Revised Common Lectionary (Complementary)
115 हे परमप्रभु, हामीले सम्मान पाउनु पर्ने होइन।
तपाईंको प्रेम र विश्वासले गर्दा
सम्मान तपाईंको मात्र हो।
2 किन ती जातिहरू “हाम्रा परमप्रभु कहाँ छन्?” भनेर छक्क पर्दछन्।
3 परमप्रभु स्वर्गमा हुनुहुन्छ।
अनि उहाँले आफ्नो चाहनाले जे पनि गर्न सक्नुहुन्छ।
4 ती सम्प्रदायहरूका “देवताहरू” सुन र चाँदीले बनिएका खाली मूर्तिहरू मात्र हुन्।
तिनीहरू कुनै मानिसले बनाएका मूर्तिहरू मात्र हुन्।
5 ती मूर्तिहरूका मुखहरू छन्, तर बोल्न सक्दैनन्।
तिनीहरूका आँखाहरू छन्, तर देख्न सक्दैनन्।
6 तिनीहरूका कानहरू छन्, तर सुन्न सक्दैनन्।
तिनीहरूका नाकहरू छन्, तर सुँघ्न सक्तैनन्
7 तिनीहरूका हातहरू छन्, तर अनुभव गर्न सक्दैनन्
तिनीहरूका खुट्टाहरू छन्, तर हिंड्न सक्दैनन्
अनि कुनै स्वर-ध्वनिहरू उनीहरूका कण्ठबाट निकाल्न सक्तैनन्।
8 ती मानिसहरू जसले तिनीहरूलाई बनाउँछन् र तिनीहरूमाथि भरोसा गर्छन्,
तिनीहरू त्यस्तै हुन्छन्!
9 हे इस्राएल का मानिसहरू, परमप्रभुमाथि भरोसा गर!
परमप्रभु तिनीहरूका बल र ढाल हुन्।
10 हारूनका परिवारहरू, परमप्रभुमाथि भरोसा राख!
परमप्रभु तिनीहरूका बल र ढाल हुनुहुन्छ।
11 हे परमप्रभुका अनुयायीहरू, परमप्रभुमाथि भरोसा गर!
परमप्रभु तिनीहरूका बल र ढाल हुन्।
12 परमप्रभुले हामीलाई सम्झनुहुन्छ।
परमप्रभुले हामीलाई आशीर्वाद दिनुहुन्छ।
परमप्रभुले इस्राएल लाई आशीर्वाद दिनुहुनेछ।
परमप्रभुले हारूनका परिवारलाई आशीर्वाद दिनुहुनेछ।
13 महान् र क्षुद्र दुवैलाई आशीर्वाद दिनुहुनेछ।
परमप्रभुले आफ्ना भक्तहरूलाई आशीर्वाद दिनुहुनेछ।
14 परमप्रभुले तिमीहरूका छोरा-छोरीहरूलाई
धेरै भन्दा धेरै नै आशिर्वाद दिऊन्।
15 परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनु भयो,
तिमीहरूलाई आशीर्वाद दिऊन्!
16 स्वर्ग परमप्रभुको अधिकारमा छ।
तर पृथ्वी उहाँले मानिसहरूका अधिकारमा दिनु भयो।
17 मरेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
चिहान भित्र भएका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
18 तर हामी अहिले परमप्रभुको प्रशंसा गर्छौं,
अनि हामी उहाँको प्रशंसा सदा-सर्वदा गर्छौं।
परमप्रभुको प्रशंसा गर!
लेवीहरूको समर्पण
5 परमप्रभुले मोशालाई भन्नुभयो, 6 “इस्राएलका अरू मानिसहरूबाट लेवीहरूलाई छुट्याऊ अनि ती लेवीहरूलाई शुद्ध पार। 7 तिनीहरूलाई शुद्ध पार्नको निम्ति तिमीले यसो गर्नुपर्छ तिनीहरू माथि शुद्धीकरणको पानी छर्किदेऊ र त्यस पानीले तिनीहरूलाई शुद्ध तुल्याउँछ। त्यसपछि तिनीहरूले आफ्नो शरीरको सम्पूर्ण रौं काटुन् अनि आफ्नो लुगाहरू धोऊन् र तिनीहरू यसरी शुद्ध हुन्छन्।
8 “तिनीहरूलाई जवान गोरू तिनीहरूको बथानबाट ल्याउन देऊ अनि यसको मसिनो पीठो तेलसित मिसाएको अन्यबली ल्याउन देऊ त्यसपछि तिमीले अर्को एउटा बथानबाट जवान गोरू पापबलिका निम्ति ल्याउनु पर्छ। 9 त्यस पछि तिमीले ती लेवीहरूलाई भेट हुने पालको अघि ल्याउनु र इस्राएलको सबै जातिका मानिसहरूलाई भेला गर। 10 जब तिमीले लेवीहरूलाई परमप्रभुको अघि ल्याउँछौ इस्राएलको सबै मानिसहरूले तिनीहरू माथि आफ्नो हात राख्नु पर्छ। 11 हारूनले लेवीहरूलाई परमप्रभु अघि इस्राएलका मानिसहरूको विशेष उपहारको रूपमा अर्पण गर्छन् अनि तिनीहरूले परमेश्वरका सेवा गर्नेछन्।
12 “लेवीहरूले तिनीहरूको हात बहरको टाउको माथि राख्नुपर्छ र एउटा बहर पापबलिको निम्ति चढाउनु पर्छ र अर्को चाँहि लेवीहरूको प्रयाश्चितका निम्ति परमप्रभुलाई होमबलिको निम्ति चढाउनु पर्छ। 13 यसरी पूजाहारी हारून र तिनका छोराहरूको सहायताको निम्ति तिमीले लेवीहरूलाई नियुक्त गर र त्यसपछि लेवीहरूलाई तिमीले परमप्रभुको निम्ति विशेष उपहार स्वरूप चढाऊ। 14 तिमीले तिनीहरूलाई इस्राएलका अरू मानिसहरूबाट छुट्टयाउनु पर्छ कारण लेवीहरू मेरा हुनेछन्।
15 “तिमीले तिनीहरूलाई शुद्ध पारेर विशेष उपहार स्वरूप अर्पण गरे पछि तिनीहरू भेट हुने पालमा सेवा गर्न उपयुक्त हुनेछन्। 16 बिगतमा मैले इस्राएली मानिसहरूलाई तिनीहरूबाट जन्मेका पहिलो पुत्रहरू मलाई दिउन् भनी माँगेको थिएँ। तर अहिले इस्राएली मानिसहरूबाट पहिले जन्मेको छोराहरूको सट्टामा म लेवी मानिसहरूलाई लिइरहेकोछु। इस्राएली मानिसहरूले मलाई लेवी मानिसहरू दिनेछन्। मैले तिनीहरूलाई मेरो लागि लिएको छु। 17 इस्राएलमा जन्मने प्रत्येक जेठो मेरो हुनेछ चाहे त्यो मानिस होस् अथवा पशु, यसमा कुनै फरक पर्दैन। किनभने मिश्र देशमा मैले प्रत्येक जेठो नानी र पशु मारेकोछु, अनि मेरो आफन्त बनाउनको निम्ति प्रत्येक जेठो छोरोलाई रोजें। 18 तर अब म तिनीहरूको सट्टामा लेवी मानिसहरू लिन्छु। इस्राएलमा अन्य जातिको परिवारहरूबाट जन्मेका जेठो छोराहरूको सट्टामा म लेवीहरूलाई ग्रहण गर्नेछु। 19 इस्राएलका सबै मानिसहरूबाट मैले लेवी मानिसहरूलाई चुनें अनि हारून र तिनका छोराहरूलाई भेटी स्वरूप दिएँ। तिनीहरूले इस्राएलका सबै मानिसहरूको सेवा गर्छन् जो भेट हुने पालमा आराधनाको निम्ति आउँदथे। तिनीहरूले इस्राएलको सबै मानिसहरूका निम्ति प्रयाश्चित गर्नेछन्। तब पवित्र स्थान नजिक आँउदा इस्राएली मानिसहरूका निम्ति कुनै प्रकारको रोग अथवा कष्ट आई पर्ने छैन।”
20 त्यसकराण, लेवीहरूका विषयमा परमप्रभुको आज्ञासित राजी भएर मोशा, हारून अनि इस्राएलका सबै मानिसहरूले परमप्रभुद्वारा मोशालाई दिएका झैं प्रत्येक कुरा पालन गरे। 21 लेवीहरूले नुहाएर तिनीहरूको लुगाहरू धोए, हारूनले तिनीहरूलाई परमप्रभुको अघि विशेष उपहार स्वरूपमा अर्पण गरे अनि लेवीहरूका निम्ति प्रयाश्चित गराएर तिनीहरूलाई सफा बनाए। 22 त्यसपछि लेवी मानिसहरू भेट हुने पालमा सेवा कार्य गर्न आए। हारून र तिनका छोराहरूले तिनीहरूको हेरचाह गर्थे अनि हारून र तिनका छोराहरू तिनीहरूको कामको जिम्मावार थिए। परमप्रभुले मोशालाई जस्तो भन्नुभएको थियो हारून र तिनका छोराहरूले त्यसरी नै कार्यहरू गरे।
1 परमेशवरको सेवक र येशू ख्रीष्टका प्रेरित पावलको प्रणाम। परमेश्वरले छानेका मानिसहरूको विश्वासलाई सहायता गर्नु अनि मानिसहरूलाई सत्य बताउनुको निम्ति मलाई पठाइएको हो। परमेश्वरको सेवा कसरी गर्ने त्यो सत्यले मानिसलाई सिकाउँछ। 2 त्यो विश्वास र त्यो ज्ञान अनन्त जीवनको हाम्रो आशाबाट उत्पन्न हुन्छ। त्यो जीवन दिने वचन परमेश्वरले हामीलाई अनादि कालमै दिनु भएको हो परमेश्वर कहिल्यै झूटो बोल्नु हुँदैन। 3 ठीक समयमा परमेश्वरले संसारलाई त्यो जीवन बारे जान्न दिनुभयो। परमेश्वरले त्यसलाई प्रचारद्वारा जान्न दिनु भयो। त्यो काम परमेश्वरले मलाई सुम्पनु भयो। मैले त्यो हाम्रो मुक्तिदाता परमेश्वरको आदेशमा प्रचार गरें।
4 तीतसलाई प्रणाम। हाम्रो साझा विश्वासमा तिमी मेरा साँच्चो छोरा हौ।
पिता परमेश्वर र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूबाट शान्ति र अनुग्रह रहोस्।
क्रेटमा तितसको काम
5 मैले तिमीलाई क्रेटमा यसकारणले छाडें कि त्यहाँ बाँकी रहेको काम पूर्ण होस्। अनि हरेक शहरमा धर्म-गुरूहरूलाई पनि नियुक्त गर्नु भनी मैले छाडें। 6 धर्म-गुरू यस्तो मानिस हुनुपर्छ जो गलत जीवन बिताइरहेको अभियुक्त नहोस्। उसको एउटै मात्र पत्नी हुनु पर्छ। उसका केटा-केटीहरू विश्वासी हुनु पर्छ, असभ्य जीवन बाँचेको वा आज्ञाकारी नभएको अभियुक्त हुनु हुँदैन। 7 धर्मगुरूको कार्य परमेश्वर प्रति कामको ख्याल राख्नु हो। यसर्थ कुनै गलत कर्मको निम्ति उनी अभियुक्त हुनु हुँदैन। उनी घमण्डी अनि स्वार्थी हुनु हुँदैन वा झट्ट रिसाउने हुनु हुँदैन। ऊ पियक्कड हुनु हुँदैन। ऊ झगड़ालु अनि ठगेर धनी हुने आकांक्ष भएको हुनु हुँदैन। 8 धर्म-गुरूले मानसिहरूलाई आफ्नो घरमा लगेर सहायता गर्नु पर्छ। उसले जे असल छ त्यसलाई प्रेम गर्नु पर्छ, ज्ञानी हुनु पर्छ, सही अनि पवित्र जीवन जिउनु पर्छ। उसित आत्मा संयम हुनु पर्छ। 9 धर्म-गुरूले हामीले सिकाएको सत्य विश्वासपूर्वक मान्नु पर्छ। ऊ, सही अनि सत्य शिक्षाको उपयोगद्वारा मानिसहरूलाई सहायता गर्न समर्थ हुनुपर्छ अनि मानिसहरू जो सत्य शिक्षाको विरूद्ध छन् तिनीहरू गलत छन् भनी प्रमाणित गर्न समर्थ हुनु पर्छ।
© 2004, 2010 Bible League International