Revised Common Lectionary (Complementary)
सुलेमानको भजन।
72 हे परमेश्वर त्यस राजालाई सहायता गर्नुहोस्, ताकि उसले तपाईंद्वारा विवेकपूर्ण न्याय गरोस्।
राजकुमारको सहायता गर्नुहोस् ताकि उसले तपाईंको धार्मिकता जानोस्।
2 आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्।
गरीब मानिसहरू प्रति विवेकपूर्ण न्याय गर्नलाई तपाईंले राजालाई सघाउनु होस्।
3 त्यहाँ देशभरि शान्ति र न्याय रहोस्।
4 गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहुन्।
उहाँले असहायहरूलाई साथ दिइयोस्।
कष्ट दिने मानिसहरूलाई उहाँले दण्ड दिऊन्।
5 जब सम्म घाम उदाउँछ
अनि जून आकाशमा रहन्छन् मानिस डरले राजालाई सम्मान गर्ने होस्!
6 खेतहरूमा पानी बर्षे जस्तै,
धर्तीमा पानी परे जस्तै राजा बनुन्।
7 उहाँको राज्यकालमा धार्मिकता फूलोस्-फलोस्।
जब सम्म जून रहन्छ तब सम्म शान्ति रहोस्।
8 उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्।
युफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै टाढो सम्म बढोस्!
9 मरुभूमिमा बसिरहेका मानिसहरूले उहाँको अघि भूँई तिर अनुहार पारेर शिर झुकाउन्,
उहाँको सम्पूर्ण शत्रुहरू तिनीहरूको मैलो अनुहार लिएर उहाँप्रति निहुरिउन्।
10 तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्।
शेबा र शेबाका राजाहरूले उहाँलाई भेटी चढाऊन्।
11 सम्पूर्ण राजाहरूले हाम्रो राजाको अघि शिर झुकाउन्।
सबै जातिहरूले उहाँको सेवा गरून्।
12 हाम्रो राजाले असहायहरूलाई सहयोग गर्नु हुन्छ।
हाम्रो राजाले दीन-दुःखी, असहायहरूलाई साथ दिनुहुन्छ।
13 दीन-दुःखी, असहायहरू उहाँमाथि आश्रित छन्।
राजाले तिनीहरूलाई जीउँदो राख्नुहुन्छ।
14 अत्याचार र क्रूर मानिसहरू जसले तिनीहरूलाई नोक्सान पुर्याउनँ चाहन्छन् तिनीहरूदेखि राजाले बचाउँनु हुन्छ।
ती दीन-हीन मानिसहरूको जीवन राजाको निम्ति अत्यन्त महत्वपूर्ण छ।
15 राजाको दीर्घायु होस्!
अनि उहाँले शेबाबाट सुन प्राप्त गरून्।
सधैँ राजाको निम्ति प्रार्थना गर।
प्रत्येक दिन राजालाई आशीर्वाद दिनु।
16 खेतहरूमा प्रशस्त मात्रमा अन्नहरू उब्जियोस्
र पहाडहरू अन्नबालीले ढाकियोस्।
खेतहरू लबानोन जस्ता मलिलो रहोस्।
अनि खेतहरू हरियो घाँसहरूले ढाकिए जस्तै,
शहरहरू मानिसहरूले भरिभराउ बनोस्।
17 राजा सदालाई ख्याती प्राप्त बनोस्।
जब सम्म घाम रहन्छ तब सम्म मानिसहरूले उहाँको नाउँ याद गरून्।
मानिसहरू उहाँबाट धन्य रहोस्
अनि सबैले उहाँलाई आशीर्वाद दिऊन्।
18 परमप्रभु परमेश्वर, इस्राएलका परमेश्वरको गुण-गान गर!
परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!
19 उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर!
उहाँको महिमाले सारा संसार भरिपूर्ण रहोस्!
आमेन! आमेन!
20 (यस्सीको छोरो दाऊदको प्रार्थना यही समाप्त हुँदछ।)
दानियलले सपनाको अर्थ खोलिदिन्छन्
24 त्यसपछि दानियल अर्योककोमा गए। राजाले उसलाई बाबेलका ज्ञानी मानिसहरूलाई मार्नु भनी आज्ञा दिएका थिए। दानियलले अर्योकलाई भने, “बाबेलका ज्ञानी मानिसहरूको हत्या नगर। मलाई राजा भएकोमा लिएर जाऊ, म उहाँलाई उहाँको सपना अनि अर्थको व्याख्या गरिदिन्छु।”
25 अर्योकले तुरन्तै दानियललाई राजाकहाँ लिएर गयो अनि राजालाई भन्यो, “यहूदाको बन्दीहरू मध्ये मैले एकजना यस्तो मानिसलाई खोजें जसले राजाको सपनाको अर्थ बताउँन सक्छ।”
26 राजाले दानियललाई (बेलतसजर) जवाफमा प्रश्न गरे, “के तिमीले साँच्चै मेरो सपनाको अर्थ र त्यसको व्याख्या गर्न सक्छौ?”
27 दानियलले राजालाई उत्तर दिए, “हे राजा नबूकदनेस्सर, कुनै पनि ज्योतिषीहरू बुद्धिमानी मानिस, मंत्र-तंत्र जान्नेहरू अनि कल्दीहरूले राजाको सपनाको गुप्त कुराहरू बताउँन सकेनन्। 28 तर स्वर्गमा एउटा यस्तो परमेश्वर हुनुहुन्छ, जसले गुप्त रहस्यहरू बताउँन सक्नुहुन्छ। परमेश्वरले राजा नबूकदनेस्सरलाई अब के हुनेवाला छ यो दर्शाउनको लागि सपना देखाई दिनुभयो। आफ्नो ओछ्यानमा सुतेर तपाईंले सपनामा जे कुराहरू देख्नुभयो, त्यो यो होः 29 हे राजा, तपाईं आफ्नो ओछ्यानमा सुतिरहनु भएको थियो। तपाईंले भविष्यमा घट्ने घटनाको विषयमा सोचिरहनु भएको थियो। परमेश्वरले मानिसहरूलाई रहस्यपूर्ण विषयमा बताउन सक्नुहुन्छ। त्यसैकारण उहाँले भविष्यमा जे घट्नेवाला छ, त्यो दर्शाई दिनु भयो। 30 परमेश्वरले यो रहस्य मलाई बताउँनु भयो। यो यसकारण भयो कि मेरोमा अरू मानिसहरू भन्दा ज्यादा बुद्धि छ। तर परमेश्वरले मलाई यो भेद यसकारण बताउनु भयो कि राजालाई उसको सपनाको अर्थ थाहा होस्। हे राजा यस्तो प्रकारले, तपाईंको मनमा जुन विचारहरू आउँदैछ त्यसलाई सम्झनु होस्।
31 “हे राजा, तपाईंको सपनामा एउटा ठूलो मूर्ति आफ्नो छेउमा उभिएको देख्नु भयो जो चम्किरहेको थियो अनि साह्रै आकर्षक थियो। यसको रूप डरलाग्दो थियो। 32 त्यो मूर्तिको टाउको निक्खुर सुनले बनिएको थियो। त्यसको छाती र हातहरू चाँदीका थिए। त्यसको पेट र फिला काँसाका थिए। 33 यसको गोडाहरू फलामका थिए। त्यसको खुट्टाका केही भाग फलामको र तल्लो केही भाग माटोका थिए। 34 जब तपाईंले त्यस मूर्तिलाई हेरिरहनु भएको थियो तपाईंले एउटा चट्टान देख्नुभयो। चट्टान मानिसद्वारा काटिएको थिएन। चट्टानले फलाम र माटोले बनिएका मूर्तिको खुट्टाहरूलाई टुक्रा-टुक्रा पार्यो। 35 त्यो फलाम, माटो, काँसा, चाँदी र सुन सबै चक्नाचूर भए, अनि ग्रीष्म ऋतुमा खलाबाट भूस उडाए झै नाउँ निशानै नराखी हावाले उडाएर लग्यो। तर त्यस मूर्तिमा लाग्ने त्यो ढुङ्गा बढ्दै गयो अनि एउटा ठूलो पहाड बनिएर पृथ्वीलाई ढाक्यो।
36 “सपना यही थियो। अब म राजालाई त्यसको अर्थ खोलिदिनेछु। 37 हे राजा! तपाईं महान राजा, राजाहरूको पनि राजा हुनुहुन्छ, जसलाई स्वर्गका परमेश्वरले राज्य, सामर्थ्य, अधिकार अनि मान दिनु भएको छ। 38 तपाईंलाई परमेश्वरले मानिसका सन्तान, जङ्गलका पशुहरू र आकाशका पंक्षीहरू माथि अधिकार गर्न दिनु भएको छ। तपाईं नै त्यो सुनको टाउको हुनुहुन्छ।
39 “तपाईं पछि तपाईंको भन्दा कमजोर राज्य खडा हुनेछ अनि त्यसपछि अर्को एउटा तेस्रो राज्य काँसाको राज्यजस्तै खडा हुनेछ, जसले सारा पृथ्वीमाथि अधिकार जमाउँनेछ। 40 त्यस पछि चौथो राज्य फलाम जस्तै बलियो हुनेछ। फलामले सबै थोकलाई चूर-चूर गरि नष्ट पारे झैं त्यसले सारा पृथ्वीलाई टुक्रा टुक्रा पारेर तितर-बितर पार्नेछ!
41 “अनि तपाईंले खुट्टा र औंलाको केही भाग फलामको देख्नु भए झैं त्यो एउटा विभाजित राज्य हुनेछ। तर पनि दर्शनमा तपाईंले फलाम र गिलो माटो मिसिएको देख्नु भए झैं त्यसमा फलाम बलियो रहने छ। 42 अनि खुट्टाको औंलाहरू केही भाग फलाम र केही भाग माटो मिसिए झैं त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रा-टुक्रा हुने कमजोर राज्य हुनेछन। 43 तपाईंले फलाम र गिलो माटो मिसिएको देख्नु भए झैं ती राज्यहरू अन्तर जातीय वैवाहिक सम्बन्ध गरेर मिसिनेछ र फलाम र माटोसित मिसिनेछ अनि फलाम र माटोसित मिल्न नसके झैं ती राज्यहरू एकसाथ अडिन सक्ने छैनन्।
44 “ती राज्यहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य बनाउनु हुनेछ जुन कहिल्यै नाश हुने छैन न त त्यो राज्य कुनै अरू मानिसको हातमा दिइनेछ। यसले अन्य सबै राज्यहरूलाई ध्वंश पार्नेछ र तिनीहरूको अन्त्य गरिदिनेछ। तर त्यो राज्य सदा-सर्वदा रहनेछ।
45 “यो राज्य चाहिँ तपाईंले देख्नु भएको त्यो चट्टान हो जुन कसैले नहटाई कन पहाडबाट आफैं काटियो अनि त्यो चट्टान फलाम, पित्तल, चाँदी, माटो र सुनलाई टुक्रा-टुक्रा पार्यो। यस प्रकार महान् परमेश्वरले तपाईंलाई भविष्यमा के हुनेछ देखाउनु भयो। यो सपना साँच्चो छ र तपाईं यसको व्याख्यामा भर पर्न सक्नुहुन्छ।”
46 यसपछि राजा नबूकदनेस्सरले दानियललाई निहुरिएर दण्डवत गरे। राजाले दानियलको प्रशंसा गरे। राजाले आज्ञा दिए कि दानियलको सम्मानमा भेटी स्वरूप सुगन्धित धूप प्रदान गरियोस्। 47 राजाले फेरि दानियललाई भने, “मलाई निश्चिन्त पूर्वक ज्ञान भएकोछ कि तिम्रो परमेश्वर सर्वाधिक महत्वपूर्ण अनि शक्तिशाली हुनुहुन्छ। उहाँ सबै राजाहरूको परमप्रभु हुनुहुन्छ। अनि जुन कुरा कसैले बताउँन सक्तैन त्यो गुप्त कुरा पनि उहाँले बताई दिनुहुन्छ।”
48 यसपछि राजाले दानियललाई सम्मान पूर्वक आफ्नो राज्यको महत्वपूर्ण पदमा नियुक्ती गरे अनि धेरै बहुमूल्य उपहारहरू पनि दानियलाई दिए। दानियललाई सम्पूर्ण बाबेल प्रदेशको शासक नियुक्ती गरे अनि दानियललाई बाबेलको सबै ज्ञानी मानिसहरूको प्रधान बनाइदिए। 49 दानियलले राजालाई विन्ति गरे अनि उनले शद्रक, मेशक अनि अबेद्नगोलाई बाबेल प्रदेशको महत्वपूर्ण हाकिम बनाई मागे। दानियलले भने जस्तै राजाले त्यस्तै गरे। दानियल स्वंय ती महत्वपूर्ण मानिसहरू मध्ये एक भए जुन राजाको साथमा रहन्थे।
15 यसकारण तिमीहरू कसरी जिउँछौ त्यस बारे खुबै सर्तक होऊ। मूर्खहरू जस्तो नबाँच तर बुद्धिमानीपूर्वक बाँच। 16 हामीले बाँचेका दिनहरू खराब छन्, यसर्थ आफ्नो समयलाई सुकर्म गर्नमा लगाऊ। 17 यसर्थ मूर्ख नबन। सट्टामा, प्रभूले तिमीलाई के गराउन चाहनुहुन्छ, बुझ। 18 दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ। 19 आपसमा भजन, स्तुति र आत्मिक गीतहरू सुनाऊ। प्रभुलाई आफ्नो हृदयमा सँगीत बनाऊ। 20 सधैँ सबै कुराको लागि पिता परमेश्वरलाई धन्यवाद देऊ। हाम्र प्रभु येशू ख्रीष्टको नाममा उहाँलाई धन्यवाद देऊ।
© 2004, 2010 Bible League International