Revised Common Lectionary (Complementary)
118 परमप्रभुलाई आदर गर किनभने उहाँ परमेश्वर हुनुहुन्छ।
उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!
2 इस्राएल ले यसो भन्छ,
“उहाँको स्नेहपूर्ण करूणा सदा-सर्वदा रहनेछ!”
14 परमप्रभु मेरो शक्ति र विजयी गीत हुनुहुन्छ।
उहाँले मलाई बँचाउनु हुन्छ।
15 तिमीले विजयी उत्सवहरू शिष्ट मानिसहरूका घरमा मानेको हुन सक्छौ।
परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
16 परमप्रभुको पाखुराहरू विजयी भएर उठे।
परमप्रभुले आफ्नो महान् प्रभाव फेरि एकपल्ट दर्शाउनु भयो।
17 म बाँच्ने छु मर्ने छैन
अनि परमप्रभुले के गर्नुभयो भनेर बताउनेछु।
18 परमप्रभुले मलाई दण्ड दिनु भयो,
तर उहाँले मलाई मर्न दिनु भएन।
19 असल प्रवेशद्वारहरू, मेरो निम्ति खोलियो
अनि म भित्र आउने छु र परमप्रभुलाई पूज्ने छु।
20 तिनीहरू परमप्रभुको प्रवेशद्वारहरू हुन्।
विशेष धर्मी मानिसहरू मात्र त्यहाँबाट जान सक्छन्।
21 परमप्रभुले, मेरो प्रार्थनाको जवाफ दिनु भएकोमा धन्यवाद प्रकट गर्दछु।
मलाई बचाउनु भएकोमा धन्यवाद प्रकट गर्छु।
22 जुन ढुङ्गा निर्माणकर्ताहरूले लिन चाहेनन्।
त्यही मूल ढुङ्गा[a] हुन गयो।
23 परमप्रभुले यस्तो बनाउनु भयो।
अनि हामीले यसलाई आश्चर्यजनक भनेर सोच्यौं।
24 आज त्यो दिन हो जुन परमप्रभुले बनाउनु भयो।
फेरि आज प्रफुल्लित र खुशी हौं!
संसारको शुरू
1 आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो। 2 पृथ्वी शून्य थियो, पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो।
पहिलो दिन—प्रकाश
3 तब परमेश्वरले भन्नुभयो, “उज्यालो होस्!” अनि उज्यालो चम्कन थाल्यो। 4 परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो। तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो। 5 परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” नाउँ दिनु भयो।
साँझ पर्यो अनि बिहान भयो। यो पहिलो दिन थियो।
दोस्रो दिन—आकाश
6 तब परमेश्वरले भन्नुभयो, “पानीलाई दुइ भाग पार्न त्यहाँ बतास होस्!” 7 यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो अनि पानी छुट्टियो। केही पानी बतासमाथि रह्यो अनि केही पानी बतास मुनि। 8 परमेश्वरले त्यस बतासलाई “आकाश” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो दोस्रो दिन थियो।
तेस्रो दिन—सुख्खा भूमि र उद्भिद
9 तब परमेश्वरले भन्नुभयो, “आकाश मुनिको पानी एकै ठाउँमा जम्मा होस्, र त्यहाँ सुख्खा भूमि देखियोस्।” अनि त्यस्तै भयो। 10 त्यो सुख्खा भूमिलाई परमेश्वरले “पृथ्वी” नाउँ राख्नु भयो। अनि एकै ठाउँमा जम्मा भएको पानीलाई “समुद्र” नाउँ राख्नु भयो। परमेश्वरलाई यस्तो भएकोमा असल लाग्यो।
11 तब परमेश्वरले भन्नुभयो, “पृथ्वीमा घाँस, अन्न उत्पन्न गर्ने उद्भिद तथा फल हुने बोटहरू उम्रियोस्। फल-रूखहरूले बीउ भएका फल फलाउने छन्। अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ। यी उद्भिदहरू पृथवीमा उम्रिउन्।” अनि यस्तै भयो। 12 पृथ्वीमा घाँस र उद्भिदहरू उम्रे अनि अन्नहरू फले। अनि पृथ्वीमा फलभित्र बीउहरू हुने फल फल्ने रूखहरू उम्रिए। प्रत्येक उद्भिदले आफ्नै प्रकारको बीउहरू सिर्जना गरे। अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो।
13 साँझ पर्यो अनि बिहान भयो। यो तेस्रो दिन थियो।
चौथो दिन—सूर्य, चन्द्रमा र ताराहरू
14 तब परमेश्वरले भन्नुभयो, “आकाशमा उज्यालो होस्। यी उज्यालाहरूले दिनहरूबाट रातहरूलाई छुट्याउनेछन्। यो उज्यालाहरूलाई विशेष चिन्हहरूको निम्ति प्रयोग गरिनेछन् र यिनीहरूले सभाहरू कहिले हुने बताउनेछन्। अनि यिनीहरूलाई दिनहरू र वर्षहरू बताउनमा प्रयोग गरिनेछ। 15 यी उज्यालाहरू पृथ्वीमा ज्योति चम्काउनको निम्ति आकाशमा रहनेछन्।” अनि यस्तै भयो।
16 यसर्थ परमेश्वरले दुइवटा ठूला-ठूला प्रकाश पुञ्जहरू निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुन्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुन्ज बनाउनु भयो। परमेश्वरले ताराहरू पनि सृष्टि गर्नु भयो। 17 पृथ्वीलाई उज्यालो पार्नको निम्ति यी प्रकाश-पुन्जहरू परमेश्वरले आकाशमा राख्नु भयो। 18 यसकारण उहाँले तिनीहरूलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो। यी प्रकाश पुञ्जहरूले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो।
19 त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो चौथो दिन थियो।
हाम्रो कस्तो किसिमको शरीर हुनेछ?
35 तर कसैले सोध्न सक्छन् “मरेकाहरू कसरी बौरन्छन्? तिनीहरूको शरीर कस्तो हुन्छ?” 36 यी सबै मूर्ख प्रश्नहरू हुन्। जब तिमी केही रोप्छौ, भने बाँच्न र बढन अघि त्यो बीऊ माटोमा मर्छ। 37 जब तिमीले केही रोप्छौ त्यस्को त्यही “रूप” हुँदैन, जस्तो पछि हुन्छ। जब तिमीले छरेका थियौ त्यो वीऊ मात्र थियो चाहे गहुँ होस् अथवा अन्य कुनै। तर परमेश्वरले जे योजना गर्नु भएको छ त्यसले त्यही शरिर पाउँछ। 38 परमेश्वरले प्रत्येक बिऊलाई उसको शरीर दिनुहुन्छ। 39 सबै शरीरको मासु एकै हुँदैनः मानिसहरूको मासु एक प्रकारको हुन्छ, औ पशूहरूको मासु अर्को प्रकारको हुन्छ, पंछीहरूको भिन्दै हुन्छ, अनि माछाहरूको अर्कै प्रकारको मासु हुन्छ। 40 स्वर्गीय शरीरहरू र पार्थिव शरीरहरू छन्। तर स्वर्गीय शरीरहरूको शोभा एक किसिमको हुन्छ। पार्थिव शरीरहरूको शोभा भिन्दै किसिमको हुन्छ। 41 सूर्यको एक प्रकारको सुन्दरता छ, चन्द्रमाको अर्को किसिमको सुन्दरता छ र ताराहरूको अर्कै प्रकारको सुन्दरता छ अनि हरेक तारा आफ्नो सुन्दरतामा भिन्न छ।
42 जीवित तुल्याइएका मृतहरूको पनि त्यस्तै हुन्छ। “रोपिएको” शरीर कुहुने हुन्छ। तर जब त्यस शरीरलाई जीवित तुल्याइन्छ त्यो नष्ट हुँदैन। 43 अनादरमा त्यो “गाडिन्छ,” महिमामा त्यो जीवित हुन्छ। दुर्बलतामा त्यो “गाडिन्छ,” शक्तिमा त्यो जीवित हुन्छ। 44 शरीर जुन “रोपिन्छ” त्यो भौतिक शरीर हो। जब त्यसलाई बौराइन्छ त्यो आत्मिक शरीर हुन्छ।
भौतिक शरीर छ र त्यहाँ आत्मिक शरीर पनि छ। 45 धर्मशास्त्रमा जस्तो लेखिएको छः “प्रथम मानिस एउटा जीवित थोक भयो। तर अन्तिम आदम आत्मा भयो जसले जीवन दिन्छ।”(A) 46 आत्मिक मानिस पहिले आएन। भौतिक मानिस पहिले आयो। तब त्यसपछि आत्मिक मानिस आयो। 47 पहिलो मानिस पृथ्वीको धूलोबाट आयो। दोस्त्रो मानिस स्वर्गबाट आयो। 48 मानिसहरू पृथ्वीका हुन्। तिनीहरू पृथ्वीको पहिलो मानिस जस्तो हुन्। तर ती मानिस जो स्वर्गका हुन् ती स्वर्गको मानिस जस्तै हुन्। 49 जसरी हामीहरू पृथ्वीका मानिस जस्तै बनाइयौं त्यसैले हामी स्वर्गका त्यो मानिस बनिनुको पनि बदली गराइन्छौ।
© 2004, 2010 Bible League International