Revised Common Lectionary (Complementary)
मन्दिरतिर गइरहेको बेलाको भजन।
123 हे परमेश्वर, म माथि हेर्छु र तपाईंलाई प्रार्थना गर्छु।
तपाईं राजा सरह स्वर्गमा विराजमान हुनुहुन्छ।
2 दासहरू आफ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ,
दासीहरू आफ्ना मालिक्नीहरू माथि भर पर्छन्,
तर हामी परमप्रभु हाम्रा परमेश्वर माथि भर पर्छौं,
र उहाँबाट दया पर्खिरहन्छौं।
3 हे परमप्रभु, हामीमाथि तपाईंको दया रहिरहोस्,
किनभने हामी धेरै समय सम्म निन्दित भएका छौं।
4 हामीले धेरै समयदेखि ती घमण्डी मानिसहरूबाट निन्दित भइरहेका छौं।
जसले हामीलाई हाँसो उडाउँछन् र अनादर गर्छन्।
27 “यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई ती कुराहरू भन्नेछौ। तर तिनीहरूले तिम्रा कुराहरू सुन्ने नै छैनन्। तिमीले तिनीहरूलाई डाक्ने छौ, तर तिनीहरूले जवाफ दिने छैनन्। 28 यसकारण तिमीले तिनीहरूलाई यी कुराहरू भन्नेछौ ‘यो यस्तो राज्य हो जहाँ मानिसहरूले परमप्रभु आफ्नो परमेश्वरको आज्ञा पालन गर्दैनन्। तिनीहरूले परमेश्वरले भने अनुशासन ग्रहण गरेनन्। सत्य सडेको छ, तिनीहरूको ओठबाट यो अलग गरिएको छ।’
हत्याकाण्डको बेंसी
29 “यर्मिया, आफ्नो केश काट र त्यसलाई फ्याकिदेऊ। पहाडको थुम्कामा चढ र शोक गीत गाऊ। किनभने परमेश्वरले यो वंश जसले उहाँलाई रीस उठायो त्यसलाई अस्वीकार र त्याग गर्नु भएको छ। 30 त्यसै गर किनभने यहूदाका मानिसहरूले पाप कामहरू गरिरहेको मैले देखेको छु।” यो सन्देश परमेश्वरबाट आएको हो “तिनीहरूले आफ्नो मूर्तिहरू स्थापित गरेका छन्। अनि म ती मूर्तिहरू घृणा गर्दछु। तिनीहरूले मूर्तिहरू मेरो नाउँद्वारा डाकिने घरमा स्थापित गरे। तिनीहरूले मेरो घर ‘अशुद्ध’ पारे। 31 यहूदाका मानिसहरूले बेंसीमा भएको उपत्यकामा तोपेतको उच्च स्थानहरू बनाए। ती जग्गाहरूमा मानिसहरूले आफ्ना छोरा छोरीहरूलाई मारे-तिनीहरूले बलिको रूपमा तिनीहरूलाई जलाए। यस्तो आज्ञा मैले कहिल्यै गरिनँ। यस्तो कुराहरू मेरो मनभित्र कहिल्यै पसेको थिएन। 32 यसर्थ, म तिमीहरूलाई चेताउनी गर्छु। दिनहरू आइरहेछ,” यो सन्देश परमेश्वरबाट आएको हो, “जब मानिसहरूले यस ठाउँलाई तोपेत अथवा बेन-हिन्नोनको उपत्यका भनेर डाक्ने छैन। होइन्, तिनीहरूले यसलाई हत्याको बेंसी भनेर डाक्नेछन्। तिनीहरूले यो नाउँ दिने छन्। जब सम्म त्यहाँ एउटा चिहानको लागि मात्र पनि जग्गा रहनेछैन तब सम्म मानिसहरूले लाशहरू तोपेतमा गाड्नेछन्। 33 लाशहरू चरा चुरूङ्गी र जङ्गली पशुहरूको खाद्य बनिनेछ। त्यहाँ चराहरू र जनावरहरूलाई धपाउनु कोही पनि जीवित रहनेछैन। 34 म यहूदाका शहरहरूमा र यरूशलेमका गल्लीहरूमा आनन्द र खुशीयालीको ध्वनि अन्त गरिदिनेछु। यहूदा अथवा यरूशलेममा हर्ष र आनन्दको सोर अन्त गरिदिने छु। दुलहा र दुलहीको आवाज निस्कने छैन। त्यो भूमि उजाड हुनेछ।”
येशूका चेलाहरू
(लूका 9:57-62)
18 येशूले देख्नुभयो आफूलाई धेरै मानिसहरूले घेरेका थिए। अनि आफ्ना चेलाहरूलाई झीलको अर्को तिर जान लगाउनु भयो। 19 त्यसबेला एकजना शास्त्री उहाँकहाँ आए अनि भने, “हे गुरूज्यू। तपाईं जता-जता जानुहुन्छ, म तपाईंको पछि-पछि लाग्नेछु।”
20 येशूले तिनलाई भन्नुभयो, “स्यालहरूका बस्ने प्वाल हुन्छन्। आकाशका चराचुरूङ्गीको बस्ने गुँड हुन्छ। तर मानिसको पुत्रको लागि ता शिर अडाउने ठाउँ सम्म छैन।”
21 अर्को एकजना मानिस, जो येशूको चेलाहरूमध्ये एकजना थिए तिनले येशूलाई भने, “हे प्रभु, पहिला गएर मलाई मेरो बाबुलाई गाड्न दिनुहोस्। त्यसपछि म तपाईंलाई पछ्याउनेछु।”
22 तर येशूले ती मानिसलाई भन्नुभयो, “मेरोपछि लाग, मरेका मानिसहरूले तिनीहरूको आफ्नो मुर्दाहरूलाई आफैं गाडुन्।”
© 2004, 2010 Bible League International