Revised Common Lectionary (Complementary)
सुलेमानको भजन।
72 हे परमेश्वर त्यस राजालाई सहायता गर्नुहोस्, ताकि उसले तपाईंद्वारा विवेकपूर्ण न्याय गरोस्।
राजकुमारको सहायता गर्नुहोस् ताकि उसले तपाईंको धार्मिकता जानोस्।
2 आफ्ना प्रजाहरूलाई निष्पक्ष न्याय गर्न राजालाई सघाउनुहोस्।
गरीब मानिसहरू प्रति विवेकपूर्ण न्याय गर्नलाई तपाईंले राजालाई सघाउनु होस्।
3 त्यहाँ देशभरि शान्ति र न्याय रहोस्।
4 गरीब मानिसहरूप्रति राजा निष्पक्ष रहुन्।
उहाँले असहायहरूलाई साथ दिइयोस्।
कष्ट दिने मानिसहरूलाई उहाँले दण्ड दिऊन्।
5 जब सम्म घाम उदाउँछ
अनि जून आकाशमा रहन्छन् मानिस डरले राजालाई सम्मान गर्ने होस्!
6 खेतहरूमा पानी बर्षे जस्तै,
धर्तीमा पानी परे जस्तै राजा बनुन्।
7 उहाँको राज्यकालमा धार्मिकता फूलोस्-फलोस्।
जब सम्म जून रहन्छ तब सम्म शान्ति रहोस्।
8 उहाँको राज्य एक समुद्र देखि अर्को समुद्रसम्म फैलियोस्।
युफ्रेटिस नदीदेखि पृथ्वीमा धेरै टाढो सम्म बढोस्!
9 मरुभूमिमा बसिरहेका मानिसहरूले उहाँको अघि भूँई तिर अनुहार पारेर शिर झुकाउन्,
उहाँको सम्पूर्ण शत्रुहरू तिनीहरूको मैलो अनुहार लिएर उहाँप्रति निहुरिउन्।
10 तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्।
शेबा र शेबाका राजाहरूले उहाँलाई भेटी चढाऊन्।
11 सम्पूर्ण राजाहरूले हाम्रो राजाको अघि शिर झुकाउन्।
सबै जातिहरूले उहाँको सेवा गरून्।
12 हाम्रो राजाले असहायहरूलाई सहयोग गर्नु हुन्छ।
हाम्रो राजाले दीन-दुःखी, असहायहरूलाई साथ दिनुहुन्छ।
13 दीन-दुःखी, असहायहरू उहाँमाथि आश्रित छन्।
राजाले तिनीहरूलाई जीउँदो राख्नुहुन्छ।
14 अत्याचार र क्रूर मानिसहरू जसले तिनीहरूलाई नोक्सान पुर्याउनँ चाहन्छन् तिनीहरूदेखि राजाले बचाउँनु हुन्छ।
ती दीन-हीन मानिसहरूको जीवन राजाको निम्ति अत्यन्त महत्वपूर्ण छ।
15 राजाको दीर्घायु होस्!
अनि उहाँले शेबाबाट सुन प्राप्त गरून्।
सधैँ राजाको निम्ति प्रार्थना गर।
प्रत्येक दिन राजालाई आशीर्वाद दिनु।
16 खेतहरूमा प्रशस्त मात्रमा अन्नहरू उब्जियोस्
र पहाडहरू अन्नबालीले ढाकियोस्।
खेतहरू लबानोन जस्ता मलिलो रहोस्।
अनि खेतहरू हरियो घाँसहरूले ढाकिए जस्तै,
शहरहरू मानिसहरूले भरिभराउ बनोस्।
17 राजा सदालाई ख्याती प्राप्त बनोस्।
जब सम्म घाम रहन्छ तब सम्म मानिसहरूले उहाँको नाउँ याद गरून्।
मानिसहरू उहाँबाट धन्य रहोस्
अनि सबैले उहाँलाई आशीर्वाद दिऊन्।
18 परमप्रभु परमेश्वर, इस्राएलका परमेश्वरको गुण-गान गर!
परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!
19 उहाँको महिमामय नाउँको सदा-सर्वदा प्रशंसा गर!
उहाँको महिमाले सारा संसार भरिपूर्ण रहोस्!
आमेन! आमेन!
20 (यस्सीको छोरो दाऊदको प्रार्थना यही समाप्त हुँदछ।)
7 परमप्रभु भन्नुहुन्छ:
“आनन्दित हौ अनि याकूबका निम्ति गाऊ।
इस्राएलको राज्यहरूमा महानताका निम्ति हल्ला गर।
प्रशंसाको गीत गाऊ अनि यसो भन्दै चिच्याऊ
‘हे परमप्रभु! तपाईंका मानिसहरू जो इस्राएलबाट जीवित छोडिएका छन्
तिनीहरूलाई सुरक्षा गर्नु होस्।’
8 हेर, म तिनीहरूलाई उत्तरबाट
र टाढो-टोढो देशहरूबाट ल्याउनेछु
अनि भेला पार्नेछु।
तिनीहरू मध्ये कतिपय मानिसहरू अन्धा र लङ्गडाहरू छन्।
कतिपय स्त्रीहरू गर्भवती छन्,
अनि तिनीहरू मध्ये कति जना प्रसव पीडामा छन्।
तर धेरै-धेरै मानिसहरू फर्की आउनेछन्।
9 तिनीहरू रूँदै आउनेछन्।
तर म तिनीहरूलाई सान्त्वना दिनेछु र पानीको झरनातिर डोर्याई लानेछु।
म तिनीहरूलाई सोझो बाटो डोर्याउनेछु
ताकि तिनीहरू लड्ने छैनन्।
म तिनीहरूलाई यस्तो पथ डोर्याउँने छु
किनभने इस्राएलको निम्ति म पिता हुँ,
अनि एप्रैम मेरो जेठो छोरो हो।
10 “हे जातिहरू हो, परमप्रभुबाट आएको वचनलाई ध्यान लगाएर सुन
यो सन्देश समुद्र, उत्तर र सुदूर भूमिहरूमा फिँजाऊ,
‘परमप्रभुले इस्राएलका मानिसहरूलाई जताततै तितर-बितर पार्नु भएकोछ,
तर उहाँले उनीहरूलाई फेरि भेला गरेर ल्याउनु हुनेछ
र भेंडा़ गोठालाले आफ्नो भेंडा़ बथानहरू सुरक्षा गरे झैं सुरक्षा गर्नुहुनेछ।’
11 परमप्रभुले याकूबलाई मोल तिरेर उकास्नु हुन्छ
र याकूब भन्दा बलियाहरूबाट उद्धार पार्नु हुन्छ।
12 इस्राएलका मानिसहरू सियोनको टाकुरामा आउने छन् र खुशीले चिच्याउने छन्।
तिनीहरूका अनुहारहरू परमप्रभुको उदारताले चम्किनेछ।
असल कुराहरूका बारे जुन परमेश्वरले तिनीहरूलाई दिनुहुन्छ।
परमेश्वरले तिनीहरूलाई अन्न, नयाँ दाखरस,
भद्राक्षेको तेल, थुमाहरू र गाई-गोरूहरू दिनु हुनेछ।
तिनीहरूको हृदय पानीले भिजेको बारी जस्तो हुनेछ।
इस्राएलका मानिसहरूलाई संकष्टहरूले अब पिरोलिने छैनन्।
13 तब इस्राएलका तरूणीहरू आनन्दले मग्न हुँदै नाँच्नेछन्।
अनि जवान र बूढा मानिसहरू त्यो नाचगानमा सम्मिलित हुने छन्।
म तिनीहरूका उदासीपनलाई हर्ष र अनन्दामा परिवर्तन गरिदिन्छु।
म इस्राएलका मानिसहरूलाई शोकको सट्टामा आनन्द र सान्त्वना दिनेछु।
14 म पूजाहारीहरूलाई असल असल कुराहरूले परिपूर्ण पार्नेछु।
मेरा मानिसहरू मैले दिएका उपहारहरूले सन्तुष्ट हुनेछन्।”
परमप्रभुले यी कुराहरू भन्नुभयो।
ख्रीष्ट संसारमा आउनु भयो
1 संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचन[a] थियो। त्यो वचन परमेश्वरसँग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो। 2 उहाँको वचन शुरूमा परमेश्वसँग हुनुहुन्थ्यो। 3 र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन। 4 उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो। 5 त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्न सक्दैन।
6 परमेश्वरद्वारा पठाइएको यूहन्ना नाउँका एकजना मानिस थिए। 7 यूहन्ना त्यही ज्योतिको विषयमा साक्षी दिन आएका थिए। उनकै माध्यमद्वारा मानिसहरूले ज्योति र विश्वासबारे जान्न-सुन्न पाए। 8 यूहन्ना ज्योति थिएनन्, तर उनी ज्योतिको बारेमा साक्षी दिन आएका थिए। 9 सत्य-ज्योति संसारमा आइरहकाछन् भनेर उनले बताई दिए। त्यो ज्योतिले सम्पूर्ण मानिसहरूलाई ज्योति दिनेछ।
10 उहाँ संसारका हुनुहुन्थ्यो, संसार उहाँद्वारा हुन आयो, तर संसारले उहाँलाई चिनेन। 11 उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्। 12 केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो। 13 ती बालकहरू प्राकृतिक तवरबाट जन्मेका थिएनन्। तिनीहरू आफ्नो आमा-बाबुको शारीरिक इच्छा अथवा निर्णयबाट जन्मेका थिएनन्। बद्लामा तिनीहरू परमेश्वरबाट जन्मेका थिए।
14 वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो। 15 यूहन्नाले ख्रीष्टकै सम्बन्धमा मानिसहरूलाई भने, “उहाँ एकजना हुनुहन्छ जसका विषयमा म भनिरहेको थिंए, ‘जो म पछि आउनु हुन्छ, उहाँ मभन्दा महान हुनुहुन्छ। किनभने उहाँ मभन्दा पहिल्यै आउनु भएको थियो।’”
16 हो, वचन अनुग्रह र सत्यको भण्डार हुनुहुन्छ। हामीले उहाँबाट धेरै आशिष पाएका छौं। 17 मोशाबाट व्यवस्था प्रदान गरिएको थियो तर अनुग्रह र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो। 18 कसैले पनि कहिल्यै परमेश्वरलाई देखेका छैनन्। तर एकमात्र पुत्र जो परमेश्वर हुनुहुन्छ अनि जो पिताको अति नजिकमा हुनुहुन्छ र उहाँले हामीलाई परमेश्वर चिनाउनु भएकोछ।
© 2004, 2010 Bible League International