु भएकोछ।
कोरिन्थीको मण्डलीमा फाटो
10 हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म विनयपूर्वक भन्दछु, दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, तिमीहरू आपसमा मिलेर बस जसले गर्दा तिमीहरूको बीचमा फाटो नआवोस्। एउटै विचार र एउटै उद्देश्य लिएर तिमीहरू एक भई बस भन्ने मेरो विन्ती छ।
11 मेरा भाइ-बहिनीहरू हो, क्लोएको परिवारबाट मैले तिमीहरूका बारेमा सुनेको छु कि तिमीहरूको बीचमा झगड़ा छ। 12 मेरो भन्नुको तात्पर्यः यही हो तिमीहरूमध्ये कसैले “म पावललाई मान्छु,” कसैले “म अपोल्लोसलाई मान्छु,” कसैले “म केफासलाई मान्छु,” अनि कसैले, “म ख्रीष्टलाई मान्छु” भन्छौ अरे। 13 ख्रीष्टलाई विभिन्न दलमा बाँट्न सकिन्न। के पावल तिमीहरूका निम्ति क्रूसमा मरेका हुन् र? होइनन्! के पावलको नाउँमा तिमीहरू बप्तिस्मा भएका हौ र? होइनौ! 14 म परमेश्वरलाई धन्यवाद चढाउँछु कि तिमीहरूमध्ये क्रिसपस र गायसलाई बाहेक मैले कसैलाई पनि बप्तिस्मा दिएको छैन। 15 म यसको निम्ति कृतज्ञ छु किनभने तिमीहरू मेरो नाउँमा बप्तिस्मा भयौ भनेर कसैले भन्न सक्ने छैन। 16 हो, मैले स्तिफनसको परिवारलाई मात्र बप्तिस्मा दिएको हुँ। तर अरू कसैलाई म आफूले बप्तिस्मा दिएको कुराको मलाई सम्झमा छैन। 17 ख्रीष्टले मलाई बप्तिस्मा दिन पठाउनु भएको छैन। उहाँले मलाई शुभ-सन्देश सुनाउने काम अह्राउनु भएको छ। तर शुभ-संदेश सांसारिक ज्ञानको शब्दहरूमा सुनाउन होइन। शुभ-सन्देश सुनाउँदा मैले सांसारिक ज्ञानका शब्दहरू प्रयोग गरें भने त ख्रीष्टको क्रूसले आफ्नो शक्ति हराउनेछ।
© 2004, 2010 Bible League International