Print Page Options
Previous Prev Day Next DayNext

Revised Common Lectionary (Complementary)

Daily Bible readings that follow the church liturgical year, with thematically matched Old and New Testament readings.
Duration: 1245 days
Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
भजनसंग्रह 16

दाऊदको मिक्ताम भन्ने भजन।

16 हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, किनभने म तपाईं माथि नै आश्रित छु।
मैले परमप्रभुलाई भने,
    “हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ,
    प्रत्येक असल कुराहरू मैले तपाईंबाट पाएँ।”
परमप्रभुले आफ्ना भक्तजनहरूका लागि पृथ्वीमा
    अनेक आश्यर्यपूर्ण कामहरू गर्नुभयो।
    परमप्रभुले आफ्नो स्नेहपूर्ण करूणा तिनीहरूलाई देखाउनु भयो।

तर जसले परमेश्वरलाई त्यागे र अन्य देवताहरू पुज्न थाले तिनीहरूले कष्ट पाउने छन्।
    तिनीहरूले मूर्तिहरूमा चढाएको रक्तबलिमा म सहभागी हुने छैन।
    म ती मूर्तिहरूको नाउँ समेत लिने छुइनँ।
मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ।
    हे परमप्रभु, तपाईं मेरो सहारा हुनुहुन्छ,
    तपाईंले मेरो भाग प्रदान गर्नुहुन्छ।
मेरो भाग आश्चर्यपूर्ण छ,
    मेरो उत्तराधिकार अति सुन्दर छ।
म परमप्रभुको प्रशंसा गर्छु, किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ।
    राती पनि, मलाई आन्तरिक अर्ती दिनुहुन्छ।

परमप्रभुलाई मैले सधैँ
    आफू समक्ष राखेको छु
    र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ।
मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ।
    अनि मेरो शरीर पनि सुरक्षित रहनेछ।
10 किनभने परमप्रभु, तपाईंले मलाई चिहानमा[a] छोड्नु हुनेछैन।
    तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कुहुन दिनुहुने छैन।
11 तपाईं मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ।
    तपाईंसँग हुँदा सम्पूर्ण खुशी प्राप्त हुनेछ।
    तपाईको दाहिनेपट्टि हुँदा सघैं खुशी प्राप्त हुनेछ।

दानियल 4:4-18

म, नबूकदनेस्सर आफ्नो महलमा खुशी र सफल थिएँ। मैले यस्तो सपना देखें, मलाई भयभीत बनायो। म मेरो ओछ्यानमा ढल्किरहेको थिएँ अनि मैले मेरो मनमा दिव्य दर्शन् देखें, ती कुराहरूले मलाई एकदमै दुःखीत बनायो। यसकारण मैले बाबेलका सबै ज्ञानी पुरूषहरूलाई सपनाको अर्थ खोलि दिनलाई मकहाँ आउन भनी हुकुम गरें। जब जादुगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरू आए, मैले तिनीहरूलाई सपना बताईदिएँ, तर तिनीहरूले मलाई त्यसको अर्थ बताउँन सकेनन्। तब अन्तमा दानियल मेरो अघि आए। (मैले दानियललाई मेरा देवताको सम्मानमा बेलतसजर नाउँ राखें। उसित देवताहरूको आत्मा थियो।) यसकारण मैले आफ्नो सपना उसलाई बताएँ। मैले भनें, “बेलतसजर (दानियल) तिमी सबै ज्ञानी मानिसहरू मध्ये सर्व-श्रेष्ठ हौ, मलाई थाहा छ कि तिमीमा ईश्वरीय आत्मा बास गर्छ, अनि कुनै पनि रहस्य बुझ्न तिमीलाई अफ्ठ्यारो पर्दैन। मलाई यसको अर्थ भन, जुन सपना मैले देखें। 10 म ओछ्यानमा सुतिरहेको थिएँ। त्यति बेला मैले एउटा दिब्य दर्शनमा, अचानक, मेरो छेउमा पृथ्वीको बीचमा एउटा अग्लो रूख देखें, त्यो बृक्ष एकदमै अग्लो देखें। 11 यो रूख एकदमै ठूलो अनि शक्तिशाली थियो। यसको अग्लाईले आकाश छुन आँटेको थियो। अनि यो रूख पृथ्वीको कुनै पनि कुनाबाट देखिन्थ्यो। 12 यसका पातहरू सुन्दर थिए। यसको फलहरू प्रशस्तै थिए र यो फलले सबैलाई खान पुग्थ्यो। जङ्गली पशुहरू त्यो रूखको छहारीमुनि बस्थे। यसका हाँगामा चराहरूले गुँड बनाउँथे, अनि सबै जीवित प्राणीहरूले त्यसबाट आहार पाउँथे।

13 “ओछ्यानमा सुतिरहेको बेलामा मैले त्यो दर्शन हेरिरहेको थिएँ, त्यसै बेला स्वर्गबाट एउटा पवित्र दूत तल आउँदै गरेको मैले देखें। 14 उसले ठूलो स्वरमा कराएर भन्यो, ‘रूखलाई काट! त्यसको हाँगाहरू काट। पातहरू झारिदेऊ। यसको फलहरू चारैतिर छरपस्ट पारिदेऊ। जङ्गली पशुहरू त्यसको छहारी मुनिबाट अनि चराहरू त्यसको हाँगाबाट भागोस्। 15 तर त्यसको ठुटो चाँहि जरासितै जमीनमा नै रहोस्। अनि त्यही अवस्थामा फलामको अनि काँसको साङ्गलाले बाँधिएको होस्, अनि जङ्ली घाँसले पेट भरोस् आकाशको शीतले त्यसलाई भिजाओस् र खर्कमा बस्ने पशुहरूसित र रूखका पातसँग खेतमा रहोस्। 16 त्यस मानिसको मन बदलिएर पशुहरूको जस्तै होस्। सात काल त्यसमाथि त्यस्तैं बितोस्।’

17 “एकजना पवित्र स्वर्गदूतले यो दण्डको घोषणा गरे। पृथ्वीको सबै मानिसहरूलाई थाहा होस् कि, मानिसहरूको राज्यहरूमाथि सर्वोच्च परमेश्वरले शासन गर्नुहुन्छ। परमेश्वरले जसलाई चाहनु हुन्छ यी राज्यहरू उसलाई दिनुहुन्छ अनि परमेश्वरले ती राज्यहरू माथि शासन गर्नको निम्ति नम्र मानिसलाई छान्नु हुन्छ।

18 “नबूकदनेस्सरले भने, मैले देखेको सपना यही हो। म राजा नबूकदनेस्सरले अब तिमी बेलतसजरले (दानियल), सपनाको अर्थ भन कारण मेरो राज्यको कुनै पनि बुद्धिमानी मानिसले यो सपनाको अर्थ व्याख्या गर्न सक्ने छैन। तर बेलतसजर (दानियल) तिमीले यो सपनाको अर्थ व्याख्या गर्न सक्छौ कारण तिमीमा देवताहरूको आत्मा रहेकोछ।”

1 तिमोथी 6:11-21

याद गर्नु पर्ने केही कुराहरू

11 तर तिमी परमेश्वरका मानिस हौ। अनि त्यसैले यस्ता सबै कुराहरूबाट तिमी अलग बस्नु पर्छ। असल धार्मिकता, भक्ति, विश्वास, प्रेम, धैर्य र नम्रता अपनाउने भरसक कोशीश गर। 12 आफ्नो विश्वासको रक्षा गर्नु दौडमा दगुर्नु जस्तै हो। त्यो दौड जित्न, सक्दो आफ्नो कोशिश गर। अनन्त जीवन प्राप्त गर्ने कोशीश गर जसको निम्ति तिमीलाई आह्वान गरिएकोछ। अनि तिमीले ख्रीष्ट बारे महान् सत्यलाई यसप्रकारले देखेर साक्षी दिएका छौ कि धेरैले त्यो सुनेकाछन्। 13 परमेश्वर अनि ख्रीष्ट येशू को समक्ष म तिमीलाई आज्ञा दिंदछु। ख्रीष्ट येशू नै एक हुनुहुन्छ जसले महान सत्यलाई पन्तियस पिलातसको समक्ष स्वीकार गर्नु भएको थियो। अनि परमेश्वर नै एक हुनुहुन्छ जसले हरेकलाई जीवन दिनुहुन्छ। अब म तिमीलाई भन्छुः 14 तिमीलाई आज्ञा दिए अनुसार काम गर। हाम्रा प्रभु येशू ख्रीष्टको आगमन सम्म यी कुराहरू कुनै त्रुटि र दोष बिना गर्दै गर। 15 ठीक समय भएपछि परमेश्वरले यसो गरिदिन हुनेछ। परमेश्वर परम धन्य, एक मात्र शासक, राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। 16 परमेश्वर एक मात्र अमर हुनुहुन्छ। परमेश्वर यति उज्यालो प्रकाशमा बस्नु हुन्छ कि मानिस त्यसका छेउसम्म पनि जान सक्दैन। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। र कसैले परमेश्वरलाई देख्न। सक्दैन। परमेश्वर प्रति सदा सर्वदा सम्मान अनि शक्ति। आमिन।

17 यो आदेश तिनीहरूलाई देऊ जो यो पृथ्वीका चीजहरूद्वारा धनी भएकाछन्। तिनीहरूलाई घमण्डी नहुनु भन। तिनीहरूलाई आफ्नो आशालाई सम्पत्तिमाथि नराख्नु भन, किनभने सम्पत्ति अनिश्चित बस्दछ। त्यसको साटो तिनीहरूले आफ्नो आशा परमेश्वरमाथि राख्नु पर्छ जसले हामीलाई हरेक कुरो पर्याप्त प्रदान गर्नु हुन्छ। 18 धनीहरूलाई राम्रो काम गर्नु अनि राम्रो काम गरेर धनी हुनु भन्नु। अनि दिनुमा र बाँड्नुमा खुशी हुनु भन्नु। 19 त्यसो गरेर तिनीहरूले आफ्नो लागि स्वर्गमा सम्पत्ति सञ्चय गर्नेछन्। त्यो सम्पत्ति नै एउटा गतिलो घडेरी बन्नेछ-जसमाथि तिनीहरूले आफ्नो भविष्यको जीवन निर्माण गर्न सक्नेछन्। तब तिनीहरूले सत्य जीवन पाउनेछन्।

20 तिमोथी, परमेश्वरले तिमीले जुन कुरा सुम्पनु भएकोछ त्यसको रक्षा गर्नु। मूर्ख कुरा अनि धर्म-निन्दा गर्नेहरूदेखि टाढा बस। सत्यको विरुद्ध विवाद गर्नेहरूदेखि तिमी स्वयं अलग बस। तिनीहरूसित केही छ जसलाई तिनीहरू “ज्ञान” भन्छन् तर त्यो वास्तविक ज्ञान होइन। 21 कोही भन्छन् कि तिनीहरूसित “ज्ञान” छ। तिनीहरूले सत्य विश्वासलाई त्यागेकाछन्।

परमेश्वरको अनुग्रह तिमीहरू सबै प्रति रहोस्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International