Revised Common Lectionary (Complementary)
115 हे परमप्रभु, हामीले सम्मान पाउनु पर्ने होइन।
तपाईंको प्रेम र विश्वासले गर्दा
सम्मान तपाईंको मात्र हो।
2 किन ती जातिहरू “हाम्रा परमप्रभु कहाँ छन्?” भनेर छक्क पर्दछन्।
3 परमप्रभु स्वर्गमा हुनुहुन्छ।
अनि उहाँले आफ्नो चाहनाले जे पनि गर्न सक्नुहुन्छ।
4 ती सम्प्रदायहरूका “देवताहरू” सुन र चाँदीले बनिएका खाली मूर्तिहरू मात्र हुन्।
तिनीहरू कुनै मानिसले बनाएका मूर्तिहरू मात्र हुन्।
5 ती मूर्तिहरूका मुखहरू छन्, तर बोल्न सक्दैनन्।
तिनीहरूका आँखाहरू छन्, तर देख्न सक्दैनन्।
6 तिनीहरूका कानहरू छन्, तर सुन्न सक्दैनन्।
तिनीहरूका नाकहरू छन्, तर सुँघ्न सक्तैनन्
7 तिनीहरूका हातहरू छन्, तर अनुभव गर्न सक्दैनन्
तिनीहरूका खुट्टाहरू छन्, तर हिंड्न सक्दैनन्
अनि कुनै स्वर-ध्वनिहरू उनीहरूका कण्ठबाट निकाल्न सक्तैनन्।
8 ती मानिसहरू जसले तिनीहरूलाई बनाउँछन् र तिनीहरूमाथि भरोसा गर्छन्,
तिनीहरू त्यस्तै हुन्छन्!
9 हे इस्राएल का मानिसहरू, परमप्रभुमाथि भरोसा गर!
परमप्रभु तिनीहरूका बल र ढाल हुन्।
10 हारूनका परिवारहरू, परमप्रभुमाथि भरोसा राख!
परमप्रभु तिनीहरूका बल र ढाल हुनुहुन्छ।
11 हे परमप्रभुका अनुयायीहरू, परमप्रभुमाथि भरोसा गर!
परमप्रभु तिनीहरूका बल र ढाल हुन्।
12 परमप्रभुले हामीलाई सम्झनुहुन्छ।
परमप्रभुले हामीलाई आशीर्वाद दिनुहुन्छ।
परमप्रभुले इस्राएल लाई आशीर्वाद दिनुहुनेछ।
परमप्रभुले हारूनका परिवारलाई आशीर्वाद दिनुहुनेछ।
13 महान् र क्षुद्र दुवैलाई आशीर्वाद दिनुहुनेछ।
परमप्रभुले आफ्ना भक्तहरूलाई आशीर्वाद दिनुहुनेछ।
14 परमप्रभुले तिमीहरूका छोरा-छोरीहरूलाई
धेरै भन्दा धेरै नै आशिर्वाद दिऊन्।
15 परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनु भयो,
तिमीहरूलाई आशीर्वाद दिऊन्!
16 स्वर्ग परमप्रभुको अधिकारमा छ।
तर पृथ्वी उहाँले मानिसहरूका अधिकारमा दिनु भयो।
17 मरेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
चिहान भित्र भएका मानिसहरूले परमप्रभुको प्रशंसा गर्दैनन्।
18 तर हामी अहिले परमप्रभुको प्रशंसा गर्छौं,
अनि हामी उहाँको प्रशंसा सदा-सर्वदा गर्छौं।
परमप्रभुको प्रशंसा गर!
29 “हारून जब पवित्र स्थानमा जान्छन् उनले आफ्नो छातीमा त्यो न्यायको थैली लगाएको हुनुपर्छ। यसरी इस्राएलाका बाह्र जना छोराहरूको नाउँ हारूनको छातीमाथि परमप्रभुको सम्झनामा सदा-सर्वदा रहनेछ। 30 ऊरीम र तुम्मीम सधैँ त्यो न्यायको थैलीमा राखिएको हुनुपर्छ। हारून जब परमप्रभुको सामुन्ने जान्छन उनको छातीमाथि ती राख्नुपर्छ। यसकारण हारून जब परमप्रभु अघाडी हुन्छन् इस्राएली मानिसहरूलाई न्याय गराइने साधनहरू सबै आफूसित राखिएको हुन्छ।
पूजाहारीको निम्ति अन्य पोशाक
31 “एपोदको निम्ति निलो रंगको लबेदा तिमीले बनाऊ। 32 शिरको लागि बीचमा प्वाल बनाऊ अनि प्वालको किनारमा कोटको कलर च्यातिनुबाट बचाउनुलाई बुने झैं सिलाऊ। 33 पोशाकको फेरो वरिवरि निलो, बैजनी अनि रातो धागोले दारीमहरू बनाऊ र तिनलाई झुण्डाऊ। 34 सुनको घण्टीहरू दारीमहरू बीच-बीचमा पोशाकको वरिपरि झुण्डाऊ। यसरी पोशाकको किनारमा दारीमहरू अनि एक पछि अर्को गर्दै घण्टीहरू झुण्डाऊ। 35 हारून जब पूजाहारी भई सेवा गर्छन् तिनले यो लवेदा लगाएर गर्छन्। हारून जब पवित्र स्थानभित्र जान्छन् र त्यहाँबाट निस्कन्छन् घण्टीहरू बज्नेछन् अनि यसरी हारून मर्ने छैनन्।
36 “मानिसहरूले मोहर बनाए झैं शुद्ध सुनको पाता बनाऊ अनि त्यसमा यी शब्दहरू खोप परमप्रभुको निम्ति पवित्र। 37 यो फेटामा निलो धागो बाँधिदेऊ। यो सुनको पाता फेटामा अघिल्तिर हुनुपर्छ। 38 हारूनले आफ्नो शिरमाथि त्यो लगाउनेछन् अनि यसरी इस्राएली मानिसहरूले परमप्रभुलाई चढाएको पवित्र उपहारको जिम्मावार हुनेछन्। यसकारण हारूनले त्यो सुनको पाता सधैँ आफ्नो शिरमा राख्नेछन् जसले गर्दा मानिसहरूले चढाएका सबै उपहारहरू परमप्रभुले ग्रहण गर्नु हुनेछ।
पावलको प्रार्थना
3 जहिले पनि म तिमीहरूलाई सम्झन्छु, परमेश्वरलाई धन्यवाद चढाउँछु। 4 प्रत्येक पल्ट म तिमीहरू सबैको लागि परमेश्वरलाई प्रार्थना गर्छु, म आनन्दले प्रार्थना गर्छु। 5 मानिसहरूलाई सुसमाचार सुनाउँदा तिमीहरूले मलाई सहयोग गरेकोमा म परमेश्वरलाई धन्यवाद चढाउँछु। तिमीहरूले विश्वास गरेको दिनदेखि अहिलेसम्म सघाउँदैछौ। 6 परमेश्वरले तिमीहरूमा असल काम गर्न थाल्नु भयो अनि अहिले सम्म गरिरहनु भएकोछ। जब ख्रीष्ट येशू आउँनु हुन्छ परमेश्वरले तिमीहरूमा त्यो काम गरी सिध्याउनु हुनेछ। म यस कुरामा निश्चिन्त छु।
7 तिमीहरू मेरो हृदयमा भएकोले, मलाई लाग्छ तिमीहरूको विषयमा यस्तो सोच्नु म ठिकै छु। तर जब सुसमाचारको सत्यताको प्रमाण दिदैं र रक्षा गर्दै म जेलखानामा छु, तिमीहरू यो काम गर्ने आशीर्वादमा मसँग सहभागी छौ। 8 म तिमीहरूलाई भेट्न अति इच्छुक छु, यो कुरो परमेश्वरले जान्नु हुन्छ। ख्रीष्ट येशूको प्रेम सितै म तिमीहरूलाई प्यार गर्दछु।
9 तिमीहरूका निम्ति मेरो यही प्रार्थना छ किः
बुद्धि र विवेक तिमीहरूको प्रेमसितै निरन्तर बढ्दै जाओस्। 10 म प्रार्थना गर्छु कि तिमीहरू असल र खराबको भेद छुट्टयाउन योग्य होऊ, अनि के असल हो, चुन्न योग्य होऊ ताकि ख्रीष्ट येशू जुन दिन आउँनु हुन्छ तिमीहरू पवित्र औ दोषरहित हुन सक्छौ। 11 म प्रार्थना गर्छु कि परमेश्वरको महिमा औ प्रशंसाका निम्ति येशू ख्रीष्टको सहयोगले धेरै सु-कर्महरू गर्न सक्छौ।
© 2004, 2010 Bible League International