Revised Common Lectionary (Complementary)
शान्तिको राजा आउँनुहुदैछ
11 यस्सीको ठुटाबाट एउटा सानो रूख उम्रनेछ। यस्सीको जराहरूबाट त्यसको हाँगा बढ्ने छ। 2 परमप्रभुको आत्मा त्यस बालकमा रहनेछ। त्यस आत्माले बालकलाई ज्ञान, बुद्धि, मार्गदर्शन र शक्ति प्रदान गर्नेछ। अनि त्यस आत्माले परमप्रभुको बारेमा बुझ्नु र आदर गर्न सिकाउँछ। 3 त्यस बालकले परमप्रभुलाई आदर गरेर आनन्दित हुनेछ।
त्यस बालकले अनुहार हेरेर इन्साफ गर्ने छैन्। सुनेको कुराको आधारमा उनले न्याय गर्नेछैन्। 4-5 उसले गरीब मानिसहरूलाई निष्पक्ष र इमानदारीपूर्वक न्याय गर्नेछ। त्यस ठाउँका मानिसहरूलाई के गर्ने निर्णय गर्दछ त्यस बेला ऊ निष्पक्ष रहनेछ। यदि उसले गरीब मानिसहरूलाई कुट्नु परे, पहिले उसले त्यसको निम्ति आदेश दिनेछन् र ती मानिसहरू कुटिनेछन्। यदि उनले मानिसहरू मर्नै पर्छ भन्ने निर्णय लिँदछ, तब उसले पहिले आज्ञा दिनेछ र ती मानिसहरू मारिनेछन्। त्यस बालकले उपकार अनि निष्पक्षताको बल पाउनेछ। तिनीहरू उसको लागि एक पटुका जस्तो हुनेछन् जुन उसले आफ्ना कम्मरमा वरिपरि बाँध्नेछ।
6 त्यसबेला ब्वाँसोहरू थुमाहरूसँग चुपचाप बस्ने छन्। अनि बाघहरू पाठाहरूसँग बस्नेछ। सिंहहरू, बाछा र भैंसीहरूसँग मिलेर बस्नेछन्। एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ। 7 गाई र भालूहरू एकैसाथ बस्नेछन्। तिनीहरूका सबै बच्चाहरूसँगै बस्नेछन् अनि एका अर्कामा कष्ट पैदा गर्ने छैनन्। गाई-गोरूहरूले जस्तै सिंहहरूले पनि घाँस खानेछन्। 8 सर्पले पनि मानिसहरूलाई केहिगर्ने छैन। एक बालक गोमन सर्पसँग घरको छेउमा खेल्ने छ। एउटा बालकले विषालु सर्प बस्ने प्वालभित्र हात छिराउन सक्नेछ।
9 यी सारा कुराहरूले त्यहाँ शान्ति छाएको देख्न सकिन्छ। कुनै मानिसले पनि एक-अर्कालाई आघात पुर्याउने छैन्। मानिसहरू जो मेरो पवित्र पर्वतमाथि छन तिनीहरूले कुनै चीजहरू पनि नष्ट गर्ने छैनन्। किनभने मानिसहरूले साँचो मनले परमप्रभुलाई चिने। समुद्र पानीले परिपूर्ण भए जस्तो तिनीहरू पनि उहाँको बारेमा भरिपूर्ण हुनेछन्।
केही नेताहरू मोशा विरोधी भए
16 यिसहारको छोरो, कहातको नाति अनि लेवीको पनाति कोरह अनि रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेतका छोरा ओन अट्टेरी भए। 2 इस्राएलका 250 मानिसहरू साथमा लिएर मोशाको विरोधमा गए। ती 250 मानिसहरू नाम चलेका तथा नेताहरू थिए। 3 तिनीहरू मोशा र हारूनको विरोध गर्न जम्मा भए अनि तिनीहरूलाई भने, “तपाईंहरू हाम्रो अगुवाहरू भएको अब हामीलाई पूरा भयो! सम्पूर्ण समुदाय पवित्र छन् अनि परमप्रभु हाम्रो माझमा हुनुहुन्छ। तपाईंहरू किन आफैंलाई परमप्रभुका अरू मानिसहरू भन्दा उच्चको सम्झनु हुन्छ?”
4 जब मोशाले तिनीहरूको कुरा सुने तिनी घोप्टो परेर भूँईमा निहुरीए। 5 त्यसपछि मोशाले कोरह र उनका मानिसहरूलाई भने, “भोली बिहान, परमप्रभुले जनाउनु हुनेछ कसलाई हाम्रो अगुवा झैं चुन्नु भएको छ, को पवित्र छ कसलाई उहाँकहाँ नजिक ल्याउनु भएको छ। उहाँ आफैले चुन्नु भएका एकजनालाई उहाँले उहाँको नजिक ल्याउनु हुनेछ। 6 यसो गर, तिमी कोरह र तिम्रो मानिसहरूले धुपौराहरू लेऊ। 7 त्यसमा आगो हालेर भोलि परमप्रभुको अगाडि, धूप हाल। जो कसलाई परमप्रभुले चुन्नुहुन्छ त्यो व्यक्ति पवित्र हो। हामीहरू तिमीहरू लेवीका छोराहरूबाट पूरा भईसकेका छौं।”
8 मोशाले पनि कोरहलाई भने, “ए लेवीहरू मेरो कुरा सुन। 9 इस्राएलका परमेश्वरले तिमीहरूलाई चुन्नु भएको छ र यसमा तिमीहरू खुशी हुनुपर्छ कि तिमीहरू विशेष मानिसहरू भएकाछौ। इस्राएलका अन्य मानिसहरू भन्दा तिमीहरू बेग्लै हौ। इस्राएलका मानिसहरूलाई आराधनामा सहायता पुर्याउन परमप्रभुले तिमीहरूलाई उहाँको नजीक बनाई पवित्र पालको विशेष काम गराउन राख्नु भएको छ। के यो धेरै होइन? 10 परमप्रभुले तिमी लेवीहरू, पूजाहारीहरूलाई सहायता पुर्याउनको निम्ति उहाँको नजीक ल्याउनु भएकोछ। तर अहिले तिमीहरू पूजाहारीहरू हुने कोशिश गरिरहेका छौ। 11 तिमीहरूका अनुयायीहरू र तिमीहरू एक साथ मिलेर परमप्रभु विरूद्ध गयौ। के हारूनले केही भूल गरेका छन्? होइन यसर्थ किन तिमीहरू हारूनको बारेमा नालिश गरिरहेका छौ?”
12 त्यसपछि मोशाले एलीआबका छोराहरू दातान र अबीरामलाई बोलाउन पठाए। तर ती दुइजना मानिसहरूले भने, “हामी आउने छैनौ। 13 हामीहरूलाई दूध र मह बगिरहेको देशबाट तिमीले बाहिर लिएर आयौ। तिमीले हामीलाई मार्नको निम्ति मरुभूमिमा ल्यायौ अनि हामीलाई देखाउन चाहान्छौ कि हामी माथि तिम्रो अधिकार छ। 14 हामीले तिमीलाई किन पछ्याउनु? तिमीले हामीलाई मह र दूध बगिरहेको भूमिमा लगेनौ साथै परमेश्वरले प्रतिज्ञा गरेको भूमिमा पनि पुराएनौ। तिमीले हामीलाई दाखको खेत पनि दिएनौ। के यी मानिसहरूलाई तिमी धोका दिन्छौ? होइन! हामी आँउदैनौं।”
15 यसर्थ मोशा साह्रै क्रोधित भए। उनले परमप्रभुलाई भने, “मैले यिनीहरूलाई केही क्षति पुर्याएको छैन। मैले यिनीहरूबाट एउटा गधा पनि लिएको छैन। परमप्रभु! हजुरले यिनीहरूबाट कुनै बलि ग्रहण नगर्नु होस्।”
16 त्यसपछि मोशाले कोरहलाई भन्यो, “भोली तिमी र तिम्रा सबै अनुवाईहरू र हारून परमप्रभुको अघि खड़ा हुनुपर्छ। 17 प्रत्येकले आफ्नो-आफ्नो धूपौरो लिएर त्यसमा धूप हाल्नु पर्छ। अनि तिमीहरू प्रत्येकले आफ्नो धूपौरो परमप्रभु अघि ल्याउनु पर्छ। त्यहाँ दुइ सय पचासवटा धूपौरो हुनुपर्छ। तिमी कोरह र हारूनले पनि धूपौरो लिनुपर्छ।”
18 यसर्थ तिनीहरू प्रत्येकले धूपौरो लिएर त्यसमा बलेको कोइला हालेर धूप हाले अनि भेट हुने पालको प्रवेशद्वारमा मोशा र हारून सँगै उभिए। 19 कोरहले सबै आफ्ना मानिसलाई भेला गरेर भेट हुने पालको प्रवेशद्वारमा उभिए। तब परमप्रभुको महिमा सबै मानिसहरू कहाँ प्रगट भयो।
7 आफ्ना अगुवाहरूलाई सम्झौं। तिनीहरूले तिमीहरूलाई परमेश्वरको सन्देश सिकाए। ती कसरी बाँचे र मरे त्यो विचार गर अनि तिनीहरूका विश्वासको उदाहरणलाई अनुशरण गर। 8 येशू ख्रीष्ट हिजो, आज र सधैँ एक समान हुनुहुन्छ।
9 किसिम-किसिमको अनौठा शिक्षाहरूले आफूलाई कुबाटोमा लैजान नदेऊ। परमेश्वरको अनुग्रहले तिमीहरूका हृदय बलियो बनून्, खानाको नियम पछ्यउनाले होइन। त्यस्ता नियम जसले पछ्याए त्यसले कसैको लाभ गरेको छैन।
10 हाम्रो एउटा वेदी छ जसबाट ती पवित्र पालमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन। 11 पापको निम्ति अर्पणको रूपमा प्रधान पूजाहारीले पशुको रगत महा-पवित्र स्थानमा लान्छन्। तर पशुहरूका मासु चाँहि शिविर बाहिर पोल्छन्। 12 त्यसरी नै येशूले पनि शहर बाहिर कष्ट भोग्नु भयो। आफ्ना मानिसहरूलाई पवित्र पार्न येशूले आफ्नै रगत अर्पण गर्नुभयो। 13 यसर्थ हामी शिविर बाहिर येशू कहाँ जानुपर्छ। येशूले जस्तै हामीले पनि अपमान सहनु पर्छ। 14 यस धर्तीमा रहिरहने शहर हाम्रो छैन। तर भविष्यमा आउने शहरको प्रतिक्षामा हामी छौं। 15 यसकारण येशूको मार्फत परमेश्वरलाई बलि चढाउन हामीले छोड्नु हुँदैन। उहाँको नाउँ उच्चारण गर्न हाम्रा ओंठबाट निस्केको प्रशंसा नै त्यो बलि हो। 16 अनि अर्काको भलाई गर्न र अरूका भागीदार बन्न नभूल। बलिहरू यिनै हुन् जसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।
17 आफ्ना अगुवाहरूको आज्ञा मान र तिनका अधीनमा बस, तिनीहरू तिम्रा जिम्मेवार छन् र तिम्रा आत्मा बचाउनको निम्ति ती तिमीहरूको निगरानी गर्छन्। तिनीहरूको आज्ञा मान ताकि तिनीहरूले आफ्ना काम दुःखसाथ होइन, ती आफ्ना काममा आनन्द लिन सक्छन्। तिनका काम सरल हुनेछ। आनन्दसाथ गर्न सकुन्। अनि तिनीहरूले आफ्ना काम दु:खित बनेर गर्छन् भने त्यसले तिम्रो सहायता गर्दैन।
© 2004, 2010 Bible League International