Revised Common Lectionary (Complementary)
दाऊदको भजन।
35 हे परमप्रभु, मेरा युद्धहरू लडिदिनु होस्।
मेरा लडाईँहरू लडिदिनु होस्!
2 हे परमप्रभु! तपाईंको सानो ढाल र ठूलो कवच उठाउनु होस्।
उठ्नु होस् र मलाई सहायता गर्नुहोस्।
3 भाला र बर्छा लिनुहोस्
अनि मलाई खेदो गर्नेहरूको विरूद्ध लड्नु होस्।
परमप्रभु, मेरो प्राणलाई भन्नुहोस्, “म तिमीलाई बचाउनेछु।”
4 कतिपय मानिसहरू मलाई मार्न तम्सिरहेका छन्।
तिनीहरूलाई पछि फर्किएर भाग्ने बनाउनु होस्।
तिनीहरूले मलाई नोक्सान गर्ने योजना बनाइरहेका छन्।
यसर्थ तिनीहरूलाई जित्नु होस्
र लज्जित पार्नु होस्।
5 तिनीहरूलाई हावाले उडाउने भूस[a] जस्तो बनाउनु होस्।
तिनीहरूलाई परमप्रभुको स्वर्गदूतले खेदो गरून्।
6 तिनीहरूका बाटोहरू अँध्यारो चिप्ला हुन्।
परमप्रभुका स्वर्गदूतले तिनीहरूलाई खेद्न सकुन्।
7 मैले अधर्म कर्महरू गरिनँ, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे।
कुनै कारण नै बिना तिनीहरूले मलाई पासोमा पार्न खोजे।
8 यसैकारण, हे परमप्रभु! तिनीहरूलाई आफ्नै पासोमा फँस्न दिनुहोस्।
तिनीहरूलाई आफ्नै जालोहरूमा पछारिन दिनुहोस्।
तिनीहरूलाई अज्ञात सङ्कटहरूले पक्रोस्।
9 तब म परमप्रभुमा हर्षित रहनेछु।
जब उहाँले मलाई बचाउनु हुनेछ म हर्षित हुनेछु।
10 मेरो सम्पूर्ण शरीर र आत्माले भन्नेछ,
“हे परमप्रभु! तपाईं परमेश्वर जस्तो हुनुहुन्छ,
तपाईं ती बलिया मानिसहरू माझका कमजोर मानिसहरूलाई बचाउनु होस्
तपाईंले ती बलिया मानिसहरूबाट सामानहरू थुतेर ती खाँचोमा परेका गरीब मानिसहरूलाई दिनुभयो।”
22 बिलाम गएको देखी परमेश्वर रिसाउनु भयो र उसलाई रोक्न परमप्रभुका स्वर्गदूत बाटोमा उभिए। बिलाम गधामा चढेका थिए अनि तिनका दुइजना सेवकहरू पनि तिनीसित थिए।
23 जब गधाले परमप्रभुको स्वर्गदूतलाई हातमा तरवार लिएर बाटोमा उभिरहेको देख्यो त्यसले बाटो छाडेर खेततिर गयो। यसर्थ बिलामले त्यस गधालाई बाटोमा फर्काई ल्याउन हिर्कायो।
24 त्यसपछि परमप्रभुका स्वर्गदूत दुवै पट्टि ढुङ्गाको पर्खाल भएको दुइवटा दाखको खेत बीच साँघुरो बाटोमा उभिए, 25 जब गधाले परमप्रभुको स्वर्गदूतलाई देख्यो त्यो भित्तमा टाँसियो अनि बिलामको खुट्टा पनि चेप्टाइदियो। यसर्थ बिलामले फेरि त्यसलाई हिर्काए।
26 त्यसपछि परमप्रभुको स्वर्गदूत अघि बढेर एउटा एकदमै साघुँरो गल्ली जहाँ पसेर दाहिने-देब्रे फर्कन नसकिने ठाँउमा उभिए। 27 परमप्रभुको स्वर्गदूतलाई देखेर गधा थचक्क बस्यो। बिलाम रिसले चुर भएर त्यसलाई आफ्नो लौरोले बेस्सरी हिर्काए।
28 त्यसपछि परमप्रभुले गधालाई मुख खोल्ने अनुमति दिनुभयो र त्यसले बिलामलाई भन्यो, “मैले तपाईंलाई के गरें ताकि तपाईंले मलाई यस प्रकारले तीन चोटि हिर्काउनु भयो?”
32 तिमीहरू चिन्ताबाट मुक्त होऊ भन्ने म चाहन्छु। एक अविवाहित मानिस प्रभुको काममा पूर्णरूपले मग्न रहन्छ। उसको उदेश्य नै प्रभुलाई खुशी तुल्याउनु हो। 33 तर विवाहित मानिस सांसारिक वस्तुसँग सम्बन्धित हुन्छ। उसको लक्ष्य आफ्नी पत्नीलाई खुशी पार्नु हुन्छ। 34 उसको ध्यान दुइवटा लक्ष्य तिर छुटिन्छ। एउटी अविवाहित स्त्री अथवा एउटी कन्या प्रभुको सम्बन्धमा व्यस्त रहन्छे। ऊ आफ्नो सम्पूर्ण शरीर र आत्मा प्रभुलाई अर्पण गर्न चाहन्छे। तर विवाहित स्त्री सांसारिक कुराहरूमै सम्बन्धित रहन्छे। उसको प्राथमिक कर्त्तव्य आफ्नो पतिलाई खुशी पार्नु रहन्छ। 35 तिमीहरूकै भलाईको निम्ति म यी कुराहरू गर्दैछु। मैले तिमीहरूलाई नियन्त्रण गर्न खोजेको होइन। तर तिमीहरू ठीक ढङ्गले बाँच्न सक भन्ने म चाहन्छु। अनि आफ्नो समय अरू कुराहरूतिरबाट मुक्त गराई पूर्णतया प्रभुमा लगाएको मन पराँउछु।
36 विवाहको उमेर ढल्किन लागेकी आफ्नी कन्या प्रति मैले ठीक गरेको छैनँ भनी कसैले सोंच्न सक्ला र विवाह गरिदिनै पर्छ भन्ने सम्झानु सक्ला। त्यस अवस्थामा उसले जे चाहन्छ गरोस्। तिनीहरूलाई विवाह गर्न दिइयोस्। त्यो पाप होइन। 37 तर कोही यस्तो बलियो मनको पनि हुन सक्ला र सोच्ला विवाहको कुनै आवश्यकता छैन, ऊ पनि आफ्नो इच्छामा स्वतन्त्रै छ। यदि त्यस मानिसले आफ्नी कन्यालाई अविवाहित राख्ने निश्चय गरेको छ भने उसले ठीक गर्दैछ। 38 अर्थात् जसले आफ्नो कन्याको विवाह गर्छ उसले राम्रो गर्छ। र जसले आफ्नो कन्याको विवाह गरिदिंदैन उसले अझै राम्रो गर्छ।
39 जब सम्म पति जीवित रहन्छ उसकी स्त्री बन्धनमा रहन्छे। तर पति मर्यो भने, त्यस स्त्रीले आफूले रूचाएको मानिससित विवाह गर्न सक्छे। तर उसले प्रभुमा विवाह गर्नु पर्छ। 40 यदि ऊ त्यही अवस्थामा बसे अझ सुखी रहनेथिई। यो म जस्तो विचार गर्छु अनि म पक्का विश्वास गर्छु कि पमेश्वरको आत्मा ममा छ।
© 2004, 2010 Bible League International